८ मंसिर २०८१ शनिबार
image/svg+xml
विचार

एसएलसी परीक्षाको अन्योल

शिक्षा ऐन २०२८ को आठौँ संशोधनपश्चात् सबैभन्दा धेरै सोधिएको प्रश्न अब एसएलसी परीक्षा हुन्छ कि हुँदैन भन्ने थियो र त्यो आजका दिनसम्म पनि उत्तिकै मात्रामा सोधिने गरेको छ। किनकि १९९० सालदेखि सञ्चालनमा ल्याइएको एसएलसी परीक्षाले आममानिसमा एउटा गज्जबको छाप बसालिसकेको छ। कतिपयले यसलाई फलामे ढोकाका रूपमा पनि चित्रण गर्थे भने कतिपयले सुनौलो संसार प्रवेशको खुट्किलो पनि भन्ने गरेका थिए। यसमा परीक्षा दिने विद्यार्थीमात्र नभएर उनीहरूका अभिभावक, शिक्षक, प्राध्यापक, शिक्षाविद्, अनुसन्धानकर्ता सबैले उत्तिकै मात्रामा चासो राख्थे। यससँग जोडिएका अन्य प्रश्नमा, अहिले लिने गरिएको एसएलसी परीक्षाको नाम के हुन्छ? कक्षा ११ को अन्त्यमा हुने गरेको परीक्षा अब हुन्छ कि हुँदैन? अनि कक्षा १२ को अन्त्यमा हुने परीक्षाको नाम के हुन्छ? यी सबै परीक्षा कुनकुन निकायले लिन्छन्?

शिक्षा ऐनको आठौँ संशोधनले विद्यालय शिक्षामा विद्यालयले नियमितरूपमा लिनेबाहेक तीनओटा बाह्य प्रकृतिका परीक्षा र प्रमाणीकरण हुने व्यवस्था गरेको छ। यी परीक्षामा पहिलो आधारभूत तहको अन्त्यमा(कक्षा ८ को अन्त्यमा), दोस्रो कक्षा १० को अन्त्यमा र तेस्रो विद्यालयतहको अन्त्यमा(कक्षा १२ को अन्त्यमा)हुने परीक्षा रहेका छन्। आधारभूत तहको अन्त्यमा हुने परीक्षा जिल्ला, कक्षा १० को अन्त्यमा हुने परीक्षा क्षेत्र र कक्षा १२ को अन्त्यमा हुने परीक्षा राष्ट्रिय तहबाट हुने व्यवस्था ऐनले गरेको छ। कक्षा १० र १२ को अन्त्यमा हुने परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट व्यवस्थापन र सञ्चालन हुने व्यवस्था गरिएकोले कक्षा १० को क्षेत्रले लिने परीक्षा पनि राष्ट्रिय परीक्षा बोर्डको अधिकार क्षेत्रभित्रको विषय हो।

विद्यालय तहको अन्त्यसम्म पुग्ने विद्यार्थीले विद्यालय तहको अवधिमा तीनओटा बाह्य प्रकृतिका परीक्षा (कक्षा ८, १० र १२ को अन्त्य) मा संलग्न हुनुपर्नेछ। यसमा तोकिएबमोजिमको उपलब्धि हासिल गरेकै हुनुपर्छ। हाल कक्षा १० मा अध्ययन गरिरहेका विद्यार्थीले विगतका विद्यार्थीले एसएलसी परीक्षा दिएजस्तै ढाँचामा २०७३ चैत ३ गतेदेखि हुने कक्षा १० को परीक्षा दिनुपर्छ। अब यस परीक्षालाई एसएलसी नभनेर माध्यमिक शिक्षा परीक्षा भनिनेछ र प्रमाणपत्र माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)का नाममा जारी हुनेछ। माध्यमिक शिक्षा परीक्षा(कक्षा १०) विगतको एसएलसी परीक्षाजस्तै ढाँचामा सञ्चालन हुन्छ, विगतमा जस्तै विषयगत ग्रिडबाट प्रश्नहरू सोधिन्छन्, उत्तरपुस्तिका परीक्षण, परीक्षाफल प्रकाशन र समग्र परीक्षा व्यवस्थापन विगतको जस्तै ढाँचामा हुन्छ। साधारण देखिने अर्थमा परीक्षाको नाममा फरक पर्‍यो अन्य व्यवस्था विगतका व्यवस्थासँग समान छन्। विद्यार्थीको दृष्टिकोणबाट गत वर्षको एसएलसी परीक्षा र यस वर्षको माध्यमिक शिक्षा परीक्षा(कक्षा १०) मा खासै फरक हुने छैन। शिक्षा ऐनले कक्षा १० को परीक्षालाई बाह्य परीक्षाअन्तर्गत राखेको हुनाले यस परीक्षामा समावेश भएका विद्यार्थीले कक्षा ११ मा भर्ना पाउन विगतमा जस्तै तोकिएका विषयमा निश्चित ग्रेड ल्याएकै हुनुपर्छ। कक्षा ११ मा आफूले चाहेको विषय अध्ययन गर्न विद्यार्थीले कक्षा १० को परीक्षामा विगतमा जस्तै निश्चित विषयमा निश्चित उपलब्धि हासिल गरेकै हुनुपर्छ। नपढिकन न विगतमा हुन्थ्यो न अबका दिनमा हुन्छ!

विगतको एसएलसी परीक्षा र यस वर्षको माध्यमिक शिक्षा परीक्षा व्यवस्थापनको दृष्टिकोणबाट शिक्षा प्रणालीले फरक महसुस गर्नेछ। विगतमा कक्षा १० को परीक्षालाई एसएलसी भनिन्थ्यो र यसको सञ्चालन परीक्षा नियन्त्रण कार्यालयले गर्थ्यो। अबका दिनमा कक्षा १० को परीक्षाको समग्र व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट हुन्छ। क्षेत्रस्तरमा सक्षम संरचना र जनशक्तिको व्यवस्था नहुँदासम्म कक्षा १० को परीक्षा क्षेत्रगत अवधारणाबमोजिम राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्छ। उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनको व्यवस्था प्राविधिक कार्य भएकोले यसमा त्यति फरक नपर्न सक्छ विगत र आउने वर्षमा। तर, यी सबै कामको व्यवस्थापन राष्ट्रिय परीक्षा बोर्डबाट हुन्छ।

अर्को प्रश्न कक्षा ११ को परीक्षा के हुन्छ? कुन विषयमा के कस्तो परीक्षा, कति पूर्णांक र अवधिको लिने भन्ने विषय पाठ्यक्रमले निर्धारण गरेबमोजिम हुन्छ। कक्षा ११ र १२ को हाल कार्यान्वयनमा रहेको पाठ्यक्रम यथावत् कार्यान्वयनमा रहेसम्म हालका कक्षा ११ र १२ का परीक्षा यथावत्रूपमा चल्नुपर्ने देखिन्छ र यी दुवै परीक्षा राष्ट्रिय परीक्षा बोर्डले नै सञ्चालन र व्यवस्थापन गर्छ। भोलिका दिनमा कक्षा ११ र १२ को पाठ्यक्रम परिमार्जन भएमा कक्षा ११ को परीक्षा के कसरी लिने भन्ने विषय सोही पाठ्यक्रम ढाँचाले तय गरेबमोजिम हुने भएकोले अहिले कक्षा ११ मा अध्ययन गरिरहेका विद्यार्थीले विगतको जस्तै ढाँचा र प्रक्रियामा कक्षा ११ को परीक्षा पनि दिनुपर्छ।

अब रह्यो कक्षा १२ को परीक्षाको विषय। शिक्षा ऐनको दफा २(छ)मा माध्यमिक तहको अन्त्यमा लिइने परीक्षालाई 'माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा'(स्कुल लिभिङ सर्टिफिकेट एक्जामिनेसन) भनेर उल्लेख गरिएको हुनाले कक्षा १२ को अन्त्यमा हुने परीक्षालाई छोटकरीमा एसएलसीई भन्नुपर्छ र शिक्षा ऐनको मर्म र भावना पनि यही हो। यो परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन र व्यवस्थापन गर्छ।

प्रकाशित: ३ फाल्गुन २०७३ ०४:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App