स्थानीय चुनाव सकिएपछि गाउँ/गाउँमै सिंहदरवार पुग्छ। नेताहरूले ठाउँ कुठाउँ भन्ने गरेको यो कुरा सुनेर सुरुमा त म पनि चकितै भएको थिएँ। कसरी पुग्छ गाउँ गाउँमा सिंहदरवार? सिंहदरवार त सिंहदरवारमा छ। गाउँ कसरी पुग्छ? नेता जस्तो झुट अरु कसले बोल्न सक्छ र? धेरै सर्वसाधारणले जसरी म पनि यही सोच्थेँ।
तर एकदिन मैले थाहा पाएँ। नेताहरूले झुट बोलेका होइन रहेछ। वा भनौँ, नेताहरू झुट बोल्नै सक्दैनन्। किनभने उनीहरूले गाउँ गाउँमा सिंहदरवार पुग्छ भनी जो बोले नि, त्यो त साँच्चै हो रहेछ। चुनाव सकिएको अवस्था थियो। जित्नुपर्ने सबै जितिसकेको र हार्नुपर्ने सबै हारिसकेको थियो। द्वन्द्व समाप्त भइसकेको थियो। फलतः सबैतिर खुसीयाली छाइरहेको थियो।
चुनाव सकिनेबित्तिकै गाउँ गाउँमै सिंहदरवार आइपुग्छ भनेकाले म पनि आफ्नो टोलमा बसेर सिंहदरवार पर्खिरहेको थिएँ। आउँछ भनेकाले आइहाल्छ कि भन्ने मलाई लागेको थियो। तथापि विश्वासचाहिँ लागेको थिएन। तर विश्वास नलागेर के गर्नु, एकदिन साँच्चै मेरो टोलमा पनि सिंहदरवार आइपुगेछ। मैले टाढैदेखि देखेँ। बडो फुर्तिसाथ टोलको मुख्य चोकमै सिंहदरवार आइपुगेको थियो। बडा फुर्तिमान थियो। अनुहारमा चमक थियो। नामै सिंहदरवार, सिंहकै जस्तो फुर्ति पनि थियो।
सिंहदरवार टकटक हिँडेर मेरो टोलको चोकमा आइपुग्यो। मैले त देख्नेबित्तिकै चिनिहालेँ। अरु पनि दुई चारजना टोलवासीले चिने। अधिकांशले चाहिँ चिनेनन्। चिन्नु पनि कसरी? कहिल्यै सिंहदरवार देखेको भए पो चिन्नु। जिन्दगीमा पहिलोपटक सिंहदरवार देखिरहेको छ। के हो, कसो हो भेउसम्म पनि पाएनन्। त्यही भएर उनीहरू सिंहदरवार हेरेर ट्वाँ परे। केहीले चाहिँ चिनेर पनि नदेखे जस्तो गरेर गए। ख्वै, सिंहदरवारसँग उनीहरूको कुनै दुश्मनी थियो कुन्नि, देख्नेबित्तिकै मुख बिगारेर अगाडि बढे। कोहीचाहिँ सिंहदरवार देख्नेबित्तिकै धूप बाल्नतिर लागे। आरती उतार्नुपर्यो भन्दै थिए उनीहरू। अनि कोहीचाहिँ सिंहदरवार देख्नेबित्तिकै नाक थुनेर भागे। उनीहरूले यसरी नाक थुने मानौं त्यहाँ कुनै डम्पिङ साइटै हिँडेर आएको होस्। ठीक त्यही बेला दुइटा कुकुर पनि खुट्टा उचाल्दै त्यहीँ आइपुगेका थिए।
प्रतिक्रिया जेसुकै होस्, तर सिंहदरवार मेरो टोलमा आइपुगेकोचाहिँ निश्चितै भयो। त्यसका शंका गर्नुपरेन। अब हेर्नुमात्रै पर्यो कि टोलमा आएको यो सिंहदरवारले गर्छ के? सबैको ध्यान त्यसैमा थियो। तर आफूलाई कसले कसरी हेरिरहेको छ त्यसमा भने सिंहदवारले कुनै चासो राखेको थिएन। उनी विस्तारै अघि बढे। दायाँबायाँ अवलोकन गर्दै सिंहदरवार अघि बढिरहेको थियो। मचाहिँ विस्तारै पछि लागिरहेको थिएँ। बल्ल टोलमा सिंहदरवार आइपुगेको छ, त्यसै जान दिनु त भएन। सिंहदरवार अघि अघि थियो, म पछि पछि थिएँ।
जाँदाजाँदै सिंहदरवार एउटा ठूलो कम्पाउन्डवाला घरको सामु टक्क अड्यो। म पछि नै भए पनि आफू पनि टक्क अडेँ। घरचाहिँ वडा कै एकजना नाम चलेका नेताज्यूको थियो। नेताज्यूकै घरसामु सिंहदरवार रोके। अब के गर्न लागेको होला? मभित्र उत्सुकता जाग्यो। हेरिरहेँ। अरे! यो के भएको? सिंहदरवार त सिधा नेताज्यूको घरभित्र पो स्वाट्ट छिर्यो बा! कम्पाउन्डको गेट बन्दै थियो। सिंहदरवार आएको देखेर होला, कम्पाउन्डको गेट खुल्यो। सिंहदरवार छिर्नेबित्तिकै फेरि बन्द भयो। अचम्म!
त्यसपछि म पनि घरको गेटमा पुगेँ। गेट बन्द थियो। तर मलाई देखेरचाहिँ अघिजस्तो गेट खोलेन। आफँै खोलेर भित्र जान लागेको थिएँ, छेवैमा टाँसिएको एउटा सानो बोर्डले मलाई छेक्यो। बोर्डमा लेखिएको थियो– कुकुरदेखि सावधान! सिंहदरवार छिरेको घरमा कुकुर पनि रहेछ। अतः मैले आफैँ ढोका नखोली ढोकामा ढक्ढक्याएँ। तर कुनै 'रेस्पोन्ड' आएन। वास्तवमा ढोका आफैँ खोल्न मिल्ने रहेछ। कुकुर आए देखा जायेगा भन्ने सोचेर सुस्तरी भित्र पसेँ। कम्पाउन्डमा कुकुर थिएन। साथै सिंहदरवार पनि थिएन। म उताउति सिंहदरवार खोज्न थालेँ। त्यही बेला कम्पाउन्डमा नेताजी देखा पर्नुभयो। उनले मलाई सोधे– के खोजिरहेको भाइ?
मैले हड्बडाउँदै भनेँ– नेताजी नमस्कार!
उनले भने– नमस्कार, नमस्कार! के खोजिरहनुभएको यहाँ?
मैले भनेेँ– अहिले भर्खरै यहाँ सिंहदरवार पसेको थियो। तर यहाँ कम्पाउन्डमा त देखिएन। कहाँ गएछ होला?
'ओ..सिंहदरवार?', नेताजीले ठ्याक्कै बुझेछन्, 'हो, हो, भित्र आएको थियो। सिंहदरवारसँग कुनै काम छ कि?'
'कामै भएको त होइन', मैले कुरो मिलाएँ, 'हाम्रो टोलमा आएको सिंहदरवार तपाईँको घरमा पसेकाले किन पस्या होला भनेर हेर्न आएको। कहाँ गएछ नेताजी?'
'यतै छ,' उनले अलिकति मुख बिगारे, 'अब यतै बस्छ।'
'सिंहदरवार यतै बस्छ?,' मैले आश्चर्य मानेर सोधेँ, 'यतै बस्छ मतलब कहाँ बस्छ?'
'इ..यहाँ बस्छ,' नेताजीले आफ्नो पकेटतिर इशारा गरे, 'सिंहदरवार अब यहाँ बस्छ।'
'कहाँ? तपाईँको पकेटमा?' म झनै आश्चर्यचकित भएँ।
'अनि कहाँ बस्नु त? सिंहदरवार बस्ने सबैभन्दा उत्तम ठाउँ यही त हो नि। होइन र?' उनले उल्टो मलाई नै प्रश्न गरे।
म भने चकितमाथि चकित हुँदै थिएँ। मैले हैरान हुँदै सोधेँ, 'सरकारले त टोलटोलमा सिंहदरवार पुग्छ भनेको थियो। तर यहाँ त तपाईँको पकेटमा पो पुगेछ। यो त अलि मिलेन कि नेताज्यू?'
'हैन, यो त झनै मिल्ने भयो,' उनले पनि पटक्कै नडगमगाएर उत्तर दिए, 'सरकारले टोलटोलमा सिंहदरवार भनेको थियो, तर अहिले पकेट पकेटमा सिंहदरवार भएको छ। टोल टोलमा सिंहदरवार हुनुभन्दा त पकेट पकेटमा सिंहदरवार हुनु झनै राम्रो हो नि, होइन र?'
अब भने नेताज्यूलाई सोध्ने कुनै प्रश्न मसँग बाँकी रहेन। म प्रश्नबिहीन भएर कम्पाउन्डबाट बाहिरिएँ।
प्रकाशित: २९ वैशाख २०७४ ०३:५० शुक्रबार