नेपाल भ्रमण वर्ष १९९८ मनाइरहँदा तत्कालीन दैनिक पत्रिकामा कार्टुन छापिएको थियो ः एउटा पश्चिमी मुलुकको पर्यटक जोमसोम पुगेछ, फर्किने क्रममा ७ दिनसम्म पनि हवाईजहाजको टुंगो नलागेपछि भिजिट नेपाल १९९८ को स्टिकरमा भिजिटको पहिलो अंग्रेजी वर्ण भी काटेर पछाडि प्रश्नवाचक चिह्न थपेछ र भनेछ– ‘इज इट नेपाल (यो नेपाल हो ) ? हो भने भ्रमण वर्ष मनाइरहेको नेपालमा यति साह्रो यातायातको बेतिथि त नहुनपर्ने !’ यो एउटा तात्कालिक यथार्थपरक कार्टुन थियो।
जेजस्तो भए तापनि त्यो भ्रमण वर्षले नेपाललाई विश्वमा चिनाउन पक्कै योगदान दियो। त्यस्तै नेपाल पर्यटन वर्ष २०११ आयोजना गरेर नेपालले पर्यटक भिœयाउने काममा अर्को एउटा इँटा थप्यो। यसै सिलसिलामा नेपालले सन् २०१५ मा सन् २०१८ लाई नेपाल पर्यटन वर्षका रूपमा मनाउने घोषणा ग-यो तर त्यही वर्ष (२०७२ साल) महाभूकम्प गयो। जसका कारण मुलुकका १२ जिल्लामा असर परेको, ध्वस्त भएका थुप्रै संरचना पुनर्निर्माण हुन नसकेको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालन हुन नसकेको, निर्माणाधीन गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बन्न समय लाग्ने आदि कारण देखाउँदै २०१८ मा मनाउने भनिएको नेपाल भ्रमण वर्ष २०२० का लागि सारिएको हो। सन् २०२० सुरु हुन पनि अब थोरै मात्र समय बाँकी रहँदा भ्रमण वर्ष सफल हुने÷नहुनेमा अझै शंका गरिएको छ।
कति पर्यटक आए भन्दा पनि ती कति दिन नेपालमा बसे भन्ने महत्वपूर्ण कुरा हो। पर्यटकको बसाइ अवधि जति धेरै लम्ब्याउन सकियो, त्यति नै भ्रमण वर्ष सफल हुन्छ।
हालैका वर्षमा करिब १० लाख पर्यटकले नेपाल भ्रमण गरिरहेको सन्दर्भमा २०२० मा यो संख्या दोब्बर बनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य नेपालको छ। अहिले लुम्बिनी भ्रमण वर्ष २०७६ जारी छ, तर त्यहाँ खासै चहलपहल छैन। लुम्बिनीलाई आधार बनाएर प्रदेश नम्बर ५ लाई मुलुककै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउने लक्ष्य अब लक्ष्यमा मात्रै सीमित हुने पक्का छ। भ्रमण गर्न गएका पर्यटकले अस्तव्यस्त नाका, भत्केका सडक, कमजोर सुरक्षाजस्ता कारण सास्ती मात्र भोग्नुपरेको छ। हेर्दा सानै भए पनि मन्दिरपरिसरमा जुत्ता/चप्पल हराउने कुराले पर्यटकमा नकारात्मक असर पारेको छ। खानेपानी, सार्वजनिक शौचालय आदिको व्यवस्था छैन। यो समस्या लुम्बिनीको मात्र नभएर अरू पर्यटकीयस्थलमा पनि उस्तै छ।
मुलुकको कूल गार्हस्थ्य उत्पादनमा करिब ७ प्रतिशत पर्यटन क्षेत्रले योगदान पु¥याइरहेको सन्दर्भमा आसन्न भ्रमण वर्ष सफल पार्न र लक्ष्यअनुरूप पर्यटक भित्र्याउन अझै थुप्रै काम गर्नुपर्ने देखिन्छ। सडक निर्माणमा भएको ठेकेदारको ढिलाइ तत्काल अन्त्य गर्दै भएका सडकको स्तरोन्नति गर्नुपर्छ। काठमाडौंका सडकका खाल्डाखुल्डी पुरेर धुलो, धुवाँ र प्रदूषण तत्काल नियन्त्रण गर्नुपर्छ। भ्रमणका नयाँ गन्तव्य पहिचान गर्नुपर्छ। आन्तरिक र बाह्य प्रचारप्रसार गर्नुपर्छ। बाह्य प्रचारप्रसारका लागि गैरआवासीय नेपालीको संगठन एनआरएनए परिचालन गर्न सकिन्छ। हवाई र स्थल यातायातलाई विश्वसनीय बनाउनुपर्छ। महामारीको रूप लिएका डेंगी, स्क्रबटाइफस र औलो नियन्त्रणमा विशेष ध्यान दिन जरुरी छ। पर्यटकको सुरक्षा र भ्रमणका लागि आवश्यक पूर्वाधार निर्माण अविलम्ब गरिनुपर्छ।
भ्रमण वर्षको अर्काे चुनौती हो– पर्यटकको बसाइ अवधि लम्ब्याउने। कति पर्यटक आए भन्दा पनि ती कति दिन नेपालमा बसे भन्ने महत्वपूर्ण कुरा हो। पर्यटकको बसाइ अवधि जति धेरै लम्ब्याउन सकियो, त्यति नै भ्रमण वर्ष सफल हुन्छ।
नेपालमा खासगरी धेरै पर्यटक भारतबाट आउने र उनीहरू बिहान आएर लुम्बिनी, जनकपुरजस्ता तराईका गन्तव्य भ्रमण गरेर एक दिन पनि नबसी फर्किने प्रचलन छ। त्यस प्रकारको भ्रमणले नेपालले खासै लाभ लिन सकिरहेको छैन। अतः धार्मिक पर्यटन गर्न आउनेका लागि बुद्ध सर्किट र हिन्दू सर्किटको अभ्यास गरी पहाडी क्षेत्रमा र सके हिमाली क्षेत्रमा पनि उकाल्न सक्नुपर्छ। लुम्बिनी भ्रमण गर्नेका लागि बौद्ध, स्वयम्भू र उच्च हिमाली क्षेत्रका बौद्ध गुम्बाहरूमा समेत पु-याउन आवश्यक पहल गर्नुपर्छ। त्यसैगरी हिन्दू धर्मावलम्बीलाई जनकपुर, चतराजस्ता धामहरूमा मात्र सीमित नगरी आराध्यदेव पशुपतिनाथ, केदारनाथको शिर डोलेश्वर हुँदै हिन्दू–बौद्ध दुवैको आस्थाको केन्द्र मुक्तिनाथ, हलेसी महादेव आदिसम्म पु-याउन प्रयास गर्नुपर्छ। विश्वका प्रमुख धर्ममध्ये हिन्दू र बौद्धको आस्थाको केन्द्र नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना छ।
पश्चिमी मुलुकबाट नेपाल भित्रिने पर्यटक प्राकृतिक मनोरम दृश्यमा रमाउन चाहन्छन्। जो हिमाल आरोहण, ट्रेकिङ, हाइकिङ, दृश्यावलोकन, अध्ययन/अनुसन्धान, बिदा सदुपयोग आदिका लागि नेपाल आउने गर्छन्। तसर्थ हिमाल, ताल तलैया, नदी, साहसिक खेल जस्तै ः बन्जी, क्यानोइङ, राफ्टिङजस्ता पक्षको सबलीकरण, विश्वसनीयता र सुरक्षातर्फ तत्काल सुधार गर्नुपर्ने देखिन्छ।
संस्कृतिमा धनी नेपालमा सांकृतिक पर्यटनको पनि उत्तिकै सम्भावना छ। यति प्रचुर सम्भावना बोकेको मुलुकमा भ्रमण वर्षमा मात्र नभई सदाबहार रूपमा पर्यटक भित्र्याई देशको अर्थतन्त्र सुधार मात्र गर्ने होइन, मुलुकलाई विश्वभर चिनाउने, रोजगारी सिर्जना गर्ने र पर्यटन क्षेत्रलाई मात्र पनि व्यवस्थित गर्न सके कामको खोजीमा बाहिरिने नेपालीलाई स्वदेशमा रोक्न मात्र होइन, समृद्ध मुलुक निर्माणमा पनि ठूलो टेवा पुग्छ। कार्यक्रम घोषणा गरेर मात्र हुँदैन। त्यो सफल बनाउन विभिन्न तहका सरकार र स्थानीयको सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ। अतः हामी सबै लागौं र नेपाल भ्रमण वर्ष २०२० लाई सफल पारौं।
रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापनरत
प्रकाशित: ८ पुस २०७६ ०४:३२ मंगलबार