३ आश्विन २०८१ बिहीबार
image/svg+xml
अन्य

एक क्रान्तिकारीको सम्झना

‘दिउँसो १२ बजे आइपुग्यो प्रहरीको जत्था। हतियार देखाएर घेराबन्दी गरिहाल्यौं। उनीहरू सम्हालिनै भ्याएनन्। हतियार फालेर आत्मसमर्पण गरिहाले। हतियार मैले लिएँ। बडो ‘मास्टर पिस प्लान’ थियो। उनीहरूलाई एकछिन कब्जामा राखियो। क्रान्तिबारे अथ्याईयो र छोडियो। उनीहरूबाट चारवटा थ्री  नट थ्री राइफल र गोली कब्जामा लियौँ।  यो एक्सन एक प्रकारले प्रयोग थियो। हाई कमान्डले भनेजस्तो दुनियाँले सुन्ने गरी गरिएको धमाका भयो भएन ? तर, सत्र सालको सशस्त्र क्रान्तिको श्रीगणेश भने भयो। सत्र सालको क्रान्तिको इतिहासमा यो नै पहिलो छापामार कारबाही थियो।’

बिपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारलाई अपदस्त गरेर राजा महेन्द्रले शासनसत्ता कब्जा गरेपछि  भएको पहिलो सशस्त्र विद्रोहको कथा हो यो। २०१७ फाल्गुन १६ गते  पाँचथरको सुकियापोखरीमा (हालको सुखेपोखरी) तत्कालीन मुक्ति सेनाले प्रहरीलाई नियन्त्रणमा लिएर हतियार कब्जा गरेका थिए। यसको योजना सिलौटीमा बनाइएको थियो।

यहीबेला बिपी कोइराला जेल र सुवर्ण शमशेर भारतमा थिए। यहाँका तन्नेरीले विद्रोहको आँट गरेका थिए। काठमाडौंमा बेलायती महारानी एलिजाबेथ (द्वितीय) र उनका पति नेपालमा थिए। यहीबेला ‘एक्सन’ गर्ने तत्कालीन क्रान्तिकारीको चाहना थियो। यसैकारण सरकारी फौजविरुद्ध सुकियापोखरीमा त्यो आँट भयो र सफलता हासिल भयो। यो विद्रोहको एक अगुवामध्येका थिए कृष्णविक्रम नेम्बाङ। यिनै अगुवा नेम्बाङ पूर्वका पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा क्षेत्रको विद्रोहको ऐतिहासिक कथा ‘सत्र सालको क्रान्तिको सम्झना’ नामक पुस्तकको दोस्रो संस्करणमा आइपुगेका छन्।  विद्रोहपछि पूर्वी पहाडमा क्रान्तिले अर्को रूप लियो। सरकारी सेना परिचालन गरियो। क्रान्तिकारीमाथि दमन भयो। जेलनेल  भोग्नुप¥यो। सशस्त्र विद्रोहको शृंखला देशभरि फैलिँदा कृष्णविक्रम जेलमा थिए। लेखकले यो कालखण्डलाई राष्ट्रिय राजनीति, अन्तर्राष्ट्रिय परिस्थितिसँग दाँजेर विश्लेषण गर्दै इतिहास सम्झिएका छन्।

क्रान्तिमा धेरै मान्छे सहभागी थिए। सञ्चार, प्रविधि र शिक्षाको विकास भइसकेको थिएन। तर, प्रजातन्त्रको पक्षमा ग्रामीण बस्तीबाट किसान र युवाहरू आन्दोलनमा उत्रिए। कतिले ज्यान गुमाए। दुःखसास्तीको त कुरै नगरौँ। उबेला विद्रोहको संगीन उठाएकाहरू राष्ट्रिय राजनीतिमा कहाँ हराए वा हराउन बाध्य तुल्याए भन्ने कुराको पाटो गम्भीर छैन। किताबमा लेखिएका विषयलाई हेर्ने हो भने सो बेलाका कार्यकर्ता प्रशिक्षित थिए, इमानदार थिए। तर, राजनीतिमा इमानदारिता टिक्दैन। झनै अचेल उद्योगी र व्यापारीको कब्जामा मूलधारको राजनीति रुमलिएको परिस्थितिमा ती सर्वसाधारण मान्छेले परिवर्तनका लागि उठाएको साहसलाई खोज्ने र कदर गरेको देखिँदैन। यतिबेला राजनीतिले अर्थतन्त्र नभई अर्थतन्त्रले राजनीति चलाएको छ।

पूर्वी पहाडमा राजाले ‘कु’ गरेपछि ग्रामीण क्षेत्रसम्म विद्रोहको गतिविधि फैलियो। प्रजातन्त्रमा रमाउनेले विभिन्न ठाउँमा प्रहरी चौकी र सरकारी कार्यालय कब्जा गरिए। यस्तै संघर्षको कथालाई पुस्तकमा समेटिएको छ। उम्दा क्रान्तिकारीमध्येका भूमिक्रम नेम्वाङ, कृष्णविक्रम नेम्वाङ, दिव्यविक्रम नेम्वाङ पौवासारतापका नेम्वाङ परिवारका थिए। लेखक कृष्णविक्रम नेम्वाङ गाउँमा सामान्य अध्ययनपछि उच्च शिक्षाका लागि भारत पुगेका थिए। यही बेला नेपालमा २०१५ साल फाल्गुन ७ मा पहिलो आमनिर्वाचन भयो। उनी यतिबेला अध्ययनकै लागि भारतको दार्जिलिङमा थिए । तर,  बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरिएपछि प्रजातन्त्र प्राप्तिका लागि कृष्णविक्रम नेपाल आए। संगठन निर्माण र विद्रोहको तयारीमा लागे। यहीबेला उनीहरूले सिलौटीको जंगल रोजे। यही विद्रोहको कथा पुस्तकमा छ। उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय सन्दर्भ सामग्री तथा दृष्टान्त समेटेर विश्लेषण गरेकाले इतिहास र राजनीतिमा रुचि भएकाले पढ्नैपर्ने पुस्तक बनेको छ यो।

राजाको ‘कु’ पछि संगठन निर्माण, तत्कालीन नेपाली कांग्रेसको अवस्था तथा समाजको परिस्थितिको कथा छ। त्यस्तै, लेखकले पूर्वी पहाडमा विद्रोहमा सहभागी भएर ज्यान गुमाएका र जेलनेल भोगेकाहरूको विवरण तथा तस्बिरसमेत राखेका छन्। उनले तत्कालीन राष्ट्रिय परिस्थितिलाई अनेक कोणबाट विश्लेषण गरेका छन्। जननिर्वाचित सरकारले केही काम थाल्दै राजाबाट ‘कु’ भयो। नेपालको विकास प्रक्रियामा अवरोध हुन पुग्यो। २०१५ फाल्गुन ७ गते नेपालमा पहिलो आमनिर्वाचन भयो। त्यसको तीन महिना १० दिनपछि सिंगापुरमा आमनिर्वाचन भयो। नेपालमा नेपाली कांग्रेस र सिंगापुरमा पिपल एक्सन पार्टीले दुई तिहाइ मत प्राप्त गरे। चुनावको अन्तिम नतिजा (२०१६ वैशाख २८ गते) घोषणा भए पनि तत्कालीन राजा महेन्द्र  मौन बसिदिँदा नेपालले प्रधानमन्त्री पाउन ढिलाइ भयो। नेपालमा बिपी कोइराला र सिंगापुरमा लि कुआन यु प्रधानमन्त्री नौ दिनको फरकमा भए। बिपी  र लि कुआनका कार्यक्रममा धेरै समानता थिए। तर, २०१७ पुस १ गते राजा महेन्द्रले ‘कु’ गर्दै बिपी कोइराला नेतृत्वको सरकारलाई अपदस्त गरे। अहिले सिंगापुरको विकासको चुली त्यहाँ पुग्यो। समाजवादी नीतिमार्फत लि कुआनले विकासको जग बसाएको मानिन्छ। हामी अझै विकासका न्यूनतम आधार  कुर्दै छौं।

यही  ‘कु’को विरुद्धमा पूर्वी पहाडमा विभिन्न काण्ड भए। यो काण्डले गर्दा सर्वसाधारणले निकै दुःखसमेत पाए। जेल भरिए।  २०१८ साल जेठ ११ गते कृष्णविक्रम र धोविनाथलाई प्रहरीले पक्राउ ग¥यो। दुतिया बजारमा भाषण गर्न पुग्दा नपुग्दै पक्राउ गरेर उनलाई धनकुटा लगियो। धनकुटाको जेल बसाइ, बडाहाकिमको गाली र मुद्दामामिलालाई पुस्तकमा समेटिएको छ। जेलमै बस्ता क्रान्ति विस्तार भएको खबरको हर्ष, ज्यान गुमाएकाको कहानी र दुःख पाएको कथाले थप्ने पीडाका कथा लेखेका छन्। देवान दोर्जे थिङ, सूर्यमान गुरुङ, मछिन्द्र केरुङलगायतको नेतृत्वमा विद्रोह भइरहेको थियो। च्याङ्थापु काण्ड, ताप्लेजुङ कब्जालगायत ऐतिहासिक घटना समेटिएका छन्।  तत्कालीन सशस्त्र क्रान्तिको स्थगनमा भारत–चीन युद्धको असर भएको उनको विश्लेषण छन् । पुस्तकमा उनले अनगिन्ती अन्तर्राष्ट्रिय अभ्यासलाई विश्लेषण गरेका छन्। इतिहास केवल जित्ने र अग्रमोर्चाको लेखिन्छ। यो पुस्तक आफैंमा इतिहास  लेखन होइन, क्रान्तिकारीको सम्झना मात्र हो।
सत्र सालको क्रान्तिको सम्झना
लेखक ः कृष्णविक्रम नेम्बाङ
प्रकाशक ः ओरिएन्टल पब्लिकेसन
मूल्य ः २७५

प्रकाशित: २६ पुस २०७६ ०८:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App