७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
विचार

तपाईं कसको प्राध्यापक?

यो विश्वमा विभिन्न दर्शन, विचार, धारणा, दृष्टिकोण, सिद्धान्त तथा मान्यताहरू छन्। यी विविधता कुनै सन्दर्भमा सान्दर्भिक हुन्छन् भने कुनैमा असान्दर्भिक । संसारमा कुनै पनि त्यस्तो अभ्यास छैन जहाँ एक विचारले सबै समस्याको व्यावहारिक समाधान दिन सकेको छ। यस्ता विविध बौद्धिक चिन्तनभन्दा माथि उठेर नयाँ नयाँ ज्ञान र विचारको नवप्रवर्तन गर्ने पेसाका नाम प्राध्यापक हो जसले सिर्जना गरेको ज्ञानले कुनै एक क्षेत्रमा मात्रै होइन, समग्र विश्वमा नै प्रभाव पार्ने हैसियत राख्छ।

शिक्षाशास्त्र संकायको शिक्षक भएको हुनाले शिक्षाशास्त्रका हरेक विद्यार्थीलाई दर्शनशास्त्रको अध्यापनमा फ्रान्सिस बेकनको एक मानिसमा उत्पन्न हुने भ्रमका चार कारण, जस्तै १. मानिसको सीमित सोच्ने सामथ्र्य वा अनुभव, २. आफ्नो जातीय दायरा, ३. आफूले देखे/भोगे वा देखाएको बजार वा संसार र ४. मानिसको धार्मिक तथा दार्शनिक विश्वासका घुम्टोहरू विद्यार्थीलाई पढाउने गर्छु।

यहाँ पहिलो मानिसको सीमित अनुभव वा सोचको सामथ्र्य भन्नाले व्यक्तिहरू आफ्नो सोच्ने क्षमता पुगेन र अरूले आफूभन्दा राम्रो सोच्न सक्छन् वा अनुभव गर्न सक्छन् भनी बुझ्न नसक्दा भ्रम उत्पन्न हुन पुग्छ। दोस्रोमा निजको सोचाइमा जातीयताको लगाम लाग्नाले भ्रम उत्पन्न हुन्छ। यहाँ जातीयता भन्नाले नेपालका जातीय संरचना मात्रै नभएर राजनीतिक दलहरूसमेत हुन्। यस्ता जातहरूले मानिसलाई आफ्नो जात वा दलको सबै राम्रो र अरूको सबै नराम्रो भन्ने भ्रम उत्पन्न गराउँछ।

तेस्रो पक्ष मानिसले आफूले जे जे देखेको छ त्यस्तै संसार मात्रै राम्रो ठान्छ। त्यति मात्र होइन, मानिसलाई आफ्नाले जे जे राम्रो भनी बुझाए त्यसलाई मात्रै राम्रो मान्नाले भ्रम उत्पन्न हुन्छ। यस्तै चौथो पक्ष भन्नाले मानिसको धर्म तथा दर्शनअनुकूलका मूल्यमान्यता सही र अरूको धर्म तथा दर्शनका मूल्यमान्यता खराब लाग्ने मनोवृत्तिका कारण भ्रम उत्पन्न हुन्छ। यी र यस्तै मान्यता बुझाएपछि विद्यार्थीमा एउटा सन्देश प्रवाह गरिन्छ कि कुनै पनि शिक्षक वा नीति निर्माण तहमा कार्य गर्ने व्यक्तिहरू यहाँ उल्लेख गरिएका चारवटा भ्रमभन्दा माथि उठेर सोच्न र कार्य गर्न सकेमा मात्रै योग्य हुन्छ नत्र अयोग्य मानिन्छ।

विद्यार्थीको यस्तो बुझाइले कक्षाकोठाको ढोका बाहिर आउनसाथ सोधिन्छ–तपाई कुन दलको प्राध्यापक हो? पछिल्लो समय मैले जवाफ दिने गरेको छु–प्राध्यापक विश्वविद्यालयको हुन्छ कुनै दलको हुन सक्दैन।

यो मान्यता मेरो मनोगत हो कि भनेर बाहिरको संसारलाई नियाल्छु जहाँ प्राध्यापकको पछि राज्य सञ्चालकहरू लागेको पाउँछु, कुनै नेता, गुट तथा दलको पछि प्राध्यापक लागेको देखिन्न। दलहरूको प्राध्यापक बनियो भने सत्य ज्ञानको विकास होइन, दलीय स्वार्थको ज्ञान प्रवाह गरी दलको भक्तिमा केन्द्रित हुन पुग्छौँ किनकि दलहरूले आफ्ना मातहतमा प्राध्यापकलाई राखेपछि आफ्नै मात्र जयजयकार गर्ने बौद्धिक खेताला बनाउँछन्। त्योभन्दा बाहिर गएमा कारबाही गरिन्छ। प्राध्यापकहरू कुनै एक दल, दर्शन, विचार वा सिद्धान्तमाथि उठेर सत्य र सर्वपक्षीय रूपमा स्वीकार्य ज्ञानको विकासमा योगदान गर्न सकेन भने प्राध्यापकको पगरी गुथेर राज्य र समाजलाई धोकाबाहेक केही गरेको ठहरिन्न।

अर्कोतर्फ विश्वविद्यालयमा सबै दलमा विश्वास राख्ने विद्यार्थी पनि हुन्छन्। यदि दलको प्राध्यापक भएमा त्यही दलसम्बद्घ विद्यार्थीहरूको मात्र प्राध्यापक हुने र अन्यको सम्मान नमिल्ने अवस्था रहन्छ। त्यसैले सबै विद्यार्थीको प्राध्यापक बन्ने हो भने कुनै दलको होइन, विश्वविद्यालयको मात्र प्राध्यापक बन्नैपर्छ।

पछिल्लो समय नेपालको बेथितिको पहिलो कारण नै यहाँ उल्लेख गरिएका भ्रमभन्दा माथि उठेर कार्य गर्ने कर्मचारी, प्रशासक, नीति निर्माता, शिक्षक, प्राध्यापक तथा अन्य नहुनु हो। किनकि केहीअघिसम्म यहाँ सरकारका होइन, दलका कर्मचारी तथा शिक्षक बन्ने कार्यलाई गौरवका साथ अघि बढाइएको थियो।

यसैबेलादेखि विद्यालय, कार्यालय तथा क्याम्पसहरू जनताको सट्टा दलको सेवा केन्द्र बने। दलीय द्वन्द्वको केन्द्र बने। अनि जनताको सेवा तथा राष्ट्र हित छायाँमा पर्‍यो। यस्ता शिक्षक तथा कर्मचारीहरू आफ्नो दल भए सहयोग गर्ने, फरक दल भए त्यसलाई असफल गराउने अभियान चलाउने गरेको महसुस भएपछि त्यसलाई नियन्त्रण गर्न केही सुरुवात भएको छ। यसलाई शतप्रतिशत कार्यान्वयन गर्न आवश्यक छ।

यो संसारमा मानिसलाई अन्धभक्त बनाउन केही विधि विकास भएका छन्। मानिसमा अपेक्षा गरिएका भावनाहरूको विकास गर्नका लागि विकास भएका त्यस्ता तौरतरिकालाई धार्मिक, जातीय, क्षेत्रीय तथा दलीयरूपमा अन्धभक्त तयार गर्न पनि प्रयोग भइरहेको छ।

शिक्षाविद् ब्लुमको परिकल्पनाअनुसार क्राथवलले विकास गरेका पाँच चरणको प्रक्रियाअनुसार कुनै पनि विचार तथा मूल्यमान्यताका पूर्ण विश्वासीहरू तयार गर्न सकिन्छ। यसको पहिलो चरण हो जे कुराको विश्वासी बनाउन खोजिएको हो त्यसका नराम्रा पक्षहरूलाई लुकाएर अत्यन्तै राम्रा बनाइएका पक्ष मात्रै देखाइन्छ।

दोस्रो चरणमा पहिलो चरणमा राम्रा राम्रा देखाइएका र बुझाइएका पक्षहरूमा व्यक्ति सहभागी हुन थाल्छ। तेस्रो चरणमा व्यक्तिलाई देखाइएका र बुझाइएका राम्रा राम्रापक्षहरू मात्रै सत्य हुन् अरू सत्य होइन भनी स्वीकार गर्ने अवस्थामा पुग्छन्। त्यस्तै चौथो चरणमा व्यक्तिलाई राम्रा देखाइएका र बुझाइएका पक्षहरू आफ्नो जीवनमा अवलम्बन गरी त्यसको रक्षा गर्न लागिपर्छन्।

पाँचौ चरणमा यसरी विकास भएको विश्वासमा कुनै सम्झौता गर्न नसक्ने बरु आवश्यक परे बलिदान दिने चरित्रको विकास हुन्छ। दलहरूले समेत यही विधिमा रहेर आफ्ना कार्यकर्ता तयार गरेका हुन्छन्। अब सोचौँ–यसरी तयार गरेका कार्यकर्ता कर्मचारी, शिक्षक, नीति निर्माता, प्राध्यापक र अन्य व्यक्तित्वहरू मात्रै देशमा रहे देशको विकास असलरूपमा होला त?

– ढुंगाना उपप्राध्यापक हुन्।

प्रकाशित: २९ फाल्गुन २०८० ०६:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App