coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

एक थिए केशव बुढाथोकी

ऊर्जावान, क्रियाशील तथा उच्च मनोबलको अर्को नाम हो– केशवकुमार बुढाथोकी।  उनको लोकप्रिय नाम हो– कुमार।  राजनीतिक जीवनमा उनी एक प्रेरणाका स्रोत बने।  स्वाभिमानी राजनीतिको अभ्यास गरे। कठिन राजनीतिक मोडमा पनि विनासम्झौता खरो उत्रिए।  विद्यार्थीकालदेखिकोे राजनीतिक यात्रालाई जीवनको अन्तिम अवस्थासम्म कायम राख्न सफल भए। राजनीतिको अपार भिडमा अलग छवि बनाएर यही माघ २२ गते रातको शान्तमय वातवरणमा सबैलाई छक्याएर संसारबाट सदाका लागि बिदा भए।

करिब दुई हप्ताअघि मात्र झापा गएको बेला मेरी जीवन संगिनी निलु प्रसाईका साथमा शनिश्चरेस्थित उनको निवासमा भेट्ने अवसर जुरेको थियो। त्यसबेलाको उनको प्रेमभाव तथा आत्मीयता अविस्मरणीय रहनेछ। बोल्ने शैली र हौसलामा कुनै कमी थिएन उनमा।  श्रीमती गीतादेवीको सामुन्ने सबै रोग जितेको खुसी साटेका थिए।

झापामा बुढाथोकीले आफ्नो राजनीतिक पहिचान २०२४ साल काठमाडौँमा भएको ‘डिआइजी नारायणसिंह काण्ड’ बाट बनाएका हुन्। उनको सक्रियतासमेतमा झापाका सारा विद्यार्थी त्यस आन्दोलनमा उत्रिएका थिए काठमाडाैं भद्रकालीमा भएको प्रहरी ज्यादतीविरुद्ध।

शान्तिनगरबाट सहपाठी तारा बराललगायत हामी एक झुण्ड विद्यार्थी दिनभर हिँडेर बेलुकीपख भद्रपुर पुग्यौँ आन्दोलनमा सहभागी हुन। त्यसैबेला हो मैले बुढाथोकीलाई देखेको, उनको जोशिलो भाषण सुनेको।

उनको भनाइमा त्यो राजनीतिक जीवनकै पहिलो भाषण थियो। पञ्चायती व्यवस्थाको जग हल्लाउने गरी भएको सो आन्दोलन डिआइजीको बर्खास्तीपछि शान्त भएको थियो।

२०३६ सालको जनमत संग्रहमा झापामा उनको उल्लेखनीय सक्रियतालाई सम्झने गरिन्छ।  उनको निडर, हक्की र लडाकु स्वभावबाट पनि बहुदलका पक्षमा झापामा बहुमत प्राप्त गर्न सहयोग भएको थियो।

जनमत संग्रहपछिका पञ्चायती चुनावहरूमा कांग्रेसी समर्थनमा उमेदवार भएर राष्ट्रिय पञ्चायतको सदस्य तथा झापा जिल्ला विकास सभापतिसमेत भए। पञ्चायतकालमा मन्त्री पनि बन्न पुगे। ‘दरबार र जनताबीचको पर्खाल तोड्छु’ भन्ने घोषणा गरेर तर सफल भएनन्।

पञ्चायतको मन्त्री भए पनि उनले बहुदलवादीसँग सम्पर्क टुटाएनन्। कांगे्रसी र तिनका समर्थकप्रतिको आत्मीयता कायम राखे। शुभचिन्तक घटाएनन्। जीवनको अन्तिम अवस्थामा समेत त्यसलाई कायम राख्न सक्नु उनको खुबी थियो।

यसै कारण हुन सक्छ, उनलाई पुनः घर (कांग्रेस) फर्कन सहज थियो र स्वीकार्य भयो पनि। साथै कांग्रेसको प्रभावशाली नेता बन्न सके।

पञ्चायतकालमा बुढाथोकी मन्त्री भएका बखत दुई परिदृष्य यतिबेला मेरो मानसपटलमा घुमेका छन् । त्यसबेला झापाबाट काठमाडौँ आएका एक व्यक्ति पुल्चोकस्थित मन्त्री निवासमा आएर एक निवेदनमा ‘तोक’ लगाइदिन अनुरोध गरे। त्यसमा उनको प्रतिक्रिया थियो– नाथे तोकै त हो, म स्वर्ग जान पाउँ भनेर निवेदन लेखेर ल्याउ न, त्यसमा पनि तोक लगाइदिन्छु भन्दै र हाँस्दै तत्कालै त्यसमा तोक लगाए।

संयोगले त्यही दिन एक अस्थायी शिक्षकले स्थायी गरिदिनुपर्‍यो भनी अनुरोध गर्दा हँस्यौली पारामा उनको जवाफ थियो– म आफैँ त अस्थायी छु, कसरी तिमीलाई स्थायी गर्न सकुला?

यस्ता अनौठा तर आत्मीय भावबाट जनता र कार्यकर्ताबीच उनी लोकप्रिय भएका हुन् भन्न सकिन्छ।  नबिझाउने गरी गर्ने ठट्टा र सदाबहार हँसिलो बोलीचाली उनको तागत थियो।

आत्मविश्वासले भरिएको जीवन थियो। गम्भीर विषयलाई सरल ढंगबाट सल्टाउने उनको बानी थियो। राजनीतिलाई आफ्नो सेरोफेरो चलायमान बनाएर राख्ने उनको अक्कल थियो। राजनीतिमा ‘इख’ राख्नु गलत हुने जीवनको उत्तरार्धमा आएर बुझे।  झापामा आफन्त एवं बुढाथोकी परिवारका मियो थिए उनी।

नेपाली कांग्रेसबाट उनले २०६४ सालमा झापाको तत्कालीन क्षेत्र नं. ५ मा संविधान सभाको सदस्यमा लड्न टिकट पाए। माओवादीको चुनावी लहर चलेको झापाको सात चुनावी क्षेत्रमध्ये बुढाथोकी मात्र विजयी सभासद् बन्न पुगे।

दोस्रो संविधान सभाको २०७० सालको चुनावमा समेत त्यसलाई निरन्तरता दिएर लोकप्रिय नेताको छवि कायम राखे।

बुढाथोकीले सशक्त राजनीतिक उपस्थितिबाट जिल्लाको राजनीतिमा ‘झापा टाइगर’ को चिनारी पाएका थिए। जनस्तरबाट प्राप्त यो उपनाम कश्मीरमा एकछत्र राज गरेका ‘शेरेकश्मीर’ पहिचान बनाएका शेख महमद अब्दुल्लाहबाट अभिप्रेरित भएको हो।

पञ्चायतकालमा हेमबहादुर मल्ल ‘शेरे धनुषा’ बाट चिनिन्थे। उनको यो छविबाट नेपाली कांग्रेस र बहुदलवादीलाई विभिन्न समयमा राजनीतिक लाभ पनि भयो। चाहे त्यो जनमत संग्रहमा बहुदलको अभियानमा प्रमुख भूमिका निर्वाह गर्दा होस् वा २०४६ सालको आन्दोलनताका पञ्चायतसँगको असन्तुष्टिमा मन्त्री पदबाट राजीनामा दिएबाट नै किन नहोस्।

कांग्रेसमा पुनः फर्केपछि जिल्लादेखि केन्द्रीयसम्मको राजनीतिमा उनको उपस्थिति अटुट रह्यो।  पार्टीको मात्र होइन, अन्य दल तथा सर्वसाधारण नागरिकका प्रिय भए।

झापाको माईधार (माईनदी किनार)मा उपस्थित विशाल जनसमूहले गरेको अन्तिम बिदाइबाट पनि यसको पुष्टि हुन्छ। विपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओली झापा पुगेर उनलाई श्रद्धाञ्जली अर्पण गर्नाको विशेष अर्थ छ।

नेपाली कांग्रेसले अपनाएको गठबन्धनको राजनीतिसँग बुढाथोकी सन्तुष्ट थिएनन्। कांग्रेसको अस्तित्व कुनै अमुक दलको वैशाखीमा टिकाउनु ठीक नभएको मान्यता राख्थे।

गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा जानु तत्काल सत्तामा पुग्ने सजिलो भर्‍याङ भए पनि भविष्यमा पार्टी कमजोर हुनेमा चिन्ता थियो। पार्टीलाई दीर्घकालीन असर पर्ने उनको ठम्याइ थियो। माओवादीसँगको गठबन्धनले कांग्रेसको लोकतान्त्रिक छविसमेत धरापमा परेको उनको बुझाइ थियो।

मुलुकमा बढेको राजनीतिक बेथिति र भ्रष्टाचारले दण्डहीनताको दलदलमा मुलुकलाई नराम्रोसँग फसाउने उनको बुझाइ थियो। संविधान कार्यान्वयनमा कांग्रेसले देखाएकोे उदासीनताप्रति उनी निकै आक्रोशित थिए।

विधि मिचेर कोसी प्रदेशको मुख्यमन्त्री चुनाव जित्न अपनाएको अनैतिक क्रियाकलापप्रति सन्तुष्ट थिएनन्। कांग्रेस केन्द्रीय समितिको बैठकमा कोसी प्रदेशले अपनाएको गलत बाटोको खुलेरै उनले विरोध गरे।

केन्द्रीय समितिको बैठकमा कोसी प्रदेश सभाका संसदीय दलका नेता उद्धव थापाले सभामुखसमेतको हस्ताक्षरमा मुख्यमन्त्री बनेकोमा वैधानिकताको प्रश्न उठाए।  सभामुखको समर्थन लिएर मुख्यमन्त्री बन्नु संविधानको भावनाविपरित भएको बताए।

यस्तो महत्त्वपूर्ण विषयमा पार्टीले छलफलको अजेन्डा नबनाएकोमा असन्तुष्टि पोखे।  बैठकमा यो तमासा कांग्रेसले टुलुटुलु हेरेर बस्न मिल्छ? यस विषयमा खोइ अजेन्डा (बैठकमा)? खोइ छलफल भएको? खोइ इस्यु उठेको? मुख्यमन्त्री छनोट गलत हो कि ठीक हो? आफ्नै पार्टीका कोसी प्रदेशका मुख्यमन्त्रीलाई मान्ने कि नमान्ने? जस्ता गम्भीर प्रश्न उठाएका थिए।

विडम्बना, केन्द्रीय समितिको त्यो बैठक र एक केन्द्रीय सदस्यका नाताले उनका यी संवेदनशील प्रश्न अन्तिम हुन पुगे।

भावपूर्ण श्रद्धाञ्जलि आदरणीय कुमार दाइ!

प्रकाशित: २६ माघ २०८० ०६:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App