९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

अचानक लुरि गुम्बामा

कस्तो सौभाग्य ! यात्राबीचमै अर्को यात्रा योजना बन्यो । हामी घार गुम्बा (ल्हो गेकर) र लुरि गुम्बा पनि जाने भयौँ । संयोग न हो मान्छेको जीवन ! केवल संयोग थियो आनीहरूसँगको भेट । दुर्लभ तर एउटा सुखद संयोग थियो त्यो । 

तिजी मेलाका तीन दिन सँगै भयौँ हामी । ल्हो–मन्थाङका साँघुरा गल्लीको सञ्जाल समाउँदै जाम्पा, थुप्तेन र छोदे गुम्बामात्र होइन, ठिङ्गारसम्म पुगेर मुस्ताङी जीवन पढेका थियौँ हामीले । सहयात्री भइसकेका थिए उनीहरू । एलेन र जो पनि सुपरिचित भइसकेका थिए उनीहरूसँग ।

००००

कति मनकारी ! उनीहरूले नै प्रस्ताव गरेका थिए अघिल्लो साँझको खाना । आजको खानाका लागि छ बजे होटल टासी दिलेकमै बोलाएको थिएँे मैलै । सोचेको थिएँ– अन्तिम भेटको अन्तिम खाना सँगै खाउँ ।

‘तपाइँहरूसँगको भेटले थप रोमाञ्चक भयो ल्हो–मन्थाङको बसाइँ’, मनका कुरा गरिन् मणिकलाले । अनि पाउडरधूप र आतोङकार्पो उपहारस्वरुप दिइन् एलेन र जोलाई । 

‘हामी नेपालटारको गुम्बामा बस्छौँ । कहिलेकाहीँ बाटो पर्दा छिर्नुस् है दाइ !’ विनयी भावमा आग्रह गरिन् आनी सोनामले । 

भोलि तपाइँहरू कहाँ जानुहुन्छ ? मेरो प्रश्न उनीहरूलाई । 

‘घार गुम्बा र लुरि गुम्बा जाने कार्यक्रम छ । तर लोकल गाडीको सारमा घार गुम्बा गएर लुरि गुम्बा जान के भ्याइएला र ! नभ्याए घार गुम्बा गएर चराङमै रात बिताउनु पर्ला’, मणिकलाको जवाफ ।

‘हामी त्यहाँ पुगेका छैनौं । के भोली दुवै ठाउँ घुमेर कागबेनी जान सकिन्नँ ?’, हाम्रो संवाद सुनिरहेका एलेनले जिज्ञासा राखे । जोलाई मुक्तिनाथ घुमाउनु पर्ने भएकाले लुरि गुम्बालाई यात्रा तालिकामा राखिएको थिएन । सायद उनलाई लुरि गुम्बा हेर्ने इच्छा जाग्यो ! 

चालकसँग सोधेँ । ‘सम्भव छ’ भन्ने जवाफ आयो । भनेँ, ‘सम्भव छ ।’ 

सानो प्वालबाट छिरेको प्रकाशले गुफाको अन्धकार चिर्न सकेको छैन । अत्यासै लाग्ने ! भन्न नसकेर मात्र हो–मुटु ढक्क फुलिसकेको छ । सोच्छु– कस्तो कठोर तपस्या गरेका होलान् ती लामाहरूले यस्तो आकाशे गुफामा बसेर । 

अघिल्ला यात्रामा दुवै ठाउँमा पुग्न पाएका थिएनन् एलेन । घार गुम्बा गए पनि लुरि गुम्बा गएको थिइनँ म पनि । यारा र घाराजस्ता बस्तीसित साक्षात्कार हुने लालसा थियो ममा पनि । भगवान्को दर्शन गर्ने इच्छा जागेपछि जाने मेसो पनि मिल्दोरहेछ !

साइत जुरायौँ हामीले ! बिहान आठ बजे निस्कने टुङ्गो लाग्यो । 

००००

छिरिङको परिवारले बिदाइ ग-यो हामीलाई । ‘ल राम्रोसँग जाऊ । अब कहिले आउने ?’ छिरिङको प्रश्न ।

‘तपाइँले बोलाउनु‘भो भने आइहाल्छु नि ।’ ठट्यौली पारामा म ।   

चल्यो गाडी । बिहानैदेखि जिस्क्याइरहेको थियो घाम र हावाले । बतास नचम्किए घामले र घाम नचर्के बतासले मान्छेलाई सताउँछ यहाँ । दुवैथरी मन्द हुँदा मात्र हो आनन्दको आभास हुने मान्छेलाई ।

सुनौला थुमका कोखाकाखी भएर गुडिरहेछ जीप । वरिपरि छन् बहुरङ्गी पहाड । रहस्यमयी छन् यी सबै । कसले बताउन सक्छ– यहाँ के छ र के छैन भनेर ! नुनदेखि सुनसम्म र चुनदेखि युरेनियमसम्म । युरेनियम भण्डार उत्खनन गर्न सके मुलुकको कायापलट हुन्थ्यो होला ! चुनावका फोस्रो सपना बाँडेर कुर्सीमा पुग्नेहरूको बुद्धि यतातिर फिरे पो ! सपनामा बर्बराएझैँ बर्बराउन पुग्छु म ।

कण्ठेघण्टी झुण्ड्याइएका च्याङ्गा–भेडाका क्याराभान लाग्दैछ थुमतिर । सुनेको थिएँ– हेर्दा केही छैनजस्तो तर संसारमै नपाइने वनस्पति पाइन्छन् रे यहाँ । यसैका वासना सँुघिहिँड्छन् यिनीहरू । कुकुर पनि छन् सहयोगी गोठालाका साथमा । टाढा पुगेका च्याङ्ग्रा–भेडालाई फर्काउन गोठाला जानु पर्दैन; कुकुरले एकैछिनमा गएर फर्काइदिन्छ । नुनको सोझो राम्रै गर्छ कुकुर ।  

आकाशमा उडान भरिरहेका छन् एक बथान मलेवा । बिहानी मन्द हावामा कावा खाँदै छन् चिल । चरिरहेका मृगका जोडीलाई दुर्बिन लगाइरहेका छन् जो र चलदृश्य लिँदैछन् एलेन । हिउँ चितुवा पनि दाउ छोपेर बसिरहेका होलान् ! ज्यान जोगाउन कहाँ पो सजिलो छ र यिनलाई । आफैँलाई नङ्ग्याएर प्राणीलाई जीवन दिएका छन् पहाडहरूले ।

००००

पोहोरको भन्दा सुधारिएको थियो सडकको अवस्था । ‘एलेन ! पोहोरको भन्दा यसरी जीपमा यात्रा गर्नु राम्रो होइन र ?’, कुरा उप्काएँ मैले । उनले आफ्नो जीवनकै डरलाग्दो यात्रा भएको बताए । म पनि कहाँ सम्झन चाहन्थेँ र जीवनकै त्यो भयप्रद यात्रा ! यही ठाउँमा आइपुगेको भएर पो सम्झना आयो त !

‘के भएको थियो र दाइ ?’ मणिकला सोध्छिन् ।

‘कागबेनीको खोला तर्न नसकेर पोखराबाट ल्याएको जीप फर्काउनु प¥यो । त्यसपछि त खाउँ भने दिनभरिको शिकार, नखाउँ भने कान्छा बाउको अनुहार’ भनेझैँ भइगो । फकौँ भने यतिका पैसा खर्च गरेर आइएको छ, नफकौँ भने लोकल जीपबाहेकको विकल्प छैन । अक्करमा परेनौ त ? सहजताका लागि बाह्रजनाको सिट किनेका थियौँ । फेरि एउटै जीपमा आउन पाएको भए त हुन्थ्यो नि ! कागबेनी, छुसाङ, समर र घमीमा गरी लो–मन्थाङ पुगुन्जेल चारवटा जीप फेरेका थियौँ । अचम्म चाहिँ कुनै चालक गाडी स्टार्ट गर्नेबित्तिकै गीत बजाइहाल्ने । कुनै चालक सातो जाने गरी गाडी हाँक्ने । कुनै चालक बोलेको बोल्यै गर्ने । खस्रो सडक, बेसोमतिला चालक । दिक्कै भएका थियौँ चालकहरूका पारा देखेर ।’, बेलीबिस्तार लगाएँ ।

कुनै चालक गाडी स्टार्ट गर्नेबित्तिकै गीत बजाइहाल्ने । कुनै चालक सातो जाने गरी गाडी हाँक्ने । कुनै चालक बोलेको बोल्यै गर्ने । खस्रो सडक, बेसोमतिला चालक । दिक्कै भएका थियौँ चालकहरूका पारा देखेर ।’

‘हो दाइ ! त्यस्तै भएका थियौँ हामी पनि ।’ उस्तै अनुभव सुनाइन् मणिकलाले । फेरि चालकले चाहिँ ढिला गरे‘नि हुने । एक घन्टा कुरेका थियौँ हामीले लो–मन्थाङबाट फर्कने दिन । स्याङ्बोचेन पुग्ने बेला उकालोमा हिलोमा गाडी नउक्लेर कुन जात्रा ! समारको खोलामा एउटा हातले झोला र अर्को हातले एलेनलाई अँठ्याएको थिएँ । भेलमा बुढाको खुट्टा चिप्लिएर झण्डै नपछारिएका ! कम्ता दुःख पाइएन !

अर्को कथा पनि सुनाएँ मैले । सडक बनेको भए पनि पदयात्रा नै गरिरहेका देखिन्छन् सौखिन पर्यटक । यो नै ठिक । उनीहरूलाई देख्दा सन् २००३ र २०११ मा जोमसोमदेखि जोमसोमसम्म पदयात्रा गरेको याद आउँछ । हिँडेका थियौँ हामी आफ्नै लयमा, प्रकृतिको दर्शन पढ्दै । प्रकृतिको साम्राज्यको अनुभूत गरेका थियौँ, पञ्चतत्वले माटो र हावाको स्पर्श गरेका थियौँ । त्यो पो मज्जा थियो त !

थुमको धारमा पुगेपछि घमी जाने बाटो छाडेर दायाँ लाग्छ जीप, ओरालिन्छ र फेरि उचाइ लिन्छ । छिचोलिरहेका छौँ एकपछि अर्को डाँडा । अर्कै उपत्यकामा प्रवेश गरेको महसुस हुन्छ, अर्कै आकाश देखेको भान हुन्छ ।

काला बादलका छाल कुद्दै छन् आकाशगङ्गामा । बेरिन्छन्, तन्कन्छन् र फैलन्छन् घरीघरी । कतै पानी नै वर्षाउने हो कि भनेजस्तो गरेर । मन तन्केर घार गुम्बासम्मै पुगिसकेको छ । 

००००

नागबेली सडकमा रिँग्दै पुग्यौँ हामी, घार गुम्बा (३,९२० मिटर)मा । हिमालयन बुद्धिजम्का लागि महत्वपूर्ण ठाउँ हो– घार गुम्बा । पद्यसंभव प्रत्यक्ष जोडिएको ठाउँ । एकाध निर्धा बस्ती पार गरेका थियौँ त्यहाँसम्म पुग्दा ।

‘ऊबेला ठ्याक्कै चार घण्टा लागेको थियो ल्हो–मन्थाङबाट हिँडेर आउँदा । अहिले पैँतालीस मिनेट लागेछ । चोगो ला (४,२८७ मिटर) पार गरेका थियौँ हामीले । अप्रिलको महिनामा । छिनमै घामले वर्षाउँथ्यो तातो राप । छिनमै बतासले हान्थ्यो चिसो काँड । न कतै छेलिने छेक न त शीतल सियाँल । भो कुरा नगरौँ त्यो शासनाको ! त्यति राम्रो हिमालयको रोमाञ्चक दृश्य पनि धित मरुन्जेल उभिएर हेर्न सकिएन चोगो लाबाट ।

भोटे पीपलका वृक्षहरूले पात हल्लाएर ‘ॐ मणि पद्मे हुँ’ जप्दै थिए । लोली मिलाउँदै थिए गुम्बा अगाडिको लुङ्दा र गुम्बा परिसरका रक्तवर्णका छ्योर्तेनहरूमा टाँगिएका लुङ्दरका सञ्जाल । यहीँबाट सुरु भएको थियो हिमालय क्षेत्रमा बौद्ध धर्मको प्रचार । स्वाभाविक रूपमा मेरो मुखबाट पनि प्रष्फुटन भएथ्यो–

‘ॐ मणि पद्मे हुँ...। 

पूजापाठमा लागे आनीहरू । तस्बिर लिन थाले एलेन र जो । कोही गुम्बाभित्र कोही छ्योर्तेनतिर । म एक्लै थिएँ घार गुम्बाको कोखे आँगनमा । तिब्बतको साम्य गुम्बाभन्दा पुरानो हो– घार गुम्बा अर्थात् लो गेकर । 

‘यो नेपालको सबैभन्दा लामो प्रेयर स्टोन वाल हो नि !’, घार गुम्बाबाट घमी आउने क्रममा ढाकमार पुगेपछि ढुङ्गे पर्खाल देखाउँदै किन्ना शेर्पाले भनेका थिए । उही पुरानो यात्रा गर्दाको याद आयो मलाई । उनी अमेरिकी पर्यटकलाई पदयात्रा गराउँदै थिए । यात्राभरि सँगसँगै थियौँ हामी ।

‘हो र ! कसरी ?’ चासो राखेको थिएँ मैले ।

घार गुम्बा निर्माणको रोचक कथा सुनाए उनले । राक्षसबाट सुरु हुन्छ कथा–इसं आठौँ शताब्दीमा गुम्बा निर्माणमा स्थानीय दुष्टात्मा र प्रेतहरूबाट अवरोध भएपछि त्यसलाई विस्थापित गरी तिब्बतमा बौद्ध धर्म प्रचार गर्न सैँतीसौँ राजा ठिसोङ देचेनेले पद्मसम्भवलाई भारतबाट आमन्त्रित गरे । दुष्टात्मा र प्रेतहरू लखेट्ने क्रममा पद्मसम्भव मुस्ताङको तेताङसम्म आइपुग्दा धेरैलाई वसमा लिइसक्नु भएको थियो । फेरि उकालो लागेपछि एउटी राक्षस्नीलाई पछ्याउँदा घमी खोला वारिको मैदानमा आइपुगेपछि पक्रन सफल हुनु भएछ । पद्मसम्भवले राक्षस्नीलाई बज्रले हानेर घाइते बनाइदिनु‘भो रे । 

घाइते शरीर बोकेर राक्षस्नी अहिलेको ढाकमार पुगिछे । गुरुले राक्षस्नीको आन्द्राभुँडी निकालिदिनु भयो रे । राक्षस्नीको शरीरबाट उछिट्टिएको रगतले खैरो पहरा रातै भएछ । यसैलाई भनिन्छ, ढाकमार अर्थात् रातोमाटो । गुरुलाई राक्षस्नीको मृत्यु भयो भन्ने लागेको थियो तर राक्षस्नी फेरि उठेर भागिछ र माराङ (घर गुम्बा भएको ठाउँ)मा पुगिछ । त्यसपछि राक्षस्नीको मुटु झिकेर गुरुले शरीरलाई एक सय आठ टुक्रा पारिदिनु भएछ । राक्षस्नीको वध गरेको स्थानमा कुनै बाधा–अड्चन नहोस् भनेर त्यही टुक्य्राइएको शरीरमाथि मुटु राखेर गुम्बाको निर्माण गरी गुरु केही समय यहीँ बस्नुभएको थियो रे । राक्षस्नीको आन्द्रा निकालेर फालेकाले सम्झनाका लागि पद्मसम्भवका चेलाहरूले यो पर्खाल बनाएका रे !  

यस्तो कथा सुनेपछि सोचेँ– रोचक कुरा एलेन र जोलाई पनि किन नसुनाउने । पथप्रदर्शक हुनुको जिम्मेवारी पनि त हो ! लागेँ म छ्योर्तेनतिर ।

जुन कुरा म उनीहरूलाई सुनाउन खोज्दै थिएँ त्यही कुरा धमाधम जोलाई बताउँदै पो थिए एलेन । एलेनलाई थाहा नभएको पनि केही कुरा हुन्न ! हामीलाई भन्दा बढी उनैलाई थाहा हुन्छ । तब न विदेशी !

पूजामा लामै समय बिताए आनीहरूले । पूजा सकेपछि छ्योर्तेनमा लुङ्दर टाँगे । दर्शन गर्न पुगेका सबै ठाउँमा चोखा लुङ्दर चढाउँथे उनीहरू । 

००००

अबको यात्रा लुरि गुम्बातर्फको । ओरालियो जीप । पार गरियो दूधिलो रङको बहावको चराङखोला । मुस्ताङ हिमालबाट आएको घुङ खोला, घार गुम्बा नजिकबाट मराङहुँदै चराङतिर झरेको छ । यसलाई चराङखोला भनिन्छ चराङ पुगेपछि । पुगियो चराङगाउँ । 

रोकियो गाडी प्रहरी चौकीमा । नाम रजिस्टर गरुन्जेल कुँजिएको खुट्टालाई तन्काउने मनशाय ब्यक्त गरिन् मणिकलाले । ओल्यौँ हामी । 

चारैतिर फुस्रा पहाडका बीचमा अवस्थित छ चराङ बस्ती । बस्तीको बीचमा छ आर्कषक माने र मानीवाल । भोटे पीपलले पात हल्लाइरहेका छन् । सेता फूलहरूले मुस्कान फ्याँकिरहेका । जौ र उवा बाली मौलाउन खोजिरहेका छन्, गह्राहरूमा । आफैँमा सुन्दर छ चराङ । अझै सौन्दर्य बढाएको छ, बस्ती नजिकैको भिरालो जमिनको डिलमा अडिएको सात सय वर्ष पुरानो चराङ छोदे गुम्बाले । घरका छानामा थुपारेका दाउराका खलियोले छुट्टै सौन्दर्य दिएको छ । नबालीकन हेरेर मात्र बस्ने हो कि कुन्नि ! जहिले आउँदा पनि त्यत्तिकै देखिन्छ छानामाथिको दाउरा ।

चार दिनअघि ल्हो–मान्थाङ जानुअघि चराङमै बसेका थियौँ हामी । मुस्ताङका राजाको गृष्मकालीन दरबार, पुरानो किल्ला, लामो मानीवाल, छ्योर्तेन, ठूलो गुम्बा सबैको कुस्त तस्बिर लिइसकेका थिए एलेनले । साँझ नपरुन्जेलसम्म उनको कामै त्यही थियो । फेरि क्यामरा उचाल्ने बनायो एलेन र जोलाई चराङको सौन्दर्यले । सायद सपना पनि फोटो खिचिरहेकै देख्छन् होला एलेनले ! 

‘आज कहाँ पुग्नु हुन्छ ?’ प्रहरीको प्रश्न । 

‘जाने त  कागबेनी हो । त्योभन्दा पहिला लुरि गुम्बा ।’

‘लुरि गुम्बा ?’ 

‘हजुर !’ 

‘लन्च गर्नु भयो त ?’ सँगै उभिएका एक फुलीवाला पुलिस सोध्छन् ।

‘छैन ।’ 

‘एघार बजिसकेको छ । लन्च गर्ने ठाउँ घारामा मात्र हो । पहिले नै अर्डर गर्नुभो  भने जाने बित्तिकै खान पाइन्छ । होटलको नम्बर थाहा छ कि छैन । नभए म भनिदिन्छु ।’ 

हामी पहिलो पटक जान लागेकालाई के थाहा हुनु ! उनैले लुरि काबुङ गेस्ट हाउसमा फोन गरेर दालभात पकाउन लगाए । उनी थिए असई श्यामकुमार सुबिस, गुल्मीका । मिठो बोलीवचन र सहयोगी भावना भएका । खुसी लाग्यो ।

‘फुर्सद भए जाउँ सर घुमेर आउँ !’ आभार ब्यक्त गरें मैले । उनी साँच्चिकै तयार भए । गाडी चल्यो । चराङ पुग्नु अगाडिको ठूलो मानेबाट गाडी मोडियो बायाँतर्फ । असई साप् भएकाले सजिलो भयो चालकलाई त्यहाँको घुमाउरो सडक छलेर छोटो बाटो समाउन । 

‘चराङ गुफाको नाम सुन्नु भएको छ ?’ असई साप्को प्रश्न । 

‘छैन ।’ 

‘धेरै पुरानो रे यो गुफा । उपल्लो मुस्ताङको मानव सभ्यतासँग जोडिएको । सम्भवतः नेपालकै ठूलो होला । राम्रो व्यवस्थापन नभएकाले गुफामा पर्यटक जाने अवस्था छैन । सात तला र करिब १५० कोठा छन् । गुफाभित्रै गाउँजस्तो । पहाडभित्र तलातला र कोठैकोठा छन् । सुत्ने, ध्यान बस्ने, गुम्बा, शौचालय, बैठक, घाम ताप्ने र अन्न भण्डार गर्ने ठाउँ छन् ।’

उनले डोल्पा र मुस्ताङमा लामै समय बिताएका रहेछन् । आफूलाई जानकारी भएका चालचलन, रीति, परम्परा र संस्कारका बारेमा धेरै कुरा बताउँदै गए । उनको कुरा उल्था गरेर सुनाउँदै थिएँ म एलेन र जोलाई । यस्तैमा एउटा घटना याद आयो ।

सन् २००३ मा पहिलो पटक पदयात्रामा आउँदा चराङमै बास परेको थियो । माया दिदी (होटल माया इन)को क्याम्प साइटमा बसेका थियौँ । कुकले आलु किन्न जाउँ भन्यो । नजिकैको घरमा गएका थियौँ । ढोका बन्द थियो । ढोकाअगाडि दुई–तीनवटा ईंटा ठड्याइएका थिए । 

‘घरमा कोही हुनुहुन्छ कि ?’, हामीले बोलायौँ । भित्रबाट एकजना महिला आइन्, ‘किन आएको ?’

‘अलिकति आलु किन्न पाइन्छ कि भनेर ।’

‘घरमा मान्छे बिरामी छ । भित्र नआऊ, जाऊ ।’ यति भनेर ढोका ढप्कयाइन् । अचम्मित भएँ म । सोचेँ– घरमा बिरामी भएका बेला बाहिरी मान्छेलाई घर प्रवेशमा निषेध हुने चलन रहेछ यहाँ । 

००००

ओर्लियो गाडी कालीगण्डकी किनारमा । कालीगण्डकीको विपरीत दिशान्मुख छौँ हामी । तिब्बततिरबाट आएको धि खोलामा दामोदर कुण्डबाट आएको गण्डकी मध्ये खोला र चराङबाट आएको चराङ खोला मिसिएर बगेको छ । त्यसपछि यसलाई कालीगण्डकी भनिन्छ । अलि तल पुगेपछि घमी लगायतका अरू खोला मिसिन्छन् । र, त शक्तिशाली भएर बग्छे कालीगण्डकी कागबेनीतिर, आफ्नो साम्राज्य फिजाउँदै । मुस्ताङ विकासका साधक र बाधक पनि भएकी छे कालीगण्डकी । 

गुडिरहेका छौँ हामी कहिले किनारैकिनार, कहिले बीच बगर भएर त कहिले नदी तर्दै । असई साप् भन्दैछन्–‘मुस्ताङको सर्वाधिक गर्मी हुने ठाउँ यही हो र सबैभन्दा बढी जिम्बु पाउने ठाउँ पनि ।’

उनी थप्छन्–‘दामोदर कुण्डमा उत्पत्ति हुने शालिग्राम चाहिँ त्यहीँबाट बग्ने ध्ये खोलाले बगाएर ल्याउँछ ।’ 

शालिग्राम ? दामोदर कुण्डबाटै आउने हो शालिग्राम ! अचम्मित हुँदै बोलिन् मणिकला ।

कालो रङको शिला । सामान्य पत्थर मात्र कहाँ हो र शालिग्राम ! शालिग्राम त विष्णु भगवान्को प्रतीक हो । सूक्ष्म ब्रम्हाण्डको प्रतीक पनि । श्रीस्वस्थानीमा पढेको कुरा सम्झेँ– जालन्धरपत्नी वृन्दामाथि छल गरेर पतिव्रता तोडेवापत उनै वृन्दाको श्रापले शिलाको रूप लिनुपरेको थियो भगवान विष्णुले ।

अति आश्चर्यजनक ! कस्तो युग थियो सुरलाई असुरको श्राप लाग्ने । संसारको पालनकर्ता हुनुको नाताले ऊबेला पृथ्वीमा खराब कर्म बढेपछि भगवान् विष्णु जन्मिएका थिए । वृन्दाको भक्ति र सतिङ्खवको बलमा अजेय बन्न पुगेका थिए जालन्धर । माता पार्वतीमाथि कुदृष्टि राखेको असुरलाई वृन्दाको पतिव्रता भङ्ग नगरी जित्न नसकिने अर्थमा छल गर्नुपरेको थियो विष्णुले । उनले पापीहरू नाश गरेर धर्मको उद्धार गरेका थिए । अहिले यही पावन भूमिमा धर्मकर्म सङ्कटमा परेको छ । परन्तु कुनै उद्धारकर्ता छैनन् । कस्तो विडम्बना !  

शालिग्रामको पूजा गर्दा भाग्य चम्किन्छ भन्ने विश्वास छ । शालिग्राम पाइने ठाउँ यही गण्डकी हो । ‘तैपनि पाइन्छ कि शालिग्राम खोजौँ न !’ मेरो जिज्ञासा ।

‘नाई अहिले त पाइँदैन । टिप्नेजति टिपिसके । अर्को वर्षा कुर्नुपर्छ । फेरि असली शालिग्राम पाउन कहाँ सजिलो छ र ? पाइहाले पनि रीति परम्पराअनुसार सही तरिकाले पूजा गर्न नसके त्यो आफैँमा प्रत्युत्पादक हुन्छ । लगेर पूजा गर्ने हो भने लुरि गुम्बाबाट फर्केपछि मसँग भएको दिउँला नि ।’ असई साप्ले भने ।

आइपुग्यो ताङ्ग्या र ध्ये गाउँ । दुई गाउँको बीचबाट बगेको कालीगण्डकी । कालीगण्डकी तरेपछि फुस्रा पहाडको भिरालो भित्तासित स्पर्श हुन्छन् जीपका चक्का । यति सुख्खा पहाडमा पनि कतै पहेला तक्लाङ र कतै निला फूल फुलेका बुट्यानहरूले आकाश हेर्न पाएका छन् । भाग्यमानी फूलहरू !

हावाले चिथोरेका नग्न पहाडका अनेक आकृति देख्दै छौँ हामी । देवताले बास गरेको देश भएकाले होला ती सबै आकृति देवताकै जस्तो लाग्ने ! त्यसो त पद्मसम्भवका खुट्टाका, जुत्ताका, औँलाका र अनुहारका आकृति नभएका होइनन् मुस्ताङमा । कुनैकुनै शिब र गणेशकाजस्ता, कुनै ब्रम्हा, विष्णु र महेश्वर जस्ता । कुनै आकृति अर्धनारीश्वरजस्ता, कुनै वीणा बोकिरहेकी सरस्वतीजस्ता र कुनै असुर वध गर्दै गरेकी कालीजस्ता । कुनैकुनै आकृति बुद्धले ध्यान गरेकाजस्ता, कुनै थाङ्का पेन्टिङजस्ता । कुनैकुनै मखण्डीले बनाएको ऊँटजस्ता । कुनै के कुनै के ।  

आकृति नै आकृतिका भीरपहराहरू देखिन्छन् । आकृति नै आकृतिको सानदार कोलाज देखिँदैछ कालीगण्डकीको सेरोफेरो । यिनै आकृतिसित छिल्लिरहेझैँ लाग्छ कालीगण्डकी । क्या अद्भुत छ है प्रकृति !

आइपुग्यो यारा गाउँ । निरन्तर सङ्गीत बजाइरहेको बतासले बन्द गराइदिएका छन् घरका झ्याल ढोका । बतासकै लयमा नाचिरहेका छन् स्यूका फूलहरू । उही लयमा कम्मर मर्काइरहेछन् मानविकृत भोटे पीपलका वृक्षहरू । मान्द्रो बेरेझैँ बेरिरहेको छ बतासले धुलाका कणहरू । लाग्छ– कतै अघि भर्खरै भेटिएका जोडी नाउरहरू त बेरिएनन् बतासको मान्द्रोमा ? आफैँलाई सोध्छु म । 

अस्ति ल्हो–मन्थाङमा भेटेका बाबाजी जोमसोम जाने भन्दै थिए । एकाएक यहाँ पो देखा परे । तिजी नसकी फर्केछन् उनी । भिरेका छन् सानो झोला । लगाएका छन् एकसरो लुगा । न विन्ड प्रुफ ज्याकेट, न खुट्टामा जुत्ता । हिँडिरहेका छन् एक्लै । नाङ्गै खुट्टा हिँड्ने बानी परेको हुन्छ यिनलाई । कस्ता ज्याद्रा ! धर्मप्रतिको आस्था न हो !

गाडी रोके बाबाजीले ।

‘जय शम्भो !’ 

‘शम्भो शम्भो !’ आप लोग कहाँ जा रहे हैँ ?’ बाबाजीको सोधाइ ।

‘लुरि गुम्बा । आप भि जा रहे हैँ क्या ?’ 

‘नहि ! हम तो दामोदर कुण्ड जाइङ्गे । आज यही बैठ्के कलको बासखोला पौँचेङ्गे । पर्सौँको दामोदर कुण्ड । उसकेवाद ताङ्गे निकल्के मुक्तिनाथ जानेका है ।’ 

जिन्दगीमा एक पटक पुग्नै पर्ने ठाउँ हो– दामोदर कुण्ड । कुण्डमा औँलामात्र चोप्दा पनि मोक्ष मिल्छ रे भन्ने सुनेको थिएँ । जति नेपाली पुगेका छन्, त्योभन्दा बढी भारतीय आइपुगेका छन् । नेपालमै भएर पनि हामीले त्यसको महत्व बुझ्न सकेका छैनौँ । संसारभरिका हिन्दुहरूलाई एक पटकमात्र यहाँ ल्याउनसक्ने हो भने पैसा राख्ने ठाउँ हुँदैनथ्यो होला ! दामोदर कुण्ड नजिक पुगेर पनि दर्शन गर्न नपाएकामा दुःख लाग्यो । 

ध्ये, सुर्खाङ र यारा गाउँ पार गरेर पुगियो चिटिक्क परेको घारा । यो नै अन्तिम बस्ती यताको । बस्तीको बीचमा छ लुरि काबुङ गेस्टहाउस । विकट ठाउँमा पुगेका छौँ हामी यात्राबीचको यात्राको सिलसिलामा । मज्जैले क्याउँक्याउँ गरिसकेको थियो पेट । असइ सॉबले बेलैमा अर्डर गरिदिएकाले जानेबित्तिकै भर्न पाइयो । लोकल सिमीको दाल, र लोकल आलुको तरकारी । त्यसमाथि जिम्बुको पिरो अचारले जिब्रो पड्काउन पाइयो । 

कस्तो मिठो ! बाजा बजाउँदै ओल्र्याे बेनीबाट लगेको मोटो चामलको भात ।

‘कस्तो लाग्यो दाल–भात ?’ एलेनलाई सोधेँ ।

‘स्वादिलो’, संक्षिप्त जवाफ दिए । 

कसैले पनि स्वाद लिन भ्याएका थिएनन् होला लुरि गुम्बा पुग्ने आत्तुरीले । फर्केर पुग्नु थियो कागबेनी । पार गर्नु थियो लामै दूरी ।

००००

अन्ततः पुग्यौँ हामी लुरि काबुङ गुम्बाको फेदमा । दामोदर गाउँपालिका–४ का अध्यक्ष छेटुक गुरुङसँग सोधेको थिएँ काबुङको अर्थ । उनले भनेका थिए– ‘ठूला लामा बितेपछि उनीहरूको सम्झनामा बनाइने छ्योर्तेन हो– काबुङ । चराङ, धि, सुर्खाङ, यारा र घाराबीचमा एककाईस वटा छन् रे । अहिलेसम्म तीनवटा मात्र पत्ता लागेका छन् ।’ 

खैरो बलौटे माटो र ढुङ्गाले बनेको पहरा । पहराको नाकमा देखिन्छ रातो गुम्बा । पहराको गुफाभित्र लुकेको छ लुरि काबुङ । तलबाट हेर्दा आकाश छोएझैँ लाग्छ गुम्बाले । तल यतिका ठाउँ हुँदाहँुदै किन अक्करे भीरमा पुगेका होलान् गुम्बा बनाउन ? युगौँयुगदेखि बतासले चुनौती दिइरहेको छ पहरालाई किन्तु बतासकै सेखी झारिरहेका छन् पहराले ।  

बिभिन्न कोणबाट हेर्छु पहरालाई । आफैँमा गुम्बाजस्तो लाग्छ पहरा । साधनारत साधकजस्तै लाग्छ पहरा । छ्योर्तेनजस्तै लाग्छ पहरा । गुम्बाको शिखाराजस्ता लाग्छन् पहरामा ठडिएका सुरिला र चुच्चा ढिस्काहरू । पहराभरि गुफैगुफा छन्  ।

उहिलेउहिले लामाहरूले ध्यान गर्ने ठाउँहरू हुन ती । 

‘अहो म त्यहाँ जान सक्दिनँ कि’, गुम्बाको उचाइ देख्दैमा असमर्थता देखाउँछन् एलेन ।

‘तपाइँ जान सक्नु हुन्छ । बरु हामी बिस्तारै जाऔंला नि’, म उनको साहस बढाउन खोज्छु । चढ्यौं उकालो । आनीद्वय छन् अगाडि । त्यसपछि म । एलेन र जोको सारमा छिन् मणिकला पछाडि ।

एकैछिनमा बढ्यो धड्कन । हावाको भावभङ्गीमा लर्खराईरहेका थिए लेकाली धूप र तक्लाङका बोटहरू । त्यसैगरी लर्खराएको थिए एलेन र जोका खुट्टा । उही हविगत थियो मणिकलाको पनि । बिचराहरू ! 

डौँडारोको काठे पुलमा पुगियो । ‘यस्तो डाँडोमा पनि पुल !’ अचम्म मान्छिन् आनी सोनाम । 

स्वाँस्वाँ बढ्न थालिसक्यो । मुटुको धड्कन बढ्न थालिसक्यो । बाटोे अझै आधा बाँकी छ । टड्कारै सुनिन्थ्यो एलेन र जोको स्वाँस्वाँफ्वाँफ्वाँ ।

‘एकैछिन आराम गर्नुस्’, सुझाब दिन्छु म । अहिले हामै्र सास फुलाउन पो ऊबेला लामाहरूले यस्तो अक्करमा आएर ध्यान गरेका रहेछन् ! कुरा फत्काउन थालेँ म ।

बल्लबल्ल पुगियो मूलद्वारमा । सुन्दर दृश्य तर कहालीलाग्दो तल हेर्दा । आम्मै, कस्तो भयानक ! तर्सिन् मणिकला । 

गुम्बा त अझै माथिल्लो तलामा । भ¥याङ चढ्नु पर्ने । तीन तलासम्म रहेछ । पहिलो त चढे त्यसपछिको सकेनन् जो । फर्के उनी । बिचरा बिनासित्ति दुःख पाए ।

लुरिको अर्थ सोधेँ मैले गुम्बाका पहरेदारसँग । ‘लु’को अर्थ नाग, ‘रि’को अर्थ पहाड । पहिले यहाँ नागले दुःख दिन्थ्यो रे । त्यही भएर यो गुम्बा बनाएको रे । भित्र काबुङ छ । त्यसैले लुरि काबुङ गुम्बा भनिएको भनेर उनले बताए । 

उनले गुफाभित्र लगे हामीलाई । ‘यहाँ लामाहरूले तीन वर्ष तीन महिना तीन दिन बसेर ध्यान गर्थे रे । उनीहरू बसुन्जेल आगो बाल्दा धुवाँले कालो भएको हो यो’, भित्ता देखाए तिनले । 

उनले फेरि माथिल्लो तलाको भित्री भागमा लगे हामीलाई । प्रवेशद्वारको थाम र निदाल देख्दा पनि अचम्मै लाग्ने । ढुङ्गा र माटोको यो भूगोलमा यति मोटो काठ चाहिँ कहाँबाट ल्याए होलान् ! तीन थान मूर्ति छन् सीधा अगाडिको कोठामा । प्राचीन युगमा पुगेको महसुस भइरह्यो मलाई । 

‘लामाहरूले ध्यान गर्ने ठाउँ हो यो । यतापट्टिको कोठालाई झ्यापा मोलेन’ भनिन्छ । प्रत्येक महिनाको २९ गते पूजा हुन्छ । यहाँ महिला जान पाउँदैनन् । एकदम डेन्जर छ । पूजा गर्ने लामा पनि मुख छोपेर मात्र जान्छन्’, उनले सुनाए । त्यहाँ आनीहरूले पाठ गरे । विश्व शान्तिको कामना गरे । हाम्रो यात्रा सफलताको कामना गरे ।

००००

पहराको नाकमा (४,००० मिटर) पुगेका छौं हामी । सानो प्वालबाट छिरेको प्रकाशले गुफाको अन्धकार चिर्न सकेको छैन । अत्यासै लाग्ने ! भन्न नसकेर मात्र हो–मुटु ढक्क फुलिसकेको छ । सोच्छु– कस्तो कठोर तपस्या गरेका होलान् ती लामाहरूले यस्तो आकाशे गुफामा बसेर । 

म त्यही अँध्यारोबाट बाहिरको उज्यालो संसार नियाल्छु । पुरातन युगबाट नूतन युग देखेजस्तै महसुस हुन्छ । अझ भनौँ युगबोध हुन्छ मलाई । लाग्छ– अँध्यारोबाट उज्यालोसम्मको बिन्दुपथ हो– गुफा । 

बायाँपट्टि कोठामा छ– सेतो छ्योर्तेन । ‘यही हो लुरि काबुङ । योभित्र आफैँ उत्पत्ति भएको सिसाको छ्योर्तेन छ रे’, उनले अचम्मको कुरा सुनाए । ती पहरेदारले सुरुदेखि अन्त्यसम्म साथ दिए हामीलाई । 

काबुङको शिर र पाउ खादैखादाले भरिएको छ । चारैतिर बिभिन्न गुरुहरूको प्रतिविम्ब सजाइएका छन् । आकर्षक चित्रहरूले भरिएका छन् भित्ताहरू र लेखिएको छ– ‘ॐ’ मणि पद्मे हुँ ।

००००

फलदायी भयो आनीहरूसँगको भेट । दूरदराजका प्राकृतिक र सांस्कृतिक सम्पदा देख्ने, बुझ्ने र महसुस गर्ने अवसर पाएँ, यात्राबीचको यो यात्रामा । सौभाग्य पाएँ मुस्ताङको अर्को कुना टेक्ने र लुरि गुम्बाको उचाइसँग मितेरी गाँस्ने । चरितार्थ भयो ‘एक पन्थ दो काज’ उखान । 

साँच्चै आश्चर्यजनक यात्रा रहेछ–जीवन ।

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App