२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
विचार

मानव कल्याणमा जोडिएको भूगोलको स्वास्थ्य

देशभर गर्मी बढेको खबरले छापामा प्राथमिकता पाएको देखियो। विभिन्न सहरमा तापक्रमले नयाँ रेकर्ड राख्यो। अत्यधिक गर्मीका कारण बालिनाली सुकेकादेखि लु लागेर मानिस मरेकासम्म खबर आए। असामान्य तापक्रमले बाली तथा जन्तुका बायोलोजिकल पद्धतिमा प्रतिकूल असर पार्ने भएकाले अति जाडो र अत्यधिक गर्मीले अन्ततः वनस्पति र जीवको सन्तुलनलाई भत्काउँछ। पछिल्ला केही दशकदेखि पृथ्वीको तापमानमा धेरै उतारचढाव आएका छन्।  

तापक्रमको असहजतासँग जुध्न नसक्दा केही बालीनाली नासिन्छन्। तर एउटाको लागि प्रतिकूल मौसम अर्को पक्षका लागि सहज हुन सक्ने भएकाले वातावरणीय परिवर्तनले बोटबिरुवाको चरित्र फेरिन्छ। वनस्पतिको वर्चस्वमा बदलाव आउँछ। नयाँ प्रजातिले भौगोलिक सर्वोच्चता कायम गर्छ। अनि एउटा निश्चित वनस्पतिमा आश्रित जीवजन्तुको जनसंख्या प्रभावित हुन्छ। नेपालमा बाँदरको संख्या एक्कासि बढ्नुको कारण स्थानीय वनस्पतिको फेरबदल अथवा बासस्थानको परिवर्तन भन्दा अन्यथा हुन्न नै। 

आज रहेका वनस्पति र जीव अर्को युगमा अस्तित्वमा नरहनुमा पृथ्वीको अवस्थामा आउने परिवर्तन नै हो। लाखौँ वर्षअघि राज गर्ने डाइनासोरहरू फोसिल्स मा समाधि लिए भने नयाँ जीवहरू अस्तित्वमा आए। त्यसैले आज विश्वमा आधिपत्य जमाएको मानिस अर्को युगमा हराउने त हैन भन्ने चिन्ता हुनु अस्वाभाविक होइन। आफ्नो सन्ततिको भविष्य दाउमा लाग्न सक्ने भएकाले पृथ्वीको स्वास्थ्य अवस्थाबारे ब्याकुल हुनु मानव दायित्व रह्यो।  

आफ्नो शारीरिक अवस्था एकिन गर्न वार्षिक स्वास्थ्य परीक्षणका लागि डाक्टरकहाँ गइन्छ। चिकित्सकले मुटु, कलेजो, फोक्सो, मिर्गाैलालगायतका सबै भाइटल अर्गेन्सहरू परीक्षण गर्छन्। महत्वपूर्ण तन्तुमा समस्या आए तुरुन्तै ज्यानसमेत जान सक्ने भएकाले डाक्टरले आफ्नो निदानमा भाइटल अर्गेन्सहरूलाई केन्द्रमा राख्छन्। सबै दुरुस्त भएर पनि कुनै एउटा मात्र महत्वपूर्ण अंगले आफ्नो दायित्व निर्वाहमा अनुत्तीर्ण हँुदा ठूलै समस्या आउने भएकाले अविलम्ब इलाजको दरोकार पर्छ। शरीरको एउटा मात्र भाइटल अर्गेन आफ्नो कर्तव्य पालनमा चुक्दा व्यक्तिको मरण अपरिहार्य भएझैं पृथ्वीका कुनै पनि महत्वपूर्ण पक्षमा आघात पर्दासमेत अन्ततः मानव सभ्यता नै नासिन्छ भन्ने बुझ्न आवश्यक छ।  

पञ्चायतलाई बचाउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको अगुवाइमा चारकोसे झाडीको दोहलो काडिएझैं हालै पुष्पकमल दाहालको सरकारले चुरे तथा उक्त भेगबाट ढुंगा तथा बालुवा निर्यात गरी राष्ट्रको ढुकुटी मजबुत पार्ने योजना ल्यायो।

पृथ्वीमा रहेको माटो, पानी, हावा, तापक्रमलगायतका वातावरणीय परिवर्तनले मानव अस्तित्वलाई खल्बल्याउँछ। उदाहरणका लागि पृथ्वीको तापक्रम एक्कासि बढेको खण्डमा गोलार्ध र हिमाच्छादित पर्वतका हिउँ पग्लन गइ समुन्द्री सतह बढ्नेछ। परिणामस्वरूप समुन्द्री तटका सहरहरू डुबानमा पर्नेछन्। उब्जाउ जमिन समुन्द्रमा लिन हुन पुग्छ। उच्च भूभागमा स्थानान्तरण सभ्यताको बाध्यता बन्छ। धेरै जनसंख्या एउटा भेगमा कुजिनुपर्ने बाध्यता अनि खान्कीको सीमितताले द्वन्द्व निम्तन्छ। परिणाम स्वरूप मानव सभ्यता मासिन सक्छ। त्यस्तै पिउने पानी, विषाक्त वायु, भूमिगत जलको अल्पता, खाद्यान्न संकट लगायतका सबै समस्याले अन्ततः मानिसलाई नै चुनौती दिन्छ। पृथ्वीको समष्टिगत स्वास्थ्य अवस्थाले मानव कल्याणलाई प्रत्यक्ष प्रभाव पार्ने भएकाले हाम्रो ग्रहको आवधिक हेल्थ चेकअप सामयिक हुन्छ।  

पृथ्वीको हेल्थ चेकअपमा केलाई समेट्ने भन्ने चुनौती पूर्ण प्रश्नको उत्तर दिन इन्टरन्यासनल साइन्टिस्ट ग्रुपअन्तर्गतको पृथ्वी आयोगका झण्डै चार दर्जन अन्तर्राष्ट्रिय विज्ञहरूले गत महिना एउटा अन्वेषणात्मक लेख जर्नल नेचरमा प्रकाशित गरे। यही मे ३१ मा प्रकाशित उक्त आर्टिकलले पृथ्वीको भाइटल पक्षको आपधिक जाँचको परिणाम प्रस्तुत गर्यो। पोट्सड्याम इन्स्टिच्युट फर क्लाइमेट इम्प्याक्ट रिसर्च जर्मनीका प्राध्यापक जोन रकस्ट्रोमको नेतृत्वमा विभिन्न देशका अन्वेषणकर्ताहरू संलग्न उक्त अन्वेषणले पृथ्वीको ८ महत्वपूर्ण पाटा समेट्यो आफ्नो अनुसन्धानात्मक लेखमा। जलवायु, वायु प्रदूषण, शुद्ध पिउने पानी, भूमिगत पानीको उपलब्धता, अत्यधिक मलखाद र ओखतीको प्रयोग, प्राकृतिक वातावरण विनाशलगायतका विविध भाइटल फ्याक्टरको विश्वव्यापी अध्ययन गर्दा एयर पोल्युसनदेखि बाहेक कुनै पनि विधामा पृथ्वीको अवस्था सामान्य देखिएन। ग्रहका ८ मध्ये ७ तन्तु रेड जोनमा परेको देखियो।  

शरीरको एउटा मात्र भाइटल अर्गेन आफ्नो कर्तव्य पालनमा चुक्दा व्यक्तिको मरण अपरिहार्य भएभैं पृथ्वीका कुनै पनि महत्वपूर्ण पक्षमा आघात पर्दासमेत अन्ततः मानव सभ्यता नै नासिन्छ भन्ने बुझ्न आवश्यक छ।

सन् २०१५को पेरिस क्लाइमेट एग्रिमेन्टमा सहभागी देशहरूले सर्वसम्मतिले चालु शताब्दीको अन्त्यसम्ममा पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सिएस भन्दा बढ्न नदिने भनी गरेको प्रतिबध्दता सही दिशामा हिँडेन। केबल २३ वर्ष व्यतीत हँुदा नै तापक्रम १.१ ले बढेको पाइयो। यही रफ्तारले ग्रहको तापक्रम बढ्ने हो भने पृथ्वीको तापक्रम यो शताब्दीको अन्त्यसम्ममा ५–६ डिग्री उकासिने देखियो।  

विगत केही दशकमा काठमाडौँका करिब करिब सबै ढुंगे धारा सुके। प्रकाशित लेखले संसार भर नै काठमाडौँको कथा दोहोरिएको भन्छ। शुद्ध पानीमा मानिसको पहुँच कम भएको देखियो। स्वच्छ पानीको अभावमा निम्तने रोगव्याधिसँग अपरिचित को होला र ? त्यस्तै तराईमा वर्षाैँदेखि सञ्चालनमा रहेका इनार तथा ट्युबवेलहरू भटाभट सुकेझैं संसारभर नै ग्राउन्ड वाटरको सतह भासिँदै गएको देखियो। भूमिगत पानीको अल्पताले पिउने पानीको मात्र अभाव भएन बरु खेतीपातीमा समेत असर पर्यो।  

अत्यधिक मलखाद तथा ओखतीको प्रयोगले ताल, तलाउ तथा पोखरीको पानीमा नाइट्रोजन तथा फोस्फरसको मात्रा ग्लोबल स्केलमै बढेको पाइयो। जलासयमा नाइट्रोजन तथा फोस्फरसको मात्रा उकासिँदा तलाउ हरिया भए। फेवाताललाई लेउ तथा जलकुम्भीले ढाक्नुको मुख्य कारण उक्त भेगका बासिन्दाले कृषिमा अत्यधिक मलखाद प्रयोग गर्नु देखियो। बालीमा हालिएको अधिक रासायनिक मल फेवातालमा पुग्यो, लेउले भरियो तलाउ। उक्त परिस्थिति देशभर कायम छ। पोखरीहरू लेउले ढाक्दा अक्सिजनका लागि वनस्पति र माछामा प्रतिस्पर्धा भयो। परिणामस्वरूप जलचरहरूका लागि अक्सिजनको मात्रा पर्याप्त भएन। विगतमा माछा उत्पादनका खानी मानिने तराईका पोखरीहरू भ्यागुता र भँैसीहरूका क्रिडास्थल बने।  

पृथ्वीको हेल्थ चेकअपमा केलाई समेट्ने भन्ने चुनौती पूर्ण प्रश्नको उत्तर दिन इन्टरन्यासनल साइन्टिस्ट ग्रुपअन्तर्गतको पृथ्वी आयोगका झण्डै चार दर्जन अन्तर्राष्ट्रिय विज्ञहरूले गत महिना एउटा अन्वेषणात्मक लेख जर्नल नेचरमा प्रकाशित गरे। 

जंगल मासिँदै गएपछि प्राकृतिक वातावरण बिथोलियो। वन विनासपछि वर्षा कम हुँदै गयो। वन इलाकामा तुलनात्मकरूपले अधिक वर्षा हुन्छ। जंगल विनासले चुरेमा परेको पर्यावरणीय तनाव नभोग्ने तराईबासी को होला र ? चारकोसे झाडी सखाप पारिएपछि फेरिएको वर्षाको ढाँचा जान्न ३ बीस उमेर काटेका अग्रजसँगको छोटो भलाकुसारी नै पर्याप्त हुन्छ। समष्टिगतरूपमा अन्वेषणकर्ता डा. रकस्ट्रोमलगायतको वैज्ञानिक समूहले पृथ्वीलाई केन्द्रमा राखी हालै प्रकाशित गरेको रिसर्च आर्टिकलको सूक्ष्म स्वरूप हेर्न नेपालको लघु भ्रमण पर्याप्त देखियो। उक्त प्रतिवेदनमा सार्वजनिक भएका प्रत्येक पक्षले नेपालको प्रतिनिधित्व गरेको छ।  

मानिसको भाइटल अर्गेनमा खराबी आएपछि ओखती र संहितामार्फत जीवनभर परेज गर्नुपर्छ। मानिस भन्दा नितान्त फरक चरित्र हुन्छ ग्रहसँग। असहजतालाई अनुकूल बनाउन सक्ने लचक क्षमता हुन्छ। उपचार गर्दा पनि मानिसका तन्तुहरू पूर्वावस्थामा फर्काउन नसकिने हुन्छ भने पृथ्वीका महत्वपूर्ण आयामहरू परेजपछि पूर्णरूपले सामान्यतामा फर्कन्छ भन्छन् संयुक्त राज्य अमेरिकास्थित एल युनिभर्सिटीको वातावरण विभागका डिन इन्डी बर्के। भूधरातललाई अत्यधिक दोहन नगरी न्यायोचित उत्खनन मात्र गर्ने हो भने मानव ग्रहलाई सजिलै पूर्वावस्थामा फर्काउन सकिन्छ भन्छन् प्राध्यापक बर्के।  

तनावरहित पृथ्वीको उपभोगलाई पसलको कारोबारसँग तुलना गर्न सकिन्छ। दैनिक ५ सय रुपियाँ आम्दानी हुने पसलेले दिनैपिच्छे ४०० रुपियाँ खर्च गरे पनि दोकानमा कुनै फरक नपर्ने तर साहूले एक दिनमा १ हजार खर्च गर्न थाले व्यापार नासिन्छ। व्यापारझैं पृथ्वीले धान्न सक्ने हदको दोहनले ग्रहलाई कुनै फरक नपर्ने ठान्छन् विज्ञहरू। पृथ्वीका स्रोत र साधन मानव कल्याणका लागि भएकाले त्यसको उपभोग न्यायोचित र रिभर्सिबल तहमा मात्र हुनुपर्छ। सामान्य चोटपटक डाक्टरी परामर्श र ओखतीबिना नै शरीरले आफै सन्चो पारेझैं ग्रहसँग पनि त्यस्तै प्रकृतिको क्षमता हुन्छ। उदाहरणका लागि भूजलको न्यायोचित उपभोग गर्दा वर्षाले पृथ्वी सतहमुनिको पानीको परिणाम स्वतः सन्तुलनमा राख्छ। तर जमिनले सोच्ने भन्दा अधिक पानी जमिनबाट निकाल्दा समस्या हुन्छ। त्यस्तै मलखादको न्यायोचित प्रयोगले कृषि उब्जनी बढ्छ भने जलाशयमा लवणको मात्रा आकासिँदैन। त्यस्तै जंगलबाट लकडी कटान गर्दा संयमित हुने हो भने पर्यावरणलाई फरक नपर्ने देखियो। तर सबै भन्दा महत्वपूर्ण पाटो भनेको कति मात्राको उत्खनन भौगोलिक क्षेत्रले धान्न सक्छ भन्ने कुराको अध्ययन भने हुनुपर्छ।  

२०३६ सालको जनमत संग्रहमा जसरी पनि पञ्चायती व्यवस्थालाई जिताउन धेरै पैसाको आवश्यकता पर्ने भएकाले त्यसको जोगाडका लागि प्राकृतिक सम्पदाको दोहन सजिलो माध्यम ठान्यो सरकारले। पहेँलो चुनाव चिह्नलाई चिताउन चारकोसे झाडी फँडानी भयो। काठ लकडी बेची सरकारले पैसा तुल्यायो। पैसाको बलमा त्यसबेला पञ्चायती व्यवस्थालाई जबर्जस्ती अपरिहार्य साबित गरियो। हरियो वन नेपालको धन भन्ने मान्यतालाई भत्काइ टेको लगाइएको पञ्चायतको मियो अर्को १० वर्षमा भत्कियो। तर जंगल दोहनको परिणाम जनताले दशकौँदेखि भोग्दै आएका छन्।

पञ्चायतलाई बचाउन तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको अगुवाइमा चारकोसे झाडीको दोहलो काडिएझैं हालै पुष्पकमल दाहालको सरकारले चुरे तथा उक्त भेगबाट ढुंगा तथा बालुवा निर्यात गरी राष्ट्रको ढुकुटी मजबुत पार्ने योजना ल्यायो। प्राकृतिक सम्पदा र भौगोलिक बनोटले जैविक विविधता कायम गर्ने भएकाले एक पक्षलाई चलाउँदा अर्को पाटोमा असर पर्छ। तसर्थ, चुरे बेचेर ढुकुटी मजबुत पार्ने सरकारको योजनाले तत्कालीन समस्या समाधान गरे पनि दीर्घकालीनरूपले राष्ट्रलाई चोट पुर्याउने भएकाले सबैले ध्यान दिन आवश्यक देखियो। अदूरदर्शी हिसाबले प्राकृतिक सन्तुलनलाई खल्बल्याउँदा आफ्ना सन्तान दरसन्तानलाई सधैँ पिरोल्छ भन्ने यथार्थ सबैले बुझ्न जरुरी छ। सामुदायिक तहको पर्यावरणीय फेरबदलले सरहदमा मुख्य प्रभाव पार्ने भएकाले छिमेकको जल, वायु, वन, पहाड, नदीनालालाई दीर्घकालीन अहित हुने गरी दोहन नगरी न्यायोचितरूपमा मात्र उपयोग गर्न सबै स्थानीय सरकारले प्रतिबध्दता जनाउन आवश्यक छ। साधको जंगल, पोखरी, पँधेरोले अत्यधिक फाइदा आफूलाई दिन्छ भन्ने वास्तविकता सबैले मनन गरौँ। 

प्रकाशित: ३० जेष्ठ २०८० ००:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App