१२ श्रावण २०८१ शनिबार
image/svg+xml
विचार

महिलालाई समान सम्मान

दशपुत्रसमा कन्या दशपुत्रान्प्रवर्धयन्।

यत्फलं लभते मर्त्यस्तल्लभ्यं कन्ययैकया।।

एक कन्या अर्थात् छोरी नै दस पुत्र समान हुन्छिन्। दश पुत्रलाई लालनपालन गर्दा जुन फल प्राप्त हुन्छ एक कन्यालाई पोषण गर्नाले नै त्यो बराबरको फल प्राप्त हुन्छ। यो शास्त्रले महिलालाई गरेको प्रशंसा होइन कि प्राकृतिक स्वभाव र यथार्थता शास्त्रमा अंकित भएको हो।

२५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म ‘महिला हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान’का रूपमा मानिन्छ। महिला भएकै कारण हिंसामा पर्नुपरेको अवस्थालाई न्यूनीकरण गर्ने प्रयासस्वरूप यो अभियान सन् १९९९ मा संयुक्त राष्ट्रसङ्घले अनुमोदन गरेपछि नै अन्तर्राष्ट्रिय रूपमा मनाउन थालिएको हो भने नेपालमा सन् १९९७ देखि विभिन्न कार्यक्रमको आयोजना गरी मनाउन थालिए तापनि २०७५ कात्तिक २९ गतेको मन्त्रिपरिषद्को बैठकले हरेक वर्ष नोभेम्बर २५ तारिखलाई महिला हिंसाविरुद्धको १६ दिने अभियान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो।

महिलाको चेतनास्तरलाई सम्मान

संसारको गुणवत्ता भनेको महिला र पुरुष दुवैले आफ्नो मानवीय चेतनास्वरूप ऊर्जालाई जागृत हुन दिएर सुन्दर र श्रेष्ठतम संसारको विकासमा समान सहभागिता जनाएर चेतना स्तरमा स्थित हुनु हो तर समाजमा महिलाको चैतन्य स्वरूप गुणवत्तालाई सम्मान दिन नजानेकाले गर्दा नै महिला मुक्ति, महिला हिंसाविरुद्धको आवाज उठाउनुपर्ने आवश्यकता बढ्दै गएको हो। यदि महिलाको सम्मान र स्वतन्त्रतालाई कदर गर्न जानेको भए धेरै महिला विदुषी, सन्त, कवि, चित्रकार जन्माइसकेको हुन्थ्यो समाजले।

दार्शनिक ओशोका अनुसार महिलाको विद्वता र समझदारीलाई कदर गर्न जान्ने हो भने महिला जुन स्थानमा पुग्छन् त्यहाँ उनीहरू मात्र पुग्दैनन् सम्पूर्ण संसारलाई गुणवान बनाउने क्षमता राख्दछन्।

त्यसैगरी महात्मा गान्धीको भनाइ छ-महिला समान मानसिक क्षमताको साथ उपहारस्वरूप अस्तित्वले दिएको पुरुषको साथी हो। गान्धी स्वयं महिला अधिकार र सशक्तीकरणका प्रखर हिमायती थिए। आफ्नो जीवनभर उनले महिलाहरूको अपार क्षमतालाई पहिचान गरे र उनीहरूको समान व्यवहार र अवसरहरूका लागि लडे।

यसरी नै डोरोथी डेले भनेका छन्-महिला आफ्नो सारा शरीरले सोच्छन् र पुरुषहरूले भन्दा तिनीहरूले सबै कुरालाई पूरै देख्छन्। महिला हुनुको सरल तथ्यका लागि हरेक महिलालाई धन्यवाद।

महिलालाई कमजोर देख्नु, मनोबल कम पार्नु, निन्दा गर्नु केवल पुरुषको कमजोर मानसिकता हो। त्यसैले महिला मुक्तिका लागि भन्दा पुरुषको कमजोर मानसिकताबाट मुक्ति हुनु जरुरी छ। सशक्त पुरुष त्यो हो जसले महिलाको मनोबल बढाउनमा मद्दत गरेको हुन्छ। समान अधिकार होइन, समान सम्मान चाहिएको महिलालाई छ।

इतिहासदेखि नै महिलालाई सम्मान दिन जानेको भए, महिलाको गरिमा बुझेको भए समाज यति अस्तव्यस्त हुने थिएन। किनकि मानवताको आधा हिस्सा महिला हुन्। हरेक समय मानवताको आधा हिस्सा गरिमारहित, अशिक्षित र स्वतन्त्रताबाट वञ्चित भइरहेको छ।

महिलाप्रतिको जिम्मेवारी

सामान्यरूपमा हेर्दा हाम्रो समाजको परिपाटी र संस्कार भनेको पुरुषले महिलाहरूप्रति जिमेवारी निर्वाह गर्नुपर्छ। अर्थात् महिला स्वयंमा सशक्त छैनन् र हुँदैनन् त्यसैले पुरुषको साथ चाहिन्छ। छोरीको उमेर अलिक धेरै भएर बिहे गरेनन् भने घर समाजले भन्ने वाक्य नै हो कि जीवनमा एउटा भरोसा र साथी त चाहिन्छ, बिहे गर्नुपर्छ।

एक्लो जीवन बिताउन गाह्रो हुन्छ। पुरुषलाई भन्दा धेरै महिलालाई दिने सल्लाह र महिलाप्रति देखाइने जिम्मेवारीको रूप हो यो। अवश्य जीवनका हरेक पलमा, हरेक क्षेत्रमा महिला पुरुषको समान सहभागिताले नै जीवनको अर्थ राख्छ तर जिम्मेवारी बहन गर्नु भनेको महिला कमजोरी भएको कारण मद्दत गर्नु अवश्य होइन। जिम्मेवारी भनेको आफ्नो क्षमताअनुसार गर्न सक्ने सामर्थ्य हो जुन महिला स्वयंमा छ।

महिलालाई आफैँमा जिम्मेवार हुने माहोल सिर्जना हुन दिनु, हस्तक्षेप नगरिनु सही अर्थमा महिलाप्रति जिम्मेवारी वहन गर्नु हो। तिम्रो संस्कार र परिपाटी यो हो, महिलाले यो गर्नुहुन्छ र त्यो गर्नुहुन्न भनेर महिलालाई सीमित क्षेत्र र जिम्मेवारी छुट्ट्याउनु पक्कै पनि महिलाप्रतिको जिम्मेवारी बहन गर्ने तरिका होइन।

महिला स्वयंमा जागृत भएर, स्वतन्त्र भएर, आफ्नो विवेक, सिप, कला कौशल, कुशलता र प्रज्ञाको प्रयोगमा कसैबाट रोक नलगाइनु, बाधा सिर्जना हुन् नदिनु नै महिलाप्रतिको जिम्मेवारी बहन हो।

महिलाले गरेका घर, समाजका जिम्मेवारीपूर्ण हरेक कार्यमा धन्यवाद व्यक्त गर्नु, महिलाले गरेका राम्रा र रूपान्तरित कार्यहरूको प्रशंसा गर्नु, सिर्जनशीलतामा हौसला बढाउनु, अवसर दिनु, चुनौतीलाई सामना गर्ने साहस थप्नु जिम्मेवार पुरुषका गुणवत्ता हुन्।

महिला साधन होइनन्, साध्य हुन् पुरुषको जीवनमा। महिलालाई मातृत्व, आमा, सृष्टि, छोरी र चेलीबेटीको गरिमा दिन सक्नु असली सम्मान हो। यस्तो सम्मान भएमा विभेद र हिंसा हुनै सक्दैन। यति विवेक जब पुरुषमा आउँछ तब त्यो घरका, त्यो समाजका, त्यो राज्यका र त्यो संसारका महिलाहरू हिंसामुक्त, स्वतन्त्र र प्रफुल्ल भएर आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्छन्।

प्रकाशित: १७ मंसिर २०८० ००:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App