कुनै पनि ठूलो वियोगपूर्ण घटनाको समाचार बनाउँदा पीडितप्रति संवदेनशील बन्नु पत्रकारिताको आधारभूत नियम हो। जो दुःखमा छ, उनीहरूको भावनाप्रति पत्रकार संवेदनशील बन्नुपर्छ। अन्तर्राष्ट्रिय मिडिया पनि भनिने पश्चिमा मिडियाहरूले यो नियम सामान्यतः आफ्नो देशको हकमा लागु गरेका हुन्छन्। तर गैरपश्चिमा समाजमा भएका विपद्बारे समाचार बनाउँदा भने यो नियमलाई उनीहरूले उपेक्षा गरिरहेका हुन्छन्।
भारतमा अहिले फैलिएको कोभिड–१९ को विनाशकारी दोस्रो लहरको सन्दर्भमा यस्तै भएको छ। भारतमा फैलिएको महामारी सम्बन्धमा पश्चिमा मिडियामा छापिएका समाचारहरू लासका तस्बिर र अन्य भयानक दृश्यहरूले भरिएका हुन्छन्। कुनै पश्चिमा देशमा उस्तै संकट आइपर्दा सामान्यतः सञ्चारमाध्यमहरूमा यस्ता तस्बिर र दृश्य प्रकाशन गरिँदैन। कोभिड–१९ को कारण मरेका कुल मानिसमध्ये झण्डै आधा त युरोप र अमेरिकाका छन्। तर पश्चिमा सञ्चारमाध्यमहरूले त्यस्तो संकटपूर्ण अवस्थाबारे समाचार बनाउँदा भने यस्ता भयानक तस्बिर प्रकाशन गर्दैनन्।
पश्चिमा सञ्चारमाध्यममा आउने वियोगका समाचारहरू कुनै अर्को देशको सांस्कृतिक विशिष्टताको मानमर्दन गर्ने र गोपनीय तथा आत्मसम्मानलाई उडाउनेखालका हुन्छन्।
अमेरिका र युरोपमा महामारीले उचाइ लिइरहेका बेला अस्पतालका आकस्मिक कक्षहरूमा चिकित्सक र नर्सहरू कति व्यस्तताका साथ काम गरिरहेका छन् भनी दृश्यको छायांकन गर्न कुनै टेलिभिजनको क्रु त्यहाँ पस्नु अकल्पनीय कुरा हो। तर, भारतको सन्दर्भमा अस्पतालभित्रका दृश्यहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा मज्जाले प्रसारण भएका छन्। त्यस्तो दृश्यहरूले जीवन वा मृत्युको निर्णयमा कस्तोखालको प्रभाव पार्छ भन्ने कुरामा किमार्थ पनि हेक्का राखिएन। आफ्नो प्रियजन गुमाएका भारतीय परिवारको दैलो–दैलोमा पनि टेलिभिजन पत्रकारहरू पुगे। आफन्तजन गुमाएका ती परिवारको दुःखलाई उनीहरूले पश्चिमा उपभोगका लागि सार्वजनिक दृश्यमा बदलिएका छन्।
तर आफ्नै देशमा भएको कुनै त्यस्तै दुःखद् घटनाको सन्दर्भमा भने ती सञ्चारमाध्यम निकै सजग व्यवहार गर्छन्। उदाहरणका लागि न्यु योर्क सहरमा कोभिड–१९ को कारण सुरुमा मरेका सङ्क्रमितका लास पुर्न खनिएका सामूहिक चिहानको तस्बिर सञ्चारमाध्यमहरूले रुखको लहरले चिहान धमिलो देखिएको मात्र प्रकाशित गरेका थिए। तर त्यसको ठीक उल्टो उनीहरूले भारतमा महामारीको अनुभव भने सधैँ जल्दै गरेको चिताको भयानक तस्बिरमा लामो समय मानिसको मानसपटलमा बाँकी रहने गरी प्रकाशन गरे। पश्चिमा सञ्चारमाध्यमहरूले संसारभर यस्तै तस्बिर प्रचार गरे।
मसानको आगो पश्चिमा उपन्यास, यात्रा वृतान्त र भारतबारेका चित्रहरूमा आइरहने पुरानो प्रसङ्ग हो। आफ्ना क्यामरामा मसानको आगो कैद गरेर पश्चिमा सञ्चारमाध्यमले लास पुर्ने हिन्दु परम्पराप्रति पश्चिमा दर्शकहरूको असामाजिक आकर्षणलाई सन्तुष्टि पार्ने गर्दै आएका छन्। (यो वातावरणमैत्री परम्पराप्रति पश्चिमा जगत्मा आकर्षण बढ्दो छ।) उनीहरूले यसरी मसानको आगो देखाउँदै गर्दा बेवास्ता गरेको एउटा वास्तविकता के हो भने मसानको आगोको तस्बिर खिच्नु भनेको भारतमा निजी मामिलामाथि अशोभनीय हस्तक्षेप र असभ्य व्यवहार हो।
पश्चिमा सञ्चारमाध्यमले विदेशका संकटलाई यसरी असंवेदनशील ढङ्गले प्रस्तुत गरेको यो पहिलोपटक भने पक्कै होइन। सन् २०११ मा भएको फुकुसिमा आणविक संकटको समाचार प्रकाशन गर्ने क्रममा पश्चिमा सञ्चारमाध्यमहरूले विकिरण चुहिएको ज्यादै भयानक घटनालाई भन्दा सो घटनाका पीडितलाई बढी प्राथमिकतामा राखेर समाचारहरू प्रकाशित गरेका थिए। पश्चिमा समाचारहरू सांस्कृतिक र जातीय मान्यता मिच्ने सन्दर्भमा पनि अनियन्त्रित छन्। दुर्घटना भएको आणविक रिअक्टर नजिक बसेका मजदूरहरूलाई पश्चिमा सञ्चारमाध्यमहरूले ‘आणविक सामुराइ’, ‘मानव बली’ र ‘आत्मघाती काममा आणविक निन्जाहरू’ आदि भनी वर्णन गरेका थिए।
खासमा फुकुसिमामा विकिरणको कारण कोही पनि घाइते भएको थिएन। बरु सो क्षेत्रका एक लाख मानिसलाई उद्धार गरी अन्यत्र सारिएको थियो। तर त्यसले पनि जापानको आणविक रिआक्टरको दुर्घटनालाई चेर्नोबलसँग तुलना गरी अतिरञ्जनापूर्वक झुटको प्रचार गर्न पश्चिमा सञ्चारमाध्यमलाई रोक्न सकेन।
पश्चिमा सञ्चारमाध्यमका त्यस्ता समाचारकै कारण विभिन्न देशका मालबाहक जहाजहरू सकेसम्म जापानी बन्दरगाह जान छाडे। फुकुसिमा भन्दा धेरै टाढाकै बन्दरगाहमा पनि उनीहरू जान तयार भएनन्। विभिन्न देशले जापानको राजधानी टोकियो र विभिन्न सहरमा रहेका आफ्ना नागरिकलाई घर फर्काए।
अफ्रिकी महादेशबारे पनि पश्चिमा सञ्चारमाध्यम त्यसरी नै गलत ढङ्गले चित्रण गर्छन्। उनीहरू अफ्रिकालाई असभ्यहरूको झुण्ड बस्ने संकटले कहिल्यै नछाड्ने र निकै थोरै खुसी र हँसिलो अनुहार भएको मानिस बस्ने ठाउँका रूपमा चित्रण गर्छन्। सन् २०१४–१६ मा इबोला रोगव्याधि गिनी, लाइबेरिया र सियरा लिओनभरि फैलियो। इबोलाको कारण ११ हजार ३ सय २५ जना मानिसले ज्यान गुमाए। अर्थात् सो क्षेत्रमा इबोला रोग फैलिँदा मरेका कुल मानिसको सङ्ख्या र आज भन्दा तीन महिनाअघि अमेरिकामा कोभिड–१९ का कारण मर्नेको सङ्ख्या झण्डै बराबर थियो। तर, पश्चिमा सञ्चारमाध्यमले इबोलाबारे लेखेका समाचारहरूमा ‘लासको बोरा’, परम्परागत मृत्यु संस्कार र पश्चिमी अफ्रिकी पुर्ने परम्परा जस्ता कुराहरूले भरिएका थिए। ‘द न्यु योर्क टाइम्स’ का लागि पश्चिम अफ्रिकीहरूको दुःख, मृत्यु र विस्मात कैद गर्ने एक जना स्वतन्त्र फोटो पत्रकारले खिचेको लास जम्मा गर्नेहरूको तस्बिरलाई सन् २०१५ को पुलिट्जर शान्ति पुरस्कार प्रदान गरियो।
हाम्रो समयको सबभन्दा ठूलो विश्व स्वास्थ्य विपद् बनेको कोभिड–१९ महामारी हो। त्यो महामारीबारे समाचार लेख्ने वा तस्बिर खिच्ने पत्रकारलाई सन् २०२० को पुलिट्जर पुरस्कार दिनु त परको कुरा, मनोनयनमा सम्म पनि कोही परेन। जुन महिनामा सन् २०२१ को पुरस्कार घोषणा हुँदा महामारीको कारण पश्चिमा देशहरूमा भएको मानिसको मृत्युलाई अभिलेख गर्ने कोही पत्रकार पुरस्कृत भए ज्यादै आश्चर्यको कुरा हुनेछ। पश्चिमा सञ्चारमाध्यमहरूका प्रकाशित हुने पीडा, दुःख, विस्मात र अक्षमताको खबर अधिकांशतः निकै टाढाको देशको हुने गर्छ। अमेरिकी सिपाहीहरू मारिएका तस्बिर मुस्किलले प्रकाशन हुने गर्छन्। तर अफगानी, इराकी र अन्य देशका जनताका लास पश्चिमा सञ्चारमाध्यममा प्रकाशित हुनु कुनै नौलो कुरा होइन।
पक्कै पनि सबै पश्चिमा सञ्चारमाध्यमलाई एकै मापदण्डमा तौलिनु ठीक होइन। तिनमा पनि बेलायती–अमेरिकी सञ्चारमाध्यमको दबदबा छ। न त सबै पश्चिमा सञ्चारमाध्यम आफ्नो देशमा भएको खराब घटनामाथि संवदेनशील समाचार लेख्न नै अनकनाउने गर्छन्। तर समग्रमा उनीहरूको मनोवृत्ति भने स्पष्ट छ– पश्चिमा सञ्चारमाध्यममा आउने वियोगका समाचारहरूले कुनै अर्को देशको सांस्कृतिक विशिष्टताको मानमर्दन गर्ने र गोपनीय तथा आत्मसम्मानलाई उडाउनेखालको हुन्छ। सामान्यतः यस्तो शैली ती सञ्चारमाध्यमको आफ्नै देशको सन्दर्भमा भने स्वीकार्य हुने गर्दैन।
यो दोहोरो मापदण्डका केही महत्वपूर्ण प्रभाव छन्। केही प्रमुख सञ्चार संगठनले समाचारलाई कसरी प्रस्तुत गर्छन् भन्ने कुराले अन्तर्राष्ट्रिय दृष्टिकोणको आकार ग्रहणमा भूमिका खेलिरहेको हुन्छ। इबोला रोगव्याधिबारे पश्चिमा सञ्चारमाध्यमका संवेदनापूर्ण समाचार र तस्बिरले त्यो रोगव्याधिले वास्तवमा पारेको प्रभाव भन्दा बढी भयानक र दुःखद्रूपमा हामीलाई विचार गर्ने बनाएको छ। इबोलाको सङ्क्रमण र मृत्यु पश्चिमा अफ्रिकाका तीन देशमा मात्र सीमित थियो। तर त्यो भाइरसलाई सिङ्गो अफ्रिकासँग जोडेर हेर्ने गरिन्छ।
पत्रकारको काम भनेको सूचना सम्प्रेषण गर्नु हो। कुनै दूरदराज ठाउँमा भएको कुनै वियोगलाई आफूखुसी व्याख्या गर्ने, स्तर मापन गर्ने वा खेलाँची गर्ने होइन। असल पत्रकाारिता मूल्य÷मान्यतामा आधारित सभ्य समाचार र त्यसले पार्ने प्रभावबारे लेखाजोखाबाट उदय हुने गर्छ। आज कोरोना भाइरस एकपछि अर्को तीव्र गतिमा उत्परिवर्तन भइरहेको र नयाँ–नयाँ प्रजातिले रूप ग्रहण गरिरहेको छ। हामी त्यस्ता विषयमा समाचार लेख्दा निकै जिम्मेवार र संवदेनशील हुन आवश्यक छ।
(लेखक नयाँ दिल्लीको नीति अनुसन्धान केन्द्रको रणनीतिक अध्ययनका प्राध्यापक हुन्। रणनीतिका विषयमा उनका नौवटा पुस्तक प्रकाशित छन्।
स्रोत : प्रोजेक्ट सिन्डिकेट,
नेपाली अनुवाद : नीरज लवजू)
प्रकाशित: ३० वैशाख २०७८ ०३:५९ बिहीबार