२१ असार २०८१ शुक्रबार
image/svg+xml
विचार

नदीलाई बग्न देऊ!

दैनिक समय मिलेसम्म ध्यानमा बस्ने र मिलेसम्म आध्यात्मिक पुस्तकहरू अध्ययन गर्ने बानीका कारण अध्ययनका क्रममा ओशोका प्रवचनमा आधारित जेन ध्यान विधि, बुद्धिजम्मा प्रयोग गरिने ध्यान विधि र त्यसको मर्मलाई आत्मसात गर्न ‘नदीलाई बग्न देऊ’ भन्ने प्रसंग जोडेर गरिएको व्याख्या अति नै सान्दर्भिक छ मानव जीवनमा।

सन्तहरूले आफ्नै जीवनका अनुभवबाट समस्त मानव जातिलाई इंगित गरेका हुन्छन्। कसरी अध्यात्मको अनुभूतिले जीवनलाई सहज र सरल भएर जिउने? ध्यानको अभ्यास नगर्नेलाई ध्यान भनेको कठिन अभ्यास लाग्न सक्छ तर जसले अभ्यास गर्दै जान्छ, उसलाई यो जीवनशैलीको हिस्सा अनुभूति हुन थाल्छ। ध्यान भनेको केही गर्नु होइन, केवल शान्त भएर बस, केही गर्नु छैन, जब वसन्त आउँछ तब पालुवा आफैं फक्रिन्छ भनिन्छ। दुःख र तनाव गर्नुका परिणाम हुन्, केही न केही नगरी, शान्त भएर बस्न नसक्नुका परिणाम हुन्। आजको समयसम्म पनि मानिसलाई एउटै कुरा सिकाउनु परेको छ– शान्त भएर बस। कठिन भनेकै शान्त हुन नसक्नु हो।

‘नदीलाई बग्न देऊ’ भन्ने वाक्यांशको आध्यात्मिक अर्थ धेरै गहिरो छ। यो वाक्यांशले हामीलाई जीवनको प्राकृतिक प्रवाहलाई स्विकार्न सिकाउँछ। जसरी नदी कुनै रोकावटलाई मूल्य नदिई अगाडि बढ्छ, हामीले पनि हाम्रो जीवनमा आउने परिवर्तन र चुनौतीहरूलाई स्वाभाविक रूपमा स्विकार्नुपर्छ। चुनौतीबिनाको जीवन त नपुंसक हुन्छ, ओशो बताउनुहुन्छ। त्यसो हो भने नदीजस्तै बग्ने भनेको के त ? केही आयामलाई आत्मसात गरौं।

वर्तमानमा बाँच्ने

नदी आफ्नो गन्तव्यमा पुग्न कुनै हतार गर्दैन। त्यसैगरी, हामी पनि वर्तमानमा बाच्नुपर्छ। अतीतमा बाँधिनु र भविष्यको चिन्ताले प्रभावित हुनुहुँदैन। विगत बितिसक्यो, त्यसले सिकायो, भोगायो, जागृत गरायो। भविष्य अनिश्चित छ, भविष्य आउँदा वर्तमान नै भएर आउँछ, त्यसैले विगतका सिकाइ र अनुभवलाई आत्मसात गर्दै वर्तमानमा जागरुक हुनु नदीझैं बग्नु हो।

मानिसलाई दुःखी बनाउने कथा नै विगतका घटना, सम्बन्ध, व्यवहार र ती चिज र परिस्थिति आफ्नै हातबाट गइसक्दा पनि त्यो कथा मनमै अल्झिनु र पटकपटक दुःखका कथालाई मूल्य दिनु वर्तमानबाट भाग्नु हो। वर्तमानले दुःख दिँदैन, बरु संवेदनशील र सचेत बनाउँछ। परिस्थितिलाई सामना गर्ने सिर्जनात्मक ऊर्जा दिन्छ तर मानिस यसलाई भुलेर विगतका कथामा अल्झिन रमाउँछ। जब बोध हुन्छ कि विगत अनुभव हो, सिकाइ हो अनि वर्तमान सत्य तब जीवन बाँच्न मज्जा आउँछ।

नियन्त्रण त्याग्नु

नदीले आफ्नो मार्गमा आउने सबै बाधाहरूलाई पार गर्छ। यसले हामीलाई सम्झाउँछ कि जीवनमा आउने समस्याहरूलाई नियन्त्रण गर्ने प्रयास गर्नुको सट्टा, तिनीहरूलाई स्वाभाविक रूपमा स्विकार्नुपर्छ र समाधान खोज्नुपर्छ। हाम्रो विचार, कथा, व्यथा, परिस्थिति, परिणाम, सम्बन्ध, अपेक्षा सबै हामी आफ्नो नियन्त्रणमा लिन चाहन्छौं। यो अप्राकृतिक स्वभाव हो। प्राकृतिक रूपमा कोही कसैको नियन्त्रणमा रहन सक्दैन।

जसरी नदीले कसैलाई नियन्त्रण गर्दैन र आफू पनि कसैको नियन्त्रणमा रहँदैन। नियन्त्रण अरूप्रति होइन, आफ्नो स्वभाव हुनुपर्छ। अरूप्रति हाबी हुनु होइन, कसैलाई दबाब या प्रभावमा राख्ने होइन। कसैलाई परिवर्तन गर्नमा होइन, आफ्नै रूपान्तरणमा लाग्नुपर्छ। प्रत्येक व्यक्ति आफैंमा रूपान्तरित हुन सक्यो भने संसारमा आफैं सकारात्मक परिवर्तन आउनेछ।

प्राकृतिक प्रवाहलाई स्विकार्नु

जीवनको हरेक क्षण र घटनालाई प्राकृतिक रूपमा स्विकार्नुपर्छ। हरेक उतारचढावले हामीलाई केही न केही सिकाउँछ र यसलाई आत्मसात गर्नुपर्छ। अन्तरज्ञान, नैतिक मूल्यमान्यता, संस्कार र आध्यात्मिक चेतका साथ सजग भएर कर्म गर्नु प्राकृतिक प्रवाह अनुकूल कर्म गर्नु हो। तर्कसंगत भन्दा पनि अनुभव र सार्थकताको जीवन बाँच्नु प्रवाहमान जीवनको गति र विकास हो। विज्ञान प्रयोग हो भने अध्यात्म अनुभव हो।

त्यसैले यी दुवैको सामञ्जस्यता जीवनमा भयो भने सन्तुलनको संसार बन्छ। त्यसैले त भनिन्छ, अध्यात्मबिनाको विज्ञान लँगडो हुन्छ भने विज्ञानबिनाको अध्यात्म अन्धो। विज्ञानले प्राकृतिक संसारलाई प्रतिपादित गर्छ भने अध्यात्मले आत्मिक संसारको। भौतिक एवं आत्मिक संयोजन र अनुभवको कसी सन्तुलनयुक्त प्रवाहमान जीवन हो। भावनात्मक संवेदना, सरलता र सजगता, आत्मिक बोधगम्यता प्राकृतिक बहाव हुन्। यिनको विकल्प छैन जीवनमा।

शान्त मन

सन्देह र प्रतिस्पर्धाले भरिएको जीवन छ मनुष्यको। त्यसैले उसको मन शान्त हुनु जरुरी छ। हामीले चाहने सबै चिजमध्ये शान्ति पहिलो प्राथमिकतामा पर्छ तर मन सधैं अशान्त किन हुन्छ ? किनकि अनेक अपेक्षा र कथाले जीवनमा अपूर्णता महसुस भइरहन्छ। चिनियाँ कहानी छ– जब तिमी अशान्त महसुस गर्छौ तब एउटा तकिया लेऊ र आँखा बन्द गरेर सुत। निद्रा लाग्दा मात्र होइन, मन अशान्त र तनावमा हुँदा पनि शान्त र स्थिर रहनु जरुरी छ। जब हामी जीवनलाई नदीको प्रवाहजस्तै स्विकार्छौं, हाम्रो मन शान्त र स्थिर हुन्छ। यो शान्ति हामीलाई आध्यात्मिक रूपमा सुदृढ बनाउँछ। जीवनमा शान्ति र सन्तुलन प्राप्त गर्नका लागि, हामीले नदीजस्तै स्वाभाविक रूपमा बग्न सिक्नुपर्छ।

यो दृष्टिकोणले हाम्रो मन, शरीर र आत्मालाई समन्वयमा राख्छ र हामीलाई सच्चा आनन्दको अनुभव गराउँछ। ध्यान मात्र एक कला हो, जसले बिस्तारै बिस्तारै अशान्त मनलाई शान्त, प्रफुल्ल एवं धन्यवादको जीवन बाँच्न मद्दत गर्छ। हामीभित्र रहेको भ्रम र सन्देहलाई निर्मूल गर्छ।  मानसिक सोचमा स्पष्टता, हरेक कर्मप्रतिको आनन्द, आफ्ना हरेक क्रियाकलापप्रतिको जागरुकता विकास गर्छ। ध्यान उत्तेजनारहित प्रसन्नता हो, चिन्तारहित प्रफुल्लता र घृणारहित प्रेम हो। ध्यान आत्माको प्रमुख भोजन हो। ध्यानको परिणाम हो सकारात्मक ऊर्जाको विकास, उत्साह र रचनात्मक सिप कलाको विकास र धन्यवाद भावमा जीवन बाँच्ने कलाको विकास।

अन्तर्मुखी स्वभाव

मानिसले आफ्नो अन्तरमनको भगवत्तालाई नजानेसम्म कतै जानै सक्दैन र त्यो भगवत्ता प्रत्येक मनुष्यभित्र छ। त्यसैले बाहिर होइन, भित्र हेर्नु जरुरी छ। अन्तर्मुखी स्वभावमा जिउनु छ। केही क्षणका लागि भए पनि भित्र हेर्नुछ। आश्चर्य लाग्न सक्छ, संसारको कर्म, व्यस्तता र आपाधापी छोडेर कतिबेला भित्र जाने होला ? सजिलो र जीवन्त सूत्र छ– लामो गहिरो स्वास लिने, एक सेकेन्ड आँखा बन्द गर्ने र आफ्नो भाव दशालाई हेर्ने। मौन, सकेसम्म कम बोल्ने, कम जवाफ दिने, कम तर्क गर्ने कला सिक्ने हो भने स्वासको माला जप्नु जरुरी छ। आउँदै जाँदै गरेको श्वासमा जागृत हुन थालेपछि संसारका सबै विचार र तर्क तिरोहित हुन थाल्छन्।

जतिबेला फुर्सद मिल्छ, आफ्नो श्वासलाई लामो गहिरो बनाउने र एक सेकेन्डलाई आँखा बन्द गर्ने। निरन्तर अभ्यासमार्फत गर्नुपर्ने विभिन्न महŒवपूर्ण काममध्ये यसलाई पनि याद गर्नु जरुरी छ। अभ्यास गरौं, हेरौं र मनन गरौं, के रूपान्तरण आउँदो रहेछ। केही दिनको निरन्तर अभ्यासद्वारा यसलाई आफ्नो आदत बनाऔं। यो सर्वोत्तम आदत बन्नेछ जीवनको सत्यता बोधका निम्ति। बाहिर कोलाहल, प्रतिस्पर्धा, स्वार्थ, अराजकता भेट्न सक्छौं। त्यो गहिराइमा जाऊँ, जहा केवल शान्ति, मौनता, आनन्द, प्रेम र खालीपन भेट्नेछौं। सबै विकारबाट खाली हुँदै शून्यताको बोध यही नै अन्तर्यात्रा हो। बाहिरै दौडेर पनि भित्रको यात्रा गर्न बाधा छैन, सूत्र सहज छ– लामो गहिरो श्वास, एक सेकेन्डलाई आँखा बन्द, अनि भित्रको दर्शन बन्द आँखाले। हाम्रो केन्द्रमा रहेको आन्तरिक विराटता नै हाम्रो वास्तविक परिचय हो। श्वासको गतिमा, श्वासको लयमा नदीझैं बग्न सक्नु नै चेतनाको शिखर  अनुभूति गर्नु हो।  

प्रकाशित: २२ जेष्ठ २०८१ ०५:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App