![सरकारले पकेट बैंकबाट योजना छनोट गरेर बजेट ल्यायोः एमाले सचिव भट्टराई](https://images.nagariknewscdn.com/thumbs/third-party/1718525465_yogesh1-600x400.jpg)
टोपी फेसन
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/media/2019/march/topi_nepali-1200x560-wm.jpg)
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c86012acd39a-1200x560-wm.jpg)
भक्तपुरको टौमढीमा करिब ५५ वर्षदेखि टोपी पसल चलाउँदै आएकी छन् कमला प्रधानाङ्ग । उनका अनुसार पहिला टोपी पसल कम थिए । तर, पछिल्लो समय टोपी लगाउने फेसन भएपछि पसल बढेका छन्।
१० वर्षअघिसम्म टोपीको व्यापार खासै नभएको उनी सुनाउँछिन्। ‘त्यसपछि भोजमा दौरा सुरुवाल लगाउने चलन आयो । र, बिस्तारै टोपीको व्यापार फस्टायो,’ उनले भनिन्। अहिले पुनः टोपीको व्यापार पुरानै अवस्थामा फर्किएको उनको भनाइ छ । अहिले महिनामा जम्मा ४० देखि ५० वटा टोपीको व्यापार हुने उनी सुनाउँछिन्। यसले टोपी लोप हुँदै जाने खतरा बढेको उनी बताउँछिन्। ‘त्यसकारण टोपी लगाउने चलन जोगाउनु आवश्यक छ,’ उनले भनिन्।
टोपीको व्यापार गर्ने अर्का व्यापारी हुन्, भक्तपुरका सीताराम श्रेष्ठ । उनले करिब १३ वर्षदेखि टोपीको पसल राखेको बताए । उनले ढाका टोपीको अवस्था अहिले त ठिकै भएको जनाए । ढाका टोपी सबै नेपाली दाजुभाइले लगाउने भएकाले यसको मार्केट भएको उनले बताए । उनले यसको लागि कपडा पनि बाहिरबाट आउने जानकारी गराए । उनले ढाका टोपी अलि सस्तो भएको सुनाउँछन्, भादगाउँले टोपीको तुलनामा । उनले भने, ‘भाद्गाउँले टोपी अलि महँगो छ । किनकि यो बाहिरको उत्पादन होइन । यो भक्तपुरवासीको आफ्नै उत्पादन हो । अनि यो मेसिनबाट पनि बुन्ने होइन । यो पूरै ह्यानमेड भएकाले महँगो भएको उनी बताउँछन् । भादगाउँले टोपीको सबै काम हातले नै गर्नुपर्ने उनले बताए । उनले भने, ‘भादगाउँले टोपी हेर्ने बेलामा सानो छ । तर, काम धेरै छन् । त्यसैले उनले यसको अवस्था राम्रो बनाउनका लागि सरकारले नै केही गनुपर्ने उनले सुनाए । यसका लागि सरकारी कर्मचारी सबैले भादगाउँले टोपी लगाउनुपर्ने नियम बनाउनुपर्ने उनले सुनाए । त्यसो भए मात्र यसको अस्तित्व रहिरहने उनले जानकारी गराए । अहिलेको जस्तो अवस्था भए त भादगाउँले टोपी दुर्लभ हुन सक्ने उनले संकेत गराए।
कति किसिमका टोपी
टोपी कति प्रकारका छन् त ? कमल भन्छिन्, टोपी त भन्नलाई त दुई सय जति नै होला । तर सबैको नाम छैन । त्यसैले ढाका–टोपी बुट्टा भरेको, नेपाली टोपी, पूर्वेली टोपी, पाल्पाली टोपी, भाद्गाउले टोपी नै हुन् नाम नै तोक्नुपर्दा । अहिले टोपी धेरैथरीका बजारमा आइराखेका छन् । बुट्टा भएको झरी भएको ढाकाको टोपीमा आएको उनले बताइन् ।
टोपीको मूल्य
भक्तपुरकै कमला प्रधानाङ्ग अहिले भादगाउँले टोपी, पर्वेली टोपी, पाल्पाली टोपी, र ढाका टोपी बजारमा चलेको सुनाउँछिन् । उनले भनिन्, ‘सामान्यतया ५० देखि चार सय रूपैयाँसम्म टोपी पाइन्छ ।’ साथै उनले टोपी त चार हजारसम्मको पनि पाइने सुनाइन् । तर, यो भनेको सभासद् जस्तो ठूलो मान्छेले कहिलेकाहीँ किन्न आउने उनी सुनाउँछिन् ।
किन लगाइन्छ टोपी
टोपी किन लगाउँछन् त ? अधिकांशलाई यसबारे थाहा नहुन सक्छ । खास टोपी लगाउनुको मुख्य कारण टाउकोको सुरक्षा गर्नु हो। टोपी लगाए घाम, धुलो र शितबाट टाउको जोगाउन सकिने जानकार बताउँछन् ।
काम बढी, ज्याला कम
रुकमनी श्रेष्ठले करिव २० वर्षदेखि भादगाउँले टोपीको काम गर्दै आएकी छिन् । उनी टोपी बनाउने पेशामा धेरै पैसा नभएको बताइन् । उनी भन्छिन्, ‘बिहानदेखि काम सुरु गर्यो भने दिनमा तीन वटा टोपी बनाउन सकिन्छ । तर, एउटाको ज्याला २५ देखि ५० रूपैयाँसम्म मात्रै पाइन्छ ।’ ज्याला कम भएकाले् यस पेशामा मान्छेको आकर्षण कम भएको उनको बुझाइ छ । उनी थप्छिन्, ‘यस्तै हो भने त कुनै दिन टोपी बनाउने मान्छे नै पाइँदैनन् ।’ उनले अरु टोपी त मेसिनबाट पनि बुन्ने भएको यसमा खासै गाह्रो नभएको बताइन् ।
विकल्प क्याप
‘बाउबाजेको पालामा भादगाउँले टोपी र ढाकाको टोपीको विकल्प थिएन,’ भक्तपुरका सुशील सुवाल भन्छन्, ‘तर, अहिले केटीका लागि ह्याट र केटाका लागि क्याप आएको छ ।’ व्यापारीका अनुसार क्याप र ह्याटको मूल्य लगभग समान छ । बजारमा दुई सयदेखि सात सय रूपैयाँसम्म क्याप र ह्याट पाइन्छ।
कहाँ प्रयोग हुन्छ भाद्गाउँले र ढाका टोपी
प्रयोगको कुरा गर्दा ढाका टोपी त अधिकांश नेपालीले प्रयोग गर्दै आएको देखिन्छ । साथै नेवार समुदायमा भने ढाका टोपीको प्रयोग भोज जाने बेलामा सगुनको रूपमा राखेर लग्ने चलन चलिआएको छ । नेवार समुदायमा नै कुनै पनि शुभ कार्य हुने बेलामा टोपी लगाइदिने गरिन्छ । जस्तै व्रतबन्ध गर्ने बेलामा, बेहुला हुने बेलामा लगाइदिने चलन छ ।
१० वर्षको उमेरदेखि नियमित टोपी लगाउँदै
भक्तपुरका मंगलभक्त त्योछिन १० वर्षदेखि ढाका टोपी लगाउँदै आएका छन् । व्रतबन्ध गरेपछि अहिलेसम्म टोपी लगाउँदै आएको उनले सुनाए । उनले भने, ‘पहिला भादगाउँले टोपी लगाउने गरेको थिए । तर, अहिले टोपी महँगो भएकाले ढाका टोपी लगाउने गरेको छु ।’ टोपी नलगाउँदा असहज महसुस हुने उनी सुनाउँछन् । उनी आजभोलि भने फेसनको लागि मात्र लगाउने गर्छन् । कहिलेकाहीँ दौरासुरुवाल लगाएर भोज जाने बेलमा इत्यादि । पछिल्लो समय सामाजिक सञ्जालमा महिलाले भादगाउँले टोपी लगाएर फोटो खिँच्ने चलन बढेको देखिन्छ ।
![](https://images.nagariknewscdn.com/thumbs/archive/17-20/news_images/5c86012bc4519-1200x560-wm.jpg)