२३ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

हेटौंडा–काठमाडौं सुरुङ–मार्ग नयाँ वर्षमा : मुख्यमन्त्री पौडेल

हेटौंडा– वाग्मती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले सरकारको पहिलो प्राथमिकतामा रहेको हेटौंडा–काठमाडौं सुरुङ–मार्ग नयाँ वर्षसँगै निर्माण थालिने बताएका छन् । प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा हेटौंडामा शनिबार आयोजित कार्यक्रममा उनले प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेकाले सुरुङ–मार्ग निर्माणलाई प्राथमिकता दिइएको बताए ।

‘हेटौंडा–काठमाडौं सुरुङ–मार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) को काम फागुनभित्र सकिनेछ,’ उनले भने, ‘चैतमा सुरुङ–मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्नेछौं ।’ हेटौंडा–काठमाडौं चल्ने सबै सडक ६ महिनाभित्र स्तरोन्नति गरी फराकिलो र आरामदायी बनाउने जानकारी दिँदै उनले भैंसे–भीमफेदी सडकखण्डको केही दिनभित्रै बोलपत्र आह्वान गरिने पनि बताए ।

‘भीमफेदी–कुलेखानी सडकखण्ड निर्माणका लागि सामग्रीसमेत झारिसकेको छ,’ मुख्यमन्त्री पौडेलले भने, ‘प्रदेश राजधानी हेटौंडा र केन्द्रीय राजधानी काठमाडौं जोड्ने सबै सडक फराकिलो र स्तरीय बनाउनेछौं ।’ यसअघि प्रदेशको स्थायी राजधानीको टुंगो नलागेकाले भौतिक निर्माण गर्न नमिलेको भन्दै उनले अब भने तीव्र गतिमा भौतिक संरचना निर्माण हुने दाबी गरे । ‘अब प्रदेशसभाको अर्को अधिवेशन नयाँ भवनमा हुनेछ,’ उनले थपे, ‘प्रदेशसभा सदस्यहरूको आवास क्षेत्र निर्माणमा समेत प्रदेश सरकार जुटेको छ ।’

नयाँ उत्साहका साथ आगामी आर्थिक वर्षको बजेट बनाउने तयारीमा जुटेको भन्दै उनले प्रदेशका मन्त्रालय, संसद् सचिवालय र सांसदहरूको आवासका लागि जग्गाको खोजी भइरहेको पनि बताए ।

कार्यक्रमका वाग्मतीका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इंले संघीयता कार्यान्वयनको चरण रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिए । वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दुई वर्षमा प्रदेशसभाबाट पारित ४५ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई लागू भइसकेको जानकारी दिए । ‘प्रदेशसभा सचिवालयमा ४९ वटा विधेयक दर्ता भएकोमा तीनवटा पारित हुन र एउटा प्रमाणित हुन बाँकी छ,’ उनले भने । २०७४ माघ १८ गते पहिलो बैठक बसेको प्रदेशसभाका चारवटा अधिवेशनमा एक सय २७ वटा बैठक बसेका थिए ।

त्यसैगरी, प्रदेशको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले प्रदेश सरकारले ऐन, कानुनहरू प्रभावकारी कार्यान्वयन गर्नुपर्ने भन्दै केन्द्र र प्रदेशको राजधानी जोड्ने सडक साँघुरो र जोखिमपूर्ण रहेकाले सडक विस्तार गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिए । ‘दुई तिहाइको प्रदेश सरकारले पर्याप्त बजेट छुट्याएर विकास, निर्माण प्रभावकारी रूपमा गर्न सुझाव दिन्छु,’ उनले भने । प्रदेशसभाको दोस्रो वार्षिकोत्सव अवसरमा प्रदेशसभा बैठकमा नियमित उपस्थित हुने सांसद देवकी श्रेष्ठ, मैना अछामी र सरस्वती बस्नेतलाई सम्मानित गरिएको थियो ।

प्रकाशित: १९ माघ २०७६ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App