तीन वर्षअघिसम्म हिउँद न बर्खा, लोडसेडिङ हामी धेरैका लागि आदत बनिसकेको थियो। वर्खामै पनि केही घण्टा जाने लोडसेडिङ हिउँदमा त केही घण्टाका लागिमात्रै आउँथ्यो। मध्य हिउँदमा दैनिक १५–१६ घण्टा जाने लोडसेडिङ धेरै नेपालीका लागि अनौठो थिएन। गच्छेअनुसार मैनबत्ती, सोलार, इन्भर्टर र जेनेरेटरमा नेपालीले भर खोज्न थालिसकेका थिए। जताततै निराशा देखिएका बेला नेपाल विद्युत् प्राधिकरणमा आएको नयाँ नेतृत्वबाट आशा गर्न सकिन्छ भन्ने कसैले हेक्का राखेकै थिएनन्। तर कुलमान नेतृत्वमा आएपछि भएका सुधारले नेपालीले कल्पनै नगरेको आशा जगाइदियो।
वर्खामात्रै होइन, हिउँद पनि लोडसेडिङमुक्त बन्यो। ठाउँमा एकजनामात्रै कुशल नेतृत्व पुग्यो भने के हुन सक्ने रहेछ भनेर वाहवाही भयो। कुलमान घिसिङ धेरैको धन्यवादको पात्र बने। उनको कुशलताको चर्चा उनी अवकाश पाएर गएपछि पनि रहिरहनेछ। केही वर्षअघिसम्म अन्धकारमा रहेका कुलमानले ग्यासको सट्टा बिजुलीको धेरै प्रयोग गर्न सरकारका तर्फबाट आह्वान पनि गरे। त्यो बिस्तारै कार्यान्वयनमा पनि आउन थालेको छ। महँगो ग्यासबाट दैनिक भातभान्छा गर्नभन्दा बिजुलीमा भर पर्न कुलमानको आह्वान प्रभावकारी पनि रह्यो।
तर विगत केही सातायता मानिसले बेला न कुबेला झ्याप्प झ्याप्प बत्ती जाने अनुभव गरिरहेका छन्। लोडसेडिङको आदत केही वर्षमै छुटिसकेकालाई बत्ती जाँदा बित्तिकै असहज महसुस हुन थालेको छ। यसरी एकातिर सरकारले धेरै बिजुली खपत गर्न आह्वान गरेका बेला र आमउपभोक्ताले बिजुलीको अनियमित प्रवाह महसुस गरिरहेका बेला जनतालाई थप निराश नबनाउन सरकारले गर्नैपर्ने महत्वपूर्ण दुईवटा काम छन्।
प्राविधिक पक्षमा सुधार नगरी गरिएको आग्रहका कारण नै हो तपाईँ हामीले दैनिक बेलाबेला झ्याप्प झ्याप्प बत्ती गएको महसुस गरेको।
पहिलो, विद्युत् उत्पादन बढेसँगै आवश्यक पर्ने प्राविधिक गुणस्तरमा वृद्धि। अहिलेको अवस्था हेर्ने हो भने साँझको केही घण्टा (पिक आवर) बाहेक मागभन्दा बढी नै विद्युत् उत्पादन भइरहेको छ र यो बढ्ने क्रममा छ। नेपाल विद्युत् प्राधिकरणले झण्डै ६ हजार मेगावाट विद्युत् निजी क्षेत्रसँग किन्ने सहमति गरिसक्यो। विद्युत् किन्ने विषयमा गरिएको सहमति पावर पर्चेज अग्रिमेन्ट अर्थात पिपिए गरिसकेको अवस्थामा उपभोक्ताले विद्युत् खपत गरे पनि नगरे पनि प्राधिकरणले ६ हजार मेगावाट विद्युत् किन्नैपर्छ। त्यसैले हिजोको परिस्थितिलाई हेरेर चुनौती सामना गर्न भन्दा पनि नयाँ शिराबाट सोच्नुपर्ने अवस्था आइसकेको छ। विद्युत्को माग र खपतको सन्तुलन मिलाउन अत्यन्तै आवश्यक भइसक्यो। प्राविधिक पक्षमा सुधार नगरी केवल ग्राहकलाई धेरै विद्युत् खपत गर्नु भन्दैमा नहुने रहेछ भन्ने आजकाल हामीले बेलाबेला महसुस गर्ने विद्युत् आउने÷जाने क्रमले पनि देखाउँछ।
गत कात्तिकमा नेपाल विद्युत् प्राधिकरणले धेरै विद्युत् खपत गर्न ग्राहकहरूलाई अनुरोध गरेको एक महिना बित्न नपाउँदै काठमाडौँ उपत्यकाको विद्युत् खपत ४०० मेगावाट नाघेको थियो जुन अहिलेसम्मकै उच्च हो। विगतका वर्षहरूमा तिहारका बेला गरिने खपत भन्दा पनि झण्डै १०० मेगावाट विद्युत्को खपत बढेको थियो। धेरै ग्राहकहरूले दैनिक भात भान्छामा ग्यासलाई भन्दा नेपालमा नै उत्पादन भइरहेको विद्युत्लाई प्राथमिकता दिए। यो हुनुमा कुलमान घिसिङ र उनको नेतृत्वको विद्युत् प्राधिकरणले जगाएको आशा पनि केही हदसम्म सहायक बनेको छ मानिसलाई ग्यासको सट्टा बिजुली प्रयोग गर्नमा। यसरी आन्तरिक उत्पादनले प्रश्रय पाउँदा विवशतावश प्रयोग भइरहेको आयातीत ग्यासमार्फत् बाहिरिएको ठूलो रकम नेपालमै रहन्छ भन्ने परेर यसले नेपालको समग्र अर्थतन्त्रलाई सकारात्मक ऊर्जा दिन्छ।
विद्युत् उत्पादन बढेपछि आमउपभोक्तालाई खपत बढी गर्न आग्रह गर्नु स्वाभाविक हो। तर सरकारले यो आग्रहका लागि अलि बढी हतार गरेको देखिन्छ। प्राविधिक पक्षमा सुधार नगरी गरिएको आग्रहका कारण नै हो तपाईँ हामीले दैनिक बेलाबेला झ्याप्प झ्याप्प बत्ती गएको महसुस गरेको। विद्युत् आए पनि पूरापुर भोल्टेज फिटिक्कै आएको छैन। तोकिएको भोल्टेज नआउँदा तपाईँ हामीले विकल्पका रूपमा रोजेका इलेक्ट्रिक सामानहरू राम्रोसँग चलिरहेका छैनन् र तिनीहरूको आयु पनि यही कारण लामो हुने छैन। यस्तो परिस्थितिले आमउपभोक्तालाई पक्कै सन्तुष्टि दिँदैन। गुणस्तरीय सुविधा जनताको हकको विषय हो। सरकारले पर्याप्त तयारी नगरी गरिएका घोषणाले अन्ततः आमउपभोक्ता नै मारमा पर्छन्। यो विषयमा अहिल्यै गम्भीरता नदेखाए सरकारप्रति जनताको निराशा बढ्ने निश्चित छ।
गुणस्तरीय सुविधा जनताको हकको विषय हो। सरकारले पर्याप्त तयारी नगरी गरिएका घोषणाले अन्ततः आमउपभोक्ता नै मारमा पर्छन्। यो विषयमा अहिल्यै गम्भीरता नदेखाए सरकारप्रति जनताको निराशा बढ्ने निश्चित छ।
हिजो लोडसेडिङ्ग हुँदा बत्तिमात्र बाल्न पाए हुन्थ्यो भन्ने ग्राहक आज पूरा भोल्टेज भाएको विद्युत् आपूर्ति चाहिरहेका छन् तर खपत बढेसँगै किन पूरा भोल्टेजसहित विद्युत् आइरहेको छैन ? खासगरी घर÷घरमा विद्युत् पु-याउन आवश्यक प्राविधिक व्यवस्थापन गर्ने ट्रान्सफर्मर बिग्रिएकाले र ट्रान्समिसन लाइन बलियो नभएकाले यो समस्या आएको हो।
हरेक ट्रान्सफर्मर र ट्रान्समिसन लाइनको निश्चित क्षमता हुन्छ र त्यो नाघेपछि स्वाभाविकरूपमा बिग्रन्छ। विद्युत् उत्पादन बढेको विषयलाई ठूलो ठानियो तर त्यसको निकासका लागि आवश्यक पर्ने पद्धति निर्माण नगरी खपत गर्नु भन्दैमा उपभोक्ताले चाहेको सुविधा घर–घरमा पु-याउन गाह्रो हुन्छ। अहिले भएको पनि त्यही हो। उत्पादन बढाएसँगै ग्राहकसम्म विद्युत् पुग्ने द्रान्समिसन लाइन, सबस्टेसन तथा ट्रान्सफर्मर पनि अपग्रेड गर्नुपर्छ। त्यसैले सरकारले यसलाई पहिलो प्राथमिकतामा राखेर प्राविधिक पक्षलाई सुधार गर्नुपर्छ।
दोस्रो र त्यत्तिकै महत्वपूर्ण कुरा भनेको विद्युत् महसुलको मूल्य समायोजन। नेपाल विद्युत् प्राधिकरणले नयाँ महसुलका लागि विद्युत् नियमन आयोगसँग प्रस्ताव गरिसकेको छ। अहिले यो विषयले निकै चर्चा पनि पाएको छ। कुनै पनि वस्तुको मूल्य निर्धारण भनेको त्यसको आपूर्ति र मागमा भर पर्ने हो। संसारभर चलन यही हो। अहिले धेरै मात्रामा नेपालमै विद्युत् उत्पादन भइरहेको छ। खपत बढी हुने समयमा अपुग रहने विद्युत्मात्रै भारतबाट खरिद गरिएको छ। यही वर्षभित्र नेपालमा फेरि करिब हजार मेगावाट विद्युत् थपिँदै पनि छ। विद्युत्को उत्पादन स्वदेशमै बढेका बेला त्यसको महसुल वैज्ञानिक ढंगबाट निर्धारण गर्न त्यसकारण पनि आवश्यक भइसकेको छ।
नेपालमा सबैभन्दा धेरै विद्युत् खपत हुने भनेको हिउँदमा हो। र, यही मौसममा विद्युत् उत्पादन कम हुन्छ। त्यसैले ग्राहकले उपभोग गर्ने बिजुलीको नयाँ महसुल निर्धारण गर्दा उनीहरूको प्रयोग गर्ने व्यवहारलाई समेत मध्यनजर गर्न आवश्यक देखिन्छ। यसलाई चलनचल्तीको भाषामा ‘कस्टुमर बिहेबियर एनालिसिस’ अर्थात् उपभोक्ताको व्यवहारको विश्लेषण भनिन्छ। खपत बढी हुने समय अर्थात् ‘पिक आवर’ मा उत्पादित विद्युत् नपुगेर भारतबाट किन्नुपर्ने अनि खपत कम भएका बेला खेर जाने यो प्रवृत्ति वर्षौँदेखि चलिरहेको छ र अझै केही वर्ष चल्ने देखिन्छ। त्यसको एउटा समाधान भनेको पानी भण्डारण गर्नु हो। र, त्यसका लागि एउटै जलविद्युत् आयोजना कुलेखानीमात्रै छ। बाँकी प्रायः सबै हाइड्रोपावर स्वचालित पानीबाट विद्युत् उत्पादन हुने प्रकृतिका छन्। त्यसैले सुक्खायामको पिक आवरको विद्युत् मागलाई ध्यानमा राखेर विद्युत् महसुल निर्धारण गर्नुपर्छ। ताकि विद्युत् खपत गर्ने ग्राहकको व्यवहारमा परिर्वतन आओस्।
विश्वका धेरै राष्ट्रले यही नियम लागु गरेका छन्। वर्षभरको समयलाई दिन या महिनामा विद्युत् उत्पादन हुने र खपत हुने गरी वर्गीकरण गर्ने। कम उत्पादन हुने र बढी खपत हुने समयलाई ‘क्रिटिकल आवर’ भनी वर्गीकरण गर्ने। हो, यही समयमा विद्युत्को महसुल सबैभन्दा धेरै निर्धारण गर्ने। यसो गर्दा विद्युत्मा कम खर्च गर्ने ग्राहकले यो समयमा कमै विद्युत् प्रयोग गर्छन् र खपत तथा उत्पादनको सन्तुलन रहन्छ।
अझ कतिपय राष्ट्रले त यस्तो क्रिटिकल आवरमा विद्युत् खपत नै नगर्ने ग्राहकलाई छूट दिने पनि गर्छन्। नेपालमा पनि भारतबाट बिजुली किनेर ग्राहकलाई बेच्नु भन्दा ग्राहकलाई नै केही प्रोत्साहनस्वरूप छूट दिएर विदेशबाट विद्युत् किन्नु नपर्ने गरी योजना बनाउनुपर्छ। यसो गर्दा कम्तीमा ग्राहकले अत्यावश्यक पर्ने बिजुलीको खपतमात्रै गर्छन्। बढी विद्युत् खपत हुने हिटर, राइसकुकर, वासिङ मेसिन जस्ता विलासी वस्तुको प्रयोग क्रिटिकल आवरमा गर्दैनन्।
महसुल निर्धारणमा अर्को ध्यान दिनुपर्ने विषय भनेको २४ घण्टाको एक दिनलाई चार भागमा विभाजन गर्ने। बिहान, दिउँसो, साँझ र रातमा। यसरी वर्गीकरण गरिएको चार भिन्न भिन्न समयमा विद्युत् महसुल पनि फरक फरक गरी तोक्ने ताकि उत्पादित विद्युत् खेर जान नपाओस्।
खपत हुन नसकेर खेर गइरहेको रातको समयमा सबैभन्दा कम महसुल लगायो भने मानिसले त्यतिबेला बढी प्रयोग गर्ने बानी बसाल्छन् वा माग धेरै भएको समयमा महसुल धेरै लगायो भने कम उपयोग गर्छन्। अहिले पनि रातको समयमा एक सय मेगावाट भन्दा धेरै विद्युत् खेर गइरहेको छ। विद्युत् खपत नै नहुने समयमा विशेषगरी आवासीय क्षेत्रमा कम महसुल निर्धारण भएमा बढी विद्युत् खपत गर्ने इलेक्ट्रिक सामानहरू यही समयमा प्रयोग हुन्छन्।
विद्युत्को महसुल दर र प्रयोग गर्ने समय नै आवासीय र औद्योगिक क्षेत्रलाई फरक गरी विद्युत्को उत्पादनअनुसार मिलाउनुपर्छ। यस किसिमको वैज्ञानिक महसुल प्रणालीलाई व्यवहारमा लागु गर्दा ग्राहकको घरमा जडित परम्परागत मिटरलाई हटाइ स्मार्ट मिटर राख्नुपर्ने हुन्छ।
आजकाल हरेक इलेक्ट्रिकल सामान इन्टरनेटको सञ्जालमा जोडिने सुविधा छ। स्मार्ट मिटर पनि इन्टरनेटको सञ्जालमा जोडिने प्रविधि बिस्तारै विकास गर्नुपर्छ। त्यसले गर्दा ग्राहकले आफ्नो घरको स्मार्ट मिटर मोबाइल वा प्रयोग गर्ने ग्याजेटमा हेर्न सक्नेछन्। यो प्रविधिले कुन समयमा कुन इलेक्ट्रिकल सामान प्रयोग गर्ने भनेर नोटिफिकेसन अर्थात् जानकारी हातैमा पाउनेछन्। यसका लागि केही समय पक्कै लाग्नेछ तर प्रविधि द्रुत गतिमा अघि बढिरहेका बेला त्यो दिन त्यति टाढा पनि छैन। जनताले आफूले गर्ने विद्युत् खपतलाई कसरी सुलभ र किफायती गर्ने त्यो समयसँगै विकास हुने प्रविधिले पक्कै सिकाउनेछ तर तत्कालका लागि भने उनीहरूबिना अवरोध निरन्तर बत्ती पूर्ण क्षमतासहित आओस् भन्ने चाहन्छन्।
तर त्यो दिनसम्म पुग्नका लागि पहिला विद्युत् प्राधिकरणले विद्युत् उत्पादन बढाएर खपत गर्न आमउपभोक्तालाई आग्रह गरिरहेका बेला गुणस्तरीय प्राविधिक सुधार र महसुल निर्धारणलाई तत्काल अघि बढाउन आवश्यक छ। विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले आफ्नो बाँकी रहेको कार्यकालमा यी पक्षलाई चुनौतीका रूपमा लिएर काम गरे उनको कुशल नेतृत्वको बयान वर्षौँवर्ष रहिरहनेछ।
(लेखक अनुसन्धानकर्ता हुन्।)
प्रकाशित: १६ माघ २०७६ ०५:०४ बिहीबार