घामपानीको संगमबाट बनेको सुन्दर इन्द्रेणी मननपराउने मानिस सायदै हुन्छन् । इन्द्रेणीमा देखिने प्रकाशको सातै रङले धेरैलाई आकर्षित गर्छ । इन्द्रेणी मनपराउनेलाई इन्द्रेणी रङका जुनसुकै वस्तु पनि मन पर्न सक्छ । सहरमा अचेल धेरैले मन पराएका छन्, इन्द्रेणी जस्तै मःमः।
आकर्षक रंगीन रेन्बो मःमः खान धेरैले धाउने गरेका छन्, रेन्बो रेस्ट्रो एन्ड बारमा । काठमाडौंको बल्खु चोकबाट कुलेश्वरपट्टि एक सय मिटरजति अगाडि बाटोछेउमै छ, रेन्बो रेस्ट्रो । यसले एक वर्षयता इन्द्रेणीजस्तै रंगीन मःमः पस्किँदै आएको छ । रेन्बो मःमः खानैका लागि पनि कति यहाँ आउने गरेका छन् । ललितपुरका समीप रञ्जित रेन्बो मःमः खाइरहेका भेटिए । मःमः खान बेलाबेला रेन्बो रेस्ट्रो आउने गरेको उनी सुनाउँछन् । मःमःको रङले आफूलाई आकर्षित गरेको उनी सुनाउँछन् । उनी भन्छन्, ‘रेन्बो मःमःको आकर्षण भनेकै यसको रङ हो । त्यसैले बेलाबेला खान आउने गरेको छु ।’ देख्दै खाउँखाउँ लाग्ने मात्र नभई यहाँको रेन्बो मःमःको स्वाद पनि मीठो रहेको उनले बताए।
इन्द्रेणी मःमः बनाउने रेन्बो रेस्ट्रोका सञ्चालक हुन्, २१ वर्षीय रवीन्द्र महतो । चितवनका स्थायी निवासी उनी बिबिएका विद्यार्थी हुन् । रेन्बो रेस्ट्रोमा रेन्बो मःमः बनाउने आइडिया पनि उनकै हो । ‘आजकल जे पनि नयाँ गर्ने चलन छ । नयाँ केही त बनाउनैपर्छ भन्ने हिसाबले रेन्बो मःमःको आइडिया निकालेँ,’ बिजनेस एडमिनिस्ट्रेसनमा स्नातक गर्दै गरेका महतो भन्छन्, ‘सेफसँग सल्लाह गरेर बनाइहाल्यौँ । ग्राहकले मन पनि पराए।’
सुरुसुरुमा अर्डर भ्याउन समेत मुस्किल भएको उनी सुनाउँछन् । उनी भन्छन्, ‘नयाँ खानेकुरा भनेपछि के होला भनेर सबैले खान खोज्दा रहेछन् ।’ अहिले पनि उनको रेस्टुरेन्टको मेनुका अन्य परिकारभन्दा आकर्षक परिकार हो, रेन्बो मःमः।
ललितपुरको लिटिल एन्जल्स कलेजमा पढिरहेका महतो पहिले फलफूल बेच्थे हात्तीवनमै । पछि उनले व्यापारको क्षेत्र परिवर्तन गर्ने विचार गरे । अनुसन्धान गर्दा रेस्टुरेन्टमा राम्रो हुने सम्भावना देखेर आफूले रेस्टुरेन्ट खोलेको उनी सुनाउँछन्।
झट्टै घरसल्लाह गरी रेस्टुरेन्ट खोली हाले । रेस्टुरेन्टको नाम राखियो, रेन्बो रेस्ट्रो एन्ड बार । यसैका लागि नयाँ परिकारको खोजीका क्रममा रेन्बो मःमः बनाउने विचार आएको उनी सुनाउँछन् । ‘नामसँगै मिल्ने खालको रेस्टुरेन्टको डेकोरेसन पनि गरेका छौँ । नामसँगै मिल्ने भएकाले रेन्बो मःमः बनाउँदा राम्रै हुन्छ भन्ने सोचेर सुरु गरेका हौँ,’ उनले भने । पिठोमा थोरै खाद्य रङ हालेर रेन्बो मःमः बनाइन्छ । अहिले त उनको यो रेस्टुरेन्ट रेन्बो मःमःका लागि चर्चित भइसकेको छ । मःमःका कुनै पनि भेराइटीलाई रेन्बो स्टाइलमा बनाइन्छ । नियमितबाहेक इन्टरनेटमा रिभ्यु हेरेर आउने ग्राहक पनि उनले पाएका छन्।
प्रकाशित: ८ मंसिर २०७४ ०६:४३ शुक्रबार