७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
विचार

कोभिड–१९ र मानव स्वतन्त्रता

पछिल्ला दिनमा अमेरिकामा कोभिड–१९ संक्रमितको संख्या, अस्पतालमा भर्ना हुने बिरामीको संख्या तथा मृत्युमा भएको वृद्धिले महामारीको अन्त अझै नजिक नभएको कटु यथार्थ उजागर गरेको छ। यो रोगको जताततै नियन्त्रण नभएसम्म विश्वको अर्थतन्त्र पुरानो लयमा फर्कन सक्दैन। तर अमेरिका यो प्रसंगमा दुखद यथार्थ बनेको छ किनभने अमेरिकामा जे भइरहेको छ त्यो अनपेक्षित र अनावश्यक छ। 

एकातिर विश्वका गरिब तथा विकासोन्मुख देश खोपको पहिलो डोजको जोहो गर्न संघर्ष गरिरहेका छन् भने अमेरिकासँग आफ्ना नागरिकलाई दोस्रो डोज खोप लगाउन यथेष्ट खोप मौज्दात छ। अझ आफ्ना नागरिकलाई खोपको तेस्रो बुस्टर डोज लगाउन अमेरिका तम्तयार छ।

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेझैँ सबैले खोप लगाएमा कोभिड–१९ यत्तिकै हराउनेछ। तर अझै पनि अमेरिकामा भाइरसको डेल्टा भेरियन्ट रोक्न पर्याप्त जनसंख्याले खोप लगाएका छैनन् र यही कारणले कतिपय स्थानमा भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ। जनसंख्याको ठूलो तह शिक्षित हुँदाहुँदै पनि किन उनीहरूले युक्तिसंगत कार्य गरेका छैनन् ? किन आफ्नै हित हुने काम गर्न उनीहरू अनिच्छुक छन् ? किन उनीहरूले इतिहासबाट पाठ पढेका छैनन् ? किन उनीहरू विज्ञानसंगत देखिएका छैनन् ? 

यी सबै प्रश्नको उत्तर पाउन त्यति सजिलो छैन। तर अमेरिका धनी राष्ट्र भए पनि अपेक्षा गरेअनुसार अन्य राष्ट्रको तुलनामा त्यति शिक्षित राष्ट्र छैन। खोप लगाउन अनिच्छुक धेरै अमेरिकी विज्ञान शिक्षाको कमजोर प्रभाव भएका राज्यका छन्। यी राज्यमा उद्विकास तथा जलवायु परिवर्तन जस्ता आधारभूत विषयमा राजनीतीकरण गरिएको छ र कतिपय राज्यमा यी विषयलाई विद्यालयको पाठ्यक्रममा समावेश गरिएको छैन। 

यो अवस्थामा गलत सूचनाले धेरै मानिसलाई प्रभाव पार्न सक्छ। यसैगरी आफूले प्रसार गरेको सुचनाले सिर्जना गर्ने दायित्व बहन गर्नु नपर्ने सामाजिक सञ्जालमा कोभिड–१९ र खोपका बारेमा प्रवाह हुने सन्देशले समस्या झन बल्झाएको छ। तर यो सन्दर्भमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको गलत रूपमा व्याख्या गरिएको व्यक्तिगत स्वतन्त्रताको सवाल हो। 

मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न अस्वीकार गर्नेले यो व्यक्तिगत स्वतन्त्रताको हनन भनेका छन्। तर एक व्यक्तिको स्वतन्त्रता अर्काे व्यक्तिको ‘अस्वतन्त्रता’ बन्ने वर्तमान परिप्रेक्ष्यमा स्वतन्त्रताका पक्षधरले अर्काे पक्षको बाँच्न पाउने अधिकार अस्वीकार गरेका छन्।

यो प्रसंगसँग जोडिएको मूल कुरा के हो भने यो विषय बहुआयामिक छ। महामारीका बेला एक जनाले गर्ने व्यवहारले अर्कालाई हानि  पुर्‍याउँछ। यसरी अरूको व्यवहारले असर गर्ने भएपछि समाजको स्वास्थ्यका लागि यस्ता नोक्सान गर्ने व्यवहारको नियन्त्रण र सामाजिकरूपमा अनुकूल आनीबानीको प्रोत्साहन गर्न सामूहिक कार्य आवश्यक हुन्छ।  

आदिष्ट (अर्डर्ड) समाजमा निषेध आवश्यक हुन्छ। हत्या गर्न, चोर्न तथा अरूको व्यक्तिगत स्वतन्त्रतामा बाधा पुर्‍याउन  निषेध हुँदाहुँदै  पनि हामीले बुझ्नुपर्ने कुरा के हो भने यी निषेधात्मक व्यवस्थाको अभावमा समाजले काम गर्न सक्दैन। कोभिड–१९ पछिको विश्वमा हामीले मान्नुपर्ने दस आदेश (टेन कमान्डमेन्ट) मा यस्तो नयाँ व्यवस्था हुनुपर्नेछ– संक्रामक रोगको प्रसार रोक्न सकिने हुँदाहुँदै पनि यसको प्रसारमार्फत अर्काको हत्या गर्न पाइने छैन।

यसैगरी परिमार्जित कमान्डमेन्टमा ‘सबैले खोप लगाउनुपर्नेछ’ भन्ने व्यवस्था हुनुपर्छ। कोभिड–१९ खोप लगाउन अनिच्छुकले सामाजिक तथा आर्थिक सुविधा दिनु हुँदैन। स्वास्थ्यका कारण नमिल्नेबाहेक सबैले खोप लगाउनुपर्छ।

पछिल्ला १८ महिनाको अनुभवले विश्वको स्वास्थ्य सार्वजनिक सरोकारको विषय बनेको छ। विश्वका कुनै पनि भागमा यो रोगले वितण्डा मच्याएको अवस्थामा खोपलाई निष्प्रभावी पार्ने तथा झन संक्रामक भाइरसका भेरियन्टको उत्पत्ति तथा विकास हुन सक्छ।

तर विश्वको अधिकांश स्थानमा खोपको प्रभावकारिता भन्दा पनि खोपको अभाव महत्वपूर्ण विषय बनेको छ। प्रमाणिक कुरा के हो भने निजी क्षेत्रले मागअनुसार उत्पादन बढाउन सकेका छैनन्।उसो भए, के खोप निर्माताले आर्थिक अभावका कारण उत्पादन बढाउन नसकेका हुन त ? के खोपका लागि चाहिने सिरिन्ज र ग्लास भायलको अभाव छ त ? अथवा थोरै डोज उत्पादन गर्दा धेरै मूल्य र फाइदा हुने कारणले यसो भएको हो ? आपूर्तिको बाधाका रूपमा अगाडि आएको विषय भनेको बौद्धिक सम्पत्तिको अधिकारसँग सम्बन्धित छ। यो अधिकार निलम्बन गर्न विश्व व्यापार संगठनमा छलफल भइरहेको छ र यो अत्यन्त महत्वपूर्ण विषय बनेको छ।

अहिलेको अपरिहार्य आवश्यकता तथा चुनौतीको पृष्ठभूमिमा अझै धेरै काम हुन बाँकी छ। यो सन्दर्भमा अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले प्रतिरक्षा उत्पादन ऐन (डिभेन्स प्रोडक्सन एक्ट) कार्यान्वयन गर्न सक्छ र बौद्धिक सम्पत्तिमा संघ सरकारको स्वामित्व हुने व्यवस्था गर्न सक्छन्।

फर्मास्युटिकल कम्पनीलाई बौद्धिक सम्पत्ति अधिकारको बेरोकटोक प्रयोग गर्न छूट भएकाले उनीहरू अरबौँ डलर नाफा गर्न सक्षम छन्। त्यसैले अमेरिकाले देशभित्र र बाहिर खोप उत्पादन गर्ने सवालमा सबै उपाय अवलम्बन गर्न आवश्यक छ। विश्वव्यापी रूपमा खोपको सहज पहुँचका लागि अरबौँ डलर खर्च गर्न आवश्यक पर्ला तर महामारीले जीवन, जीवन यापन तथा विश्व अर्थतन्त्रलाई पार्ने प्रभावको तुलनामा यो लगानी नगण्य रहनेछ।

(कोलम्बिया विश्वविद्यालयका प्राध्यापक समेत रहेका लेखक अर्थशास्त्रका नोबेल पुरस्कार विजेता हुन्। उनले विश्व बैंकको प्रमुख अर्थशास्त्रीका रूपमा पनि काम गरेका छन्। प्राजेक्ट सिन्डिकेटबाट।)

प्रकाशित: २५ भाद्र २०७८ ०१:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App