कुनै समय बालबालिकाले लय हालेर गाउने गरेको 'खोइ दुलो? गाईले कुल्च्यो, खोइ गाई? खोलाले बगायो, खोइ खोलो? सुक्यो' यतिबेला अहिले हाम्रो विकासे कामसँग ठ्याक्कै मिल्न गएको छ। नेकपा एमालेको नेतृत्वमा २०५१ सालमा गठित सरकारले 'आफ्नो गाउँ आफैँ बनाउँ' भन्ने नाराका साथ गाउँगाउँमा बजेट पठाउँदा स्थानीय निकाय निर्वाचित प्रतिनिधिबाट चलेको थियो। थारै बजेट भए पनि ठूलाठूला काम भएका थिए। आज प्रत्येक निर्वाचन क्षेत्रमा ठूलो मात्रामा बजेट गएको छ। सांसद स्वयम् विकासका नाममा करोडौँ रुपियाँ लिएर गएका छन्। तर निर्वाचित जनप्रतिनिधि नभएकाले कर्मचारी र दलका टाठाबाठा मिलेका छन्, अनि कागजी विकास गरेर बजेटचाहिँ सकेका छन्। दलका प्रतिनिधिले सहीछाप गरेपछि कामको गुणस्तर पनि नचाहिने भयो। समग्रमा विकास बजेट बालुवामा पानी भएको छ। अनि गाउँले भन्न थालेका छन् कि भ्रष्टाचार र राजनीति छुट्याउन गाह्रो भो। खर्च गरेको बिल बनेका छन्। त्यसैका आधारमा भुक्तानी मिलेको छ। तर विकास? 'खोलाले बगायो' भनेजस्तै मात्र।
जनताका अगाडि भाषण गर्दा नेताहरू 'हामीले पटकपटक सरकार फेर्न सक्यौँ तर संस्कार फेर्न सकेनौँ, नियम फेर्यौँ तर नियत फेर्न सकेनौ' भन्दै पानीमाथिको ओभानो बन्न खोज्छन्। तर बजेटमार्फत गएको वा संासद विकास कोषबाट लगेको रकम आफूनिकट कार्यकर्तालाई बाँडेर भ्रष्टाचार गर्न र काम नगरी खान सिकाउँछन्। नेता स्वयम्ले टाठाबाठा कार्यकर्तालाई भ्रष्टाचार गर्न प्रेरित गरेका छन्। सरकारमा बसेका हुन् वा बाहिर, प्रत्येक पाइलापाइलामा भ्रष्टाचार छ भन्ने कुरा सबैलाई थाहा छ। तर त्यसप्रति कसैको चिन्ता छैन। बरु मन्त्री हुन पाए अझै कमाउन पाइन्थ्यो भन्ने ध्याउन्न छ। त्यसैले त प्रचण्ड सरकारमा आफूलाई मन्त्री नबनाए आत्महत्या गर्नेसम्मको घुर्कीका समाचार बाहिर आएका छन्। पटकपटक मन्त्री भएकाहरू आफूले छानेकै मन्त्रालय पाउनुपर्ने दबाब दिइरहेका छन्। यही कारण पनि आजसम्म सरकारले पूर्णता पाउन सकेको छैन। २०४६ देखि आजसम्म बनेका २३ वटामा केही व्यक्ति निरन्तर मन्त्री छन्। उनीहरूबारे जनस्तरमा भनाइ नै जमेको छ कि 'फलानाले त मन्त्री बन्ने लोक सेवा नै पास गरेको छ।' अर्कोतर्फ राजनीतिक अस्थिरताका कारण वार्ड अध्यक्ष हुने हैसियतसमेत नभएकाहरू मन्त्री भएका छन्। जसले कमाउधन्दालाई बढावा दिइरहेको छ।
गणतन्त्र स्थापनापछि माथिल्लो तहका नेता श्रीपेचबिनाका राजा भए भने तिनैको आशीर्वाद पाएका सीमित कार्यकर्ता सिङ्गो पार्टीलाई दलदलमा पुर्याउन सक्रिय छन्। जसरी हिजो दरवार निकट भएको हवाला दिँदै गाउँगाउँमा पञ्चहरूले रजाइँ गरेका थिए त्यसलाई पनि बिर्साउने गरी फलानो पार्टीको फलानो नेताको मान्छे भन्दै आतंक मच्चाइएको अवस्था छ। पार्टीमा सँगै रहे पनि, भित्रभित्रै नेताहरूकै बीचमा शीतयुद्ध चलेको छ। पार्टीभित्रै सत्तापक्ष, प्रमुख प्रतिपक्ष र अन्य ससाना गुटका प्रतिपक्ष बनेका छन्। नेताहरूमा कुनै हार्दिकता छैन। एउटाले अर्कालाई कसरी सिध्याउन सकिन्छ भनेर लागेका छन्। राजनीतिक पार्टीका नीति घोषणापत्र धमिराले खाने गरी अनकन्टार ठाउँमा थन्क्याइएका छन्। दलका अधिकांश नेतालाई देशको भन्दा गुटको चिन्ता छ। विडम्बना कस्तो छ भने महाधिवेशन हँुदा पार्टी अध्यक्षमा निर्वाचित हुने तर निर्वाचित भएको भोलिपल्टदेखि सिङ्गो पार्टीको होइन गुटको नेता भएर चल्ने परिपाटी विकास भयो। गुटलाई संरक्षण दिने नाममा पार्टीका वरिष्ठ नेताहरूलाई समेत उपेक्षा गर्ने संस्कार बस्यो। अनि 'पार्टीभित्रै गुट बनाऊ, भाग खोज' भन्ने नयाँ सिद्धान्त प्रतिपादन भयो। जिम्मेवारी दिने कुरामा छनोटको आधार क्षमता, दक्षता, योग्यताभन्दा पनि गुटलाई आधार बनाएपछि पार्टीहरूले गर्ने भनेको झुण्डको राजनीति भयो। झुण्डको राजनीतिमा विधिविधान, नैतिकता क्षमता, दक्षताजस्ता कुरा गौण हुन्छन्। जसका लागि भर्खरै सम्पन्न नेविसंघको महाधिवेशन हेर्दामात्र पनि पुग्छ। नेताहरू गुटमै रमाएपछि त्योभन्दा फरक व्यावहार कार्यकर्ताले पनि देखाउन आवश्यक ठान्छन् र?
राजनीतिक परिवर्तनको नेतृत्व गरेका दलहरू आन्तरिक दलदलमा फसेका छन् भन्ने कुरा घामजत्तिकै छर्लङ्ग छ। कुनै एउटा नेताको पछि लाग्दा भागबन्डाका आधारमा मौका पाइने भएको छ। त्यसै भएर कार्यकर्ता पार्टीका नामले भन्दा गुटका नामले चिनाउँदा पक्का भइने ठान्दैछन्। यो राजनीतिमा भित्रिएको विकृति हो। यसलाई सुधार्ने जिम्मा स्वयम् दल र तिनका नेताहरूको हो। नेताहरूका कुरा बनावटी छन्। व्यवहार छलछामको छ। यसलाई सुधार्न नसक्नु नेताको ठूलो कमजोरी हो। यस्ता कमजोरी कहिलेसम्म कायम राख्ने? ढाँटको राजनीति कहिलेसम्म चलाइराख्ने? हेर्दाहेर्दै गाउँ शून्य भइरहेका छन्। गरिखान खोज्नेहरू विदेशिएका छन्। लुटिखान माहिरहरू पार्टीका नाममा नेता बनेका छन्। राजनीति अति भयो यसले ढिलो/चाँडो खती निम्त्याउँछ। त्यसैले राजनीतिक दलहरू पार्टी जस्ता बन्नुपर्यो। गुटले देश चलाउन खोज्दा ओली नेतृत्वको सरकार ढल्यो। राष्ट्रवादी बनेका नेता हाँसोको पात्र बने। त्यसैले गुटको होइन, पार्टीको नेतृत्व चाहियो। गुटगुटको मारमा सिंगो देश डुब्न लाग्यो। डुब्न लागेको देशलाई उतार्न कोही त माझी बन्न तयार हुनुहोस्। तेरो मेरो भन्ने मिलेर खाने संस्कार अन्त्य हुनुपर्छ। व्यवस्था फेर्यौं, शासक फेर्यौं तर फेर्न नसकेको यही संस्कार हो।
प्रकाशित: ९ भाद्र २०७३ ०४:३६ बिहीबार