१६ चैत्र २०८० शुक्रबार
विचार

सही छ अमेरिकी नेतृत्व

विश्व व्यवस्थालाई सही राख्न अमेरिकी रेकर्ड त्रुटिपूर्ण छ तर विश्वका अन्य देशका मामलाबाट आफूलाई अलगथलग राख्ने दिशामा अमेरिका अगाडि बढ्दा यसबाट सबै भन्दा बढी फाइदा सी चिनफिङ र भ्लादिमिर पुटिनलाई हुनेछ।  

गत साता अमेरिकाको विश्वव्यापी नेतृत्वलाई ठूलै झट्का लाग्यो। अटलान्टिक महासागरका दुवै किनाराका राजनीतिज्ञ तथा पण्डितहरू एकबद्ध भएर २० वर्षअघि जर्ज डब्लु बुस र टोनी ब्लेयरले गरेको इराक आक्रमणको निन्दामा उत्रे। यही अवधिमा अमेरिकी कंग्रेसले अन्यत्र देशमा सैनिक कारबाही चलाउन राष्ट्रपतिमा रहेको यसअघिको अधिकार फिर्ता लिने प्रक्रिया अगाडि बढायो।

उता, गत साता मस्कोमा सी चिनफिङ र उनका कठपुतली भ्लादिमिर पुटिनले सन् १९४५ देखि अमेरिकाको नेतृत्वमा रहेको विश्व व्यवस्थालाई प्रतिस्थापन गर्न नयाँ विश्व व्यवस्थाको प्रस्ताव गरे। चीनका वास्तविक एकाधिकार शासक सीले आफूले विश्वको ‘स्टान्ड गार्ड’ अर्थात सुरक्षा गार्डको सौहार्दपूर्ण भूमिका निर्वाह गर्ने चाहना व्यक्त गरेका छन्। सीको नयाँ विश्वमा आघात र त्रासलाई अधीनता र निगरानीले प्रतिस्थापन गर्ने प्रष्ट छ। प्रजातन्त्र पछाडि धकेलिनेछ।  

हो, इराक युद्ध विनाशकारी थियो। युद्धका लक्ष्य हासिल गर्न अवलम्बन गरिएको बाटो फरक हुन सक्थ्यो। तर युद्ध अघिका कैयन् चेतावनीलाई बेवास्ता गरिएको थियो। तर यो युद्धका कारण अमेरिकाको नेतृत्वमा अगाडि बढाइएको आक्रमणकारी नीति र र यसका कारणमा अमेरिकाका खस्कँदो प्रभावबारे घोर दक्षिणपन्थी तथा वामपन्थी दुवै मोर्चाले आलोचना गर्नु पनि अल्पदृष्टि मान्न सकिन्छ।  

जब जब मध्य पूर्वबाट अमेरिकाले आफूलाई अलगथलग पार्छ अथवा आफ्नो सुरक्षा गार्डको भूमिकाबाट पछाडि फर्कन्छ, त्यतिबेला यो क्षेत्रमा विभिन्न प्रतिक्रियात्मक परिघटना हुने गरेका छन्। सन् २०११ मा इराकबाट अमेरिकी सैनिक फिर्तापश्चात एक दशकसम्म सिरियामा गृहयुद्ध जारी रह्यो भने इरानका कट्रपन्थीहरू बेरोकतोक हिंसात्मक गतिवधिमा उत्रे। यसैगरी साउदी अरेबियाका पूर्वसहयोगीहरूले यमनमा हत्याका शृंखला सुरु गरे भने अफगानिस्तानमा धोका र दुःखको चरण सुरु भयो। यसैगरी यो अवधिमा इजरायल र प्यालेस्टाइनबीचको द्वन्द्व पनि चरम हुन पुग्यो।  

‘सन् १९९० मा सद्धाम हुसेनले कुबेत आक्रमण गरे पनि अमेरिकाले कुनै प्रतिक्रिया नदिएको भए के हुन्थ्यो होला?’ प्रसिद्ध समालोक विल स्नाइडेर प्रश्न गर्छन्– संभवत केही हुने थिएन।  

त्रासले आक्रान्त युरोपले बोस्निया युद्ध समाप्त गर्न अमेरिकालाई गुहारेको थियो। ‘कम्बोडिया, रुवान्डा, कंगो र डारभर क्षेत्रमा अत्याचार भैरहँदा अमेरिकालगायत समग्र विश्वले ध्यान दिएन र केही प्रतिक्रया दिएन। परिणामस्वरूप ती क्षेत्रमा ठूलो नरसहार भयो’– स्नाइडेर तर्क गर्छन्।

यो सूचीमा सिरियालाई थप्न सकिन्छ। इराक युद्धको आलो घाउका कारण तत्कालीन राष्ट्रपति बाराक ओबामाले सन् २०१३ मा सिरियाको असद सरकारले सामूहिक विनाशका लागि हतियार प्रयोग गर्दा पनि रोक्न सकेको थिएन। त्यो अत्यन्त ठूलो विडम्बना थियो।  

प्रमाणले देखाउँछन्, अमेरिकाले कतिपय अवस्थामा सही काम गर्न सकेको छैन। तर त्यसो भन्दैमा अमेरिकाको वर्चस्वलाई आलोचना गर्ने आलोचकहरूको धारणा त्रुटिपूर्ण, आत्मकेन्द्रित र अहंकारपूर्ण मान्न सकिन्छ। सीजस्ता एकाधिकारवादी र युद्ध अपराधका लागि दोषी मानिएका पुटिनले विश्व पुलिसको सही भूमिका निर्वाह गर्लान् भनेर विश्वास गर्न सकिँदैन।  

सिद्धान्ततः, विश्वमा पुलिस चाहिँदैन र चाहिनु पनि हँुदैन। तर दुःखका साथ स्वीकार गर्नुपर्ने स्थिति के हो भने विश्व त्यस्तो अवस्थामा छैन। आफ्नै सदस्यबीचको मतभेदमा झेलिएको संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद् आफ्ना नियम तथा सन्धि कार्यान्वयन गर्न असफल रहेको छ। न त युरोपियन युनियन, अफ्रिकन युनियन तथा आसियनले संकट टार्न सक्ने सामथ्र्य राख्छन्।  

युक्रेन युद्धमा आशा गरे भन्दा राम्रो हिसाबमा युरोपले प्रतिक्रिया दिएको छ। तर अमेरिकी राष्ट्रपतिले यो युद्धमा हस्तक्षेप नगरेको भए र ७७ अर्ब अमेरिकी डलर बराबरको सहयोग नगरेको भए यो युद्धमा अहिलेसम्ममा युक्रेनको हार भैसक्ने थियो। रणनीतिक स्यायत्तताको कुरा गरे पनि ब्रसेल्सले सधैँ वासिङ्टनको नेतृत्व चाहेको देखिन्छ। अमेरिकाले युद्ध ट्यांकहरू आपूर्ति नगर्दासम्म जर्मनीले किभलाई यस्ता उपकरण दिन अस्वीकार गरेको थियो।  

द्वन्द्व भनेको अन्ततः प्रजातन्त्रका लागि गरिएको संघर्षको एक अंग हो भन्ने अमेरिकी राष्ट्रपति बाइडेनका तर्कलाई न त पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, न पूर्वसैनिक अधिकारी डिसान्टिस स्वीकार गर्छन्।  

एउटा रहस्यात्मक पक्ष के हो भने सन् २०१४ मै युक्रेनको भूभागमा कब्जा गरेका पुटिनले त्यतिबेला अर्थात डोनाल्ड ट्रम्प राष्ट्रपति भएको बेला युक्रेनविरुद्ध पूर्ण स्तरको आक्रमण किन गरेनन्? क्रेमलिनप्रतिको चाटुकारिता, युरोप र नाटो विरोधी रवैया तथा अमेरिका फस्र्ट भन्ने डोनाल्ड ट्रम्पको धारणाले पुटिनलाई सहयोग पुग्न सक्थ्यो। ट्रम्प पुननिर्वाचित भएको भए, उनले त्यसो गर्न सक्ने सम्भावना थियो। विश्व मञ्चबाट आफूलाई अलगथलग राख्नुपर्छ भन्ने अमेरिकी धारणाको पुनरावृत्तिले युक्रेन र पश्चिमा प्रजातन्त्रलाई चिन्ता थपेको थियो। फलोरिडा गभर्नर तथा पूर्वसैनिक अधिकारी डेसान्तिस र ट्रम्प दुवैले किभमा गरिएको खर्च कटौती गर्न चाहेका छन्। रिपब्लिक पार्टीका मतदातामध्ये ४० प्रतिशत किभलाई दिइएको सहयोग कटौती हुनुपर्ने धारणा राख्छन्। ट्रम्प र डेसान्तिस दुवैजना सन् २०२४ को राष्ट्रपति चुनावका लागि अग्रिम सूचीका उम्मेदवार हुन। द्वन्द्व प्रजातन्त्र प्राप्तिका लागि गरिने संघर्षको एक भाग भन्ने बाइडेनका धारणमा दुवैको सहमति छैन। किभका लागि हाल अमेरिकाले देखाएको चिन्ता अमेरिकी चिन्ता नभएको दुवै ठान्छन्।  

विश्व समुदायबाट अलग हुने धारणा रिपब्लिकनबीच लोकप्रिय बन्दै गएको छ। यस्ता धारणा राख्ने उक्त पार्टीका मतदातामध्ये ४० प्रतिशतले ट्रम्पलाई र ३६ प्रतिशतले डिसान्तिसलाई समर्थन गर्ने देखिएको सिएनएनले गरेको एक सर्भेक्षणले देखाएको छ। यी मतदातामध्ये केबल ९ प्रतिशतले वैदेशिक नीति उच्च प्राथमिकताको क्षेत्र रहेको मान्छन्। अमेरिकाले विश्व नेतृत्व गर्नुपर्छ भनिठान्ने रिपब्लिकन पार्टीका अन्य प्रत्यासी उम्मेदवार माइक पेन्स, निक्की हेले तथा माइक पोम्पेओको लोकप्रियता एक अंकमा मात्र सीमित छ।

अमेरिकी राष्ट्रपति चुनाव नजिकिँदै गर्दा रिपब्लिकन पार्टीमा रहेको यो मतभेद बाइडेनका लागि अवसर हुन सक्छ। यो सी र पुटिनका लागि पनि अवसर हुन सक्छ। उता, डेमोक्रेटहरूले अमेरिकाका परम्परागत नेतृत्वलाई काम राख्ने धारणका कारण पुनः राजनीतिका केन्द्रमा रहन सहयोग पुग्ने अपेक्षा गरेका छन्।  

त्यसो त, आगामी दिनमा विश्वका स्वतन्त्रताको पक्षधर प्रजातन्त्रवादी र दमनकारी तानाशाहसँग मिलेर काम गर्न बाइडेनलाई त्यति सजिलो छैन। महाशक्ति राष्ट्र र तानाशाहको आधिपत्यता भन्दा एक्काइसौँ शताब्दीमा शक्ति सन्तुलनसहितको बहुधु्रवीय विश्व आवश्यक छ। न्यायसंगत हिसाबले मात्र होइन, सुरक्षाको हिसाबले पनि यो आवश्यक छ।  

तर यसो भन्दैमा पश्चिमा राष्ट्रको सहयोगमा आवश्यक पर्दा अमेरिकाले गर्ने हस्तक्षेपलाई सम्पूर्ण हिसाबमा परित्याग गर्नुपर्छ भन्ने छैन। अव्यवस्थामा रहेको विश्वलाई शान्ति कायम गर्न र समस्याको समाधान गर्ने शक्ति चाहिन्छ। सी चिनफिङ, पुटिन भन्दा अमेरिकी नेतृत्व सही हुन सक्छ। 

प्रकाशित: १४ चैत्र २०७९ ००:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App