२६ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

उद्यमशीलता स्टार्टअप लगानी सम्मेलन

नेपालमा स्टार्टअपको अवधारणा सन् २००० पछि विकास भएको हो। एक दशकअघि स्थापना भएका केही स्टार्टअप यतिबेला सफल उद्यम र व्यवसायका रूपमा विकसित भइसकेका छन्। त्यसको बलियो उदाहरणका रूपमा सन् २००९ मा स्थापना भएको इसेवालाई लिन सकिन्छ। इसेवा इपेमेन्ट त्यसबेला नेपालका लागि बिल्कुलै नयाँ अवधारणा थियो।

सुरुसुरुमा अनलाइन पेमेन्टलाई कमैले मात्र विश्वास गर्थे। नगद कारोबारलाई मात्र मानिस बढी विश्वास गर्थे। इसेवा नेपालकै पहिलो मोबाइल वालेट हो। जसमार्फत उपभोक्ताले मोबाइल फोन र इन्टरनेटबाट बिल भुक्तानी गर्न, पैसा पठाउन र प्राप्त गर्न सक्ने सुविधा प्राप्त गरिरहेका छन्। खल्तीमा पैसा नबोके पनि इसेवा छ भने आर्थिक कारोबारका लागि मानिसको दैनिकी सहज बनाइदिएको छ। यसपछि थुप्रै डिजिटल वालेट जन्मिए।

त्यस्तै स्मार्ट धोबी नेपाल अर्को स्टार्टअप हो जसले कपडा धुने व्यवसायलाई नयाँ स्वरूप दिलायो। २०७४ बाट थालिएको स्मार्ट धोबी नेपाल राजधानीमा मात्र सिमित नभई उपत्यका बाहिर फैलिने तयारीमा छ। देश तथा विदेशमा रहेका आम युवाले यसबारे चासो दिएका छन्। यसको सफलताबाट प्रेरणा लिएका छन्।

त्यसो त अन्य मुलुकमा सफलरूपमा सञ्चालन भएका व्यवसायलाई स्थापना गरेर यहाँ स्टार्टअप थालिएका पनि छन्। राइड सेयरिङ एप पठाओ, सहारा, सजिलो, टुटलर खाना डेलिभरी सेवा दिने फुड्मान्डु त्यसैका केही उदाहरण हुन्। स्टार्टअप एक वा एकभन्दा बढी उद्यमीबाट सञ्चालित हुन्छन्।

यद्यपि अझै पनि नेपालमा स्टार्टअपबारे ज्ञान र सिपको अपेक्षित विस्तार भइसकेको छैन। स्टार्टअप   प्रवर्द्धनमा केही संस्था सक्रिय भए पनि त्यसले अपेक्षित नतिजा दिन सकेको छैन। सरकारदेखि नेपाल उद्योग वाणिज्य महासंघ लगायत संस्थाले स्टार्टअपहरूलाई सघाउने तथा वित्तीय सहयोग गर्ने केही कार्यक्रम सञ्चालन गरेका छन्। तर अहिले नेपालमा स्टार्टअपहरूको संख्या कति छ भन्ने एकिन तथ्यांक भने कसैसँग छैन। किनकि सरकारसँग यस्ता उद्यमहरूको बेग्लै अभिलेख राख्ने प्रणाली छैन। कतिपय स्टार्टअप दर्ता नभई अनौपचारिक रूपमै चलेका छन्। स्टार्टअपहरू पनि नेपालको ठूलो अनौपचारिक अर्थतन्त्रको हिस्सा बनिसकेका छन्।

को हुन् स्टार्टअप कम्पनी?

हालै स्थापना भएका वा सञ्चालनको पहिलो चरणमा रहेका कम्पनीहरू स्टार्टअप हुन। अधिकांश स्टार्टअपहरू सिर्जनात्मक उद्यम हुन्छन् भने कतिपयले परम्परागत व्यवसायलाई नयाँ स्वरूपमा सञ्चालन गर्छन्। विश्वमा सञ्चालनमा रहेका स्टार्टअपहरूलाई उनीहरूको व्यवसायको प्रकार तथा सञ्चालनको शैली र उद्देश्य अनुसार पाँच प्रकारमा विभाजित गरी बुझ्ने र बुझाउने प्रचलन छ।  

जसमा आफैँले स्थापना र सञ्चालन गरिएको स्थानीय साना स्टार्टअप, स्थापना गरी बेच्नका लागि बनाइएका स्टार्टअप, अरू व्यक्ति वा स्रोतबाट पुँजी जुटाएर स्थापना गरिएका स्केलेबल स्टार्टअप, ठूला कम्पनीका शाखाका रूपमा आएका अफसुट् स्टार्टअप र नाफामुखी भए पनि परोपकारका क्षेत्रमा पनि काम गर्ने सामाजिक स्टार्टअप छन्।

किन जरुरी छ स्टार्टअप लगानी सम्मेलन?

विश्व बैंकका अनुसार रोजगारीको प्रमुख क्षेत्र निजी व्यवसाय हो जसले ९० प्रतिशत रोजगारी सिर्जना गर्छ। त्यसमा पनि घरेलु, साना तथा मझौला उद्योगको योगदान अझ बढी छ। सरकारी क्षेत्रमा वार्षिक करिब ५ हजारले मात्र अवसर पाउँछन्। नेपालमा हरेक वर्ष पाँच लाखको हाराहारीमा युवाहरू रोजगारीको बजारमा प्रवेश गर्छन्। उनीहरू सबैका लागि रोजगारी सिर्जना हुन सम्भव छैन किनकि यहाँ उद्योग तथा व्यवसाय स्थापनाको दर ज्यादै सुस्त छ। यसले दक्ष, अर्धदक्ष र अदक्ष सबै प्रकारका युवाहरूलाई रोजगारीको खोजीमा देशबाटै पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको छ। त्यसैले स्टार्टअपहरू रोजगारी सिर्जनाको आधार बन्न सक्छन्।

जीवनमा आफूले लिएका ठूला लक्ष्य पूरा गर्न मात्र होइन, दैनिक जीवन चलाउन, हातमुख जोर्न र परिवारका लागि आर्थिक जोहो गर्न समेत युवाहरू विदेशिनुपर्ने विडम्बनापूर्ण स्थिति छ। यस्तो अवस्थामा स्टार्टअपलाई प्रवर्द्धन गर्ने हो भने युवाहरू स्वरोजगार त हुन्छन् नै, त्यसको साथै अरू युवालाई रोजगारी दिएर परिवार तथा राष्ट्रको अर्थतन्त्रमा योगदान दिन सक्छन्। यसकारण नेपालमा स्टार्टअप व्यवसाय प्रवद्र्धनका लागि लगानी सम्मेलन आवश्यक देखिएको छ।

स्टार्टअप लगानी सम्मेलनले नेपालमा सफलरूपमा सञ्चालन भइरहेका स्टार्टअपहरूको अनुभव बाँड्न प्लाटफर्म उपलब्ध गराउनेछ जसले यहाँ स्टार्टअप विकासका सम्भावना पहिल्याउन सहयोग गर्नेछ। आफ्नै नयाँ उद्यम थाल्ने योजना बनाएका युवाहरूलाई त्यसका सम्भावना, चुनौती, बजार र लगानीबारे ज्ञान लिन र क्षमता विकास गर्न सम्मेलनले सघाउनेछ। उनीहरूले आफ्ना व्यावसायिक अवधारणा प्रस्तुत गरेर त्यसलाई निखार्न, अझ सम्भाव्य बनाउन र लगानी जुटाउन सक्नेछन्।

लगानी सम्मेलनमा सरकार तथा निजी क्षेत्रका बिजनेस इन्क्युबेसन सेवाहरूको पनि सहभागिता गराइ स्टार्टअपको अवधारणासहित आएका युवाहरूलाई उद्यमी बनाउन इन्क्युवेसनको सुविधा उपलब्ध गराउन सकिनेछ। यसका साथै स्टार्टअपको विकासमा सरकार, निजीक्षेत्र र बैंक तथा वित्तीय संस्थाबीच समन्वय सिर्जना गर्न पनि यस्तो सम्मेलनले सघाउने अपेक्षा गर्न सकिन्छ।

यसरी गर्न सकिन्छ सहकार्य

स्टार्टअपको विकासका लागि उचित लगानी तथा व्यावसायिक वातावरण हुनु जरुरी छ। र, त्यस्तो वातावरणका लागि विभिन्न सरोकारवालाको साथ र सहयोग आवश्यक छ। त्यसैले स्टार्टअप लगानी सम्मेलनको आयोजना नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, उद्योग वाणिज्य संघ वा निजी क्षेत्रका अन्य कुनै छाता संगठनले आयोजना गर्नु उपयुक्त हुन्छ।

महासंघले त स्टार्टअपको प्रवर्द्धन र विकासका लागि काम समेत गरिरहेको छ। यसबाहेक सरकारको युवा तथा साना व्यवसायी स्वरोजगार कोष अर्को महत्त्वपूर्ण संस्था हो। लामो समयदेखि युवा उद्यमशीलता तथा स्वरोजगारीको क्षेत्रमा काम गरेको कोषसँग स्टार्टअप, लगानी तथा व्यवसाय विकासमा गहिरो अनुभव छ। त्यसैले निजी क्षेत्रसँगको सहकार्यमा कोषले स्टार्टअप सम्मेलन आयोजना गर्नसक्छ।

लगानी सम्मेलनमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, प्रदेश सरकार र त्यहाँका उद्योग मन्त्रालयहरू, स्थानीय सरकार, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था तथा दातृ निकाहरूसँग सहकार्य गर्न सकिनेछ। दातृ निकायहरूले विदेशमा भएका असल अभ्यासहरूलाई यहाँ ल्याउने कार्यमा सघाउन सक्नेछन्।

स्टार्टअप लगानी सम्मेलन किन?

स्टार्टअप लगानी सम्मेलनबाट युवाहरूलाई उद्यम तथा व्यवसायमा संलग्न गराउन सकिन्छ। उनीहरूलाई जागिर खोज्नेबाट जागिर दिनेमा विकास गर्न सकिन्छ। श्रम बजारमा प्रवेश गर्ने, बेरोजगार बसेका र कामको खोजीमा रहेका युवाहरूले सम्मेलन मार्फत आफ्नो व्यावसायिक बाटो भेट्न सक्छन्।

यसले रोजगारीका लागि विदेशिने युवाहरूमा स्वदेशमै केही गरौँ भन्ने भावना विकास गर्न सक्छ र त्यसलाई मूर्त रूप दिनका लागि आवश्यक लगानी, परामर्श तथा आवश्यक परेमा मेन्टरसिप समेत उपलब्ध हुन सक्छ।

स्टार्टअप व्यवसाय थालिसकेकाहरूलाई पनि अपुग लगानी जुटाउन वा व्यवसायको वृद्धि र विस्तारका लागि स्रोतको व्यवस्था गर्ने अवसर सम्मेलनले दिनेछ। साथै, राम्रा स्टार्टअपहरूमा बैंक तथा वित्तीय संस्था वा ठूला कर्पोरेट हाउसहरूले सिडमनी लगानी गर्ने सम्भावना पनि रहन्छ। सम्मेलनमा सहभागी हुने व्यक्ति, उद्यमी वा स्टार्टअपहरूसँग अहिले गरेको व्यवसाय र कम्तीमा पनि आगामी पाँच वर्षको व्यवसाय सञ्चालनको योजना र लगानीको आवश्यकता माग गरी सम्भाव्य तथा उपयुक्त सहभागी छनोट गरी चरणबद्ध रूपमा स्टार्टअपको विकासका लागि सफल उद्यमी वा बिजनेस गुरुहरूबाट मेन्टरसिप प्रदान गर्नुपर्छ। उनीहरूलाई सिडमनी उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ।

त्यसो त स्टार्टअप लगानी सम्मेलनले व्यावसायिक विकास तथा वातावरण निर्माणमा सघाउनेछ र युवाहरूलाई उद्यमशील बन्न प्रोत्साहन दिनेछ। त्यसका साथै सम्मेलनमा सहभागी हुने स्टार्टअपले लगानी समर्थन र प्रोत्साहन, नेटवर्किङको अवसर, उद्यमशीलता तालिम, विजनेस इन्क्युबेसन, प्रक्रियाको सरलीकरण र विज्ञहरूबाट मार्गदर्शनको सुविधा पाउनेछन्।

आफ्ना प्रोडक्टको मार्केटिङ गर्न र त्यसका लागि न्यु मिडिया तथा डिजिटल मार्केटिङको सहयोग लिन पनि यसले सघाउनेछ। विज्ञहरूले बजारको पहिचान गर्न, विश्लेषण गर्न र टिम निर्माण गर्न सिकाउने छन्।

सम्मेलनमा सरकारका सम्बन्धित मन्त्रालय वा संस्थाहरूको सहभागिता सुनिश्चित गरी आयकर छूट तथा अन्य सुविधाका लागि पहल गर्न सकिन्छ। यसले स्वदेश तथा स्थानीय स्तरमा उद्यमशीलता विकासका लागि अवसर सिर्जना गर्नेछ जसले रोजगारी सिर्जना, व्यावसायिक विकास, स्वरोजगारी तथा आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिनेछ।

(सिइओ-थ्रिकम नेपाल) 

प्रकाशित: ८ भाद्र २०७९ ००:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App