रुकुम- चार वर्षदेखि कारागारमा रहेका कैदी ६२ वर्षीय रूपबहादुर घर्तीलाई सुरुका दिन दिक्दार लाग्थे। उनी कारागारमा कैदी जीवन बिताउँदा निक्कै समस्या भयो। सुरु सुरुमा एक दिन काट्न पनि वर्ष जस्तो लाग्ने उनलाई अहिले भने दिन गएको पत्तै हुँदैन। कारागारमा सीप सिकेर व्यवसायिक बनेका घर्ती अहिले पछ्यौरा, झोला र टोपी बुन्न व्यस्त छन्। कारागार भित्रै सीप सिके पछि उनको आम्दानी पनि बेढेको छ। अहिले उनी कारागारबाटै मासिक सात हजारसम्म कमाइ गर्न थालेका छन्।
उनीसँगै कैदी बन्दी तथा थुनावाहरू व्यवसायमा लागेका छन्। जिल्ला कारागारमा रहेका दर्जन बढी कैदीबन्दीले विभिन्न सीपमूलक व्यवसाय गर्न थालेका छन्। उनीहरू स्थानीय कच्चा पदार्थ प्रयोग गरी राडीपाखी, पछ्यौरा, बर्की, मुडा, दाम्लो, झोलालगायतका सामग्री उत्पादन गर्छन्। 'कैदी जीवन बिताउँदा पनि केही गर्न सकिन्छ कि भनेर सीपमूलक तालिम लिएँ,' घर्तीले भने, 'दिनभर बुनाइको काममा व्यस्त हुँदा समय बितेको पत्तै हँुदैन।' यहाँ उत्पादित सामग्रीहरू बाहिरको भन्दा सस्तो, राम्रो र टिकाउ हुने भएकाले माग बढ्दै गइरहेको कैदी सुरज परियारले बताए। कैदीबन्दीले उत्पादन गरेका सामग्री जिल्ला सदरमुकामस्थित विभिन्न व्यापारिक केन्द्रमा पठाइने गरिएको छ। कैदीहरूले कारागारमा भएको कमाइले घर खर्च समेत चलाउने गरेका छन्।
विभिन्न संघसंस्थाको सहयोगमा सीपमूलक तालिम प्राप्त गरेपछि उनीहरूले राम्रो कमाइ गर्न थालेको निमित्त प्रमुख जिल्ला अधिकारी देवबहादुर चन्दले बताए। कारागारमा कैदीहरूले उत्पादन गरेका बस्तुको बजारीकरणका लागि कारागार प्रशासनले सहयोग गरिरहेको चन्दले जानकारी दिए। उनले सबै कैदीबन्दीलाई सीपमूलक तालिमको व्यवस्था मिलाउन सके सबैको कमाइ मासिक बीस हजारसम्म पुग्ने बताए।
उत्पादन भएका सामान बजारसम्म लिन र कच्चा पदार्थ ल्याउन कारागारका सहयोगीले सहयोग गर्ने गरेका छन्। यहाँका उत्पादनले राम्रो बजार पाएपछि अहिले काम बढेको कैदी बन्दीले बताएका छन्। यहाँ दुई नाबालिकासहित ७४ जना कैदीबन्दी छन्। लागूऔषध कारोबार, जबरजस्ती करणी, हत्या, हातहतियार खरखजना, कुटपिट लगायतमा संलग्न व्यक्ति कारागारमा छन्।
प्रकाशित: ११ असार २०७३ ०६:३७ शनिबार