कुनै सैतानी दिमागले कुनै प्राणीको प्रजातिलाई विनाश गर्न सक्ने भाइरस विकास गर्न चाहन्छ भने उसले सबैभन्दा बढी संक्रामक र मृत्यु दर निम्त्याउने भाइरस विकास गर्न चाहन्छ। तर मानवतालाई नष्ट गर्न उसले मानवले व्यक्तिगत र समूहगतरूपमा गर्ने प्रतिकार्यलाई तटस्थ पार्न सक्ने भाइरस विकास गर्नुपर्ने हुन्छ। सही हिसाबले इन्जिनियरिङ गरिएको उक्त हत्यारा भाइरसले हाम्रो सामूहिक निर्णय प्रक्रियाका अक्षमताबाट फाइदा लिन सक्षम हुनुपर्छ। यहीतर्क सार्स–कोभ–२ भाइरसमा लागु हुन्छ र यो भाइरसले त्यही उद्देश्य पूरा गरेको देखिएकोछ।
हामी बुद्धिमान डिजाइनप्रति विश्वास गर्दैनौँ भने हामीले सैतानी डिजाइनलाई पनि विश्वास गर्दैनौँ तर यसो भने पनि डार्बिनको विकासवादी सिद्धान्तले बाँच्न र आफ्नो अस्तित्वका लागि भाइरसका प्रभावकारी प्रजाति विकास हुने देखिन्छ। विगत १०० वर्षमा जनावरबाट अनेकौँ भाइरसका नयाँ प्रजाति मानिसमा सरेकाछन् तर सार्स–कोभ–२जस्तो घातक अन्य कुनै भाइरस प्रजाति देखिएको छैन। कोभिड–१९ भाइरस इबोला भाइरस भन्दा कम घातक छ र सामान्य रुघाखोकी भन्दा कम संक्रामक छ तररोचक के छ भने सन् २०१२मा फैलिएको घातक मर्स महामारीलाई केही महिनामा नियन्त्रण गरिएको थियो। त्यसो भए कोभिड–१९यतिविघ्न मायावी किन प्रमाणित भयो ? किनभने यो भाइरसले हाम्रा संस्थागत कमजोरीको फाइदा उठायो। त्यसो तयो भाइरसले भविष्यमा आइपर्ने झन ठूलाखतरालाई सम्बोधन गर्न उपयोगी पाठ पनि पढाएकोछ।
भाइरसको घातीय हिसाबको प्रगतिले हाम्रा प्रजातान्त्रिक संस्थाहरूको प्रतिक्रियात्मक प्रकृतिलाई समेत चुनौती दिएकोछ। पर्ल हार्बरमा जापानले आक्रमण गरेपछि अमेरिका दोस्रो विश्वयुद्धमा होमिएझैं विश्वव्यापी आर्थिक मन्दीलाई सम्बोधन गर्न अमेरिकाले त्यतिबेलामात्र आफ्नो सक्रियता देखायो जतिबेला अमेरिकाको सबै भन्दा ठूलो वित्तीय कम्पनी लेहम्यान ब्रदर्श टाट पल्ट्यो। विन्सट्न चर्चिलले भनेकाभनेर बारम्बार उद्धृत गरिने एक भनाइ छ– अमेरिकीले सही कुरा गर्छन् भनेर विश्वास गर्न सकिन्छ तर अन्य सबै संभावनाको ढोका बन्द भएपछिमात्र।
यो रणनीति रेखीय सन्दर्भ (लिनियर कन्टेस्ट) मा काम लाग्ला तर घातीय (एक्सपोनेन्सियल) हिसाबमा यो अत्यन्त जोखिमपूर्ण देखिन्छ किनभने प्रतिकार्य ढिलो हुँदा सही कुरा गर्न झन् कठिन हुन्छ। नियन्त्रण भएन भने अधिकांश भाइरसको प्रसारण घातीय हिसाबले हुन्छ र लक्षणविहीन अथवा लक्षण देखिनुअघिको रोगको प्रसार रोक्न झन् गाह्राे हुन्छ।
कठिन तथा असंभव नभएको पक्ष के हो भने अहिले मानिसको आवागमन र अन्तरक्रियालाई ट्रयाक गर्न सकिने प्रविधि उपलब्ध छ। तर उदार प्रजातन्त्रको वकालत गर्ने देशले यसलाई अवलम्बन त्यति रुचि देखाउँदैनन्। एउटा क्याथोलिक सञ्चार माध्यमले हालसालै अमेरिकाका एक पादरी आफ्नो मोबाइलमार्फत यौनजन्य गतिविधिमा सलग्न रहेको पत्ता लगाएको थियो। गुगल र फेसबुकले आफ्ना विज्ञापन प्रवर्धन गर्न जेसुकै पनि गर्न सक्षम छन्। तर प्रजातन्त्रमा, मानव जीवन रक्षाका लागि त्यही प्रविधि उपलब्ध छैन।
जनसंख्यागत हिसाबमा कोभिड-१९को असमान प्रभावले राजनीतिक प्रतिकार्यलाई कमजोर तुल्याएको छ। सबै उमेर समूहमा मृत्यु दर समान भएको भए सामूहिक प्रतिकार्यका लागि थप दबाब सिर्जना हुन्थ्यो तर त्यसो हुन सकेको छैन। अमेरिकामा डेल्टा भेरियन्ट देखिनुअघि भाइरसका कारण भन्दा चट्याङका कारण मृत्यु हुने संभावना अत्यधिक थियो। तर कोभिड–१९ले संक्रमित भएका ८० वर्ष नाघेकाको मृत्युदर विफरको मृत्युदर जत्तिकै छ।
महामारीका लागि प्रभावकारी सामूहिक प्रतिकार्यका लागि अपनत्वको भावना हुन अपरिहार्य छ। उदाहरणका लागि अमेरिकाले सन् १९३० मा लागु गरेको ‘न्यु डिल’ कार्यक्रममार्फत दोस्रो विश्वयुद्धमा सहभागी हुन स्वयंमसेवीलाई आकर्षित गरेको थियो। अर्थतन्त्रमा आफू सीमान्तकृत बनेको वर्तमान युवा पिँढीले ठानेकोछ र यसका लागि अघिल्लो पिँढी जिम्मेवार रहेको उनीहरूको तर्क छ। यस्तो अवस्थामा वृद्धवृद्धाको सुरक्षाका लागि युवा पिँढीले आफ्नो ऊर्जाशील उमेरलाई कसरी वलिदान देलान् भन्ने प्रश्न उठेकोछ।
सामूहिक भावनामा विश्वास गर्ने एसियाली समाज महामारीको पहिलो लहरलाई सम्बोधन गर्न पश्चिमी समाज भन्दा तुलनात्मकरूपमा सफल देखिएको थियो। तर एसियाका अधिकांश देश खोपको विकास र यथेष्ठ डोजको जोहो गर्न सफल देखिएका छैनन्। यसले के देखाएको छ भने खोप विकासका लागि राजनीतिक सस्थाहरू भन्दा वैज्ञानिक क्षमता आवश्यक पर्छ।
स्वाभाविक हिसाबले अमेरिका, बेलायत र चीन खोपको अनुसन्धान तथा विकासमा अग्रपंक्तिमा देखिएकाछन्। कोभिड–१९को लक्षणविनाको प्रसारण र खास जनसंख्यागत समूहलाई बढी घातक देखिनुले समस्या झन बल्झेको छ तर त्यो भन्दा पनि बढी पश्चिमी सञ्चारमाध्यमले कोभिड–१९का बारेमा धेरै कुप्रचारमार्फत सिर्जना भएको भ्रमले चुनौती झन थपिएकोछ।
सुरुताका महामारीबारे धेरै गलत सूचना सम्प्रेषण भए। धेरै पटक ‘यो मात्र रुघाखोकी हो’ भनियो। वुहानमा लकडाउन सुरु भएको एक महिनापछि २०२० फेब्रुअरी २६ मा जर्नल अफ दि अमेरिका मेडिकल एसोसिएसनले कोभिड–१९ र रुघाखोकीको तुलनात्मक अध्ययन गरिरहेको थियो। बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका पूर्वसल्लाहकारले हालसालै दिएको एक अन्तर्वार्तामा गलत सूचनाले उच्चतम तहमा लिइने निर्णयलाई प्रभाव पारेको बताएकाछन्।
कोरोना भाइरसको निरन्तर उत्परिवर्तनले हाल उपलब्ध कोभिड–१९ खोपको प्रभावकारितामा थप प्रश्न उठेको छ। भारत सरकारको महामारीविरुद्धको कमजोर प्रतिकार्यले भारत र विश्वलाई प्रभावित पारेको छ। यदि महामारीविरुद्धको साझा प्रतिकार्यको नेतृत्व लिन अमेरिकालाई कठिनाइ छ भने यसका लागि सयुक्त राष्ट्र संघले नेतृत्व लिन झन् असंभव छ। वाणिज्य तथा सञ्चारको उपस्थिति विश्वव्यापी छ तर सुशासनको छैन। यदि हामी विश्वव्यापी अर्थतन्त्रमा बाँच्न चाहन्छौँ भने अन्तर्राष्ट्रिय सुुशासन प्रणालीलाई हामीले प्रभावकारी पार्नैपर्छ। यो नै कोभिड–१९ ले सिकाएको सबैभन्दा महत्वपूर्ण पाठ हो।
विश्वले प्रभावकारी सुशासन प्रणालीबिनानै कोरोना महामारी झेल्न सक्ला तर विश्वव्यापी समाधान आवश्यक पर्ने जलवायु परितवर्तन जस्तो अर्काे चुनौती सामना गर्न त्यति सजिलो छैन। हामीले समयमै पाठ सिकेनौँ भने मानव प्रजाति विलुप्त हुन योग्य मानिनेछ।
(जिंगालेस युनिभर्सिटी अफ सिकागोका फाइनान्स विषयका प्राध्यापक हुन्। साभार– प्रोजेक्ट सिन्डिकेट।)
प्रकाशित: २७ श्रावण २०७८ ०४:३५ बुधबार