२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

आठराई त्रिबेणीको नीति: सुत्केरीलाई एम्बुलेन्स सेवा निःशुल्क, बसाई सरी आउनेलाई प्रोत्साहन

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले पालिकाभित्र गर्भवति महिलालाई सुत्केरी समयका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।

स्वास्थ्यलाई दिउँ पहिलो स्थान,अनि हुन्छ रोगको निदान भन्ने नारा तय गरेको गाउँपालिकाले गर्भवति महिलाको नियमित जाँचलाई अनिवार्य गर्न प्रोत्साहित गर्ने भएको छ भने घरमा अनिवार्य स्वास्थ्य संस्थामा सुत्केरी गराउने प्रकृयामा सहयोग गर्ने भएको छ।

कडा रोग लागेका बिपन्न परिवारलाई नागरिक सहयाता स्वरुप नगद २० हजार रुपैयाँ उपलब्ध गराउने भएको छ। दोस्रो गाउँसभा तथा तेस्रो अधिवेशनका गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन) ले आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

बसाँई सरी आठराई त्रिबेणी गाउँपालिका आउनेहरुलाई गाउँपालिकाले प्रोत्साहन गर्ने भएको छ। यस्तै गाउँपालिकाले पालिका भरीका प्रत्येक माध्यमिक सामुदायिक विद्यालयहरुको निगारानी अब पालिकामार्फत गरिने भएको छ। त्यसका लागि गाउँपालिकाले प्रत्येक माध्यमिक सामुदायिक विद्यालयहरुमा सिसी क्यामेरा जडान गर्ने भएको छ भने त्यसको नियमन गाउँपालिकाबाट गरिने भएको छ। 

यस्तै पालिका भित्रका माध्यमिक विद्यालयहरुले वर्ष दिनमा कम्तिमा ५ हजार विरुवा रोपण गर्नुपर्ने भएको छ। विरुवा र रोपण क्षेत्र गाउँपालिकाले उपलब्ध गराउने र विरुवा रोपणको समयमा खाना तथा खाजाको प्रवन्ध समेत गाउँपालिकाले गर्ने नीति लिएको छ।

गाउँपालिकाले खाली क्षेत्रमा वृक्षरोपण कार्यक्रमलाई प्रोत्साहित गर्ने भएको छ। गाउँपालिकाले स्थानीय उत्पादनलाई बढावा दिई बेसारमा आत्मनिर्भर बनाउन बनाउन बेसार खेति प्रवद्र्धन कार्यक्रम गर्ने भएको छ। गाउँपालिकाले माध्यमिक तह सञ्चालन भएको विद्यालयका १२ कक्षा सम्म अंग्रेजी माध्यम सुरु गरी कक्षा ५ सम्म अनिवार्य अंग्रेजी पढाई गर्ने प्रवन्धको नीति लिएको छ। पालिका भित्रका उच्च शिक्षा अध्ययन गर्न चाहने गरिव,जेहेन्दार बिद्यार्थीलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको छ।

पालिकाले पालिका भित्रका सबै विद्यालयमा विद्युतीय हाजिरी सुरु गर्ने भएको छ। गाउँपालिकाले शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने घोषणा गरेको छ। पालिकाले स्थानीय स्तरमै कृषि विज्ञ उत्पादन गर्न स्नातक देखि माथि कृषि बिषय अध्ययन गर्न चाहनेहरुका लागि अध्ययन पश्चात ५ वर्ष अनिवार्य गाउँपालिका क्षेत्रमा सेवा गर्ने सर्तमा निःशुल्क पढ्ने गरी छात्रबृति उपलब्ध गराउने भएको छ।

पालिकाले प्रत्येक वडामा ५ सय जना क्षमताको  सामुदायिक भवन निर्माण गर्ने नीति लिएको छ। गाउँपालिकाले पालिकाको केन्द्र र सबै वडा पालिकाहरुको केन्द्र सम्म बाह्रै महिना सवारी यातायात सञ्चालनको प्रवन्ध गर्ने भएको छ। त्यसका लागि अहिलेसम्म वडापालिका र पालिकाको केन्द्र सम्म पुग्ने कच्ची सडकलाई स्तरोन्नती गर्ने गाउँपालिकाको नीति रहेको छ। पालिकाले पानीको उपलब्धतालाई ध्यानमा राखेर जलाधार तथा मुहान संरक्षण कार्यक्रम अघि बढाउने भएको छ। खेल खेलौं,स्वस्थ्य बनौं भन्ने नारालाई गाउँपालिकाले प्राथमिकता दिएको छ। त्यसका लागि गाउँपालिकाले स्थानीय क्लव तथा बिद्यालयहरुलाई खेलकुदका बिधागत गतिविधिलाई प्रोत्साहित गर्ने भएको छ।

५० करोड बढीको बजेट

आठराई त्रिबेणी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ५० करोड २२ लाख ९० हजार २ सय रुपैयाँको बजेट ल्याएको छ। पालिका उपाध्यक्ष शान्ताकुमारी आङबुहाङको अनुपस्थितिमा आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ का वडाध्यक्ष सूर्यमान यक्सोले आगामी आवका लागि सो बजेट प्रस्तुत गरेका हुन्।

प्रकाशित: १० असार २०८० १०:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App