भूकम्पपछिको पुननिर्माण : घर ठडिएपछि भोजभतेर र नाचगान (भिडियो)
बराम्ची (सिन्धुपाल्चोक)— मध्याह्न १२ बजे, स्थानीय ढाँडेबजार छोडेर धुले सडक हुँदै झन्डै डेढ घन्टा सवारीयात्राद्वारा हिमाली बस्ती सिरानगाउँ पुग्दा गाउँले भोजभतेरमा व्यस्त थिए। त्यहाँ घरका कोही नछुटी सबै गाउँले भेला भएका रहेछन्। राँगा, कुखुराको परिकारसहितका भोजन खाइरहँदा सुरु भएको नाचगानले बस्ती गुञ्जायमान बन्यो। आपसमा अबिर टीका र खादा पहिर्याएर उनीहरूले एकसाथ एकता, सद्भाव र खुसी साटासाट गरे।
न बिहे, व्रतबन्ध, न चाडपर्व, तैपनि तामाङ समुदाय बाहुल्य यो गाउँ आइतबार दिनभर सामूहिक भोजन र नाचगानमा झुम्यो। गाउँलेले खुसीयाली मनाउनुको खास कारण रहेछ, स्थानीय सक्रियतामा भूकम्पपछिको पुनर्निर्माण सम्पन्न गर्नु। ‘हो हामीले गाउँ ठड्यायौं,’ मासु परिकार लुछ्दै ७० वर्षीया माया तामाङले भनिन्, ‘मेरा तीनभाइ छोराले घर बनाए। अरू सबै छरछिमेकीले समेत आफ्ना घर बनाई भ्याए।’
भूकम्पले ढालेका साबिक बराम्ची–५ र ६ का सबै घर एकसाथ पुनर्निर्माण भएको अवसरमा भोज आयोजना गरेर गाउँलेले खुसी साटेका हुन्। स्थानीय सिंहलाल तामाङले साबिक दुइटा वडामा व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न भएको बताए।
भूकम्पले ढालेका साबिक बराम्ची–५ र ६ का सबै घर एकसाथ पुनर्निर्माण भएको अवसरमा भोज आयोजना गरेर गाउँलेले खुसी साटेका हुन्। स्थानीय सिंहलाल तामाङले साबिक दुइटा वडामा व्यक्तिगत आवास पुनर्निर्माण सम्पन्न भएको बताए।
उनका अनुसार यहाँ १ सय ४२ घर बनेका छन्। भूकम्पले तत्कालीन वडा नं. ५ मा ७५ र ६ मा ६७ घर ढालेको थियो। ‘अघिकांश गाउँले नयाँ घरमा छिरिसके,’ उनले भने, ‘केही घरमा मात्र रंगरोगनको काम भइरहेको छ।’ एक वर्षअघि गाउँलेले आलोपालोमा घर बनाउने अभियान थालेका थिए।
भूकम्पप्रतिरोधी घरहरू साना भए पनि आकर्षक छन्। नीलो, रातो जस्तापाताको छानो छाइएका घरहरूमा रंगरोगनले चिटिक्क पार्दा गाउँ नै रंगीन बनेको छ। प्रविधि अपनाई भत्केका घरका ढुंगामाटो, काठपात र स्थानीय सामग्री प्रयोग गरेर बनाइएका अधिकांश घरहरू सस्तोमै निर्माण भएका छन्। इँटा र सिमेन्ट जोडाइएका घरको लागत भने केही बढी रहेको स्थानीय बताउँछन्।
पुनर्निर्माणको नेतृत्व लुथ्रन वल्र्ड फेडेरेसन र स्थानीय साझेदार संस्था ग्रामीण महिला सिर्जनशील परिवारले गरेका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग सरकारले भूकम्पपीडितलाई घर बनाउन दिने ३ लाख रुपैयाँसहित प्राविधिक सहयोगसमेत उपलब्ध गराउने सम्झौता गरेर लुथ्रन र सिर्जनशील परिवार गाउँ आउँदा स्थानीयमा घर बनाउने कुनै सुरसार थिएन। आर्थिक अवस्था कमजोर भएका स्थानीय घर बनाउने तालिम प्राप्त कामदार नहुँदा अलमलमा थिए।
सिर्जनशील परिवारले गाउँका २५ जनालाई डकर्मी तालिम दिएर अर्धदक्ष बनायो। लुथ्रनले तीन किस्तामा अनुदान दिने भएपछि गाउँले भत्किएको घर ठड्याउन कस्सिए। २०७३ असोज १ बाट आलोपालोमा घर बनाउन थालेका स्थानीयले १४ महिनामै सिंगो गाउँको पुनर्निर्माण सकेका हुन्।
‘संस्थाले घच्घचाइरहे, हामी काममा जोतिइरह्यौं,’ स्थानीय पासाङ लामाले भने, ‘हेर्दाहेर्दै भत्किएका घरहरू ठडिए।’ उनका अनुसार स्थानीय सामग्री प्रयोग गरेर आलोपालोमा काम गर्दा सस्तोमै घर बनेका छन्। धेरैले अनुदानमा आएको ३ लाख रुपैयाँबाटै घर बनाउन सकेका छन्। इँटा र सिमेन्ट जोडाइका घरसमेत ६ लाख रुपैयाँमै बनेको उनले बताए।
एकै डिजाइनका भुइँतले घरहरूले गाउँमा एकरूपता ल्याएको देख्न सकिन्छ। परिवार संख्याअनुसार दुईतीन कोठाका घर छन्। धेरै दुईकोठे छन्। सहयोगी संस्थाले प्राविधिकसमेत दिएर काम गराउँदा पीडितले अनुदान किस्ता निकासामा प्रशासनिक झन्झट बेहोर्नु परेन।
‘सोही कारण समयमै किस्ता निकासा हुँदा पुनर्निर्माणले तीव्रता पायो,’ सिर्जनशील परिवारकी कार्यकारी निर्देशक नानीमैयाँ थापाले भनिन्। उनका अनुसार अनुदानबाहेकको खर्च पीडितले नै बेहोरेका छन्। लुथ्रनले पुनर्निर्माणमा सरकारी अनुदानबराबर लाभग्राहीलाई ३ लाखका दरले ४ करोड २६ लाख रुपैयाँ आर्थिक सहयोग गरेको थापाले जानकारी दिइन्। सबै लाभग्राहीले तेस्रो किस्ता पाइसकेका छन्।
पुनर्निर्माण सकेपछि गाउँका सबै एक ठाउँमा भेला भएर भोजभतेर र नाचगान गरेर खुसीयाली बनाउने गाउँलेको निर्णय थियो। सामूहिक भोजनका लागि घरधुरी ५ सय रुपैयाँ उठाएर उनीहरूले खुसीयालीलाई उत्सवकै रूपमा बनाए। गाउँलेको उत्साहमा साथ दिन सहयोगी संस्थाका अधिकारी गाउँमै आएका थिए। स्थानीयले उनीहरूलाई फूलमाला र खादाले सम्मान गर्दै अविस्मरणीय बिदाइसमेत गरे।
भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकमा साबिक वडा पुर्नर्निर्माण सम्पन्न भएको यो पहिलो गाउँ हो। यसअघि धुर्मुस–सुन्तली फाउन्डेसनले मेलम्ची नगरपालिकामा गिरानचौर एकीकृत नमुना बस्ती बनाएर समुदायलाई हस्तान्तरण गरेको थियो।