२३ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

ख्यालख्यालमै उच्च जोखिम

कोरोना संक्रमित धर्मप्रचारक बस्दै आएको भुल्के मस्जिद। तस्बिर ः महेश्वर/नागरिक

उदयपुर -सदरमुकाम गाईघाटदेखि पाँच किलोमिटर दक्षिण त्रियुगा नगरपालिका ३ भुल्केमारहेको मस्जिदमा बस्दै आएका ११ भारतीयसहित १२ जना धर्मप्रचारकमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि नहुँदासम्म यहाँका झन्डै ७० प्रतिशत मानिसमा कोरोनाबारे चासोथिएन। चैत ११ देखि लागू लकडाउनलाई वास्तै नगरी खुलेआम हिँड्ने झन्डै २ सय जना र ३ हजार हाराहारी सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएबाट यहाँका स्थानीयले धेरै नै लापरबाही गरेको पुष्टि हुन्छ।

तर भुल्के मस्जिदका बस्दै आएका ११ धर्मप्रचारकसहित १३जनामा कोरोना संक्रमण पुष्टि भएको समाचार सार्वजनिक भएपछि भने सरोकारवाला निकायदेखि सर्वसाधारणसम्मका रौं ठडिए। कोरोना प्रतिकार अभियानको अग्रमोर्चामा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, प्रशासन र सामाजिक अगुवाले तत्काल संक्रमितको ‘ट्राभल हिस्ट्री’ र ‘कन्ट्याक ट्रेसिङ’ गर्दै भुल्केलाई ‘सिल’ गरेर थप परीक्षण कार्य अघि बढाउन प्रदेश सरकारसँग आग्रह गरे। लगत्तै प्रदेश सरकारले खटाएको स्वास्थ्य टोली आएर संक्रमितसँग भेटघाट र घुलमिल गर्ने ६० सहित ६९ जनाको नमुना संकलन गरी प्रदेश अस्पताल पठायो। तीमध्ये मंगलबार ११ जना र बुधबार तीनजनामा संक्रमण पुष्टि भएको छ। यसरी उदयपुरमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।

विज्ञले लकडाउनको पूर्ण पालना, उच्च मनोबलसहित घरपरिवारमा रम्न, अत्यावश्यक काममा निस्कँदा सामाजिक दूरी कायम गर्न र अनावश्यक होहल्लाका पछि नलाग्न सुझाएका छन्।
 

संक्रमितको संख्या बढेसँगै जिल्लाबासीमा ह्वात्तै त्रास बढेको छ। यतिबेला कोरोनाविरुद्ध सामूहिक पहल आवश्यक परेको सरोकारवालाले औंल्याएका छन्। लकडाउनको पूर्ण पालना, उच्च मनोबलसहित घरपरिवारमा रम्न, अत्यावश्यक काममा निस्कँदा सामाजिक दूरी कायम गर्न र अनावश्यक होहल्लाका पछि नलाग्न उनीहरुले सुझाएका छन्।   

नेपाली सेनाको १८ नं. बाहिनी अड्डासमेत रहेको भुल्केमा कोरोना त्रास बढेपछि सैनिक मुख्यालयले हेलिकोप्टरमार्फत शुक्रबारैस्वास्थयकर्मी टोली पठाएको थियो। आइतबार आएको सैनिक टोलीले मस्जिद आउजाउ गर्ने तथा संक्रमितसँग सम्पर्कमा रहेका ५२ घरधुरी मुस्लिम समुदायका १ सय ५३ र सोमबार अन्य समुदायका थप १ सयजनाको स्वाब संकलन गरी काठमाडौं पठायो। आइतबार संकलितनमुनामध्येबाट तीनजनामा संक्रमण पुष्टि भएको हो।

भुल्केमा एकाएक यसरी संक्रमित बढ्नुमा सुरुवाती संक्रमितको लापरबाही र स्थानीयको सचेतना अभाव मुख्य कारण ठानिएको छ। त्रियुगा नगरप्रमुख बलदेव चौधरी लकडाउन हुनुअगावै नयाँ मान्छे वा विदेशबाट आएकाको पहिचान गर्न हरेक वडाका जनप्रतिनिधि र टोल विकास संस्थालाई सचेत गराएको बताउँछन्। उनका अनुसार कोही विदेशबाट फर्केको भन्ने जानकारी नआउँदा स्थिति भयावह भएको हो।

सामाजिक अभियन्ता दीपकराज बुढाथोकी लापरबाही गरेकै कारण यस्तो अवस्था आएको बताउँछन्। संक्रमण अरु फैलिन नदिन सरोकारवालादेखि सर्वसाधारणसम्म सचेत हुनुपर्ने सुझाव उनको छ। जिल्ला कोरोना प्रतिकार तथा रोकथाम समिति छिटोभन्दा छिटो शंकास्पदहरुको स्वाब परीक्षण र जिल्लालाई पूर्णरुपमा सिलबन्दी गर्न सके मात्र थप संक्रमण रोक्न सकिनेमा विश्वस्त छ।

सहायक प्रमुख जिल्ला अधिकारी भीम भट्टराई स्थानीय, प्रदेश र संघीय सरकार, उद्योग वाणिज्य संघ, पत्रकार, नागरिक समाजदेखि टोलटोल र घरघर सचेत भएमात्र थप संक्रमण रोक्न सकिने बताउँछन्। थप संक्रमण रोक्न लकडाउनको पूर्ण पालना र सचेतना नै मुख्य विकल्प भएको उनको ठहर छ। जिल्ला स्वास्थ्य प्रमुख सुवेदी हल्लाको पछि लागेर त्रसित हुनुभन्दा पनि लकडाउनको पालना गर्ने र लक्षण देखा परे अस्पतालमा सम्पर्क गर्ने सुझाव दिन्छन्। 

सुरुदेखि कोरोनाविरुद्ध अग्रमोर्चामा खट्दै आएका जिल्ला प्रहरी प्रमुख वीरबहादुर बुढा मगर पनि उच्च मनोबलका साथ लकडाउनको पालना गर्नु नै कोरोना परास्त गर्ने अचुक उपाय भएको बताउँछन्। सम्भावित संक्रमितको खोजी भइरहेको र बिहीबारदेखि थप स्वाब संकलन कार्य हुने भएकाले आतंकित नहुन उनले सुझाए।

जिल्लामै कोरोना अस्पताल खोल्न माग 
त्रियुगा नगरप्रमुख बलदेव चौधरीले कोविड–१९ महामारीको केन्द्र बन्दै गएको भुल्केलाई ‘डेन्जर जोन’ घोषणा गरी तत्काल दक्ष जनशक्ति र औषधि उपकरणसहितको विशेष अस्पताल खोल्न माग गरेका छन्। मेयर चौधरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी जिल्लामा तत्काल विशेष अस्पताल खोलेर उपचार र प्रतिकारमा लाग्न संघ र प्रदेश सरकारसँग माग गरेका हुन्।

मेयर चौधरीले यति धेरै संक्रमित भेटिइसक्दा पनि संघ र प्रदेश सरकारले चासो नदिएको गुनासो गरे। १३ जना संक्रमित भेटिएलगत्तै प्रदेश र संघीय सरकार तथा सम्बन्धित मन्त्रीलाई थप समस्या निम्तिन नदिन अनुरोध गरेको भए पनि आवश्यकताअनुसार दु्रत सेवा नपाएको उनले बताए। मेयर चौधरीले भौतिक पूर्वाधार तयार नभएसम्म जिल्ला अस्पताललाई नै अस्थायी कोरोना अस्पतालको रुपमा प्रयोग गर्न सकिने भन्दै तर काम छिटो गर्नुपर्नेमा जोड दिए।

जिल्लालाई पूर्णरुपमा सिलबन्दी गर्नुपर्ने अवस्था आएकाले आवश्यक खाद्यान्न, तरकारी, ग्यासलगायत उपभोग्य सामग्री अभाव हुन नदिन बेलैमा ध्यान दिन पनि संघ र प्रदेश सरकारलाई सचेत गराइसकेको उनले बताए।

प्रकाशित: ११ वैशाख २०७७ ०२:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App