१७ फाल्गुन २०८० बिहीबार
विचार

स्मरण शक्ति घट्ने कारण

मस्तिष्क अर्थात् ब्रेन शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो। मस्तिष्कद्वारा नै शरीरका हरेक अंगको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ। कग्निटिभ तथा चेतना व्यवहारहरूको मुख्य सञ्चालक पनि यही मस्तिष्क हो। मस्तिष्क मानिसको मेमोरी बैंक पनि हो। यही मेमोरी बैंकमा नै सूचनाहरू संग्रह हुन्छन् र यसका आधारमा नै मेमोरी (सम्झना–शक्ति) ले कार्य गर्दछ। तर सबै मानिसको स्मरण शक्ति एकनाश हुँदैन र सधैँभरि उस्तै पनि रहँदैन। प्रायः सबै मानिसले आफ्नो  जीवनकालमा स्मरण शक्ति गडबड भएको महसुस गर्छन् भने कतिपय मानिस त बिर्सने रोग (स्मृतिलोप) का कारणले जिउँदो लास जस्तो जीवन जिउन बाध्य हुन्छन्।

स्मरण शक्ति गडबड हुने तथा बिर्सने रोगका विभिन्न कारण हुन्छन्। उमेर ढल्कँदै गएमा तथा स्मरण शक्तिका क्रियात्मक आधार, स्मरण शक्तिका तीन क्रिया हुन्छन्– अंकन (रजिस्टे«सन्), धारणा (रिटेन्सन) तथा पुनःस्मरण (रिकल) मा कुनै त्रुटि भएमा पनि स्मरण शक्ति कमजोर हुन्छ। जस्तो कि याद राख्नुपर्ने विषयमा राम्रोसँग ध्यान दिइएन भने त्यो विषय मस्तिष्कमा राम्रोसँग अंकन तथा धारण हुन सक्दैन, जसले गर्दा स्मरण शक्ति कमजोर हुन्छ। त्यसैगरी ठीक तरिकाले पुनःस्मरण गर्न नसकेको खण्डमा पनि स्मरण शक्ति कमजोर हुन्छ। यी मानिसको स्मरण शक्ति घट्ने सामान्य कारण हुन्। तर स्मरण शक्ति शिरको चोटपटक तथा अन्य शारीरिक तथा मानसिक समस्याहरूका कारण पनि घट्ने गर्छ । त्यसैले सजिलोका लागि स्मरण शक्तिको कमी तथा स्मृतिलोपलाई दुई भागमा वर्गीकरण गर्न सकिन्छ। एक, सामान्य विस्मृति (नर्मल फर्गेटफुलनेस) र अर्को बिर्सने रोग (एम्नेसिया)।

उमेर ढल्कँदै गएमा मानिसको स्मरण शक्ति केही न केही मात्रामा घट्दै जान्छ। यो प्रायः हरेक वृद्धवृद्धाले महसुस गरेको तथ्य हो। खासगरी ४० वर्षको उमेरपछि प्रायः मानिसले आफ्नो  स्मरण शक्ति घटेको गुनासो गर्छन्। यस किसिमको स्मरण शक्तिको कमीले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन। तर बुढेसकालमा, खासगरी ६०–६५ वर्षको उमेरपछि मानिसको दैनिक जीवनमा नै पुर्णतया असर गर्ने गरी स्मरण शक्तिमा कमी आयो भने त्यो स्नायुरोग, अल्जाइमरका कारणले हुन सक्छ। तर अल्जाइमरले जस्तो लक्षणहरू देखाउने ९० प्रतिशत कारणहरू अल्जाइमर नभएर अन्य रोग हुने गर्छन्।

अल्जाइमर एक किसिमको बिर्सने रोग हो। बिर्सने रोगलाई मेडिकल भाषामा स्मृतिलोप (एम्नेसिया) भनिन्छ। यस्तो रोग लागेको व्यक्तिले आफ्नो  नाम, ठेगाना, मिति–बार, गाउँ–टोल आदि जस्ता कुरा वा सम्पूर्ण कुरा बिर्सन सक्छन्। वास्तवमा बिर्सने रोग (एम्नेसिया) पुनःस्मरण गर्ने क्षमता वा पुर्वअनुभवहरूको पहिचान गर्ने आंशिक वा पूर्ण अयोग्यता हो। एम्नेस्टिक डिसअर्डरमा पुराना कुराहरू मात्र होइन कि नयाँ कुराहरू पनि याद राख्न कठिन हुन्छ।

स्मृतिलोप विभिन्न कारणले हुने गर्दछ। तर यसको प्रमुख कारण मस्तिष्कमा हुने क्षति तथा खराबी हो। कोर्सकोफको संलक्षण (सिन्ड्रोम) पनि यस्तो स्मृति लोप हो जुन भिटामिन बि वान (थाइमिन) को कमीले हुने गर्छ। मस्तिष्कमा चोटपटक लागेर हुने स्मृति लोप प्रायः स्थायी प्रकृतिको हुन्छ तर भिटामिन बि वानको कमीले हुने स्मृति लोप, सुरुमा नै उपचार गरेको खण्डमा निको हुन्छ। स्मृति लोप दुई किसिमका हुन्छन्। एक, एन्टेरोग्रेड एम्नेसिया र अर्को, रेट्रोग्रेड एम्नेसिया। एन्टेरोग्रेड एम्नेसियामा नयाँ सूचना संझना राख्ने क्षमता ह्रास हुन्छ, यस प्रकारको एम्नेसिया प्रायः प्रोग्रेसिभ डिमेंसियामा देखा पर्छ भने रेट्रोग्रेड एम्नेसियामा पुरानो कुराहरू याद गर्न कठिन हुन्छ।

चर्चित हिन्दी सिनेमा ‘गजिनी’मा नायक सञ्जय सिंघानिया (आमिर खान) लाई टाउकाको चोटले गर्दा एन्टेरोगे्रड एम्निेसिया (सर्टटर्म मेमोरी लस अर्थात् अल्पकालीन मेमोरीको कमी) पीडित देखाइएको छ। यस्तो अवस्थामा अल्पकालीन स्मरण शक्तिबाहेक अन्य संज्ञानात्मक (कग्निटिभ) क्षमता भने प्रायः सामान्य हुन्छ। यसैगरी प्रकाश थापाद्वारा निर्देशित नेपाली चलचित्र ‘जीवनरेखा’मा नायिका उमा (मिनाक्षी आनन्द) तथा शम्भु प्रधानद्वारा निर्देशित नेपाली चलचित्र ‘सपना’मा नायिका सपना (करिश्मा केसी) लाई टाउको चोटले स्मृति लोप भएको देखाइएको छ। यी दुवै चलचित्रमा नायिकाहरूलाई टाउकाको चोटपछि पुरानो कुनै कुराहरू याद हँुदैन। यो रेट्रोग्रेड एम्निेसिया उदाहरण हो। तर यी चलचित्रमा देखाएझैँं पुनः टाउकाको चोटले स्मृति फर्किदैन।

यसैगरी वृद्धावस्था (६० वर्षभन्दा बढी) मा हुने मानसिक क्षमताको ह्रास, जसले गर्दा व्यक्तिको स्मरण शक्ति, सुझबुझ, सोचविचार, नयाँ कुरा सिक्ने क्षमता तथा नयाँ परिस्थितिमा ढल्ने योग्यता आदि यदि धेरै नै बढेर जान्छ भने त्यो डिमेन्सियाको लक्षण हो। सामान्यता उमेरसँगै व्यक्तिको मानसिक तथा शारीरिक क्षमताहरूमा कमी आउने भए तापनि यस्तो कमीले मानिसको आमजीवनमा कुनै ठूलो असर गर्दैन। तर डिमेन्सियाले दैनिक जीवनमा नै पूर्णतया असर गर्न थाल्छ। डिमेन्सिया विभिन्न किसिमका हुन्छन्। जस्तै– अल्जाइमर डिमेन्सिया, भास्कुलर डिमेन्सिया, शिरको चोटपटकबाट हुने डिमेन्सिया, एचआइभीको कारणबाट हुने डिमेन्सिया, पार्किन्सन डिमेन्सिया, हन्टिङ्टन डिमेंसिया तथा पिक डिमेंसिया आदि। स्मरण शक्तिको कमी डिमेंसियाको एक प्रमुख लक्षण हो तर सबै डिमेन्सियामा स्मरण शक्ति कमी हुन्छ भन्ने छैन। शिरको चोटपटक वा अन्य शारीरिक कारणले पैदा भएको स्मृतिलोपलाई अग्र्यानिक एम्नेसिया भनिन्छ भने मनोवैज्ञानिक कारणबाट पैदा भएको स्मृतिलोपलाई साइकोजनिक एम्नेसिया (डिसोसिएटिभ एम्नेसिया) भनिन्छ। प्रायः अग्र्यानिक एम्नेसिया एन्टेरोग्रेड प्रकृतिका हुन्छन् भने साइकोजनकि एम्नेसिया रेट्रोग्रेड प्रकृतिका हुन्छन्।

यसका साथै शारीरिक रोगहरू, जस्तै– कलेजो तथा मिर्गौलाको रोग, थाइरायड ग्रन्थीको रोग, हाइपर–हाइपोकैल्केमिया, भिटामिन बि वानको कमी, भिटामिन बि टुवेलको कमी, आयोडिनको कमी, थायराइड ग्रन्थीको समस्या, रक्ताल्पता, नर्मल प्रेसर हाइड्रोसेफलस, औषधिको प्रतिप्रभाव, ट्युमर, संक्रमण, मुटु र छातीको रोग, दृष्टि तथा श्रवण दोष, हाइपर–हाइपोएटे«मिया, मद्यपान तथा दुव्र्यसन, सिफलिस, मधुमेह आदि तथा मानसिक समस्याहरू, जस्तै– डिप्रेसन तथा आत्तिने रोग, मानसिक थकान (न्युरेस्थेनिया), आत्मविस्मृति (फ्युग), तीब्र दुविधा, मानसिक मन्दता तथा मस्तिष्कीय चोटपटक, स्नायुमण्डलमा सङ्क्रमण र अन्य स्नायुरोगहरूका कारण पनि डिमेन्सिया देखा पर्छ, मानिसको स्मरण शक्ति कमजोर हुने तथा घट्ने गर्छ।  

यति मात्र होइन कि गलत जीवनशैलीका कारणले पनि स्मरण शक्ति घट्ने गर्छ। स्मरण शक्ति कमजोर हुनुको लगभग २० प्रतिशत कारण त मानिसको गलत जीवनशैली नै हो।  

– बानियाँ मनोविद् हुन्।  

प्रकाशित: १९ मंसिर २०८० ००:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App