२४ असार २०८१ सोमबार
image/svg+xml
विचार

कन्याकुमारी साधनाबाट नयाँ सङ्कल्प

सन् २०२४ को लोकसभा निर्वाचन गत शनिवार सम्पन्न भयो। विभिन्न ७ चरणमा भएको निर्वाचनको मतपरिणाम आइतवार सार्वजनिक गरिएको छ। तर, अन्तिम चरणको निर्वाचन अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कन्याकुमारी गएका थिए, ध्यान र साधनाका लागि। उनले ३० मे साँझ ६ बजे सुरु गरेको ध्यान १ जुनमा सम्पन्न् गरे गरेपछि व्यक्त गरेका भाव जस्ताको तस्तै नेपालीमा अनुवादितः

मेरा भारतीय साथीहरू,  

प्रजातन्त्रकी जननीका रूपमा चिनिने हाम्रो राष्ट्रमा प्रजातन्त्रकै सबैभन्दा ठुलो उत्सव २०२४ को लोकसभाको चुनाव आज समापन हुँदैछ। कन्याकुमारीमा तीन दिनको आध्यात्मिक यात्रापछि भर्खरै दिल्लीका लागि विमान चढेको छु। काशीलगायत अन्य धेरै सिटमा दिनैभरि मतदान भइरहेको छ।

थुप्रै अनुभव र भावनाले मेरो मन भरिएको छ। म आफैंभित्र ऊर्जाको असीम प्रवाह महसुस गर्छु।

२०२४ को लोकसभा चुनाव अमृत कालमा पहिलो चुनाव हो। सन् १८५७ को पहिलो स्वतन्त्रता संग्रामको भूमि मेरठबाट मैले केही महिनाअघि अभियान सुरु गरेको थिएँ। त्यस बेलादेखि मैले हाम्रो महान् राष्ट्रको हरेक कुनाको यात्रा गरेको छु। यी चुनावको अन्तिम र्‍यालीले मलाई महान् गुरुहरूको भूमि र सन्त रविदासजीसँग जोडिएको भूमि पन्जाबको होसियारपुरमा लिएर गयो। त्यसपछि म कन्याकुमारीमा माँ भारतीको चरणमा आइपुगेँ।

चुनावको जोस मेरो मन र मस्तिष्कमा गुन्जिनु स्वाभाविक हो। र्‍याली र सडकमा देखिएका भिडको अनुहार मेरा आँखा अगाडि नाचिरह्यो। हाम्रा नारी–शक्तिबाट प्राप्त आशीर्वाद, विश्वास, स्नेह, यी सबै अत्यन्तै सुखद अनुभव थियो। मेरा आँखा रसाएका थिए। म ‘साधना’ (ध्यान अवस्था) मा प्रवेश गरेँ र त्यसपछि, गरमागरम राजनीतिक बहस, आक्रमण र प्रत्याक्रमण, आरोपका शब्द र आवाजहरू जुन सबै चुनावका विशेषता हुन्, ती सबै शून्यमा हराए। मनमा वैराग्य भावना बढ्दै गयो। मन बाहिरी संसारबाट पूर्ण रूपमा अलग भयो।

यति ठुलो जिम्मेवारीबीच ध्यान चुनौतीपूर्ण हुन्छ तर कन्याकुमारीको भूमि र स्वामी विवेकानन्दको प्रेरणाले यसलाई सहज बनायो । म आफैं उम्मेदवार भए पनि मैले मेरो अभियान काशीका प्रिय जनताको हातमा छोडेर यहाँ आएको हुँ।

जन्मैदेखि यी मूल्यमान्यताहरू ममा बीजारोपण गरिदिनुभएकोमा म भगवान्प्रति पनि कृतज्ञ छु। यी मूल्यमान्यताहरूको म अत्यन्तै कदर गर्छु र सकेसम्म आत्मसात गर्ने प्रयास गरेको छु। कन्याकुमारीको यस स्थानमा स्वामी विवेकानन्दले ध्यान गर्दा के अनुभव गर्नभयो होला भनेर म सोचिरहेको थिएँ। मेरो ध्यानको एक अंश यस्तै खाले कुरा खेलाउँदै बित्यो।

यो वैराग्यपन, शान्ति र मौनताबीच मेरो मन लगातार भारतको उज्ज्वल भविष्य, भारतका लक्ष्यहरूबारे सोचिरहेको थियो। कन्याकुमारीमा उदाउँदो सूर्यले मेरो विचारलाई नयाँ उचाइ दियो, सागरको विशालताले मेरो विचारलाई फराकिलो बनायो, क्षितिजको विस्तारले मलाई ब्रह्माण्डको गहिराइमा समाहित एकता, एकत्वको अनुभूति निरन्तर दिलाइराख्यो। दशकौं अघि हिमालयको काखमा गरेका अवलोकन र अनुभवहरू पुनर्जीवित भइरहेका छन् कि जस्तो पो लाग्यो।

साथीहरू,

कन्याकुमारी सधैं मेरो हृदयको धेरै नजिक रहेको छ। श्री एकनाथ रानाडेजीको नेतृत्वमा कन्याकुमारीमा विवेकानन्द शिला स्मारक निर्माण गरिएको थियो। एकनाथजीसँग धेरै यात्रा गर्ने अवसर मैले पाएको थिएँ। यो स्मारक निर्माणको क्रममा कन्याकुमारीमा पनि केही समय बिताउने मौका पाएँ।

कश्मीरदेखि कन्याकुमारीसम्म, यो एउटा साझा पहिचान हो, जुन देशका हरेक नागरिकको हृदयमा गहिरो रूपमा बसेको छ। यो ‘शक्तिपीठ’ (शक्तिको आसन) हो जहाँ माँ शक्तिले कन्याकुमारीका रूपमा अवतार लिएकी थिइन्। यस दक्षिणी टुप्पोमा, माँ शक्तिले तपस्या गरी भारतको उत्तरी भागमा हिमालयमा बास गरिराख्नुभएको भगवान् शिवलाई पर्खेर बसेकी थिइन्।

कन्याकुमारी संगमभूमि हो। हाम्रा देशका पवित्र नदीहरू विभिन्न समुद्रहरूमा बग्छन् र यहाँ ती समुद्रहरू एउटा विन्दुमा आएर मिल्छन्। यहाँ हामी अर्को ठुलो संगम देख्छौं– भारतको वैचारिक संगम! यहाँ, हामीले विवेकानन्द शिला स्मारक, सन्त तिरुवल्लुवरको भव्य प्रतिमा, गान्धी मण्डपम् र कामराजर मणि मण्डपम देख्न सक्छौं। यी दिग्गजहरूका विचारधारा यहाँ सम्मिलन भई राष्ट्रिय विचारको संगम बनाउँछन्। यसले राष्ट्र निर्माणका लागि ठुलो प्रेरणा दिने काम गर्छ। कन्याकुमारीको यो भूमिले एकताको अमेटनीय सन्देश दिन्छ, विशेष गरी ती व्यक्तिलाई जसले भारतको राष्ट्रियता र एकताको भावनामा शंका गर्ने गर्छ।

कन्याकुमारीमा सन्त तिरुवल्लुवरको भव्य प्रतिमाले समुद्रबाट माँ भारतीको विस्तारलाई हेरिरहेको प्रतीत हुन्छ। सन्त तिरुवल्लुवरद्वारा रचित तिरुक्कुरलाई सुन्दर तमिल भाषाकै मुकुट रत्नहरूमध्येको एक मानिन्छ। यसले जीवनको हरेक पक्षलाई समेट्नुका साथै आफ्ना लागि र राष्ट्रका लागि उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्छ। यस्ता महान् व्यक्तित्वलाई सम्मान गर्न पाउनु मेरो अहोभाग्य हो।

साथीहरू,

स्वामी विवेकानन्दले एकपटक भनेका थिए, ‘हरेक राष्ट्रसँग दिनका लागि एउटा सन्देश हुन्छ, पूरा गर्नका लागि एउटा मिसन हुन्छ र पुग्नका लागि एउटा नियति हुन्छ।’ हजारौं वर्षदेखि भारत यही सार्थक उद्देश्यको भावना लिएर अगाडि बढिरहेको छ। भारत हजारौं वर्षदेखि विचारको उद्गमस्थल रहेको छ। हामीले आर्जन गरेको कुरालाई हामीले कहिल्यै पनि आफ्नो व्यक्तिगत सम्पत्तिका रूपमा लिएका छैनौं, न त यसलाई आर्थिक वा भौतिक मापदण्डहरूद्वारा विशुद्ध रूपमा मापन गरेका छौं। तसर्थ, ‘इंद–न–मम’ (यो मेरो होइन) भारतको चरित्रको एउटा अन्तर्निहित र स्वाभाविक हिस्सा बन्न पुगेको छ।

भारतको कल्याणले हाम्रो ग्रहको प्रगतिको यात्रालाई पनि फाइदा पुर्‍याउँछ। यसका लागि स्वतन्त्रता आन्दोलनलाई उदाहरणका रूपमा लिऔं। भारतले सन् १९४७ अगस्ट १५ मा स्वतन्त्रता प्राप्त ग¥यो । त्यसबेला विश्वका धेरै देश औपनिवेशिक शासनको अधीनमा थिए। भारतको स्वतन्त्रता यात्राले ती धेरै देशलाई आफ्नो स्वतन्त्रता प्राप्त गर्न प्रेरित र सशक्त बनायो । त्यही भावना दशकौंपछि फेरि एकपटक प्रकट भयो जब पूरै संसार शताब्दियौंमा एकपटक देखा पर्ने कोभिड–१९ महामारीसँग जुझिरहेको थियो। गरिब र विकासशील देशहरूबारे चिन्ता र चासो उठेको बेला भारतको सफल प्रयासले धेरै राष्ट्रहरूलाई साहस र सहयोग प्रदान गर्‍यो।

आज, भारतको शासन मोडेल विश्वका धेरै देशहरूका लागि उदाहरण बनेको छ। मात्र दश वर्षमा २५ करोड मानिसलाई गरिबीबाट माथि उठ्न सशक्त बनाउनु अभूतपूर्व हो। आज विश्वभरि प्रो–पिपल गुड गभर्नेन्स, आकांक्षी जिल्लाहरू र आकांक्षी ब्लकहरू जस्ता नवीन अभ्यासबारे चर्चा भइरहेको छ। गरिबलाई सशक्त बनाउनुदेखि लिएर अन्तिम माइल डेलिभरि गर्नुसम्मका हाम्रा प्रयासहरूले समाजमा दयनीय अवस्थामा रहेका व्यक्तिहरूलाई प्राथमिकतामा राख्न विश्वलाई नै प्रेरित गरेको छ। गरिबहरूलाई सशक्त बनाउन, पारदर्शिता ल्याउन र उनीहरूको अधिकार सुनिश्चित गर्न हामी कसरी प्रविधिको प्रयोग गर्न सक्छौं भनी देखाउन भारतको डिजिटल इन्डिया अभियान अब सारा संसारका लागि एउटा उदाहरण बनेको छ। भारतमा सस्तो डाटा गरिबहरूमा सूचना र सेवाको पहुँच सुनिश्चित गर्दै सामाजिक समानताको माध्यम बनिरहेको छ। सारा विश्वले प्रविधिको लोकतन्त्रीकरण हेर्नुका साथै अध्ययन गरिरहेको छ र प्रमुख विश्वव्यापी संस्थानहरूले धेरै देशहरूलाई हाम्रो मोडलका तत्त्वहरू अपनाउन सल्लाह दिइरहेका छन्।

आज, भारतको प्रगति र उदय केवल भारतका लागि मात्रै महत्त्वपूर्ण अवसर नभई विश्वभरका हाम्रा सबै साझेदार राष्ट्रहरूका लागि पनि ऐतिहासिक अवसर हो। जी–२० को सफलतापछि, विश्वले भारतका लागि ठुलो भूमिकाको परिकल्पना गरिरहेको छ। आज, भारतलाई ग्लोबल साउथको बलियो र महŒवपूर्ण आवाजका रूपमा चिनिन्छ। अफ्रिकी संघ भारतको पहलमा जी–२० समूहको हिस्सा बनेको छ। यो अफ्रिकी देशहरूको भविष्यका लागि एक महत्त्वपूर्ण उपलब्धि साबित हुनेछ।

साथीहरू,

भारतको विकास–पथले हामीलाई गर्व र गौरव महसुस गराउँछ। साथसाथै यसले १४० करोड नागरिकहरूलाई उनीहरूको जिम्मेवारी याद दिलाउँछ। अब, एक पल खेर नफाल्दै हामीले ठुलो कर्तव्य र ठुला लक्ष्यहरूतर्फ अघि बढ्नुपर्छ। हामीले नयाँ सपना देख्न, ती सपनालाई वास्तविकतामा परिणत गर्न र ती सपनाहरूमा बाँच्न जरुरी छ। हामीले भारतको विकासलाई विश्वव्यापी परिप्रेक्ष्यमा हेर्नुपर्छ र यसका लागि हामीले भारतको आन्तरिक क्षमतालाई बुझ्नुपर्छ। हामीले भारतको शक्तिलाई स्वीकार गर्नुपर्छ, तिनीहरूलाई पालनपोषण गर्नुपर्छ र विश्वको हितका लागि प्रयोग गर्नुपर्छ। आजको विश्वव्यापी परिदृश्यमा, युवा राष्ट्रका रूपमा भारतको शक्ति एउटा अवसर हो, जसबाट हामीले पछाडि फर्केर हेर्नुहुँदैन।

२१ औं शताब्दीको विश्व धेरै आशा लिएर भारततर्फ हेरिरहेको छ र हामीले वैश्विक परिदृश्यमा अगाडि बढ्न धेरै परिवर्तनहरू गर्न आवश्यक छ। हामीले सुधारको सन्दर्भमा हाम्रो परम्परागत सोचलाई पनि परिवर्तन गर्न आवश्यक छ। भारतले सुधारलाई आर्थिक सुधारमा मात्र सीमित गर्न सक्दैन। हामीले जीवनका हरेक पक्षमा सुधारको दिशातर्फ अघि बढ्नुपर्छ। हाम्रा सुधारहरूलाई २०४७ सम्ममा ‘विकसित भारत’ को आकांक्षासँग पनि जोड्नुपर्छ।

हामीले यो पनि बुझ्नुपर्छ कि सुधार कुनै पनि देशका लागि एक आयामिक प्रक्रिया हुन सक्दैन। त्यसैले देशको सुधार, प्रदर्शन र परिवर्तनको परिकल्पनाको बीज रोपेको छु। सुधारको जिम्मेवारी नेतृत्वको हो। त्यसैका आधारमा हाम्रो कर्मचारीतन्त्रले काम गर्छ। हामी परिवर्तन भइरहेको तब मात्र देख्छौं जब जनता जनभागीदारीको भावनामा जोडिन्छन् ।

हामीले हाम्रो देशलाई ‘विकसित भारत’ बनाउनका लागि मौलिक सिद्धान्तलाई उत्कृष्टता बनाउनुपर्छ। हामीले चारै दिशामा छिटो काम गर्न आवश्यक छ: गति, मात्रा, दायरा र मानक। उत्पादनका साथसाथै हामीले गुणस्तरमा पनि ध्यान दिनुपर्छ र ‘शून्य दोष–शून्य प्रभाव’ को मन्त्रलाई पालना गर्नुपर्छ।

साथीहरू,

भगवान्ले हामीलाई भारतभूमिमा जन्म दिनुभएकोमा हामीले हरेक पल गर्व गर्नुपर्छ। भारतको सेवा गर्न र हाम्रो देशको उत्कृष्टतातर्फको यात्रामा हाम्रो भूमिका पूरा गर्न छान्नुभएको छ। हामीले पुरातन मूल्यमान्यतालाई आधुनिक परिवेशमा अँगाल्दै हाम्रा सम्पदालाई आधुनिक ढंगले परिभाषित गर्नुपर्छ।

एक राष्ट्रका रूपमा, हामीले पुरानो सोच र मान्यताहरूको पुनर्मूल्यांकन गर्न आवश्यक छ। हामीले हाम्रो समाजलाई व्यावसायिक निराशावादीहरूको दबाबबाट मुक्त गर्न आवश्यक छ। हामीले याद गर्नैपर्छ कि नकारात्मकताबाट मुक्ति सफलता प्राप्त गर्नेतर्फको पहिलो पाइला हो। सकारात्मकताको काखमा सफलता फुल्ने गर्छ। भारतको असीम र अनन्त शक्तिमा मेरो आस्था, भक्ति र विश्वास दिन प्रतिदिन बढ्दै गएको छ। विगत १० वर्षमा मैले भारतको यो क्षमता अझ बढेको देखेको छु र प्रत्यक्ष अनुभव गरेको छु।

जसरी हामीले २० औं शताब्दीको चौथो र पाँचौं दशक स्वतन्त्रता आन्दोलनलाई नयाँ गति दिन उपयोग गर्‍यौं, त्यसैगरी २१ औं शताब्दीका यी २५ वर्षमा हामीले ‘विकसित भारत’ का लागि आधारशिला राख्नुपर्छ। स्वतन्त्रता संग्राम एउटा यस्तो समय थियो, जसमा ठुलो बलिदानको आवश्यकता थियो। वर्तमान समयमा सबैका तर्फबाट ठुलो र दिगो योगदानको आवश्यकता देखिन्छ।

स्वामी विवेकानन्दले सन् १८९७ मा भनेका थिए कि हामीले आगामी ५० वर्ष राष्ट्रका लागि मात्र समर्पित गर्नुपर्छ। यो आह्वानको ठिक ५० वर्षपछि सन् १९४७ मा भारतले स्वतन्त्रता प्राप्त गर्‍यो।

आज हामीसँग त्यही सुनौलो अवसर छ। अबको २५ वर्ष राष्ट्रका लागि मात्रै समर्पित गरौं। हाम्रो प्रयासले भारतलाई नयाँ उचाइमा पु¥याउँदै आउने पुस्ता र आगामी शताब्दीका लागि बलियो जग निर्माण गर्नेछ। देशको ऊर्जा र उत्साहलाई हेर्दा अब लक्ष्य धेरै टाढा छैन भन्न सक्छु। आउनुहोस् छिटो कदम चाल्नुहोस्, आउनुहोस् हामी सबै मिलेर विकसित भारत बनाऔं।

 

–मोदी भारतीय प्रधानमन्त्री हुन्। 

प्रकाशित: २३ जेष्ठ २०८१ ०९:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App