२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

रविलाई मतदाताको प्रश्न: ‘सहकारी ठगीको विषयमा किन मौन ?’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो निर्वाचन क्षेत्रका नागरिकसँग सार्वजनिक सुनवाई कार्यक्रम गरेका छन्।

मतदातासँग मत माग्ने क्रममा हरेक चार/चार महिनामा सार्वजनिक सुनवाई गर्ने प्रतिबद्धता लिएका लामिछानेले आइतबार नारायणी कला मन्दिरमा पहिलो पटक सार्वजनिक सुनुवाई गरेका हुन्।

जनप्रतिनिधि जनताप्रति जबाफदेही हुनुपर्छ भन्ने मान्यताका साथ सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको चितवन क्षेत्र नम्बर-२ का प्रतिनिधि सभा सदस्य समेत रहेका लामिछानेले जानकारी दिए।

सार्वजनिक सुनुवाई कार्यक्रममा लामिछानेले निर्वाचित भएपछि गरेका काम, भरतपुर महानगरपालिका, विद्युत् प्राधिकरण, जिल्ला प्रशासन कार्यालय चितवनले गरेका कामप्रति नागरिकले चासो व्यक्त गरेका थिए।

कार्यक्रममा नागरिकले लामिछानेको काम कारबाही प्रति पनि प्रश्न उठाउन छाडेनन्। करिब ५ घण्टा चलेको कार्यक्रममा पहिलो प्रश्न राख्दै भरतपुर-१२ का नागरिकले लामिछानेको उजुरी पेटिकामा उजुरी हालेको २४७ दिनमा पनि सुनुवाई नभएको गुनासो गरे।

‘आस्था टोल विकास समिति र वडा नम्बर १२ ले पञ्चायत शैलीमा बल मिचाई तरिकाले सडक बनाएको छ। त्यस विषयमा उजुरी यतिका दिन भइसक्यो। अहिलेसम्म के भएको छ?’ प्रश्न गर्दै उनले थपे ‘चितवनबासीलाई न्याय पाउन २४७ दिनमा पनि हुँदैन भने कालिकोट हुम्ला जुम्लाले कति दिन कुर्नुपर्ने हो ?’ त्यसका उत्तरमा लामिछानेले सम्बन्धित निकायसँग बुझेर परामर्श गर्ने बताए।

नागरिकले लामिछानेमाथि सहकारी सञ्चालकले ठगेको विषयमा पनि प्रश्न गरे। उनीहरुले सहकारी सञ्चालकले ठगेको विषयमा सदनमा कुरा नउठाएकोमा समेत लामिछानेलाई प्रश्न उठाएका थिए।

भरतपुर महानगरपालिका वडा नम्बर-९ का पुर्णभद्र कंडेलले सहकारीले साना बचतकर्ता माथि ठगेको विषय जानकारी दिँदा समेत समाधान हुन नसकेको बताए।

‘साहरा सहकारीले पैसा नदिएको हजुरलाई भेटेर नै जानकारी गराएको थिए। म दिर्घरोगी पनि हो। मासिक ३० देखि ३५ हजार उपचार खर्च लाग्छ। सहकारीले पैसा दिँदैन। औषधी उपचार गर्न सक्ने अवस्था समेत छैन,’ आफ्नो पिडा पोख्दै कंडेलले भने ‘चितवनबाट ५ अर्बभन्दा बढी सहकारी सञ्चालकले ठगी गरेका छन्। बचत कर्ता गाँस बासबाट वञ्चित भएका छन्। सिआईबीसम्म पनि फाइल पुगेको छ। तर अगाडि बढ्दैन।’

उनले सिआईबीलाई फाइल नखोल्नका लागि दबाब गएको सुनाए। लगत्तै प्रतिउत्तरमा लामिछानेले सिआईबीसँग कुरा गर्ने बताए।

‘यसअघि मेरो सिआईबी प्रमुखसँग व्यक्तिगत लगायतका विषयमा कुरा गरेको थिए,’ उनले भने, ‘अब यस विषयमा पनि कुरा गर्छु।’ उनले अन्यायमा परेकालाई न्याय दिलाएर छाड्ने बताए।

सार्वजनिक सुनुवाइमा पूर्वी चितवनमा चल्ने सार्वजनिक सवारी साधन केन्द्रीय बसपार्कमै रोकेको विषय जोडतोडले उठ्यो। यातायात व्यवसायी बद्री प्रसाद पौडेलले भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय चितवनले यस विषयमा पटकै ध्यान नदिएको बताए।

‘नारायणगढसम्म सवारी ल्याउनका लागि वातावरण बनाइदिन पूर्वी चितवनका तीन वटा स्थानीय निकायले पत्र समेत पठाएको छ। सवारी साधनको चापलाई लिएर नारायणगढ आउन दिइएको छैन,’ उनले भने ‘हामीले ४० जना यात्रु एकै पटक ल्याउँछौँ। ती यात्रु ल्याउन कम्तीमा ७ वटा म्याजिक चाहिन्छ। एउटा बसले ट्राफिक जाम गराउँछ कि ७ वटा म्याजिकले उनले पश्न गरे।’

लामिछानेले स्थानीय सरकार, जिल्ला प्रशासनसँग कुरा गरेको भन्दै छिट्टै सावधान हुने आश्वासन दिए।

‘यस विषयमा क्षेत्र नम्बर-१ का सांसद हरि ढकाल पनि लाग्नुभएको छ। मैले पनि सबै निकायसँग कुरा गरेको छु,’ उनले भने ‘नारायणगढसम्म ल्याउन सकिँदैन भने भाडा समायोजन गर्न भनेको छु।’

लगत्तै उनले भरतपुर महानगरपालिका र जिल्ला प्रशासन कार्यालय चितवनबाट प्रतिनिधि बनेर आएका कर्मचारीलाई उत्तर दिन लगाएर महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख महेन्द्रप्रसाद पौड्यालले यस विषयमा पटक पटक छलफल भएकोले छिट्टै समाधान हुने बताए।

कार्यक्रममा लामिछानेको ब्लु बसको विषयमा समेत प्रश्न उठ्यो। भरतपुर महानगरपालिका ५ कि भोजकुमारी न्यौपानेले ब्लु बस सबै क्षेत्रमा सञ्चालन गर्न माग गरिन्।

‘आमाहरु रविको बस चल्छ रे चढ्नुपर्‍यो भन्नुहुन्छ हाम्रो तिर छैन,’ उनले भनिन् ‘सबै तिर किन सञ्चालन हुन नसकेको हो?’ प्रतित्तरमा लामिछानेले भने ‘एउटै बसले ढाँड सेकेको छ। अहिले भएको रुट थप र परिवर्तन गर्न पनि सकिन्छ।’ 

उनले सार्वजनिक यातायातमा महिलाले सुरक्षित यात्रा गर्नुपर्दछ भन्ने उद्देश्यका साथ बस सञ्चालनमा ल्याएको बताए।

ब्लु बसमा विभिन्न टिप्पणी उठेको बताउँदै लामिछानेले आफूले ल्याएको अवधारणा सबै दलले ल्याए पनि हुने बताए। ‘निःशुल्क बस जसले चलाए पनि हुन्छ। फोटो जसले राखे पनि हुन्छ। मेरो राख्नुपर्छ भन्ने होइन। अरू दलले राखे पनि हुन्छ’ उनले भने ‘महिलाहरुका लागि ल्याएको सुरक्षित यात्राको अवधारणा अरुले स्थापित गर्दा आपत्ति हुँदैन।’

कार्यक्रममा गोन्द्राङ नारायणगढको ६ लेनको सडक विस्तारको काम, बाइपास रोड, कालिका नगरपालिका जोड्ने भोजावट पदमपुर सडक छिटो निर्माण गर्न नागरिकले अनुरोध गरेका थिए। त्यस्तै नारायणी लिफ्ट, व्यवसायीको समस्या लगायतका विषय उठे।

सय दिनमा सार्वजनिक गरेका कार्यक्रम सञ्चालनका लागि ११ महिनालाई स्रोत सुनिश्चित भएको लामिछानेले बताएका छन्।

‘ब्लु बस, मोबाइल क्लिनिक, कार्यालय सञ्चालन गर्न २० जना सदस्यले मासिक ४५ हजार दिनुहुन्छ,’ उनले भने ‘बाँकीका लागि चितवन क्लबको अवधारणा ल्याएका छौँ। यसमा देश विदेशमा रहनुभएको सबै जोडिन सक्नुहुन्छ।’

अहिलेसम्म ४३२ जना युवाले विदेशबाट फर्किन इच्छुक देखाएको उनले बताए। लामिछानेले भरतपुरको वडा नम्बर १ र २ मा ४ हजार ८७५ बिरुवा रोपेको जानकारी दिए। त्यस्तै २ हजार १२८ जनाले मोबाइल क्लिनिकबाट सेवा लिएको उनको दाबी छ।

प्रकाशित: १० भाद्र २०८० १४:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App