‘नेपालमा नदीले बगर बनाएको पाँच लाख हेक्टर जमिनलाई मरुभूमिबाट कृषियोग्य उर्वर भूमिमा रूपान्तरण गर्न सक्यौँ भने देशमा विकासको मूलै फुट्छ। यसबाट २५ लाख युवालाई रोजगार दिन सक्छौँ। कार्बन घटाएर जलवायु परिवर्तनको समस्या हल गर्न सक्छौँ। खाद्य सुरक्षा गर्न सकिन्छ। ग्रिन इनर्जी सुरक्षा गर्न सकिन्छ, ग्रिन इनर्जी उत्पादन गर्न सकिन्छ, सँगसँगै बाढी–पहिरोको समस्या पनि हल गर्न सकिन्छ।’
उपरोक्त पंक्ति श्याम गोयन्काले भनेका हुन्, (अन्नपूर्णपोस्ट, १९ श्रावण ०७८मा प्रकाशित अन्तर्वार्ता)। सन् २०१९ को अन्त्यमा चीनमा देखापरेको कोरोना भाइरसको साम्राज्य विश्वमा फैलियो, मानवीय जीवन र अर्थव्यवस्था लगायत विविध क्षेत्र नराम्ररी प्रभावित भए। नेपालमा २०७६ चैत ११ बाट लगाइएको निषेधाज्ञा र त्यसबाट प्रभावित जीवनबाट कोभिडलाई अधिकांशले के कसरी बुझेका छन्, यो बेग्लै चर्चाको विषय हो। मलाई लाग्छ, महामारी आउनुमा प्रकृतिप्रतिको मानिसको उदासीनता पनि कहीँकतै जिम्मेवार छ। त्यसैले गोयन्काको महत्त्वाकांक्षी योजनाको सा इनो प्रकृतिसँग छ भन्ने लाग्यो।
कोभिडको सन्त्रासकै बेला भारतको हरिद्वारमा स्थापित गायत्री परिवारका संस्थापक पण्डित श्रीराम आचार्यका पुस्तिका (त्यहीँबाट प्रकाशित हुने मासिक पत्रिका अखण्डज्योति गीता प्रेस), गोरखपुरबाट प्रकाशित कल्याणको आरोग्य अंक (७५औँ वर्षको कल्याण विशेषांक), कल्याणकै ज्योतिषतत्वाङ्ग (सन् २०१४ को विशेषांक) दुर्गाशप्तशती (पूजा, विधि, नेपाली एवं व्याख्या डा. स्वामी रामानन्द गिरी) आदि किताब पढ्दा पर्यावरणप्रतिको मानवीय उदासीनता र जीवनशैली पनि कोभिडजस्तो महामारी निम्त्याउन जिम्मेवार त छैन प्रश्न उब्जेको थियो।
पहिलोपल्ट (२०७६ चैत्र ११) जारी बन्दाबन्दी र त्यसले प्रभावित भएको मानव जीवन नियाल्दा केटाकेटी छँदा सुनेको अग्रजको भनाइ ‘उत्तम खेती, मध्यम व्यापार, अधम नोकरी’ निकै अर्थपूर्ण लाग्यो। दिगो त कृषि उत्पादन रहेछ भन्ने अनुभूति गराएको थियो। त्यसैले अन्तर्वार्ताको अन्तिम अंशले अझ आकृष्ट बनायो। उनको भनाइ छ, ‘मैले ६० बिघा जमिनमा पाइलट योजना सञ्चालन गरेको छु। त्यहाँ भेटिभरका ५० लाख बिरुवा लगाएको छु।ती पुस मसान्तसम्म हुर्कनेछन्। अर्को वर्ष २० करोड हुन्छन्। बाढी, पहिरो, नदी कटान रोक्न र जमिनको उर्वर क्षमता बढाउने यो वनस्पति उपयोगी हुन्छ। नेपालमा एक सय २५ नदीनाला छन्। तीमध्ये जोखिम भएका खोलानालामा भेटिभर लगाउन सकिन्छ। हामी किसानलाई निःशुल्क बिरुवा वितरण गर्छौं।’
कोरोना कहरले वनस्पतिप्रति आकर्षण र रुचि बढाएको छ। तर, अक्सिजनको स्रोत रूख बिरुवाको संरक्षणमा मानिसको खासै चासो बढेको पाइँदैन। भारतीय धार्मिक गुरु जग्गी वासुदेव अर्थात् सद्गुरुले पर्यावरणमा पर्ने भावी संकटको आकलन गरेरै होला, करोडौँ रूख रोप्ने परियोजना ल्याएको। आध्यात्मिक तहको उपल्लो स्तरमा पुगेका आध्यात्मिक पथिक त्रिकालदर्शी पनि हुन्छन्।नेपालमा अधिकांशले उनलाई हेर्ने, सुन्ने र पढ्ने गरेको पाउँछु। कतिपय माक्र्सवादका अनुयायीले पनि उनलाई पछ्याइराखेका छन्, तर अनुशरण गर्छु भन्न हिचकिचाइरहेको पाउँछु। आफ्नै मनलाई किन त्यसरी ढाँटेको होला जस्तो लाग्छ। यद्यपि मलाई सन्त एक रहस्य नै लाग्छ। उनीहरूलाई बुझ्नु र जान्नु साधारण मानिसका लागि दुस्साहस नै हुन्छ जस्तो लाग्छ।
पहिले पहाडमा वरपिपल रोप्ने, चौतारा बनाउने तथा ती वृक्षको विवाह गराउने चलन थियो। मानिसको होस् वा रूखको, केटाकेटीमा विवाह भनेपछि त्यसै रमाइलो लाग्थ्यो।अहिले सम्झँदा लाग्छ, धर्मको नाममा अग्रजले गरेको त्यो कृत्य त पर्यावरण संरक्षणको खातिर रहेछ। पिपल मात्र यस्तो वृक्ष हो, जसले दिनरात दुवै समय अक्सिजन दिन्छ। हिन्दुले पिपल काट्दा पाप लाग्छ भन्छन् भने बुद्धिस्टले काट्न हुँदैन, कुनै भिक्षुले काट्छ भने प्रायश्चित गर्नुपर्छ भन्ने मान्यता राख्छन्।
धार्मिक विश्वास र मान्यताकै कारणले हुनुपर्छ, तेह्रथुम जिल्लाको कर्कले भन्ने ठाउँमा मदनशमशेरकी पत्नी जगदम्बाले निर्माण गराएको चौतारो छ। जसलाई रानीको चौतारो भनेर सम्बोधन गरिन्छ। आठराईका स्थानीय भानुभक्त सिटौला, देवीप्रसाद सिटौलाको पहलमा रानी जगदम्बाको आर्थिक व्ययभारले बनेको थियो भने त्यसको उद्घाटन गर्न कमलमणि दीक्षित र वासुदेव लुइँटेल गएको भनिन्छ। त्यस चौतारोका बारेमा ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाको १३९ पूर्णांकमा यो पंक्तिकारको लेख छापिएपछि कमलमणि दीक्षितको ‘जगधम्मे रानीको कथा’ शीर्षकको लेख १४१ अंकमा प्रकाशित भएको थियो। यो चर्चा गर्नुको अर्थ पूर्वजको पर्यावरणप्रतिको जागरुकताको संस्मरण गर्नु हो। बोटबिरुवाप्रति आफ्नो लगाव भएका कारणले पनि हो।
भारतका प्रसिद्ध गान्धीवादी सात्त्विक अभियन्ता सुन्दरलाल बहुगुणाले पर्यावरणको संरक्षणमा पुर्याएको योगदान स्मरणीय तथा अनुकरणीय छ। उनले हिमाली क्षेत्रमा भएको वनविनाश रोक्नका लागि सशक्त आन्दोलन गरे, नेतृत्व लिए। चिपको आन्दोलनको रूपमा त्यो प्रसिद्ध छ। महिलाहरू रूखमा टाँसिएर बसेर ठेकेदारलाई रूख काट्नबाट रोक्थे, (स्वामी आनन्द अरूण, अन्तर्यात्रा)। नेपालमा त्यस्तो खाले चिन्तनको विकास भएजस्तो लाग्दैन। त्यसैले गोयन्का परियोजनाले आकर्षित बनायो। २०७६ जेठतिर जस्तो लाग्छ, नेपालको एक राष्ट्रिय दैनिकमा प्रकाशित ‘१० वटा रूख लगाए मात्र स्नातक उत्तीर्ण’ भन्ने समाचारले मेरो ध्यान खिचेको थियो।
समाचार अनुसार स्नातक तह उत्तीर्ण गर्न न्यूनतम १० वटा रूख रोप्नैपर्ने नियम फिलिपिन्समा लागू गरिएको थियो।त्यहाँको वन क्षेत्र २०औँ शताब्दीमा ७० प्रतिशतबाट ३० प्रतिशतमा झरेको थियो। वन क्षेत्र बढाउन सरकारले नयाँ कानुन बनाउँदै यस्तो व्यवस्था गरेको हो। आफ्नो देशको कुरा गर्दा बिपी जयन्ती वा स्मृति दिवसमा बिरुवा रोपेको देखिन्छ। पञ्चायतको अवसानपछि पञ्चायतकालीन ग्रिनबेल्टको अवधारणालाई पञ्चायतको अवशेष ठानियो। अतिवादी चिन्तनको वर्चस्व भएको अवस्थामा पर्यावरण सबैको साझा विषय बन्ने स्थिति नै भएन।
दुर्गाशप्तशतीको १२औँ अध्यायको ३८औँ श्लोकमा ‘हे राजन ! महाप्रलयको समयमा महामारीको स्वरूप धारण गर्ने यी महाकाली नै हुनुहुन्छ र यो सम्पूर्ण ब्रह्माण्ड उहाँद्वारा नै व्याप्त छ’ भनिएको छ। त्यस्तै ३९औँ श्लोकमा ‘वस्तुतः उहाँ अजन्म भए पनि सृष्टिको रूपमा उहाँ नै प्रकट हुनुहुन्छ र संहारकालमा महामारी बन्ने उहाँ हुनुहुन्छ’ भन्ने उल्लेख छ, (डा. रामानन्द गिरी, दुर्गाशप्तशती)। देवी प्रकृति स्वरूप नै हो। भनिएको पनि छ– जल, अग्नि, होता (यजमान), सूर्य, चन्द्र, आकाश, पृथ्वी तथा वायुले मानिसलाई आरोग्यता प्रदान गर्दछ, प्रकृतिका यिनै अष्टरूप स्वच्छ, निर्मल तथा प्रशन्न रहिराख्छ भने यसैको सहयोगमा समस्त जीवजगत स्वस्थ रहन्छ।
कालिका कृपा प्राप्त वा उपासक संस्कृतका महाकवि कालिदासले अभिज्ञान शाकुन्तलको नन्दीपाठमा प्रकृतिको आठ रूपलाई भगवान् शिवको अष्टमूर्तिको रूपमा स्मरण गरिएको छ भनिएको छ, (आरोग्य अंक गीता प्रेस)। पृथ्वी तत्त्वको कुरा गर्दा बाल्यकाललाई सम्झन्छु, ‘आषाढ ६ वा ८ गतेलाई भूमिराज भनिन्थ्यो, त्यस दिन भूमिपूजन गरिन्थ्यो, खनजोतको कुनै पनि कार्य गरिँदैनथ्यो। त्यस्तै एक दिन रोपाइँ सक्नेलाई बेथी लगाउने भनिन्थ्यो, जसमा रोपाइँसँग सम्बद्ध सबै पक्ष हुन्थे, त्यसका साथै पञ्चैबाजा समेत बजाएर नाचगान गरिन्थ्यो। अहिले लाग्छ, त्यो मानिसको प्रकृति सामीप्यतामा पुग्ने ग्रामीण कला थियो। मानिस प्रकृतिकै एक हिस्सा हो। रोगव्याधि, कोभिडजस्ता महामारीबाट बच्न चिकित्सा विज्ञानले सुझाएका उपाय साथै प्रकृतिको सामीप्यता आवश्यक छ। त्यसैले गोयन्काको सोचले विस्तार रूप ग्रहण गरोस्। पर्यावरणको संरक्षणमा योगदान पुगोस्।
प्रकाशित: ११ भाद्र २०७८ ०२:४८ शुक्रबार