इतिहास पढ्दा नेपाल कहिल्यै कसैको पराधीन राज्य भएन भनेर पढिए पनि व्यवहारमा भने जुन दिन भारत बेलायतको उपनिवेशबाट मुक्त भयो त्यसै दिनदेखि नेपाल उसैको उपनिवेशमा पर्यो । २००७ सालमा प्रजातन्त्रका नाममा भारतीय शासकहरु नेपाल दरवार छिरे । राजा त्रिभुवनका राजनीतिक सल्लाहकार भारतीय थिए । प्रत्येक महत्वपूर्ण निर्णय गर्न भारत धाउनुपर्ने बाध्यता भयो । प्रजातन्त्र स्थापना गर्ने आन्दोलन गरेका हौँ भन्नेहरु आफूहरु नै प्रजातान्त्रिक सरकार चलाउँछौ भन्न नसकेर प्रत्येक मन्त्रालयमा भारतीय नागरिक सल्लाहकार राखेका थिए । राजा महेन्द्रका पालामा नेपाललाई भारतको उपनिवेशबाट मुक्त गर्ने प्रयास भयो । केही हदसम्म सफल पनि भए । दरवारभित्रै हैकम जमाएको भारतीय शासक लाजिम्पाटसम्म निस्कन बाध्य भयो । त्यसदेखि आजसम्म लाजिम्पाटबाट यो देशमा राजनीतिक अस्थिरता ल्याउने, नेपाली शासकलाई निर्देशन दिने, सरकार फेरबदलको योजना बनाउने काम हुने गरेको छ।
लाजिम्पाटमा रहेको त्यो दरवार नेपाली जनताका लागि अफापसिद्ध बनेर रहेको छ । त्यसको अन्त्य हुनु नै नेपाली जनता स्वतन्त्र बन्नु हो । त्यसको अन्त्य दुई किसिमबाट हुन सक्छ । पहिलो नेपाली जनता सचेत हँुदै स्वतन्त्र बन्न तयार हुनु, अर्को भारत विभिन्न राज्यमा विभाजित हुनु । भारत विभाजित हुने कुरा नेपालको वसबाहिरको कुरा भए पनि नागरिकलाई सचेत बनाउने कुरा हामी आफँैले गर्न सक्नुपथ्र्याे । तर विडम्वना, नेपाली कांग्रेसको स्थापना भारतीय झण्डा राखेरै भएको थियो । २००७ सालपछि नेकाका नेता बिपी र मातृकाका बीच पटकपटक झगडा हुँदा भारतीय शासकदेखि कर्मचारीसम्मले मिलाइदिएका थिए । नेकाको पृष्ठभूमि भारतीय सरकारको भातृसंगठनका रूपमा रह्यो । जुन अध्यावधि कायम छ । देशको सबैभन्दा पुरानो र ठूलो पार्टीको यो गति छ भने उसले भारतले नेपालमाथि चलाएको उपनिवेशबारे विरोध गर्ने कुनै नैतिक धरातल बनाउन सकेको छैन । त्यसैले नाकावन्दी लगाउँदासमेत त्यसको विरोध गर्न सकेन । बरु नाकाबन्दीविरुद्ध आवाज उठाउने आफ्नै देशको सरकार फेर्न दिल्लीले दिएको आदेश पालना गर्न सफल भयो ।
आजसम्मको इतिहासमा नेपालमाथि भारतले देखाएको हैकमको बिरोध गर्न र उसलाई सवक सिकाउन थोरै भए पनि नेकपा सफल हुँदै आएको थियो र छ । जुन कुरा उसका लागि पाच्य थिएन र अहिले पनि छैन । त्यही शक्तिलाई कमजोर पार्ने नेकपा माओवादी नामको नयाँ पार्टी गठन गर्न ऊ सफल भयो । उक्त पार्टीलाई जन्माउनेदेखि पालनपोषण गर्ने काम दिल्लीबाटै भयो । नेपालमा भारतको विरोध गरेको नाटक गर्दै भ्रम बाँडे । नेपाली जनतालाई भारतसँग युद्ध लड्नुपर्छ भन्दै सुरुङ खन्न लगाउने तर भारतीय शासकसँग आत्मसमर्पण गरेर घरज्वाइँ भएर बस्ने माओवादीको सक्कली अनुहारको मुकुण्डो समयको गतिसँगै उघारिँदै गयो । फलतः बाबुराम भट्टराई प्रधान मन्त्री हुँदा बिप्पा सम्झौता गरे । एयरपोर्टमा भारतीय सेना राख्ने प्रयास भयो । उनको कार्यकाल भारतीय पक्षलाई खुसी पार्नमै बित्यो । त्यसलाई पनि पछि पार्दै भरखरै भारत भ्रमण गएका प्रचण्डले स्वतन्त्र र सार्वभौम नेपाललाई भारतको आश्रीत राज्य बनाएर आफूहरुलाई पालनपोषण गरेको गुन तिरेर आए ।
यो पार्टीका कारण पनि नेपालको सार्वभौम संकटमा पर्दै गएको छ । प्रचण्ड नेतृत्व सरकारले जुन रवैया देखाएको छ त्यसलाई हेर्दा बिगतमा जसरी वेलायतले भारतमा शासक पठाउँथ्यो त्यसैको झल्को दिने गरी भारतले नेपाली मूलका भारतीयलाई पठाएजस्तो व्यवहार देखाउँदैछ । स्वतन्त्र नेपाली हुनुभन्दा भारतको दलाल बन्दा गर्व गर्नेहरु उत्साहित हुँदै गएका छन् । १७ हजार नेपाली आमाका सन्तानले बगाएको रगतको मूल्य भारतलाई तिर्दैछन् । मधेसकेन्द्रित क्षेत्रिय दलहरुको त कुनै चर्चा गर्न आवश्यक नै छैन । नाकाबन्दी लगाउनेदेखि संविधान संशोधनका लागि दिल्लीका ढोकाढोका चाहारेका दृश्य तपाईं हाम्रा मानसपटलमा अझै ताजा छन् । यिनले नेपाल र नेपालीको भलो गर्छन् भनेर कल्पना पनि गर्न सकिँदैन । कांग्रेस, माओवादी र मधेसी दल एकै क्याटगोरीका हुन् । हुन पनि समयले यिनलाई एकै ठाउँमा ल्याइपु¥याएको छ ।
२००६ सालमा गठन भएको नेकपा २०२५ सालमा आइपुग्दा विभिन्न घटकमा विभाजित हुन पुग्यो । झापामा गठन भएको नेकपा माले नेपाली माटोमा हुर्किदै र जनताको मायाबाटै विशाल बन्दै गयो । यसलाई जन्माउन र हुर्काउन कुनै विदेशीको आडभरोसा चाहिएन । नेपाल र नेपाली जनताको हित नै सर्वोपरि ठान्यो । जब नेकपा एमाले सत्ताको नेतृत्व गर्न पुग्यो तब भारत सधै शंकित हुने भयो । अन्य पार्टीको तुलनामा एमाले भारतको स्वार्थका लागि बाधक बन्ने गरेको छ । पछिल्लो पटक एमालेका तर्फबाट सरकारको नेतृत्व गर्न पुगेका केपी ओली त उसका लागि झनै टाउको दुखाइको विषय भयो । फलतः लाजिम्पाटको ग्रान्ड डिजाइनमा ओली नेतृत्व सरकार ढालेर प्रचण्ड नेतृत्वको म्यादी सरकार बनेको हो ।
नेपाल र भारतबीचको सम्बन्ध नेपालका कारण बिग्रेको थियो कि भारतले देखाएको ठुल्दाइ शैलीका कारणले ? केपी ओलीले भारतसँगको सम्बन्ध बिगारे कि जनताको शीर उँचो राख्ने प्रयास गरे ? ओली नेतृत्व सरकारले जनतालाई तत्काल कुनै किसिमको राहत दिन सकेन तर नेपाली जनतालाई सार्वभौम बनाउन खेलेको भूमिकाका अगाडि ती सबै गौण थिए । नेपाली जनतालाई स्वतन्त्र बनाउनु नै सबैभन्दा ठूलो राहत हो भन्ने स्पष्ट छ । त्यसैले ओलीलाई नेपाली जनताले आफ्नो सरकार भएको महसुस गरेका थिए । गणतन्त्रमा शासन चलाउने दलहरुले हो तर शासन चलाउन जिम्मा कस्तो दललाई दिने भन्नेबारे नागरिक सचेत बन्नैपर्छ ।
उपप्रा, रत्नराज्यलक्ष्मी क्याम्पस
प्रकाशित: १० कार्तिक २०७३ ०३:२८ बुधबार