२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा थप १७ जना सङ्क्रमित, उहानमा परीक्षण अभियान

चीनमा कोरोनाभाइरसबाट थप १७ जना सङ्क्रमित  भएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।   कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन सङ्क्रमित हुनेहरुको संख्या थपिदै गएको छ ।  

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना सङ्क्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ ।  

कोरोनाभाइरसबाट सङ्क्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ ।  

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल सङ्क्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।    

चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ ।

प्रकाशित: ४ जेष्ठ २०७७ ०७:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App