२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री यादवले पाए सिङ्गो सदनको विश्वासको मत

मुख्यमन्त्रीको विपक्षमा शुन्य मत

मधेस प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवले दोस्रो पटक विश्वासको मत पाएका छन्। मंगलबार मुख्यमन्त्री यादवलाई प्रदेश सभामा उपस्थित १०३ सांसदले विश्वासको मत दिएका हुन्। विपक्षमा शून्य मत खस्यो।

जेठ १ गते सरकारबाट बाहिरिएको एमालेले समर्थन फिर्ता लिएको थियो। सोही कारण २९ दिनपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रस्ताव मंगलबार प्रदेश सभामा पेस गरेका थिए। उनले आफ्नो कार्यकालमा दोस्रो पटक विश्वासका मत लिएका छन्।

एमाले सरकारबाट बाहिरिए पछि विश्वासको मत लिनेबारे अलमलमा परेका मुख्यमन्त्री यादवले कानुनी प्रश्नबाट बच्न अन्तिम समयमा विश्वासको मत लिएका हुन्।

प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएर मुख्यमन्त्री बनेका यादव एमाले सरकारबाट बाहिरिएपछि पनि दुई तिहाई सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन नपर्नेमा ढुक्क थिए।

सत्ता गठबन्धनबाट सरकारका समर्थक दल एमाले बाहिरिएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधानलाई मुख्यमन्त्री यादवले बेवास्ता गर्दै बसेका थिए। तर, विश्वासको मत नलिए अदालतमा रिट पर्ने र त्यो मुख्यमन्त्रीको अनुकूल नहुने उनका कानुन व्यवसायीहरूले सल्लाह दिएपछि मुख्यमन्त्री यादवले मंगलबार साँझ ५ बजे प्रदेशसभाको बैठक बोलाएर विश्वासको मत लिएका छन्।

प्रदेशसभा सचिवालयले मंगलबार अपराह्न ५ बजे प्रदेशसभाको बैठक बोलाइएको ब्यहोराको एसएमएस प्रदेशसभा सदस्यहरुलाई पठाएका थिए। अधिकांश सांसद राजधानी जनकपुरबाहिर रहेकाले उनीहरूकै समयलाई अनुकूल मान्दै अपराह्न ५ बजे बैठक बोलाइएको थियो।

‘नेपालको संविधान २०७२ को धारा १८८ को १ मा मुख्यमन्त्रीले जुनसुकै बेला संसद् बैठक आह्वान गरी विश्वासको मत लिन सक्ने प्रावधान छ,’ मुख्यमन्त्री यादवको दल जसपाका प्रदेशसभा सदस्य राम अशिष यादवले नागरिकसँग भने, ‘पहिलाजस्तै आज पनि सबै दलले विश्वासको मत दिएका छन्।’

सरकारमा सहभागी दल सरकारबाहिर गएर समर्थन फिर्ता लिएको खण्डमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने धारा १८८ को २ मा भएको कानुनी प्रावधान पूरा गर्न विश्वासको मत लिइएको सांसद यादवले भने।

मुख्यमन्त्री यादवसँग असन्तुष्ट रहँदै सरकारबाट मन्त्री फिर्ता बोलाएका माओवादी (केन्द्र) ले पनि विश्वासको मत दिएको छ। माओवादीका प्रदेश सांसद युवराज भट्टराईका सरकारबाट मन्त्री मात्र फिर्ता बोलाइएको हो। समर्थन कायमै छ,’ उनले भने,‘त्यसैले मुख्यमन्त्रीलाई हाम्रो दल माओवादीले विश्वासको मत दिएको छ।’ मधेस प्रदेशसभाको ठुलो दल नेकपा एमालेसहित सबै दलको समर्थनमा पुस २७ गते सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भएका थिए। चैत २१ गते संघीय सरकारको समीकरण फेरिएपछि मधेस प्रदेश सरकारबाट बाहिरिएको एमाले जेठ १ गते समर्थन फिर्ता लिएको थियो। गत जेठ २६ गते बसेको प्रदेशसभाको बैठक जेठ ३२ गते बस्ने गरी स्थगित भएको थियो। तर, मुख्यमन्त्रीलाई विश्वासको मत लिन बैठक मंगलबार ३० गते बोलाइयो।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १८, जनमत १३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र माओवादी केन्द्र र एकीकृत समाजवादीका ९/९ सांसद छन्। नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक जना सांसद छन्। यस्तै ३ जना स्वतन्त्र सांसद छन्।

प्रकाशित: ३० जेष्ठ २०८० १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App