८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

मोदीको चौथो पाइलाको सन्देश

यसलाई बिमस्टेक सम्मेलन मात्र भन्दा जायज ठहर्दैन । सार्क सदस्य राष्ट्रहरू पाकिस्तान, अफगानिस्तान र माल्दिभ्स सहभागी नभएको सम्मेलन हो जसमा थाइल्यान्ड र म्यानमार सहभागी छन् । पाकिस्तानमा हुनुपर्ने सार्क शिखर सम्मेलन भारतको ग्रिन सिग्नल नआएकाले हुन सकेको छैन।

बिमस्टेक सदस्य राष्ट्रहरूको सूचीमा नभएका सार्क राष्ट्रहरू अफगानिस्तानबाहेक पाकिस्तान र माल्दिभ्ससँग भारतको सम्बन्ध सहज छैन । पाकिस्तानसँग कुनै पनि भारतीय नेताले सम्बन्ध सुमधुर बनाउन खोज्नु आफैँमा जोखिम हो । २०१५ डिसेम्बरमा मोदी तत्कालीन प्रधानमन्त्री नवाज सरिफको लाहोरस्थित घर आश्चर्यजनक ढंगले पुगेर जोखिम नमोलेका होइनन् । तर, त्यसयता दुवै देशबीच सम्बन्ध जसरी सुमधुर हुने आशा गरिएको थियो, हुन सकेन । मालदिभ्ससँग भारतको सम्बन्ध निकै चिसो भइसकेको छ ।

मोदी कुनै पनि हालतमा नेपालसँगको सम्बन्ध सुदृढ रहेको सन्देश दिन चाहन्छन्। 

दक्षिण एसियामा भारतको स्थिति र छिमेकसँगको सम्बन्धले विशेष अर्थ राख्छ । त्यसमाथि, सन् २०१९ मा हुन गइरहेको भारतको लोकसभा चुनाव अगावै मोदी स्पष्ट सन्देश दिन खोजिरहेका छन्— दक्षिण एसियामा भारतको स्थिति मजबुत छ र यो क्षेत्रभन्दा बाहिर प्रभाव फैलँदो छ । मोदीले बिमस्टेक अगावै तीर्थाटन शैलीमा नेपाल भ्रमण गरेर नेपाल मामलामा बिग्रिएको स्थिति सुध्रिइसकेको सन्देश दिएका थिए । सार्क सम्मेलन हुनेमा अन्यौल भइरहँदा बिमस्टेकमार्फत दक्षिण एसियामा आफ्नो बलियो प्रभाव सिद्ध गर्न खोज्दैछन्। 

चौेथो पाइलाको छाप
प्रधानमन्त्रीका रूपमा नरेन्द्र मोदीले नेपालको चौथो पटक भ्रमण गर्दैछन् । दुईपटक राजकीय भ्रमण गरेका उनी सार्क शिखर सम्मेलनका दौरान नेपाल आएका थिए । पहिलो भ्रमण १७ वर्षयता भारतीय प्रधानमन्त्रीले नेपालको राजकीय भ्रमण नगरेको अवस्थामा पूर्णविराम थियो । तेस्रो भ्रमण धार्मिक तीर्थस्थल दर्शनको उद्देश्यका साथ गरिएको स्वयं मोदीले भनेका थिए।

मोदीले सबैभन्दा बढी पटक नेपाल भ्रमण गर्ने पहिलो भारतीय प्रधानमन्त्रीका रुपमा कीर्तिमान बनाइसकेका छन् । एउटै वर्ष दुईपटक नेपाल भ्रमण गर्ने भारतीय प्रधानमन्त्रीको कीर्तिमान राख्दैछन् । नेपालको हिमाल, पहाड र तराई तीनवटै क्षेत्रको भ्रमण गर्ने मोदी एकमात्र भारतीय प्रधानमन्त्री हुन् । शक्तिशाली छिमेकका प्रधानमन्त्रीको नेपाल भ्रमणमा धेरै कीर्तिमान रहनु सामान्य विषय होइन । उनको पटक पटकको नेपाल भ्रमण र नेपाल मामलामा प्रत्यक्ष चासो अर्थपूर्ण छ। 

हिन्दू स्वयंसेवक संघका कार्यकर्ताका रूपमा लामो समय काम गरेका मोदीको पारिवारिक पृष्ठभूमि र जीवनशैली निकै सामान्य छ । गुजरातको सामान्य परिवारमा जन्मिएका उनीसँग बाल्यकालमा चिया बेचेको अनुभव समेत छ । उनका दाजुभाइहरू अझै सामान्य जीवनयापन गर्दै आएका छन् । तिनले मोदी प्रधानमन्त्री भएकामा गर्व गर्न सक्छन् तर शक्तिको लाभ लिन सक्ने माहोल मोदीले दिएका छैनन् । विगतमा जे पेसा गरेर बसेका थिए त्यसलाई निरन्तरता दिइरहेछन्, मोदीको नाम बेचेर लाभ लिनतर्फ समय खर्चेका छैनन्।

‘‘राजाका लागि सबै प्रजा सन्तान बराबर’’ हुने हिन्दुत्वको आदर्शअनुसार मोदी निर्देशित छन् भन्ने प्रमाण हो, उनको परिवारका सदस्यहरू र आफन्तसँग उनले राखेको दूरी । मोदीका राजनीतिक गुरु अटल विहारी बाजपेयीले सन् २००२ मा भएको गोदरा काण्डका बखत राजधर्मको पाठ सिकाइसकेका थिए । मोदीमा हिन्दुत्वप्रतिको आस्था र यसको जगेर्नाको अन्तरमनको प्रण व्यवहारले देखाउँदै लगेको छ । उनको नेपालप्रतिको चासोमा भारतको प्रधानमन्त्रीका रूपमा सुरक्षा मामलाले मात्र गरेको छैन, धर्मले पनि गरेको छ । हिन्दु बाहुल्य र हिन्दु तीर्थस्थल भएकाले नेपालप्रति उनको निकटता प्रदर्शित हुन्छ। 

पारिवारिक जीवन त्यागेर भारतको धेरै भूभाग भ्रमण गरेका उनले विगतमा नेपालमा पनि पैदलयात्रा गरेको खुलाइसकेका छन् । हिन्दुत्वको आदर्शको जगमा उभिएका मोदी धर्मका मामलामा निकै गम्भीर छन् भन्ने उनका अभिव्यक्ति र क्रियाकलापले देखाउँदै आएको छ । बाजपेयीभन्दा मोदी यस मामलामा केही फरक छन् । कविहृदय भएका बाजपेयी असाध्यै राष्ट्रवादी थिए । त्यसका लागि उनले धर्मको मुद्दाभन्दा माथि उठेर काम गर्थे । कतिपयले उनलाई ‘धर्म निरपेक्ष भाजपा नेता’ भन्थे । मोदी पनि राष्ट्रवादी नेताको परिचय बनाउन सफल छन् । तर, धर्मका मामलामा उत्तिकै गम्भीर मानिन्छन् । हिन्दु धर्मको रक्षाका लागि मोदीले कठोर कदमहरू चालेको इतिहास साक्षी छ।

गुजरातमा मुख्यमन्त्री हुँदा मोदी हिन्दु धर्मावलम्बी गुजरातीतर्फ एकोहोरो ढल्किएको आरोपसमेत लाग्यो । गुजरातमा एक हजार ४४ जनाको ज्यान जाने गरी भएको धार्मिक दंगामा मोदी मुसलमानप्रति कठोर बनेको आरोप लाग्यो । पछिल्लो समय भारतमा कानुनमा सुधार गर्ने क्रममा मोदीले इस्लामको कतिपय परम्परागत अभ्यासहरूलाई रोक्न कानुनमा परिवर्तन गराउन भूमिका खेलेका छन्। 

दक्षिण एसियामा पाकिस्तानसँगको तनावपूर्ण सम्बन्ध, माल्दिभ्ससँगको चिसिएको सम्बन्ध र बङ्गलादेशी घुसपैठको विषय भारतभित्र मुद्दा बनेपछि केही असमझदारी बढिरहँदा मोदी विदेश मामलामा सफल रहेको सिद्ध गर्ने चुनौतीपूर्ण परिस्थितिमा छन्। 

मोदीले हिन्दु धर्मका आदर्श र विशेषताहरूलाई अन्तर्राष्ट्रिय जगत्सम्म पुर्याउन भूमिका खेले । उनकै पहलमा संयुक्त राष्ट्रसंघले ‘योग दिवस’ मनाउने निर्णय गर्याे । ‘पूर्वीय संस्कृतिको सौन्दर्य’ योगले रामदेवका कारण चर्चा पायो भने मोदीका कारण विश्वका धेरै देशहरूमा स्वीकृत संस्कृतिको स्थान बनायो । हिन्दुत्वको आदर्शलाई जगेर्ना गर्न मात्र नभई विश्वभर फैलाउन मोदीले चाल्दै आएका कदमका कारण पनि उनको लोकप्रियता भारतभित्र मात्र नभई बाहिरका हिन्दुहरू माझ पनि छ । त्यसैले, नाकाबन्दी पछि पनि मोदी हिन्दु धर्मावलम्बी बाहुल्य नेपाल आए र ‘नागरिक अभिनन्दन’ लिएर गए । कुनै बेला अति आलोचित मोदी धर्मका कारण पुनः स्वीकृत भए । भारतमा मोदीबाहेक अर्को प्रधानमन्त्री हुन्थे भने त्यस्तो स्वीकृति सायद सम्भव थिएन । धेरै नेपालीहरूले मोदीलाई सहज रूपमा लिनसके।

पशुपतिनाथ, जनकपुरधाम र मुक्तिनाथको दर्शनका लागि भएको धार्मिक भ्रमणले नाकाबन्दीपछि नेपालीहरूमा मोदीप्रति बढेको नकारात्मक सोच मेट्न थाल्यो । यसै पनि नेपालीहरू कसैले दिएको पीडालाई छिटै बिर्सेर सोच्न र अगाडि बढ्ने बानी परिसकेका छन् । नकारात्मक सोचमा परिवर्तन ल्याउन पनि मोदीको धार्मिक भ्रमणले भूमिका खेल्यो । मोदीप्रति नेपालमा नकारात्मक सोच छ भन्ने सन्देश स्वयं मोदीका लागि खतरनाक साबित हुन्थ्यो।

भूगोल र धर्मका कारण निकट सम्बन्ध भएको नेपालसँग समेत भारतको सम्बन्ध सुमधुर छैन भन्ने सन्देश जान्थ्यो भने मोदीलाई राजनीतिक धक्का पुग्थ्यो । त्यसको असर भारतमा हुने चुनावसम्म हुन्थ्यो । विपक्षीले नेपाल मामलालाई निकै चर्कोसँग मुद्दा बनाइसकेका थिए । कांग्रेस आईका नेता मणिशंकर ऐयरले यस मामलालाई दरिलोसँग उठाएका थिए । मोदीले धार्मिक भ्रमणका रुपमा तेस्रोपटक नेपाल आएर विपक्षीको मुख बन्द गर्न सके । अबको भ्रमणबाट दक्षिण एसियामा भारतको बलियो प्रभाव रहेको सन्देश पनि दिन खोज्दैछन्। 

घरेलु राजनीतिमा सन्देश
सन् २०१९ मा मोदी दोस्रोपटक प्रधानमन्त्री बन्नका लागि जनतासामु जानुपर्नेछ । भारतमा हुने लोकसभा चुनाव अगावै मोदीको लोकप्रियताको मापन गर्न थालिएको छ । केही मिडियाले मोदी अझै लोकप्रिय भएको र भारतका आजसम्मका प्रधानमन्त्रीमध्येका लोकप्रिय भनी प्रचारसमेत गरिएको छ । अबको एक वर्ष घरेलु राजनीतिमा केन्द्रित हुनुपर्ने अवस्था मोदीलाई छ । छिमेकसँगको सम्बन्धले पनि यस मामलालाई असर गर्न सक्छ । विशेषगरी नेपालसँगको सम्बन्धको चिसोतातो भारतमा छिट्टै सर्छ । भूगोल जोडिएर मात्र नभई सांस्कृतिक समानता र युगौँदेखिको निकटताले यस्तो अवस्था निर्माण गरेको हो । त्यसमाथि पनि धर्मको विषय दृश्य–अदृश्य रूपमा आइहाल्छ । मोदी कुनै पनि हालतमा नेपालसँगको सम्बन्ध सुदृढ रहेको सन्देश दिन चाहन्छन्।

दक्षिण एसियामा पाकिस्तानसँगको तनावपूर्ण सम्बन्ध, माल्दिभ्ससँगको चिसिएको सम्बन्ध र बङ्गलादेशी घुसपैठको विषय भारतभित्र मुद्दा बनेपछि केही असमझदारी बढिरहँदा मोदी विदेश मामलामा सफल रहेको सिद्ध गर्ने चुनौतीपूर्ण परिस्थितिमा छन् । छिमेकहरूसँग सम्बन्धको मामलामा मोदी नीति सफल नभए घरेलु राजनीतिमा गलत सन्देश जानसक्छ । सायद, मोदी नेपाल मामलाबाट आफ्नो नीति सफल भएको सन्देश प्रवाह गर्न चाहन्छन् जसको असर सन् २०१९ को लोकसभा चुनावमा परोस् । नेपालबाट मोदी भारतसम्म आफूलाई लाभ पुग्नेगरी सकारात्मक सन्देश प्रवाह गर्न चाहन्छन्।

 

प्रकाशित: १३ भाद्र २०७५ ०३:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App