२२ वैशाख २०८१ शनिबार
image/svg+xml
विचार

हाम्रो प्रतिबद्धता

नेपाल रिपब्लिक मिडियाको १४औं वार्षिकोत्सवको उपलक्ष्यमा हामी समस्त पाठक, वितरक, बिक्रेता, विज्ञापनदाता, शुभेच्छुक तथा सहकर्मीप्रति हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छौं। हामी आजैबाट आफ्नो यात्राको १३ वर्ष पूरा गरी १४ वर्षमा प्रवेश गरेका छौं।

मुलुकमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएसँगै जन्मिएको यो संस्था राजनीतिक परिवर्तनको साक्षीका रूपमा रहेको छ। बितेका वर्षहरू जसरी मुलुकका निम्ति महत्वपूर्ण रहे, त्यसैगरी हाम्रो संस्थाका निम्ति पनि अनुपम सिकाइका अवसर साबित भएका छन्।

बितेका दुई वर्ष हाम्रा लागि मात्र होइन, समग्र विश्वकै निम्ति प्रतिकूल रह्यो। कोभिड–१९ को त्रासले विश्वलाई आक्रान्त तुल्याउँदा हामी पनि अछुतो रहेनौं। केही समययता स्थितिमा सुधार आएकाले आगामी दिन आशावादी हुने अपेक्षा गर्न सकिन्छ।

मुलुकको समग्र विकास र लोकतन्त्रलाई भरलाग्दो तुल्याउन पत्रकारिताको अहं भूमिका रहन्छ। बदलिँदो विश्व परिस्थितिमा फेरि पत्रकारिताको असल अभ्यासको आवश्यकता महसुस गरिएको छ। सूचना प्रविधिको विकाससँगै फैलिएको कुसूचनाले पनि पत्रकारिताको महत्व अरू स्थापित गरेको छ। हाम्रा प्रकाशनहरूले यो जिम्मेवारी बोधका साथ अगाडि बढ्ने प्रण गरेका छन्।

कोभिड–१९ का कारण हाम्रो विकासको गति ढिलो भएको छ। विगतमा हामी जति आक्रामक ढंगले यस क्षेत्रको विकासक्रममा लागेका थियौं, त्यसमा थोरै रोक लागेको अवस्था छ। तर पत्रकारितालाई लयमा फर्काउन देखिएका चुनौतीलाई आगामी वर्ष हामी सामना गर्न तत्पर हुनेछौं। हाम्रो पेसागत कर्मलाई सामान्य अवस्थामा फर्काउँदा हाम्रो मात्र होइन मुलुकको समेत हित हुनेछ।

पछिल्ला वर्षमा सूचना प्रविधिको विकाससँगै पत्रकारिता क्षेत्रमा नौला खाले चुनौती देखिएका छन्। कुसूचना फैलाउन प्रविधिले जसरी मद्दत गरेको छ, त्यसको रोकथाम र उत्कृष्ट पत्रकारिता अभ्यासका निम्ति यो अवसरसमेत हो। हामी पत्रकारितामार्फत जानकार नागरिक समुदाय निर्माणका निम्ति क्रियाशील हुनेछौं। यो नै लोकतन्त्रका निम्ति गरिने उत्कृष्ट सेवा हो।

पत्रकारिताले सही सूचना दिन सक्दा मात्र आमनागरिकको प्रश्न गर्ने क्षमता बढ्छ। प्रश्न गर्न सक्ने जानकार नागरिक समुदाय निर्माण सही सूचना प्रवाहबाटै सम्भव छ। त्यसका निम्ति हामी सदैव क्रियाशील छौं।

आजको दिनमा पत्रकारिताको महत्व अरू बढेको छ। प्रत्येक नागरिक आज सूचना प्रवाहसँग जोडिएका छन्। तर सूचनाको जञ्जालमा रहेका आमनागरिकलाई बाटो देखाउन पत्रकारिता अभ्यासको महत्व छ। अहिले जसरी गलत सूचना फैलिन सहज भएको छ, त्यसैगरी राम्रो पत्रकारिता अभ्यासबाट आमनागरिकमा सही जानकारी पुग्नुपर्ने अवस्था छ। सही सूचनाले मात्र बाटो देखाउन सहज हुन्छ। यस पक्षमा आगामी दिनमा हामी थप क्रियाशील हुन प्रतिबद्ध छौं।

प्रबन्ध निर्देशक

प्रकाशित: ११ वैशाख २०७९ ०४:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App