नेपाली कविता साहित्य परम्परा इन्दिरस, विद्यारण्यकेशरी, भानुभक्त हुँदै यहाँसम्म आइपुग्दा यसले टेकेको भूगोल, अनुभूत गरेको चेतना र नेपाली समाज एवं संस्कृतिसँग यसको सीधा संवाद क्रमिक रूपले विकसित हुँदै आइरहेको छ ।
समसामयिक काव्यधारामा थुप्रै कविले आजको असंगत समय, मान्छेको मनोविज्ञान तथा तरलीकृत चेतना र त्यसले समाजमा पार्ने दूरगामी प्रभावका विषयमा काव्यिक अन्तर्लयमार्फत आफ्ना विचारको मिहीन प्रकटीकरण गरिरहेका छन् ।
यसै क्रममा आएको छ, कवि सुनिता खनालको कविताकृति ‘ओ नायक’ ।
यस संग्रहका कविता चार खण्डमा विभाजित छन् । तरबारको पर्खाल, ओ नायक, मेलोडी ब्लुज र फलामका पर्दाहरू । पहिलो खण्डमा १७ कविता, दोस्रोमा ७, तेस्रोमा ५ र चौथोमा ६ गरी ३५ फुटकर कविताको सञ्चयन यसमा गरिएको छ ।आजको एक सचेत कविले देखेको दुनियाँलाई काव्यिक मूल्य प्रदान गर्न अग्रसर छन्, कविताहरू।
समाजमा बढ्दै गइरहेको अस्थिर मानसिकता, व्यभिचार र त्यसले सिर्जना गरेको वस्तुवादी सोचविरुद्ध तरबारको पर्खालभित्रका कविताहरू उभिएका छन् । एउटा प्राकृतिक पृथ्वी र अर्को मानिसको भोगवादी चिन्तनले निर्माण गरेको कृत्रिम पृथ्वी छ । जसमाथि काव्यिक अनुशासनको झटारो हानिएको छ । जब प्रोफेसर किरात इतिहास पढाउन थाल्छन्, तब जातीय गन्धको रागले रन्थनिन्छन् ।
आगोको ठेगानाले आजको समयको सूक्ष्मता, जर्जरता र अप्राप्तिको भयानक पहाडको कठोरतालाई संकेत गरेको छ भने माटोको शब्दमा सिर्जनाका मुलायम थुंगाहरू फक्रने कोसिस गरिरहेछन् । केही नांगा प्रश्नहरूले हामीभित्रको सिद्धार्थ, हामीभित्रको माक्र्स वा हामीभित्रको चिन्तनलाई नराम्ररी दरफराएको छ । पहिचानका लागि संघर्ष गर्दैगर्दा राजनीतिको चेपुवामा परेका आम मान्छेको कथा गर्भिणी नाममार्फत अभिव्यक्त गरिएको छ । त्यसैगरी अक्षरको इन्द्रेणीले एउटै कलमलाई कहिले आगो बनाएको छ, कहिले धागो बनाएको छ ।
रित्तो बगैँचाले केही भएर पनि नभएजस्तो लाचार मानसिकताको प्रकटीकरणमा जोड दिएको छ । पैसा फल्ने रुखले अभावमा छटपटाएका सन्तान, दरसन्तानलाई फासीको फन्दामार्फत मुक्ति दिलाउँदै आएको तीतो यथार्थ बोलेको छ ।ओ नायक खण्डभित्रका कविताहरू प्रेमको झरीले निथु्रक्क भिजेका छन् । यी कविताका पंक्तिपुञ्जहरूमा सम्भोग शृंगारभन्दा विप्रलम्भ शृंगार हाबी भएका छन् । कतै पीडाको उत्सव मनाइएको छ।
कतै नायकको दिग्भ्रमित दृष्टिविभ्रम हेराइतर्फ संकेत गरिएको छ ।मेलोडी ब्लुजभित्रका कविताहरूले तरलीकृत समयरेखाहरूलाई निश्चित आकार दिने प्रयत्न गरेका छन् ।कविताहरू काव्यकलाको आँचलमा तरेली मिलेर बसेका छन् । अभिव्यक्तिमा दृढता र शैलीमा स्पष्टता भेट्न सकिन्छ । तर, काव्यिक अनुष्ठानका क्रममा जबर्जस्त प्रयोग भएका केही रुढ शब्दहरूले कलाको खोलालाई अलिक धमिल्याएको छ ।
भाषा मीठो हुँदाहुँदै पनि उही र उस्तै किसिमको प्रकटीकरणले शीर्षक मेटाइदिने हो भने सात, आठ कविताहरू एउटै लामो कविता वा लघुकाव्य बन्ने खतरा पनि देखिन्छ । फुटकर कविता आफैँमा एउटा पूर्ण कविता हो । एउटाको बनोट, बुनोट वा अभिव्यक्ति शैली अर्कोमा ठ्याक्कै नमिल्ने वा फरक बन्ने हुनुपर्छ । यसतर्फ कविले ध्यान दिनु आवश्यक देखिन्छ । समग्रमा नियाल्दा यस काव्यकृतिलाई नेपाली कविता साहित्यमा आएको संग्रहणीय कृतिका रूपमा लिन सकिन्छ ।
प्रकाशित: २२ वैशाख २०७५ ०२:०५ शनिबार