बुधबार फेला परेको ‘रेडियोएक्टिभ क्याप्सुल’ हाल न्यूम्यानबाट गाडीमा पर्थतर्फ पठाइएको पश्चिमी अस्ट्रेलिया (डब्ल्यूए) का अधिकारीहरूले बिहीबार पुष्टि गरेका छन्।
राज्यको डिपार्टमेन्ट अफ फायर एन्ड इमर्जेन्सी सर्भिसेज (डीएफईएस)को नेतृत्वमा गरिएको खोजीपछि क्याप्सुललाई रेडिएसन–प्रुफ लिड कन्टेनरमा राखी पर्थतर्फ पठाइएको हो।
अस्ट्रेलियन डिफेन्स फोर्स र अस्ट्रेलियन न्युक्लियर एन्ड साइन्स टेक्नोलोजी अर्गनाइजेसनका १४ जना कर्मचारीले क्याप्सुललाई सुरक्षा दिइरहेका बताइएको छ।
डीएफईएसका अनुसार क्याप्सुललाई पर्थमा विभागको नियामक प्राधिकरण डब्ल्यूए हेल्थले भण्डारण गर्नेछ। त्यहाँ यसलाई सुरक्षित रूपमा भण्डारण गर्ने सुविधा छ।
यसअघि खानी कम्पनी रियो टिन्टोले पिलबारा क्षेत्रमा रहेको गुडाई–दरी फलाम खानीबाट ढुवानी गर्दै गर्दा हराएको क्याप्सुल भेट्टाउन खोजीमा खटिएका अधिकारीप्रति सरकारले कृतज्ञता व्यक्त गरेको थियो।
‘रियो टिन्टो आयरन ओर’का प्रमुख कार्यकारी सिमोन ट्रोटले भने, ‘क्याप्सुलको बरामदी खोजी टोलीको कौशल र दृढताको ठूलो प्रमाण हो। क्याप्सुल हराउनुहुँदैनथ्यो हरायो। तर फेला परेको छ यसैमा हामी खुशी हुनुपर्छ।’
उनले भने, ‘हामीले यो घटनालाई गम्भीरतापूर्वक लिइरहेका छौं यो कसरी भयो भन्नेबारे पूर्ण र गहन अनुसन्धान गरिरहेका छौं।
यसमा सामान्यतया विकिरण गेजहरूमा प्रयोग गरिने ‘सिजियम १३७ सेरामिकको मात्रा हुन्छ। यसले एक घण्टामा १० एक्स–रेबाट निस्कने विकिरणका खतरनाक मात्रा उत्सर्जित गर्दछ। विकिरणका कारण छालामा पोल्ने र लामो समयसम्म सम्पर्कमा रहँदा क्यान्सर हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्।
खोजी टोलीले राजमार्गको सम्पूर्ण लम्बाइमा छ दिन लामो खोजीपछि हराएको क्याप्सुल भेटेका हो।
क्याप्सुलको आकार आठ मिलिमिटर रहेको छ। क्याप्सुल ट्रकबाट कसरी खस्यो भन्नेबारे सरकारी अनुसन्धान सुरु गरिएको छ र यसको रिपोर्ट स्वास्थ्यमन्त्रीलाई उपलब्ध गराइनेछ।
गत जनवरी १० मा मरुभूमिको एक खानी स्थलबाट पर्थ लैजाने क्रममा उक्त क्याप्सुल हराएको थियो। क्याप्सुल बोक्ने ट्रक जनवरी १६ मा पर्थ डिपोमा आइपुगेको थियो। आपतकालीन सेवाहरूलाई जनवरी २५ मा क्याप्सुल हराएको सूचना दिइएको थियो।
प्रकाशित: २० माघ २०७९ ०५:३४ शुक्रबार