४ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु हुन्छ: मन्त्री किराँती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन्।

सो विमानस्थलको निरीक्षणपछि उनले आफू काठमाडौँ पुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिए। विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक जहाज यहाँ किन आएका छैनन् भन्ने विषयमा आफूले छलफल गर्ने र उडान थाल्ने आश्वासन दिएका हुन्।

नेपाल एयरलाइन्स मात्र नभई अन्य विमान सेवाको उडानका लागि पनि आफूले पहल गरिरहेको उनको भनाइ थियो। श्रीलङ्का भ्रमणमा रहेकी परराष्ट्र मन्त्रीमार्फत कोलम्बो–भैरहवा–कोलम्बो उडानका लागि पनि पहल गरिएको मन्त्री किरातीले जानकारी दिए।

प्रधानमन्त्रीको भारत भ्रमणका बेला आइएलएस, रुट परमिट, दिल्ली–भैरहवा उडानलगायत विषयमा भारतको सहयोगसम्बन्धी एजेण्डालाई पहिलो प्राथमिकतामा राखी पहल गरिने उनको भनाइ थियो।

मन्त्री किरातीले यस विमानस्थल सञ्चालनका लागि कूटनीतिक र प्राविधिक समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्दै विमानस्थल सञ्चालनका लागि आवश्यक सबै सहयोग उपलब्ध गराउने पनि जिकिर गरे। यस विमानस्थलमा नियमित उडान गरेको जजिरा र हिमालय एयरलायन्सले मौसम खराबीको कारण देखाउँदै गत पुसमा उडान रोकेका थिए। 

नेपाल र चीनका निजी क्षेत्रको संयुक्त लगानी रहेको हिमालयन एयरलायन्सले गत पुस १ र जजिराले पुस ६ गतेदेखि उडान रोकेका हुन्।

विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान र त्यत्तिकै सङ्ख्यामा अवतरण भएका थिए। सो अवधिमा ३२ हजार यात्रुले सेवा लिएको विमानस्थलले जनाएको छ।

प्रकाशित: २२ माघ २०७९ ०९:१२ आइतबार

सुदन किराती