२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

जसपा नेपाल विवाद पूर्ण इजलासमा

सर्वोच्च अदालतको संयुक्त इजलासले जनता समाजवादी पार्टी (जसपा) नेपालको विवाद पूर्ण इजलासमा पठाउन आदेश गरेको छ। न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले विषयवस्तुको गाम्भीर्य अनुसार जसपा नेपालको विवाद पूर्ण इजलासबाट टुंगो लगाउने आदेश गरेको हो।

जसपा नेपालका केही सांसदले पार्टीबाट अलग भएर जनता समाजवादी पार्टी (जसपा) गठन गरेपछि उत्पन्न विवाद सर्वोच्च अदालतमा पुगेको हो। नयाँ गठन गरिएको जसपालाई निर्वाचन आयोगले मान्यता दिएपछि त्यसविरुद्ध जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्चमा रिट दायर गरेका हुन्। यसअघि रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले मुद्दाका दुवै पक्षलाई छलफलमा बोलाउँदै कारण मागेको थियो।

सर्वोच्चले यसअघि जसपा दर्ता प्रक्रिया यथास्थितिमा राख्न अन्तरिम आदेश पनि दिएको थियो। सर्वोच्चले निर्वाचन आयोगले वैशाख २४ मा जसपा दर्ता गरेको निर्णय र त्यसउपर भएका कामकारबाही यथास्थितिमा राख्न भनेको हो।

जसपा नेपाल अध्यक्ष यादव अमेरिका गएका बेला कार्यवाहक अध्यक्ष बनेका अशोक राई नेतृत्वमा सात सांसदले आयोगमा  नयाँ दल दर्ता गराएका थिए।

कानुनविपरीत जसपा नेपाल विभाजन गरी निर्वाचन आयोगमा दर्ता गरिएको दाबीसहित यसरी दल दर्ता गराएका सांसदको पद निलम्बनमा राख्न माग गर्दै अध्यक्ष यादवले रिट निवेदन दर्ता गरेका हुन्।

त्यस्तै जसपा नेपालका अध्यक्ष यादवले प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेको पूर्वसन्ध्यामा आफ्नो दल कानुनविपरीत फुटाएर नयाँ दल दर्ता गरेका सातजना सांसदलाई संसदीय गतिविधिमा सहभागी नगराउन माग गर्दै अर्को रिट निवेदन पनि सर्वोच्चमा दर्ता गरेका थिए।

जसपाभित्रको विवाद अदालतमा पुगिसकेको र त्यसको टुंगो नलागेकाले ती सांसदले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिनु गैरकानुनी हुने दाबीसहित यादवले रिट हालेका थिए।

पार्टी विभाजनकै कारण सत्ता साझेदार जसपा नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले जेठ ७ गते प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव राखेका थिए।

बहुमतसहित पारित प्रस्तावका पक्षमा जसपाबाट अलग भएका भनिएका सात सांसदले पनि मत दिएका थिए। जसपा नेपाल सरकारबाट बाहिरिएको छ भने सो पार्टी फुटाएको समूहको प्रतिनिधित्व सरकारमा छ।

संयुक्त इजलासको आदेशपछि अब जसपा नेपालसम्बन्धी विवाद पूर्ण इजलासले निरूपण गर्नेछ।

प्रकाशित: २८ जेष्ठ २०८१ ०६:३७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App