१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
विचार

कसैले नजित्ने लडाइँ

सात दिनअघि, क्रेमलिनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनप्रति आफ्नो मनसाय प्रस्ट पारेको अर्को दिन मैले लेखेको थिएँ– आउँदो साता हामी सबैले केही न केही गुमाउनेछौँ।

बितेका दस वर्षमा युक्रेनमाथि रुसको दोस्रो हमला भएको एक सय घण्टा भन्दा बढी समय बितिसकेको छ। तर अझै हामीलाई धेरै कुरा थाहा छैन। लडाइँबारे अन्योल वास्तविकता हो र सामाजिक सञ्जालले त्यो वास्तविकतालाई अझ बढी बल्झाइदिएको छ। लडाइँका सबै पक्षले सत्यलाई आफ्नो पक्षमा ढल्काउन प्रशस्त प्रयास गरिरहेका छन्। पाठकहरूले यो लडाइँका त्यस्ता केही श्रव्यदृश्य पक्कै हेरेको हुनुपर्छ जसले मनैदेखि तरङ्गित बनाउने गर्छ। तर, त्यो लघु श्रव्यदृश्य हेरेर तपाईँले जे निष्कर्ष निकाल्नुभएको छ, त्यसको पूर्ण रूप हेरेपछि अर्को निष्कर्ष पनि आउन सक्ने सम्भावना नकार्न मिल्दैन।

अर्थात अनिश्चित कुुराको थुप्रो ठूलै छ। तर म एउटा कुरामा भने ढुक्क छु– यो लडाइँमा सबैको पराजय हुनेछ।

कुरा सुरु गरौँ, भ्लादिमिर पुटिनबाट। अधिकांश पाठकले सम्भवतः उनको खुब खेदो खनिरहनुभएको हुन सक्छ। रुसका राष्ट्रपति पुटिन खासमा नराम्ररी पराजित बन्दैछन्। बितेका पन्ध्र वर्षमा कार्यनीतिकरूपमा सफल र रणनीतिकरूपमा चलाख नेताका रूपमा कमाएको हावादारी प्रतिष्ठामा उनी मख्ख छन्। जर्जिया र क्रिमियामा छोटो समयमा नै उनले सफलता प्राप्त गरे। सिरिया र डोनबासमा उनको कारबाही उति भयानक भएन। आर्थिक जोहो गर्दै, रणनीतिक साझेदारसँग हातेमालो गर्दै र नाटोका सदस्यहरूबीच मनमुटाव बढाउँदै उनी आजको द्वन्द्वको परिस्थितिका लागि पूर्वतयारी गरिरहेको भान हुन्छ।

युक्रेनको आकाशमा अझै रुसले कब्जा जमाइसकेको छैन। रुसी सेनाले युक्रेनका केही भूमिमाथि मात्र कब्जा जमाइसकेको छ। यो पनि त्यति सजिलै र छोटो अन्तरालमा आएको होइन। विशेष सेना र पाराट्रुपर परिचालन गरेर रुसले छोटो समयमै युक्रेनमाथि कब्जा गर्न सकिने सोचेको थियो। युक्रेनको राजधानी किभ नढलेको प्रत्येक दिन र युक्रेनी राष्ट्रपति भोलोदिमेर जेलेन्स्कीले हरेक दिन सामाजिक सञ्जालमा पोस्ट गर्ने सामग्रीले पुटिनको कार्यनीतिक कौशलताको इज्जत माटोमा मिलाएको छ। पुटिनको मात्र होइन, रुसी सेनाको प्रतिष्ठा पनि धुलोपिठो बनाएको छ।

यदि युक्रेनमा पुटिनको युद्ध अपेक्षा गरिएभन्दा रुखो बन्दै गयो भने रुसको रणनीतिक अवस्था हेरी त्यो केही हुने छैन। हो, बेलारुसले रुसलाई बलियो समर्थन गर्दै आएको छ।

चीन, भारत, इजरायल र युएईलगायत केही महत्वपूर्ण देशले पनि पुटिनलाई खुसी पार्न खोजिरहेका छन्। तथापि, आधारभूतरूपमा रुसले आफूलाई कूटनीतिकरूपमा एक्लो, आर्थिकरूपमा नाकाबन्दी र प्रचार युद्धमा पछाडि परेको अनुभव गरिरहेको छ।

तर, खास कुरा त्यो भन्दा खराब छ। पुटिनको प्रमुख रणनीतिक लक्ष्य भनेको पश्चिमा देशहरूको ध्यान विभाजित र विशृङ्खलित गर्ने हो। नाटोमा चिरा पार्ने हो। ऊर्जाको गाँजर देखाएर लठ्ठीले ठोक्दै युरोपेली सङ्घलाई छिन्नभिन्न बनाउने हो। यो रणनीतिमा पुटिन कति सफल भए, त्यसबारे बहस गर्न सकिन्छ। तर, पुटिनले केही उपलब्धि भने पक्कै हात पारेका छन्।

पुटिनको कार्यकालभरि रुसप्रति जर्मनीको व्यवहार–आर्थिक सम्बन्ध जोड्ने तर सैनिक सम्बन्ध नजोड्ने थियो। अहिलेका चान्सलर ओलफ स्कुल्जको बन्डस्टाग (जर्मन संघीय संसद्) को भाषणपछि भने यो नीति रद्दीको टोकरीमा फालिएको छ। अब जर्मनीले आफ्नो सैनिक शक्ति बलियो बनाउने र रुसको ऊर्जामा निर्भरता घटाउने निधो गरेको छ।

स्विडेन र फिनल्यान्ड नाटोको सदस्य नै नबने पनि कम्तीमा नाटोसँग सहकार्यका लागि आतुर छन्। रुसी बैङ्कहरूलाई स्विफ्ट वित्तीय सूचना प्रणालीबाट निकाल्ने सात देशको समूह (जि ७) को निर्णयलाई जापानले पनि साथ दिएको छ। ब्राजिल र हङ्गेरीका पुटिन पक्षधर नेताहरूले समेत युक्रेनमा रुसी हमलाको विरोध गरेका छन्। 

युक्रेनमाथि रुसको पुनः हमला पुटिनका लागि सुखद् बनेको छैन। तर यो अरू कसैका लागि पनि सुखद् नभएको कुरा पनि सही हो। यो लडाइँ जति दिन जारी रहनेछ, त्यति नै युक्रेन छिन्नभिन्न बन्नेछ। विध्वंशको सघनता अझ बढ्नेछ। चाँडै लडाइँ जित्न रुसले थप निर्मम हमला गर्न सक्छ।

संयुक्त राष्ट्र सङ्घको तथ्याङ्कअनुसार अहिलेसम्म ३ लाख ५० हजार भन्दा बढी युक्रेनीहरू देश छाडेर भागिसकेका छन्। उनीहरू युरोपका विभिन्न देशमा भागेका छन्। अहिले ती युक्रेनीलाई युरोपेली देशहरूमा हार्दिकतापूर्वक स्वागत गरिएको छ। तर लडाइँ लम्बिँंदै गए यो अवस्थामा परिवर्तन हुन सक्छ।

धेरै विश्लेषकहरू युक्रेनमा पुटिनको हमलाको अन्तिम चाल अस्पष्ट भएको बताउँछन्। तर नाटोको चाल पनि उति स्पष्ट छैन। पूर्वी युरोपमा नाटोले सैनिक शक्ति बलियो बनाइरहेको हामीले देखिरहेका छौँ। रुसी अर्थतन्त्र दिनानुदिन केन्द्रीकृत र चीनप्रति निर्भर बन्दै गइरहेको हामीले देखिरहेका छौँ। अर्को शब्दमा पश्चिमा देशमा भद्रगोल नगर्ने विषयमा रुसको चासो कम छ।

सजिलो गरी भन्दा, लडाइँ सुरु भएको एक सातापछि के कसैले त्यस्तो परिणामको कल्पना गर्न सक्छ, जहाँ रुसी विमान युरोपेली आकाशमा उड्न सक्छन्, रुसी उद्योग प्रतिष्ठानहरू विश्वको आपूर्ति सञ्जालमा भर पर्न सक्छन् र २० देशको समूह (जि २०) को सामान्य बैठक बस्न सक्छ?  

हामी नयाँ शीतयुद्धमा प्रवेश गरिसकेका छौँ। यो कुरा मैले हचुवामा भनिरहेको छैन। यो द्वन्द्वको पहिलो थालनीमा धेरै गोरा मुट्ठीहरू संलग्न थिए वा थिएनन् भन्ने कुरा सम्झिन म बूढो भइसकेको छु। असफलताप्रति पुटिनको प्रतिक्रियाले थप तनाव बढाउन सक्छ। दुर्घटनावश (अथवा जानाजान) तनावको जोखिमले अवस्थालाई थप खराब बनाउनेछ।

अहिले अमेरिकीहरू युक्रेनको प्रतिकार हेर्दै मख्ख छन्। यो प्रतिकारबाट अन्ततः पुटिन सत्ताच्युत हुने सपना पालेर बसेका छन्। त्यस्तो हुन पनि सक्छ। तर, यो शताब्दीको लय बुझ्ने जोकोही पनि त्यत्ति उत्साहित भइहाल्ने ठाउँ छैन। रुसभित्र थप आक्रामक हुँदै पुटिनले युक्रेनमाथि थप निर्ममखालको लडाइँका निम्ति आदेश दिन सक्छ। यो लडाइँमा कसैको पनि जीत हुने छैन। यो साताको भूराजनीतिमा हरूवाहरू मात्र देखिए।

(लेखक टफ्ट विश्वविद्यालयको फिट्चर कानुन र कूटनीति क्याम्पसमा अन्तर्राष्ट्रिय राजनीतिका प्राध्यापक हुन्। स्रोतःवासिङ्टन पोस्ट)  

प्रकाशित: १८ फाल्गुन २०७८ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App