२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

बागमतीमा एमालेका ४ मन्त्रीले लिए शपथ

एमालेका सांसद्हरुलाई मन्त्रीको शपथ गराउँदै प्रदेश प्रमुख, साथमा मुख्यमन्त्री लगायत।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिएको भोलिपल्ट बागमती प्रदेशमा नेकपा एमालेका ४ र नेकपा (एकीकृत समाजवादी) का एक मन्त्रीले शपथ लिएका छन्।

एमालेका सांसद्हरुलाई मंगलबार दिउँसो र एसका मन्त्रीलाई बिहान शपथ गराइएको हो। नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशवप्रसाद पोखरेल र प्रकाश श्रेष्ठ मन्त्री नियुक्त भएका हुन्। एमालेले यसअघि २०७९ पुस २५ मा गठन भएको सरकारमा पठाएका तीनजना मन्त्रीलाई नै यसपटक पनि मौका दिँदा एक जनालाई पहिलो पटक मन्त्री बनाएको हो।

प्रकाश श्रेष्ठले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, केशव पोखरेलले वन तथा वातावरण मन्त्रालय, एकालाल श्रेष्ठले खानेपानी, ऊर्जा तथा सिचाँईं मन्त्रालय र रामेश्वर श्रेष्ठले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

बिहान शपथ ग्रहण गरेकी एसका रमा आले मगरको जिम्मेवारी भनेपछि तोकिने बताइएको छ। एमालेबाट ४ जनाले शपथ लिएसँगै प्रदेशमा १२ मन्त्रालयमा एक विना विभागीय सहित १३ मन्त्री नियुक्त भएका छन्।

एमालेबाट चैत १७ गते संसदीय दलका नेता जगन्नाथ थपलिया आर्थिक मामिला तथा योजना मन्त्री र चैत १५ मा हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका थिए।

बागमती प्रदेशमा नेकपा माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ४, नेकपा एमालेले ५, नेकपा एसले ३ र हाम्रो नेपाली पार्टीले एक मन्त्रालयको जिम्मेवारी पाएको छ। नेकपा एसको भागमा २ मन्त्रालय भनिएपनि हाल प्रदेशमा ३ जना मन्त्री नियुक्त रहेका छन्।

एसका कुनै एक मन्त्रीले राजीनामा दिनुपर्ने माओवादी र एमालेको माग रहेको भएपनि एसका नेताहरुले कुनैपनि मन्त्रीले राजीनामा नदिने बताउँदै आएका छन्। केन्द्रमा भएको सत्ता समीकरण परिवर्तनसँगै बागमती प्रदेशमा फागुन २३ गते नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि रिक्त स्थानमा नयाँ समीकरण दलका सांसद्हरु मन्त्री बनेका हुन्।

बार्गेनिङ गरेकी मगर मन्त्री नियुक्त

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने समयमा बार्गेनिङ गरेकी नेकपा एसका सांसद् रमा आले मगर मन्त्रीमा नियुक्त भएकी छिन्। जम्कट्टेलले विश्वासको मत लिने क्रममा ३ घण्टा कुराएकी मगरले मन्त्रीको शपथ लिएकी हुन्।

मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि उनी मन्त्रीमा नियुक्त भएकी हुन्। यद्यपि मगरले विना विभागीय (मन्त्रालयको जिम्मेवारी पछि तोकिने भनिएको) मन्त्रालयको जिम्मेवारी पाएकी छिन्।

सोमबार तोकिएको समय भन्दा ३ घण्टा ढिला गरी बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए। सांसद मगरका कारण ३ घण्टा ढिला भएको थियो  उनले मन्त्री पदको ‘बार्गेनिङ’ गरेर विश्वासको मत दिन आनाकानी गरेको विषय बाहिरिएको थियो।

त्यसको भोलिपल्टै मंगलबार उनी मन्त्रीमा नियुक्त भएकी हुन्। ११० सदस्यीय बागमती प्रदेशमा मुख्यमन्त्री जम्कट्टेलले मुस्किलले विश्वासको मत प्राप्त गर्दै आफ्नो सरकार जोगाएका थिए। ५६ सांसदको समर्थन आवश्यक पर्नेमा उनले विश्वासको मतको क्रममा ५६ मत नै प्राप्त गरेका थिए।

प्रकाशित: २० चैत्र २०८० १८:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App