६ आश्विन २०८१ आइतबार
image/svg+xml
विचार

स्वस्थ जीवन र प्रार्थना

यो हप्ता विश्व मुटु दिवस मनाइन्छ। संसारभरकै तथ्याङ्क हेर्ने हो भने मुटु रोग मृत्युको प्रमुख कारणमध्ये पर्छ। यो रोगबाट मर्नेमध्ये ८० प्रतिशत गरिब राष्ट्रका हुने गर्छन्। त्यसैले यसमा कमी ल्याउन आवश्यक छ। स्वस्थ रहन जसलाई पनि मन लाग्छ। यद्यपि संसारमा कोही पनि पूर्ण स्वस्थ रहन भने असम्भव छ। समयान्तरसँंगै हाम्रो सरदर आयु पनि बढेको छ तर यससँगै कुनै न कुनै प्रकारको रोग पनि बढेको छ। अधवैशअगाडि वा पछाडिको उमेर, जसको हेरे पनि प्रेसर, चिनी, मुटुको रोग, ढाड दुखाइ, जोर्नी दुखाइ, मुटु हल्लने, टाउको चर्कने आदि नपाइने कमै होला। हामी यी समस्याबाट टाढा रहन चाहन्छौं र सोका लागि भगवानसँग नित्य प्रार्थना पनि गछर्ौं तर प्रार्थना गर्ने बेलामा आफ्नो जिम्मेवारी भने खर्लप्पै बिर्सन्छौँ।

बिहानैदेखि दूध चिनी भएको चिया, मिल्यो भने जेरी स्वारी, दालभात तरकारी मासु, दिउसो चिउरा तरकारी वा मःमः चाउमिन, पिजा, समोसा, बेलुका थाकेर आएपछि मस्तसँग मासु भात वा पनिर तरकारी, भात वा दूध दही वा अन्य मिष्ठान्न परिकार। अझ भोजभतेर भयो भने त खानेकुराको परिकार र मात्राको कुरै गर्नुपरेन। यी सबै खानेकुरा जोड्दा हाम्रो शरीरलाई आवश्यकभन्दा २ देखि ३ दोब्बर एकै दिन खाइदिन्छौं। अब त्यो चाहिनेभन्दा बढी खानेकुरा चिल्लो, चिनीका रूपमा कहाँ गएर बस्ने त? दिशा पिसावबाट सबै निस्कँदैन। अनि जम्यो रक्तनली, कलेजो र अन्य ठाउँमा। रक्तनली जहाँ पनि हुन्छ– मुटु, मस्तिष्क, मिर्गौला, आँखा, आन्द्रा जताजतै। जब त्यो रक्तनलीभित्र त्यस्ता चिल्लो जम्दै जान्छ तब कुनै न कुनै दिन त बन्द हुनै पर्‍यो। अनि परिणाम– हृदयघात (हर्ट एट्याक), मस्तिष्कघात (स्ट्रोक), मिर्गाैला बिग्रने, आँखा नदेख्ने इत्यादि।

त्यस्तै हामी अर्काे पनि नराम्रो काम गछर्ौं– यताबाट उता जानुपर्‍यो मोटरसाइकल, गाडी, कार। हिँड्न मन पर्दैन या समय छैन। बाटोमा धुलो छ, हिँलो छ। नहिँडेपछि कसरत हुने कुरै भएन। कसरत नभएपछि चिल्लो, चिनी पनि पचेन, रगत सञ्चालन पनि अल्छी भयो। जोर्नी पनि आराम गर्न थाल्यो। अनि फेरि उही रगतका नलीहरु साँघुरिने, जोर्नी जाम हुने...।

अर्को कुरा– तनाव। अहिलेको घम्साघम्सीको जमानामा पैसा कमाउनै पर्‍यो, नाम कमाउनै पर्‍यो। यसका लागि धेरै विचार गर्नै पर्‍यो, अनि मेहनत पनि। तर अस्वस्थ प्रतिस्पर्धामा आवश्यकताभन्दा बढी कमाउने धन्दामा लागेपछि धेरै विचार गर्नुपर्ने हुन्छ, त्यसका लागि गाह्रो/अप्ठेरो कुरा पनि दिमागमा फुराउनै पर्‍यो। त्यसमा पनि पारिवारिक र सामाजिक दबाब आयो भने त दिमाग शान्त रहने फुर्सद नै कहाँ?

एकैछिन भगवानको नाम लिँदा दिमाग केही शान्त रहला नत्र निद्रामा पनि छाड्दैन तनावले। भगवानको नाम लिँदै ध्यान गर्दा पनि स्टे्रस भइराखेको धेरैले महसुस गरेकै छन्। साँच्चैको ध्यान गर्न अति गाह्रो छ। यही तनाव हो जसले शरीरमा नकारात्मक असर पार्ने रस निकालिदिन्छ। अनि सुरु हुन्छ रोगका कारण। योसँगै धूमपान, मद्यपान, झैझगडा, कलह, धुवाँधुलो आदि पनि थापियो भने त बर्बादै हुन्छ।

अब आफैँ भनौँ– हामीले के के त्याग्नुपर्‍यो? सबैलाई थाहा नै भयो– बढी खानेकुरा। अल्छीपना। अनावश्यक सोचाइ। धूमपान। मद्यपान। गर्नुपर्‍योचाहिँ के त? त्यो पनि प्रष्ट छ– थोरै खाना। बढी कसरत। ध्यान/योग। स्वस्थ सोच र वातावरण। तबमात्र आफैँले निम्त्याएका रोग केही कम गर्न सक्छौ। अनि भगवान पनि खुसी, आफू पनि खुसी। किनकि यसले तपाईँको माग पूरा गर्ने भगवानको काम पनि सहज तुल्याउँछ। नत्र प्रार्थनाले केही गर्नै सक्दैन।

प्रकाशित: १४ आश्विन २०७३ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App