३ असार २०८१ सोमबार
image/svg+xml
विचार

‘हमास बर्बरताको जवाफ प्यालेस्टिनीको संहार होइन’

फाइल तस्बिर

‘उनीहरूको पनि मृत्यु भएको छ, उनीहरूका मानिस पनि अपहरणमा परेका छन्। उनीहरूसँग पनि रुने आमा छन्। हामी वास्तविक शान्ति बनाऔं।’ यो भनाइ लन्डन, वासिङ्टनजस्ता सुरक्षित स्थानमा बस्ने उदार शान्तिवादीको नभएर इजरायलमा आयोजित संगीत महोत्सवबाट अपहरणमा परेकी छोरीका पिता याकोभ अर्गामानीको हो।

म आशा गर्छु, याकोभ अर्गामानीले भोगेको यातनाको सामना मैले गर्नुपर्दैन। तर त्यस्तै प्रकृतिको कालो समयखण्डमा मैले आफूलाई भेट्टाएँ भने म आशा गर्छु, अर्गामानीले देखाएको मानवता र नैतिक स्पष्टताको सानो अंश मसँग हुनेछ। अर्गामानीको यो भनाइ सहानुभूतिको गहिराइका कारण मात्र आश्चर्यजनक छैन, यो भनाइ उग्र बदलाको भावना उम्लिरहेको स्थानबाट आएको छ। यो भनाइ पछिल्ला दिनमा आएका टिप्पणीभन्दा पृथक् छ।  

हमास बन्दुकधारीले गरेको हत्याको पक्षमा कतिले उत्सव मनाइरहेका छन्। अन्य कतिपयले उत्सव नमनाए पनि हमासले गरेको कार्यलाई भने प्रतिरक्षा गरेका छन्। यो मत राख्नेले हमासको कारबाहीलाई पृष्ठभूमिमा हेर्नुपर्ने र यो आफ्नै राज्य स्थापनाका लागि लामो समयदेखि भइरहेको संघर्ष र सो क्रममा उनीहरूले भोग्नुपरेको दमनसँग जोडनुपर्ने ठान्छन्।  

हो, प्यालेस्टाइन हिंसाको ऐतिहासिक पृष्ठभूमि छ र इजरायलले दमनबाट प्यालेस्टाइन निरन्तर प्रताडित छ। तर यसो भनिरहँदा किबुजमा २६० निर्दाेषको सामूहिक हत्याको कुनै पृष्ठभूमि छैन र यसलाई न्यायोचित मान्न सकिन्न। यो घटनालाई लिएर उत्सव मनाउनु त कुनै अर्थमा पनि सही छैन। हमासको बर्बर आक्रमणलाई दमनको इतिहासको अपरिहार्य उत्पादनका रूपमा बुझ्न सकिँदैन। यसलाई प्यालेस्टिनी प्रतिरोधको एक उदाहरणका रूपमा झन् लिन सकिँदैन। यो घटना परम्परागत मुक्ति आन्दोलनलाई निर्देशित गर्ने नैतिक र राजनीतिक ढाँचाभन्दा फरक छ। अन्य जिहादी समूहजस्तै गरेर आतंक पनि आफैंमा एक अन्त बनेको छ। यस्तो नरसंहारले प्यालेस्टिनी संघर्षको प्रतिनिधित्व गर्छ भन्नु प्यालेस्टिनी जनताको अपमान गर्नु हो र उनीहरूको अधिकार र स्वतन्त्रताको लडाइँलाई अपमान गर्नु हो।

यसैगरी उनीहरूलाई ‘जनावर’ र ‘जंगली’को संज्ञा दिने इजरायली नेता र पश्चिमा टिप्पणीकारलाई सही मान्न सकिँदैन। यो कृत्यको आलोचना गर्ने प्यालेस्टिनी नेता र समर्थक पनि छन्। हमासले प्यालेस्टिनी आशामा विश्वासघात गरेको छ। हमासले यहुदीहरूलाई पनि खतराको प्रतिनिधित्व गरेको छ। यदि हमासले गरेको हत्याले इस्लामिक राज्यको बर्बरताको सम्झना दिन्छ भने गाजाका तस्बिरहरूले सिरियाको अलेप्पो र युक्रेनको वाखमुतमा भइरहेको विनाशलाई सम्झाउँछन्।  

हमासका नीति र कृत्यको आलोचना गर्नु भनेको इजरायलको नीतिको समर्थन गर्नु होइन। इजरायलले गाजामा विद्युत् लाइन अवरुद्ध गरेको छ। जसले गर्दा पानी, खाद्यपदार्थ र औषधिको आपूर्ति बन्द छ।  सँगसँगै जथाभाबी हिसाबले बम प्रहार गरेको छ र सम्भावित जमिनी युद्धको तयारी गरेको छ। यसो हुँदाहँुदै पनि, यो सामूहिक सजाय र हत्यालाई पश्चिमी नेताले समर्थन गरेका छन् र उनीहरूले हमाससँग प्रतिरक्षा गर्ने अधिकार इजरायलको रहेको तर्क गरेका छन्।

 इजरायलका पूर्वप्रधानमन्त्री इहुद वराकका सल्लाहकार रहेका डानियल लेभीले बिबिसीका प्रस्तोतालाई सोधेका थिए, ‘कसैले विश्वसनीय तरिकाले मलाई भन्न सक्छ कि कुनै देशका नेताले सम्पूर्ण जनसंख्याका लागि खाद्य पदार्थ, बिजुलीलगायत अन्य अत्यावश्यक वस्तु अवरुद्ध गरेको घोषण गर्न सक्छ ?’

यसमा इजरायली नेताहरूलाई कुनै आशंका छैन। ‘अहिलेको जोड क्षति पु र्‍याउनुमा छ, सटीकतामा होइन,’ इजरायलको सुरक्षा बलका प्रवक्ता डानियल हागेरीले स्वीकार गरेका छन्। ‘अहिलेको उद्देश्य नक्वा अर्थात् विपत्ति निम्त्याउनु हो। अरेबिक भाषामा नक्वा भनेको विपत्ति हो। सन् १९४८ मा भएको इजरायल प्यालेस्टाइन युद्धका क्रममा ७ लाख प्यालेस्टिनीलाई देश छाड्न बाध्य गरिएको थियो र इजरायल राज्यको स्थापना गरिएको थियो। ‘गाजा अन्ततः टेन्टहरूको सहर बन्नेछ। कुनै भवन बाँकी रहनेछैनन्,’ एक इजरायली सुरक्षा अधिकारीले इजरायली पत्रकारलाई हालै भनेका छन्।

यस्ता भावनाहरू हमासको नरसंहारका आघातको प्रतिक्रिया मात्र होइनन्। यो वर्षको सुरुमा एक प्यालेस्टिनी बन्दुकधारीले दुई इजरायली नागरिकको हत्या गरेपछि स्थानीयहरूले हुवारा सहरमा तोडफोड गरेको घटनाप्रति समर्थन गर्र्दै इजरायलका अर्थमन्त्री बेजेलेल स्मोट्रिचले यो कारबाहीको प्रशंसा गर्दै भनेका थिए, ‘यसको जिम्मेवारी नागरिकले लिने होइन, यो सहरलाई इजरायलले नष्ट गर्नुपर्छ।’

यसबीच पश्चिमी किनारामा भइरहेको कब्जालाई इजरायलले विलयमा परिणत गर्न चाहेको छ। लिकुड पार्टीका वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र दक्षिणपन्थी धामिक जिओनिस्ट पार्टीका नेता स्मोट्रिचले गत वर्ष पश्चिमी किनाराका यहुदिया र सामारियालाई सार्वभौमिकता दिने नीतिमा हस्ताक्षर गरेका थिए। लिकुड पार्टीले सन् १९९९ मा अवलम्बन गरेको नीतिगत अवधारणाअन्तर्गत प्यालेस्टाइन अरब राज्यको स्थापनालाई अस्वीकार गरेको थियो। इजरायल सरकारले अख्तियार गरेको नीति भनेको प्यालेस्टिनीहरूका लागि आधारभूत अधिकार बिनाको एकल राज्य स्थापना गर्नु हो। 

हमासलाई ‘उन्मूलन’ गर्ने नेतान्याहुको प्रतिज्ञा र प्यालेस्टिनी संघर्षलाई अवमूल्यन गर्ने चाहनाले हमासजस्ता संगठनको बल मिलेको छ। तर सन् १९७० यता गाजामा मुस्लिम ब्रदरहुड र सन् १९८७ को इन्टिफादापछि ब्रदरहुडले निर्माण गरेको हमासलाई इजरायलले सहयोग गरेको थियो। यो समर्थनको उद्देश्य प्यालेस्टिनी स्वतन्त्रता संगठन (पिएलओ) को अधिकारलाई कमजोर बनाउनु थियो। गत साता इजरायलको टाइम्स अफ इजरायले लेखेको थियो, ‘इजरायलको यही नीतिले हमास बलियो बनेको थियो।’

इजरायललाई यहुदीको मात्र राज्य बनाउन चाहने र यहुदीलाई इजरायलबाट निमिट्यान्न पार्ने चाहना राख्नेले मृत्यु संघर्षमा हुनेजस्तो गरी पारस्परिक आलिंगन गरिरहेका छन्। म हमास र इजरायललाई समान हिसाबले हेर्दिनँ तर दुवै पक्षले अनुचितलाई जायज ठह¥याउन अवलम्बन गरेका अव्यावहारिक नीतिहरूविरुद्ध प्रश्न गर्छु।  

यो समग्र परिस्थितिमा याकोभ अर्गामानीको भनाइको सान्दर्भिकता रहन्छ। उनले शान्तिका लागि आह्वान मात्र गरेका छैनन्। बरु यहुदी र प्यालेस्टिनीहरू दुवैको अधिकारको सम्मानसहितको साझा भूमिको कल्पना गरेका छन्। समान अधिकारसहित एकल राज्य होस् अथवा आत्मनिर्णयको अधिकारसहितको दुई राज्य, प्यालेस्टिनी र यहुदीले साझा भविष्य देख्नुपर्छ। यो साझा भविष्यमा बम र नृशंस हत्या हुनेछैन।

‘द गार्डियन’मा प्रकाशित बेलायती वैज्ञानिक, लेखक मल्लिकको यो लेख श्रीराम सुवेदीले भावानुवाद गरेका हुन् ।

प्रकाशित: ३० आश्विन २०८० ००:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App