२५ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

मतदान गर्न सहरदेखि गाउँ जानेको लर्को

आइतबार हुन लागेको प्रतिनिधि तथा प्रदेशसभा चुनावमा सहभागी हुन देश तथा विदेशबाट मतदाताहरु गाउँ आउने क्रम बाक्लिएको छ। चुनाव हु्ने दिन आउनु भन्दा साता दिन अघिदेखि मतदाताहरु गाउँ आउन थालेका हुन्।  

गाउँ जाने क्रम ३ दिनयता निकै बाक्लो भएको यातायात व्यवसायीहरु बताउँछन्। उदयपुरका विभिन्न पहाडी भेगका मतदाताहरु केही दियता सदरमुकाम गाईघाटमा जम्मा हुने र ठूला तथा साना गाडी रिजर्भ गरेर र सार्वजनिक यातायात चढेर गाउँ जाने गरेको व्यवसायीहरु बताउँछन्।  

गाईघाटमा सञ्चालित उदयपुर हिमाली यातायात व्यवसायी केन्द्रका अनुसार अहिले मतदाताहरु गाउँ जाने क्रम बाक्लिएकाले सबै गाडीहरु भरिभराउ हुने गरेका छन्। दिनहुँ सयौं यात्रु गाउँ जाने गरेकाले धेरैजसो गाडीहरु रिजर्भमा लाग्ने गरेको केन्द्रका कर्मचारी बताउँछन्। मतदाताहरु गाउँ जानुपर्ने भएपछि ठूलासँगै साना जीव, भेन र बोलेरा गाडीहरु पनि सबै रिजर्भ लाग्ने गरेका छन्।  

बोलेरो चालक रमेश खड्काले गएको सातादिनयता दैनिक रिजर्भमा जाने गरेको बताए। खासगरी पहाडी भेगका बिभिन्न गाउँपालिकाका मतदाताहरुलाई रिजर्भमा लाने गरेको उनले सुनाए। पहाडी भेग भए पनि अहिले धेरैजसो ठाउँ यातायात सडकले छोएको हुनाले सबैतिर १ देखि ३ दिनभित्र पुगेर आउन सकिन्छ। वर्षा हटिसकेकाले पनि अहिले सडकहरु धुले नै भए पनि आउजाउ गर्न त्यत्ति गाह्रो छैन।  

चुनावले गर्दा गाडी भाडा भने हिजोआज ह्वात्तै बढेको छ। एकदिनको जिप रिजर्भ गर्न कम्तीमा १० हजार खर्चनु परेको यात्रुहरु बताउँछन्। गाईघाटदेखि फोक्सिन्टारसम्म जानलाई पनि १० हजार घटी नमोको खोटाङ दिप्र्ुङ चुईचुम्माका उत्तम राईले बताए। गाईघाटदेखि खोटाङ  जानआउन अहिले बेलिब्रीज नभएको र पक्की पुल नबनिसकेकाले उदयपुर खण्डको रसुवासम्म गएर झोलुंगे पुल तरेर जानुपर्ने बाध्यता छ।  

झोलुंगे पुलसम्म पुग्न पनि छिटोका लागि रिजर्भ लिएर जानु पर्दा भाडा महँगो लाग्ने गरेको छ। सार्वजनिक यातायात भनेको बेला नपाइने र कहिले काही राति पनि हिड्न्ु पर्दा रिजर्भ लिनै पर्ने बाध्यता रहेको उदयपुर ताप्लीका गोविन्द ठकुरीले बताए। उनका अनुसार चुनावले होला सार्वज्निक यातायात पातलो भेटिने हुँदा रिजर्भ नै गर्नुपर्ने त्यो पनि महँगो पर्ने गरेको छ।  

यातायात व्यवसायीका अनुसार पछिल्लो सातादिनमा मात्र झण्डै ३५ हजार यात्रु उदयपुर र खोटाङका विभिन्न भाग गएका छन्। यो तथ्यांक गएरातिसम्मको हो। शनिबार पनि विहानैदेखि यात्रु खचाखच सदरमुकामबाट पहाडी भेगतर्फ जाने क्रम चलिरहेको छ। दर्जन बढी ठूला बस र दुई÷तीन दर्जन हाराहारी साना जिप भेनहरु रिजर्भ गरेर यात्रु बाहिरिएका छन्। मोटरसाईकल, अटो र स्कुटीमा जानेको गणना बेग्लै गर्नुपर्ने केन्द्रले जनायो।  

विभिन्न पेशा व्यवसाय र जागीरको क्रममा जिल्लाबाहिर बसेका मतदाताहरु गाउँ फर्केका हुन्। खासगरी काठमाडौँ, बिराटनगर, जनकपुर, धरान, राजविराज, पोखरा, चितवन लगायत सहर बजारबाट आएका छन्। सदरमुकाम गाईघाटमा पेशा व्यवसाय र घर डेरामा बस्नेहरु पनि मतदानका लागि गाउँ जाने उत्तिकै छन्। बिदेशबाट आउने मतदाताहरुको संख्या भने यो चुनावमा कमै रहेको पाइएको छ।  

स्थानीय तह चुनावमा भन्दा चाहि यो चुनावमा आउने मतदाताको संख्या कमै छ। स्थानीयतह चुनावमा उम्मेदवार धेरै हुने भएकाले आफ्ना मान्छेलाई मत दिन पनि धेरै मान्छे जिल्ला भित्रिएका थिए। तर, संघ र प्रदेशको चुनावमा त्यो दाँजोमा आधाभन्दा कम मान्छे भित्रिएका छन्।  

प्रकाशित: ३ मंसिर २०७९ ०७:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App