१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

इटालेली भान्सामा फट्यांग्रा परिकार

उत्तरी इटालीको आल्प पर्वतमाला छेउको एउटा कारखानामा लाखौं फट्यांग्राका चाङहरू लगाइन्छन्। ती चाङ प्रदर्शनका लागि नभई खान तयार पारिएका हुन्। यिनलाई रेस्टुरेन्टको मेनु र घरका भान्सामा छिराउने एउटा प्रक्रिया छ। अचेल यिनको पालन पनि गरिन्छ। वयस्क फट्यांग्राहरूलाई चिस्यानमा राखिन्छ। परिकारका रूप दिनुअघि पानीमा उमालिन्छ, सुकाइन्छ र पिसपास पारिन्छ। आल्प पर्वतमाला छेउको हिमाली भेगमा यिनको खेती मौलाएको निकै भइसकेको छ। यो इटालीको सबैभन्दा ठुलो फट्यांग्रा फार्म हो। यहाँबाट उत्पादित फट्यांग्राहरू दैनिक रूपमा खान उपयोग गरिन्छ। फट्यांग्राहरू फार्म सञ्चालक इभान अल्बानो पास्ता, रोटी, प्याकेक, चकलेट तथा इनर्जी बारहरूमा मात्र प्रयोग नभई स्पोर्ट्स ड्रिंक्सहरूमा समेत उपभोग भइरहेको बताउँछन्।

एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ। कतिपय युरोपेली देशहरूले त स्वीकार गरिसकेकै छन् तर इटालीमा भने यसको चर्कै विरोध भइरहेको छ। संसारभरका सर्वसाधारणको मत बुझ्ने युगभ नामक वेबसाइटमा गरिएको सर्भेअनुसार यस्ता कुरामा इटालेलीहरूले राम्रै प्रतिरोध गरिरहेका छन्। जनताको मुड बुझेर नै होला, सरकारले समेत पास्ता र पिज्जामा यस्ता किरा हाल्न नपाउने विषयमा प्रतिबन्ध लगाउनेतर्फ कदम अघि बढाइरहेको छ।

उपप्रधानमन्त्री मात्तेओ साल्भिनीले फेसबुकमा लेखेका छन्, ‘यो त मूर्खतै हो। किरा खानु हाम्रो कृषिकर्म र संस्कृतिलाई नै अशक्त बनाउनु हो।’ मन्त्रीले प्रतिक्रिया जनाएर मात्र के गर्नु, कैयौं इटालेली निर्माताहरूले आफ्ना पिज्जा, पास्ता र खाजा बेच्न मेनुमा किरा छिराउन थालिसकेका छन्। ‘हामीले यहाँ जे गरिरहेका छौं, साह्रै दिगो काम गरिरहेका छौं,’ उत्पादक इभान भन्छन्,’ एक किलो फट्यांग्राको धुलो बनाउन १२ लिटर पानी लाग्छ। यत्तिकै मात्रामा प्रोटिन उत्पादन गर्न हजारौं लिटर पानी चाहिन्छ।’अन्य प्रोटिनका माध्यमहरू खेती गर्न खर्चिलो छ। उदाहरणका लागि दुध र मासु उत्पादन गर्न जति खर्च लाग्छ, उति नै परिमाणमा प्रोटिनको स्रोतका लागि फट्यांग्रा निकै कम खर्चमा प्राप्त गर्न सकिन्छ भन्ने वैज्ञानिकहरूको मत छ। यसले पर्यावरणीय समस्यालाई पनि एक हदसम्म राहत दिन सक्ने उनीहरू बताउँछन्।

एसियालीहरूले कमिला, फट्यांग्रा, विभिन्न किसिमका किरा खान थालेको हजारौं वर्ष भइसक्यो। इटालेलीका लागि भने यो नयाँ किस्सा बनिरहेको छ। गत वर्ष मात्र युरोपेली संघले यस्ता किरा मान्छेले भोजनमा समावेश गर्न हुने भनी स्वीकृति दिइसकेको छ। 

इटालीको टुरिन नजिकैको एउटा रेस्टुरेन्टमा सेफ सिमोन लोडोले हजार वर्ष पुरानो खान्की पास्ताको मसलामा १५ प्रतिशत फट्यांग्राको पाउडर मिसाउने गर्छन् तर यसले साह्रै कडा गन्ध निकाल्छ। यसको गन्धबाट टाढै रहन रूचाउनेले तत्कालै अस्वीकार गरे पनि जिज्ञासु चखुवाहरूले भने निकै त्यसलाई सुस्वादु परिकार रहेको प्रतिक्रिया दिए। स्वादको कुरा मात्र रहेन अब, फट्यांग्राको धुलोमा भिटामिन, फाइबर, लवण, अमिनो एसिडजस्ता अत्यावश्यक तत्वहरू समावेश गरी यसलाई सुपर फुडका रूपमा समेत बिक्री गर्न थालिएको छ।

एक खान्कीमा आइरन, म्याग्नेसियम उच्च मात्रामा प्राप्त हुने रेस्टुरेन्ट सञ्चालक इभानको दाबी छ। ‘फट्यांग्राको धुलो उपयोग गरिएका खान्कीहरू ज्यादै महँगा छन्,’ इभान भन्छन्, ‘यो धुलो लक्जरी उत्पादन हो। एक किलो उत्पादन गर्न निकै महाँगो पर्छ। यसलाई प्रयोग गरिएको पास्ता मगाइयो भने सस्तो पर्छ। सुपर मार्केटको सामान्य पास्ताभन्दा यो आठ गुणा महँगो हो। यता गाई र कुखुराको मासुको व्यापार चार पुस्तादेखि गरिरहेका क्लाउडियो लोरेटी त्यति महँगो उत्पादन यतिबेला काम नभएके बताउँछन्। उनको धारणामा चाहिँ पैसा हुनेले त खालान् तर सामाजिक स्वीकृति पनि एउटा कुरा हो भन्ने धारणा राख्छन्। इटालीमा सय वर्षभन्दा बढी बाँच्नेहरूको संख्या बढिरहेको छ। यसमा मेडिटेरियन क्षेत्रमा खाइने खान्कीको भूमिका बढी रहेको विश्वास धेरैको छ। 

‘इटालेलीहरू सयौं वर्षदेखि मासु खाइरहेका छन्। यो प्रामाणिक तथ्य हो, मासु स्वस्थ्यवर्धक पनि छ,’क्लाउडियो भन्छन्। उनको विश्वास छ, खान्कीमा किराको प्रवेशले इटालेली खाद्यान्न परम्परा खतरामा पर्नेछ र त्यो खान्की पवित्र पनि हुँदैन। ‘किरा खाँदा हाम्रो शरीरमा के कस्तो असर हुन्छ भन्ने अध्ययन भएको छैन। त्यसैले त्यो खानु स्वास्थ्यका लागि हानिकारक नै छ। म त यसको पुरै विपक्षमा छु, तपाईंहरू पनि नखानोस्,’ उनी भन्छन्। उनले विरोध गरेर के गर्नु? युरोपभरि नै किरा उद्यम अचाक्ली बढेको छ। खासगरी युरोपेली संघले समेत यसलाई खान योग्य भनिसक्यो तर अतिवादी पार्टी ब्रदर्स अफ इटालीले किरा खानु पागलपन भएको बताइरहेको छ।  

प्रधानमन्त्री जर्जिया मेलोनीले इटालीलाई ‘फुड सुपर पावर’का रूपमा बताउँदै आफ्नो परम्परालाई कायम राख्न मेड इन इटाली मन्त्रालयसमेत बनाएकी छन्। तर व्यंग्यका रूपमा उनले हालै एक वक्तव्यमा भनेकी छन्,’ सुपरमार्केटमा हाम्रो सेवाका लागि किराजन्य उत्पादन आएका छन्। पिठो, मैदा, लार्भाको यो संगम राम्रो मात्र होइन, स्वादिष्टसमेत हुनेछ।’ एक हिसाबले इटालीको खान्की पर्वमा किराको प्रवेशलाई लिएर नागरिकहरू दुई विचारमा बाँडिएका छन्।  

इटाली मात्र होइन, पोल्यान्डमा मार्चमा भएको चुनावी दौरान किरा खान्की एउटा ठुलो विषयका रूपमा प्रवेश गरेको थियो। उनीहरूले एकअर्कालाई देशमा किरा खाने संस्कृति बढाएको आरोप लगाएका थिए। उता अस्ट्रिया, बेल्जियम र नेदरल्यान्डले भने खान्कीमा किराको प्रवेशलाई स्वागत गरेका छन्। अस्ट्रियाका मानिसहरूले सुकेका कीरालाई एपरिटिभो शीर्षकको स्वादिलो परिकारमा परिणत गर्दै खाइरहेका छन्। बेल्जियमवासीहरूले खानामा परेका किराहरूलाई इनर्जी सेक र चकलेटबारमा हालेर खाँदैछन्। उनीहरूले तिनलाई बर्गर र सुपमा समेत हाल्न थालेका छन्। फट्यांग्रा पस्कने रेस्टुरेन्टका सञ्चालक ड्यानियल स्कोनामिग्लियो भन्छन्, ‘वास्तवमा किरा खाने सन्दर्भमा धेरै नै कुसूचना फैलाइएको छ। मैले कैयौं घृणाजन्य पोस्टहरू पाउने गरेको छु, आलोचना सुनेको छु। खाद्य परम्परा धेरैका लागि ज्यादै पवित्र कुरा हो भन्ने मलाई थाहा छ तर राम्रो कुरा पनि अँगाल्न र खान्कीको बानी परिवर्तन गर्न उनीहरू तयार छैनन्।’

त्यसो त उनी यस्तो बानी क्रमशः परिवर्तन हुनेमा आशावादी छन्। खासगरी जिज्ञासुहरूले खाद्य परिवर्तनमा ठुलो भूमिका खेल्ने र पछि भान्सामा फट्यांग्रा पनि चढ्नेमा उनी विश्वस्त छन्। खासगरी संसारको जनसंख्या ८ अर्बबाट उकालो चढिसकेको सन्दर्भमा सबैलाई खान्की पुर्याउन नसकिएला कि भन्ने आशंकाबीच यस्ता वैकल्पिक खाद्य पदार्थहरूको सूचीमा समावेश गरिनुलाई केहीले सकारात्मक रूपमा लिएका छन्। अब मानिसलाई अहिलेको उत्पादनमा अझै ७० प्रतिशत बढाउनुपर्ने हुन्छ। यस्ता वैकल्पिक खाद्यान्न र पर्यामैत्री किराजन्य प्रोटिनले जनसंख्याको माग धान्न सघाउ पुर्याउने केहीको तर्क छ।  

त्यसो त यस्ता किराजन्य खाद्यान्नको व्यापक व्यवसायिकीकरणको सम्भावना निकै कम छ। तर युरोपेली संघको स्वीकृतिसँगै यो क्षेत्र बढ्ने र यसको दाम पनि घट्ने अपेक्षा गरिएको छ। कुनै समय ज्यादै सोखिनहरूले खाने खान्कीहरू अहिले सर्वसाधारणको खान्कीमा परिणत भएका धेरै उदाहरण छन्। एउटा उदाहरण स्वयं इभान पनि हुन्। उनलाई धेरै रेस्टुरेन्टले फट्यांग्राको धुलो मगाइरहेका छन्। ‘माग नबढोस् पनि किन, यसले वातावरणमा शून्य प्रभाव पार्छ। संसारको खाद्यान्न संकटलाई एक तहको समाधानको बाटो पनि यसले देखाइरहेको छ,’ उनी भन्छन्। (बिबिसी)

प्रकाशित: २६ असार २०८० ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App