९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

दरबारले पालेका मान्छे

भगवान कृष्णले भनेका छन्–‘नैनं छिन्दन्ति शस्त्राणी नैनं दहति पावक। न चैनं क्लेदयन्त्यपो न शोषयति मारुत’(श्रीमद्भागवतगीता अध्याय २, श्लोक २३)। आत्मा अमत्र्य, स्थायी र शाश्वत हुन्छ भन्ने व्याख्या छ यसमा।

आत्मालाई हतियारले काट्न सक्दैन। आगोले  डढाउन सक्दैन। पानीले भिजाउन सक्दैन। हावाले सुकाउन पनि सक्दैन। यो आत्माको चरित्र हो। यसको अर्थ हो,सत्य जहिले पनि सत्य नै रहन्छ। भारतीय विद्वान् तथा पूर्वराष्ट्रपति डा. सर्वपल्ली राधाकृष्णन्देखि लिएर युरोप,अमेरिकाका प्रसिद्ध विश्वविद्यालयमा पढाएका डा. शंकरदयाल शर्मा लगायतले भनेका छन्–पश्चिमी जगत्मा धेरै विद्यार्थीले ‘संसारमा स्थायी के छ?’ भनेर प्रश्न गर्ने गर्छन्।

पूर्वीय सभ्यता समग्र,समष्टि र सर्वजनको हित सोच्ने परम्पराबाट अनुप्राणित छ। तसर्थ ऋग्वेदलगायतका ग्रन्थमा ‘सबै मिलेर राष्ट्र उठाउँ’ भनिएको छ। यो हाम्रो राष्ट्रिय सोच थियो। दलको अवधारणा हाम्रो होइन। नत्र हाम्रा पुर्खाले ‘सर्वे भवन्तु सुखिनः’ (सबै सुखी हुन्) भन्ने थिएनन्। सबै निरोगी रहून् पनि भन्ने थिएनन्। मेरा मान्छे,मेरो जात, मेरो धर्म, मेरो क्षेत्र, मेरो दल भनिएको छैन, शास्त्रमा। ‘सबैको कल्याण होस्’ भनिएको छ, फराकिलो हृदयले। हाम्रो चरित्रमा ‘सबैको हित’ निम्ति थियो, अब छैन।

कतिपय समाजमा फरक दल, जात, धर्म र सम्प्रदायप्रति असहिष्णु विचारले ठूलो हिंसा गराएको पाइन्छ। गीतामा असत्य पथमा हिँड्नेको वध गर्नु हिंसा होइन भनिएको छ। त्यसैले राष्ट्रदोह्री वा समाजलाई पथभ्रष्ट गर्ने/गराउनेको वध गरिएका उदाहरण छन्। त्यो उग्र ‘नारा’ थिएन। कठोर वास्तविकता थियो। कसैले राष्ट्रघात गर्छ भने त्यो क्षम्य हुँदैन।

राजा पृथुले संसारमा पहिलो राजा हुने सौभाग्य पाएकाले उनीद्वारा संरक्षित धरालाई ‘पृथ्वी’ भनियो। पृथु जनप्रिय, उपकारी, धार्मिक, आध्यात्मिक थिए भने उनका छोरा बेन नास्तिक उग्र, उदण्ड र अराजकतावादी थिए। हरेक कुरालाई आफूखुसी व्याख्या गर्थे।

उनी धर्म र संस्कृति नमान्ने बाटोमा हिँडेपछि बाबुले ऋषिहरूको सल्लाहमा बेनको वध गरेको प्रसंग छ भागवत महापुराणमा।

अमेरिकी राष्ट्रपति जोन एफ केनेडीको कथन छ–‘संसारमा तीनवटा सत्य छन्, तीन हुन्–हाँसो, मूर्खता र ईश्वर। हाँसो र मूर्खता धेरैले अनुभूत गर्छन्। ईश्वरको अस्तित्व स्वीकार गर्न आस्तिक, ज्ञानी र विवेकी हुनैपर्छ।’ अर्थात मूर्खजन, हठी र नास्तिक सधैं भौतिकवादी मात्र हुन्छ। उसका लागि सबै ‘मेटेरियल’ मात्र हुन्।

काठको विशाल घोडा बनाएर ट्रोयका जनतालाई उपहार दिन जान्छन्,ग्रिसका उच्च सैनिक अधिकारीहरू। कोसेली पाउने व्यग्र प्रतीक्षामा रमाउँछन् ट्रोयका जनता। त्यो ठूलो घोडाभित्र लुकेर बसेका सैनिकहरूले जव धमाधम आक्रमण गर्न थाल्छन् तब मात्र रहस्य खुल्छ ट्रोजन हर्सको। २०६२/६३ सालको ‘परिवर्तन’(?) नेपाली जनतालाई ग्रिक साहित्यको ‘ट्रोजन हर्स’ सावित भयो। त्यस्ता घोडा राप्रपालगायतका राजतन्त्रवादी कित्तामा पनि रहेछन् भन्ने देखियो।

ट्रोय सहर ध्वस्त पार्न घोडाभित्रबाट निस्केर सशस्त्र सैनिकले घेरेझैँ गणतन्त्रको ट्रोजन हर्समा लुकेर नेपाल आएका संघीयता र धर्म निरपेक्षताले राष्ट्र बर्बाद बनायो। हामी यो विद्रुप दृश्य हेरेर अन्यमनस्क र विचलित छौँ। किनभने संवैधानिक राजतन्त्र र गणतन्त्र दुवै ‘धरातलीय यथार्थ’ हुन भन्नेहरूले लाखौँ जनतालाई भ्रममा पारे।

इजिप्टको सेनाले कठोर शब्दहरू उच्चारण गर्दै शपथ ग्रहण गर्ने परम्परा छ। शपथ लिँदा सबै सैनिकले उच्चस्वरमा भन्नुपर्छ.–‘म सर्वशक्तिमान ईश्वरका नाममा शपथ लिँदैछु। बफादार सिपाहीका रूपमा म राष्ट्रको एकता,स्वतन्त्रता,अखण्डता रक्षा गर्दै समुद्र,आकाश र जमिनबाट हुने हरेक हमलाको सामना गर्नेछु।’ पत्रकार मोअताज अब्देल फताहले ‘इजिप्ट टुडे’ अखबारमा लेखेका छन्–‘सेनामा मुसलमानको बाहुल्य छ तर रमदान जस्ता पर्वलाई इज्जतपूर्वक मनाउन र सेनाबीच सुदृढ एकता छ भन्ने सन्देश दिन क्रिश्चियन धर्म मान्ने सैनिक पनि व्रत बस्छन्।’ यो इजिप्टको राष्ट्रिय चरित्र भइसकेको छ।

राष्ट्रिय चरित्र विकसित भएका मुलुकमा त्यहाँका प्राचीन धर्म, परम्परा, संस्कार, संस्कृति सबैका लागि आदरयोग्य हुन्छन्। जनता वा राजनीतिक नेताहरूबीच ‘तँ तँ म म’ हुँदैन। जे भन्ने हो, शालीन, विनीत भाषामा व्यक्त गर्छन्। यदाकदा संसद्मा असंसदीय र अराजनीतिक शब्द उच्चारण गर्नेहरू जनताको नजरमा गिर्छन्।

नेपालमा जुन दलको सरकार बन्छ, उसैका पछिपछि दगुरेर सत्तामा सहभागी बन्ने प्रलोभनले केही व्यक्ति र दल अत्यन्त बदनाम भए। ‘राजावादी’ स्टिकर टाँसेका दलका नेताले आफ्नै दलको सरकार ढाले। त्योबेला बोल्दै तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आफैँले मन्त्री बनाएका व्यक्तिले सरकार ढालेको घटनाको चर्चा गर्दै मुसा प्रवृत्तिका कारण अस्थिरता बढेको विश्लेषण गरेका थिए।

त्यसपछि नेपाली मिडिया र राजनीतिक तथा सामाजिक क्षेत्रमा समेत ‘मुसा प्रवृत्ति’ भन्ने शब्दावली धेरै चर्चित भयो। जसरी ठूलाठूला पानीजहाज डुब्न थाल्छन्, त्योबेला जहाजमा प्वाल पारेर मुसाहरू अर्को पानीजहाजको शरणमा जान्छन्।

राजतन्त्रबाट प्रशस्त फाइदा लिएर २०६२/६३ पछि गणतन्त्र नै यथार्थ हो भन्दै कतिपय मुसा अर्को पानीजहाजमा पसेर उच्च आसनमा बसे। राष्ट्रपति जस्तो गणतन्त्रको उच्च पदका उम्मेदवारको प्रस्तावक भए। राजतन्त्रवादी दल राष्ट्रपति पदको प्रस्तावक भएको संसारका कुनै पनि राष्ट्रको इतिहासमा देखिँदैन। जनताले राष्ट्रवादी शक्ति ठानेर लाखौँ भोट दिए पनि परिणामलाई निजी सम्पत्तिसरह दुरूपयोग गरियो।

पछिल्ला वर्षहरूमा एउटा दलका कारण सम्पूर्ण राजतन्त्रवादी शक्ति नै कमजोर हुन पुग्यो। तसर्थ नेपाली राजनीतिमा यस्तो प्रवृत्तिको पुनरावृत्ति भइरहेमा त्यसले कुनै पनि दल वा शक्तिलाई बलियो बनाउने अवस्था देखिँदैन।

आफ्ना हजारौँ गल्ती भए पनि त्यसमा सुधार नगर्ने तर उल्टै ‘राजाले हाम्रो दल फुटाए’ भन्ने आरोप पनि केही नेताले लगाए। यसरी हेर्दा किशोरावस्थादेखि राजदरवारले पुत्रवत् हुर्काएका प्रपञ्चकको बथान ठूलो देखिन्छ।

मालिक दरिद्र भए पनि कुकुरले इमानदारीसाथ मालिकसँगै सडकमा सुतेर बफादारी देखाउँछ। तर कृतघ्नहरूको चरित्र बडो शंकास्पद हुन्छ। महाकाली सन्धिमा ठूलो आर्थिक फाइदा लिएर कैयन् ‘राजावादी’ ले ती राष्ट्रवादी होइन रहेछन् भन्ने पुष्टि गरे। राजा वीरेन्द्रको निर्देशन थियो–‘सन्धिको विरोध र समर्थन होइन,तटस्थ बस्नू।’ राजाबाट मनोनीत अधिकांश सांसदले विदेशी शक्तिसामु आत्मसमर्पण गरे। उनीहरूको राष्ट्रवाद र राष्ट्रिय चरित्र एकपल्ट धुँदा रंग खुइलिने सस्तो लुगा रहेछ भन्ने जनतालाई थाहा भयो। राजा, सदन र सरकार मिलेर बनेको ‘श्री ५ को सरकार’ बाट भएका निर्णय मान्न राजा बाध्य थिए।

२०४६ सालपछिको दृश्य हेर्दा तीसवटाभन्दा धेरै सरकार आए/गए। अनुहार बदलिएन। कांग्रेसको नेतृत्वमा बनेको २०४७ सालको संविधान माओवादीले जलाउँदा खुसी भएर भोज खाँदै नाचिरह्यो कांग्रेस। एमालेले त ऊबेलै २०४७ सालको संविधानलाई अर्धसमर्थन (उसकै शव्दमा आलोचनात्मक समर्थन) मात्रै गरेको थियो। राजतन्त्र र संसदीय प्रणाली पतन हुँदा दरवारले हुर्काएका पूर्वपञ्चहरू ‘भैँसीले पाडो वा पाडी जे पाए पनि गोठालोलाई विगौती’ भनेझैँ ढुलमुले चरित्रमा रमाए। गणतन्त्र आएपछि केही ‘राजावादी’ र अवसरवादीहरू शत्रुको फौजमा जागिर खान गए। पदोन्नति पाए।

एकजना शक्तिशाली जर्नेलले त ‘जसरी भए पनि राजसंस्था हटाउनुपर्छ’ भन्दै कोइराला परिवारका प्रभावशाली व्यक्तिका घरमा तीन करोड रुपिँया घुस पठाएको मिडियामा आयो। राजाले मन्त्री, राजदूत, सांसद र अञ्चलाधीश बनाएका कैयन् अवसरवादी रातारात माओवादी भए।

माओवादीले उनीहरूलाई शौचालयमा प्रयोग गरिने कागजझैं एकपल्ट ‘इस्तेमाल’ गरेर डस्टबिनमा मिल्कायो। राष्ट्रिय चरित्र नै नभएका यस्ता धेरै मानिस उच्च तहमा भएका कारण न उनीहरूको व्यक्तित्व उचाइमा पुग्यो, न राष्ट्र।

झण्डै पचास वर्षयता नेपाल अल्पविकसित अर्थात दरिद्रहरूकै ताँतीमा छ। सरकार र सत्ता फेरिरहनेहरूले आफ्नै चरित्र बदल्न सकेनन्। राजतन्त्र फ्याँक्यौँ भन्नेहरूले आफूभित्र गजधम्म बसेको राक्षसतन्त्र बदल्न सकेनन्। लोकतन्त्र लोभतन्त्र भयो। सुख, शान्ति, आत्मनिर्णयको अधिकार र स्थिरता सबै गयो। के आयो त? हामी जे देखिरहेका छौँ, त्यही आयो।

राष्ट्रिय चरित्रको चर्चा हुँदा काठमाडौँको एउटा कफी हाउसमा आठ/दश जना जिज्ञासु भाइबहिनीलाई मैले भनेको थिएँ–इजरायल यहुदी राष्ट्र हो र उसको चरित्रमा त्यो बिम्ब झल्कन्छ। भुटान बौद्ध धर्मावलम्बीको बाहुल्य भएको राष्ट्र हो। अरूलाई मन परोस् वा नपरोस्, एक राजा,एक धर्म, एक भेष उसको उच्च प्राथमिकतामा पर्छ।

चीन आर्थिक नीतिमा उदार छ भने प्रजातन्त्र र मानव अधिकारको मोडल आफ्नै हुनुपर्छ भन्छ। ब्रिटेनकी महारानी सम्पूर्ण चर्चहरूकी परमाधिपति हुन्। संसार पल्टिए पनि उसले आफ्नो धर्म त्याग्दैन। नेपाल यस्तो राष्ट्र बन्दैछ, जसको कुनै आधारभूत राष्ट्रिय चरित्र छैन। राष्ट्रहित बिर्सेर विदेशीको गीत गाउने र दलमा लागेर विदेशीको तालमा मादल बजाइरहेका छन्, कतिपय नेताहरू।

बेलावखत केही निजी रकम खर्च गरेर युवा वर्गसँग चिया खाँदै उनीहरूका जिज्ञासा मेट्ने प्रयास गर्दै आएका छौँ,म र मेरा केही मित्र। कुनै गुट, दल, समूह र संकीर्ण स्वार्थमा छैनौँ हामी। राष्ट्र सदैव स्वाधीन रहोस् भन्ने स्वाभिमानी कित्ता र धनी हुन पाइन्छ भने पराधीन हुन पनि तयार अभिमानीहरूको ध्रुवीकरण भइरहेको छ, नेपालमा। कतिपयले धन कमाउन आफ्नै छोरी, दिदीबहिनी,भान्जी र फुपूहरू भारतका बेश्यालयमा बेचे, बेचिरहेका छन्। ‘उच्चस्तरमा’ पुगेका धेरैले धनी हुन सिद्धान्त, चरित्र, स्वाभिमान र आत्मसम्मान बेचे, बेचिरहेका छन्।

यस्तो निकृष्ट चरित्र हुनेहरूमा दरवारले पालेका मान्छे पनि छन्। राष्ट्रिय एकता, स्वाभिमान, राष्ट्रिय चरित्र तथा राष्ट्रियताका पक्षमा चालीसौँ वर्षदेखि लेखिरहँदा, बोलिरहँदा एउटा तीतो अनुभूति भएको छ–व्यक्ति पूजामा रमाउने प्रवृत्तिले धेरैलाई विकृत बनाएको छ।

राष्ट्रिय चरित्र पतन हुँदै गएको देखिन्छ। विदेशी लगानीमा हुर्किएकाहरूले नेपाललाई खरानी बनाउन चाहेका छन्। तर राष्ट्रको रक्षा गर्नुपर्छ भन्नेहरू पनि अनाथ देखिएका छन्।

विभिन्न राजनीतिक पसल खोलेर बसेका र हिजो दरवारले पालेका ठग प्रवृत्तिका व्यक्तिहरूले दल, गुट वा कुनै चुनावमा हार्छन्, जित्छन् भन्ने कुराको कुनै महत्व छैन किनभने राष्ट्र हारिरहेको छ।

प्रकाशित: १७ मंसिर २०७८ ०२:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App