२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

काठमाडौबाट ताप्लेजुङ आएका यात्रुलाई परीक्षणपछि मात्र जिल्ला प्रवेश अनुमति

ताप्लेजुङ- काठमाडौबाट ताप्लेजुङ आएका ताप्लेजुङका साढे ७ सय नागरिकलाई शनिबार बिहान काबेलीमा स्वास्थ्य परीक्षणपछि मात्र सदरमुकाम फुङ्लिङतर्फ प्रवेश अनुमति दिइएको छ । काबेली पाँचथर र ताप्लेजुङको सीमावर्ती क्षेत्र हो।

गएराति आईपुगेकाहरुलाई बिहान ५ बजेबाट काबेलीमा स्वास्थ्य परीक्षण गरी ताप्लेजुङ प्रवेशको अनुमति दिइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । विगत लामो समयदेखि यहाँ रहेको हेल्थ डेस्कमा स्वास्थ्य परीक्षण नगरी ताप्लेजुङतर्फ प्रवेश गर्न अनुमति छैन ।

सिरिजङ्घा र सिदिङ्वा गाउँपालिकातर्फ जाने यात्रु भने पाँचथरको गणेशचौकमै रोकिएर त्यहिँबाट गन्तब्यतर्फ गएका छन् । ति दुई गाउँपालिका बाहेक फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ, मैवाखोला, आठराई त्रिबेणी, मैवाखोला, मिक्वाखोला र मेरिङ्देन गाउँपालिका पुग्ने यात्रुको भने काबेलीमा स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य परीक्षणसंगै प्रशासनले काठमाडौबाट ताप्लेजुङ भित्रिएका सबै नागरिकको व्यक्तिगत विवरण समेत तयार पारेको छ ।

त्यसका लागि नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरीका कर्मचारी समेत खटिएको प्रजिअ निरौलालो जानकारी दिए ।  लकडाउनका कारण उपत्यकामा अड्किएका ७ सय ३६ जनालाई बिहीबार राति २३ वटा बसमार्फत ताप्लेजुङतर्फ ल्याइएको हो । बाटोमा कहि खान नपाउने अवस्थामा यी यात्रुलाई पाँचथर उद्योग बाणिज्य संघका अध्यक्ष दीपक नेपाल र पूर्व अध्यक्ष सुवराज थापाले प्रतिगाडी २–२ काटुन चाउचाउ र २–२ काटुन पानीका बोतल दिएर सहयोग गरेका थिए ।

२३ वटा गाडीमा यात्रु सवार थिए । ताप्लेजुङका नागरिकलाई पर्यटनमन्त्री योगेशकुमार भट्टराई र ताप्लेजुङ सरोकार केन्द्रको समन्वयमा सकुशल ताप्लेजुङ पुर्‍याउन सकेकोमा सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले सहयोगी सबै प्रति आभार प्रकट गरेका छन् ।

प्रकाशित: १३ वैशाख २०७७ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App