३ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहालको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित रह्योः ओली

फाइल तस्बीर

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्।

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान नभई सत्तास्वार्थ मात्रै प्रधान भएको दाबी गरेका हुन्। पार्टीको परराष्ट्र मामिला विभागले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वर्तमान अन्तराष्ट्रिय परिस्थिति र नेपालको परराष्ट्र नीति सम्बन्धि नेकपा (एमाले) को धारणा’ विषयक विचार गोष्ठीमा मात्रै उनले नेपाली आवश्यक्ता, नेपाली हीत, नेपालको न्यायोचित पक्षमा हुनुपर्ने कुराहरुमा प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणमा धेरै कमजोरीहरुको देखाएको जिकिर गरे। अध्यक्ष ओलीले इपीजी प्रतिवेदन र नेपालको भूमिबारे समेत प्रधानमन्त्री दाहालले भारतीय पक्षसँग कुनै कुरा गर्न नसकेको भन्दै आक्रोश समेत व्यक्त गरे। उनले राष्ट्रिय हीतलाई सर्वोपरी राखेर मात्रै परराष्ट्र नीति तय गर्न आफूहरु सदैव तयार रहेको र रहिरहने अडान समेत राखे। सरकारले मनपरी र बेठिक ढंगले अघि बढाएको परराष्ट्र सम्बन्धमा आफ्नो पार्टीको साथ नरहने ओलीको भनाई थियो ।

उनले भने, ‘अहिलेका प्रधानमन्त्री अस्ती भर्खर भारत जानुभयो । कुन–कुन सम्झौंता गर्नुहुन्छ, केही पनि बताउनु भएन यहाँ । जे गर्नुपर्ने, त्यो केही पनि काम गर्नुभएन । दुई देशका बीचमा त्यत्रो सहमतिका साथ प्रवुद्ध व्यक्ति समूह बनाइयो । १९५० को सन्धिलगायतका विभिन्न सन्धि, सम्झौता र सम्बन्धहरुका विविध पक्षहरुको अध्ययन गरेर नेपाल र भारतबीचको सम्बन्धलाई आजको समयानुकुल न्याय र समानतामा आधारित उचित सम्बन्धि, सुमधुर र सदृढ सम्बन्ध कसरी बनाउने रु कसरी त्यसरुपमा विकास गर्ने, जो पारस्परिक लाभ र समानताको आधारमा होस् । यस हिसावले इपिजी गठन गरिएको थियो । त्यस सम्बन्धमा कुरा गर्नुपर्दथ्यो । कुरा गर्नु भनिएको थियो । प्रधानमन्त्रीजीले त्यो कुरा उठाउनु भएन।'

उनले अगाडी भने, अब सरकारले मनपरी र बेठिक गर्दै जाने, सरकारले बेठिक गर्दै जाने, हामीले समर्थन गर्दै गएर राष्ट्रिय सहमति हुने त होइन । राष्ट्रिय हीतमा अडिएर राष्ट्रिय सहमति हुनुपर्छ । राष्ट्रिय हीतको पक्षमा सरकारले कुरा ल्याओस् । सरकार पक्षले कुरा ल्याओस् । अरु पार्टीले कुरा ल्याउन । हामी राष्ट्रिय हीतको पक्षमा जोसुकैले ल्याएको कुरालाई पनि समर्थन गर्छौं । र, एकतावद्ध भएर अगाडि तयार छौं । राष्ट्रिय हीत छोडेर सहमती हुने कुरामा नेकपा एमाले तयार हुँदैन । र, नेपाली जनता, देशभक्त जनता पनि तयार हुन सक्दैनन्। '

अध्यक्ष ओलीले भारत र चीन दुई मित्र राष्ट्रहरु भएकाले उनीहरुसँग खुलस्त कुरा राखेर मात्रै आपसी समस्यालाई समाधान गर्न सकिने बताए। उनले आफ्ना जायज मागहरु पनि छिमेकीसँग राख्न नसक्ने हो भने त्यस्तो खालको सरकार र सत्ताको कुनै अर्थ नहुने पनि दोहोर्याए।

प्रकाशित: २० श्रावण २०८० ०८:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App