२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

विपद् व्यवस्थापन

विपद्ले विनाश गर्छ, विनाशले जीवनचक्र आतङ्कित बनाउँछ, आतङ्कले जनधनको क्षति र तनाव बढाउँछ। मानव जीवनमा अप्ठ्यारो, आपत्कालीन, भयभित अवस्था सिर्जना भइ धनजनको क्षति हुनु विपद्को समय हो। मानव संकटले जीवन सञ्चालनमा अवरोध गर्ने हुँदा विपद् जोखिममा हासियारी अपनाउनुपर्छ। यस्तो संकट आकस्मिक र अप्रत्याशित रूपमा आउने हुँदा विपद्विरुद्ध सधैँ होसियारीसहित शासकीय तयारी हुनुपर्छ। विपत्ति प्राकृतिक र मानवीय कारणबाट हुने गर्दछ।

 प्राकृतिक विपत्तिमा बाढी, पहिरो, भूकम्प, आँधी, तुफान, चट्याङ, स्वास्थ्यको प्रकोप जस्ता विपद् पर्दछन् भने मानवीय कारणबाट हुने विपद्मा आगलागी, युद्ध, कमजोर संरचनाको निर्माण, दुर्घटना, वातावरणको विनाशबाट जोखिम भएको हुन्छ। देशको भौगोलिक अवस्था, शासकीय भूमिका र मानवीय क्रियाकलापबाट विपद्को स्तर आकलन गर्न सकिन्छ।

नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ। दुर्घटना र भूकम्पको प्रकोप जतिबेला पनि हुन सक्ने तर वर्षा सुरु हुनुअघि हावा हुरी, आगलागी र चट्याङ र स्वास्थ्यको प्रकोप जोखिम हुने गर्दछ। वर्षाको समय प्रायः असारदेखि भदौसम्म एक सय बीस दिन खतरा वा जोखिम हुने समयका रूपमा लिइन्छ। हाम्रो भूबनोट र प्राकृतिक कारण हावा हुरी, आगलागी, चट्याङ, स्वास्थ्यको प्रकोप र वर्षा हाम्रा लागि निकै चुनौती र कष्टकर हुनेमा द्विविधा छैन।

नेपालमा हावा हुरी, चट्याङ, बाढी पहिरो, भूकम्प, आगलागी, दुर्घटना र स्वास्थ्यको प्रकोपको जोखिम रहेको छ।

नेपालले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीति तर्जुमा गरी लागु गरेको छ। विपद् व्यवस्थापन गर्ने संयन्त्र प्राधिकरण स्थापना गरी विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्ने कार्य जिम्मेवारी तोकिएको छ। जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय परिषद्को व्यवस्था रहेको र परिषद्ले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन गर्न नीतिगत निर्णय गर्ने, समन्वय गर्ने, निर्देशन दिने काम गर्दछ।

गृहमन्त्रीको अध्यक्षतामा राष्ट्रिय कार्यकारी समिति रहेको र समितिले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनको केन्द्रीय निकायको काम गर्दछ। प्रदेश विपद् व्यवस्थापन कार्यकारी समिति, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको व्यवस्था गरी प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म विपद् व्यवस्थापन गर्न आआफ्ना काम, कर्तव्य र अधिकार तोकिएको छ। विपद् व्यवस्थापनका लागि राष्ट्रिय कोषको व्यवस्था गरी दाताहरूले उक्त कोषमा रकम सहयोग गर्न सक्ने व्यवस्था छ।

प्रदेश र स्थानीय तहमा समेत कोषको व्यवस्था गर्न सकिने व्यवस्था गरिएको छ। तहगत सरकारले समेत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न नीतिनियमहरू तर्जुमा गरी लागु गरेका छन्। विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न नागरिक समाज, गैरसरकारी संस्था तथा सामाजिक अभियन्ता र स्वयंसेवकको व्यवस्थासहित विपद्विरुद्धका प्रतिकार्यमा लाग्नुपर्छ।

विपद्को पूर्व अवस्था, आपतकालीन समय र पुनर्स्थापना एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ। विपद् नै नआउने अवस्था सिर्जना गर्ने र विपद्मा सुरक्षित हुन जागरण ल्याउने काम विपद् व्यवस्थापनको पहिलो काम हो। विपद् जोखिम अवस्थाको पूर्वआकलन गरी संभावित क्षेत्रमा सतर्कता अपनाउन शिक्षा र सचेतनाको क्रियाकलापमा जोड दिन आवश्यक छ।

दोस्रो विपद्को होसियारी र सतर्क हुँदाहुँदै आउने आपत्कालीन अवस्थाको व्यवस्थापन गर्न समग्र शासन प्रणाली र नागरिक उद्धारको प्रयत्नमा जुट्नुपर्छ। मानवीय क्षति कम गर्न उद्धारको कार्यमा सक्रिय हुन, घाइतेको स्वास्थ्य उपचार, जोखिममा परेका मानिसको सुरक्षित स्थानमा स्थानान्तरण, अति आवश्यक सुविधाको व्यवस्थापन र स्वास्थ्य प्रकोप हुन नदिने विषयमा सामूहिक प्रयत्न गरी मानवीय पीडाको न्यूनीकरण गर्न सकिन्छ।

विपद्को पूर्व अवस्था, आपतकालीन समय र  पुनर्स्थापना एवं प्रबलीकरणको समय गरी तीन चरणमा हेर्नुपर्ने हुन्छ।

तेस्रो आपत्मा परेका मानिसको पुनस्र्थापन गर्न योजनागत रणनीतिसहितको प्रबलीकरणका कार्यमा लाग्नुपर्छ। घरवारबिहीनका लागि आवास व्यवस्था, आयआर्जन र रोजगारीको अवसर, बालबालिकाको संरक्षण र शिक्षाको पहुँच र अशक्त नागरिकको संरक्षण एवं आर्थिक र समाजिक प्रक्रियाको क्रमशः सबलीकरणमा जोड दिनुपर्ने हुन्छ।

विपद् जोखिमको आपत्कालीन समयलाई श्रेणीकरण गर्दा सामान्य, संवेदनशील र संकटपूर्णको अवस्थामा हेर्नुपर्ने हुन्छ। जोखिम न्यूनीकरणको उपयुक्त योजना र रणनीति नभए सामान्यबाट संवेदनशील हुँदै संकटपूर्ण अवस्थासम्मको स्थिति सामना गर्नुपर्ने हुन्छ।

यस्तो स्थिति नआओस् भन्नेतर्फ रणनीतिसहित राम्रो तयारी हुनैपर्छ। जोखिमका स्थानहरू पहिचान गरी ती क्षेत्रको लगत राख्ने, जोखिम देखिए सुरक्षित स्थानमा मानिसलाई सार्ने र विपद् जोखिम कम गर्न निगरानी बढाउने तथा त्यस क्षेत्रका नागरिकलाई हुन सक्ने संभावित जोखिमको सूचना निरन्तर दिनु सामान्य अवस्थाको व्यवस्थापन गर्न सजिलो हुन्छ।

विपद् जोखिम प्रतिकार्यका लागि सर्वप्रथम नागरिक जागरण गराउनुपर्ने हुन्छ। नागरिकलाई भूकम्प, बाढी, पहिरो, हावा हुरी, चट्याङ, स्वास्थ्य प्रकोप र आगलागीबाट हुने खतरा र त्यसबाट हुने जोखिमको अवस्था हेरी व्यवस्थापन गर्न नागरिकलाई सतर्क र सक्षम बनाउन विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका तालिम सञ्चालन गरी जोखिम न्यूनीकरणमा जोड दिनुपर्दछ।

विपद् जोखिम न्यूनीकरण गर्न तहगत सरकारको सञ्जाललाई सक्रिय बनाउन आवश्यक छ। विपद्विरुद्ध स्थानीय स्रोत र साधनको उपयोग गर्ने र स्थानीय तहका आवश्यक संयन्त्रलाई क्रियाशील बनाउन जोड दिनुपर्छ। जिल्ला र स्थानीय विपद् व्यवस्थापन समिति सक्रिय भइ जोखिमलाई न्यूनीकरण गरी संवेदनशील अवस्थामा आउन दिनु हुँदैन।

विपद्मा धनजनको क्षति र मानवीय संवेदनशीलता बढ्दै गएमा विपद् जोखिम न्यूनीकरणका आपत्कालीन योजना र रणनीतिलाई कार्यान्वयन गर्ने, जोखिमको स्थानलाई रेखांकन गर्ने, सो स्थानमा रहेको धनजनको सुरक्षित स्थानमा स्थानान्तरण गरी मानिसलाई अति आवश्यक सुविधा उपलब्ध गराउने र संवेदनशील अवस्थाको सतर्कताका लागि प्रभावित आमनागरिकलाई सूचना प्रवाह गर्ने एवं संवेदनशील स्थितिको गाम्भीर्यतालाई तहगत सरकारबीच निरन्तर सूचना प्रवाह गर्ने जस्ता काममा जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्दछ।

विपद् जोखिमका क्षेत्रहरूको अवस्था र स्थितिबारे निरन्तर सूचना संकलन गरी ती क्षेत्रको निरन्तर निगरानी बढाउनुपर्दछ। विपद्बाट हुने तनाव न्यूनीकरण गर्न मनोपरामर्शको उपयोग गर्ने, विपद्पछि हुने संवेदनशील अवस्था न्यूनीकरण गर्न आमसंयन्त्र परिचालन गर्ने र आवश्यकता आकलन गरी थप सहयोगको आवश्यकताका लागि तहगत सरकारहरूले आफ्नो जिम्मेवारी वोध गर्नुपर्ने र नागरिक मञ्च, अभियन्ता, गैरसरकारी संस्था र स्वयंसेवकहरूलाई सक्रिय रूपमा परिचालन गर्नुपर्दछ।

विपद्को संवेदनशील अवस्थामा सुरक्षा निकायहरूको भूमिका महत्वपूर्ण हुने हुँदा समन्वयात्मक तरिकाले उद्धार र जोखिम न्यूनीकरणमा काम गर्नु र गराउनुपर्ने हुन्छ। भूकम्प, बाढी र पहिरो, हावा हुरी, चट्याङ, दुर्घटना र आगलागीबाट प्रभावितहरूको स्थिति हेरी घाइतेहरूलाई प्राथमिक उपचारका लागि सुरक्षित स्थानमा राख्ने  अशक्त भएकालाई चाँडो सुविधा सम्पन्न अस्पतालमा लाने व्यवस्था मिलाउनुपर्दछ। संकटपूर्ण अवस्था आउन नदिन विश्व साझेदारीकाे उपयोग गर्न सकिन्छ।

विपद् जोखिमका क्षेत्रहरूको अवस्था र स्थितिबारे निरन्तर सूचना संकलन गरी ती क्षेत्रको निरन्तर निगरानी बढाउनुपर्दछ।

विपद् जोखिम न्यूनीकरण तथा उद्धारका साधनहरूको उचित व्यवस्थापन गरी जोखिम र विपद्लाई काबुमा राख्न प्रतिकार्य कामको जिम्मेवारी तोकी प्रत्येक कामका लागि सम्पर्क व्यक्ति तोक्ने र सम्पर्क गर्ने, सञ्चारका साधनको पहुँचलाई सरल बनाउनु आवश्यक छ। संवेदनशील अवस्थामा तहगत सरकार र अन्य क्षत्रको सहयोग लिइ अति संकटको अवस्थामा जान दिनु हुँदैन।

प्राकृतिक विपद्प्रति होसियारी र जनसचेतना, विपद् जोखिम चक्रको ज्ञान, संरचनागत रणनीतिसहित तयारी गरी सबैको सक्रियताबाट जोखिम न्यूनीकरणमा जोड दिन आवश्यक छ। मानवीय विपद्मा जोखिम कम गर्न मुख्यतः पूर्वाधारका संरचना मानवमैत्री बनाउने, वातावरण संरक्षणमा जोड दिने, प्राकृतिक चक्रमा अवरोध नगर्ने, आनीबानीमा सुधार, प्राविधिक ज्ञानको मापदण्डको पालना र प्रकृति प्रेममा जोड दिने, जलवायु परिर्वतनबाट हुने विपद् जोखिम कम गर्न आनीबानीमा सुधार गर्नुपर्छ।

विपद् व्यवस्थापन सिप र कौशलको पुनर्मूल्यांकन गरी आउने दिनमा कसरी सुरक्षित हुने भन्ने विषयमा जागरुक हुनुपर्छ। अन्यथा हामी फेरि पछुताउनुपर्ने र धनजनको क्षतिका धेरै समाचार सुन्नुपर्ने हुन सक्छ। समयमै विपद्बाट सतर्क हुन विपद्विरुद्धका सूचना प्रवाह गरी नागरिकलाई सचेत पार्नु आजको आवश्यकता हो।

(लेखक सूचना तथा प्रशारण विभागका निर्देशक हुन।)

प्रकाशित: ३ वैशाख २०८० ००:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App