२४ असार २०८१ सोमबार
image/svg+xml
शिक्षा

परीक्षा स्थगित भए पनि शुक्रबार र शनिबारको त्रिवि परीक्षा हुने

कोरोना संक्रमणको तेस्रो लहरको जोखिम बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले माघ ९ गतेदेखि सञ्चालन हुने सबै परीक्षा स्थगित गरेको छ तर शुक्रबार विज्ञान संकाय र शनिबारको व्यवस्थापन संकायका परीक्षा भने यथावत सञ्चालन हुनेछ।  

त्रिभुवन विश्वविद्यालयको परीक्षाहरू मंगलबारदेखि सुरु भएको छ। तर विद्यार्थीको विरोधपछि विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले बिहीबार बैठक बसी माघ ९ गतेदेखि हुने सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको सहनियन्त्रक घनश्याम ठाकुरले बताए। तर माघ ७ गते र ८ गतेका परीक्षा भने यथावत रहनेछन्।

‘माघ ७ गते विज्ञान संकायका सबै परीक्षा हुन्छन्। माघ ८ गते व्यवस्थापन संकायको बिबिए र बिसिएको प्रवेश परीक्षा पनि हुन्छ,’ सहनियन्त्रक ठाकुरले भने, ‘माघ ९ गतेदेखि हुने अन्य परीक्षा हाललाई स्थगित गर्ने परीक्षा समितिको निर्णय हो ।’ व्यवस्थापनको परीक्षा भौतिक उपस्थितमै हुने र करिब २० हजार बढी विद्यार्थी सहभागी हुनेछन्।

हाल त्रिभुवन विश्वविद्यालय र पूर्वाञ्चल विश्वविद्यालयको विभिन्न विषयका परीक्षा भौतिक रूपमा सञ्चालन भइरहेको छ। काठमाडौं विश्वविद्यालयको एमबिबिएसका परीक्षाहरू भने फागुनमा हुने तय भएको छ। पूर्वाञ्चल र काठमाडौं विश्वविद्यालयले भने परीक्षा स्थगित नभएको स्पष्ट पारेका छन्।

उता पूर्वाञ्चल विश्वविद्यालयले सरकारले निर्देशन नदिएसम्म केही गर्न नसक्ने जनाएको छ। पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक मोहनबहादुर बस्नेतले विश्वविद्यालयले सबै परीक्षा केन्द्रहरूमा सरकारको निर्देशनअनुसारै स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न निर्देशन दिएको बताए। उनले हाललाई परीक्षाबारे कुनै निर्णय नभएको जनाए।

‘कोरोना पोजेटिभ भएर अस्पतालमा रहेका विद्यार्थीको सवालमा परीक्षा समितिले केही निर्णय गर्ने तयारी भइरहेको छ,’ नियन्त्रक बस्नेतले भने, ‘तर परीक्षा निर्धारित समयमै सम्पन्न हुन्छ। सरकारले अर्को निर्देशन नदिएसम्म विश्वविद्यालयले केही निर्णय लिन सक्दैन।’

काठमाडौं विश्वविद्यालयका व्यवस्थापक दीपक दहालका अनुसार विश्व विद्यालयका परीक्षा यथावतनै रहन्छन्। उनले फागुनमा हुने तय भएको एमबिबिएस परीक्षा भौतिक उपस्थितमै हुने जनाए।

तर नेवि संघ र अभिभावक महासंघ भने विद्यार्थीको स्वास्थ्य सुरक्षाको ख्याल गर्दै सरकारले परीक्षाबारे ठोस निर्णय तत्काल लिनुपर्ने अडान राखेका छन्। संक्रमणको जोखिम उच्च बन्दै गएको अवस्थामा विश्वविद्यालयहरूले कोरोना जोखिमबाट बच्न सामान्य मापदण्डसमेत नअपनाई संक्रमित र सामान्य विद्यार्थीलाई एकै ठाउँमा राखेर परीक्षा सञ्चालन गरेपछि विद्यार्थी, अभिभावक तथा विभिन्न विद्यार्थी संगठनहरू परीक्षा वैकल्पिक विधि वा मापदण्ड अपनाएर मात्र सञ्चालन गर्न माग गरेका छन्।

बुधबार पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतका कानुन संकायको परीक्षामा संक्रमित विद्यार्थी पनि सहभागी भएपछि विद्यार्थीहरू त्रसित बनेका थिए। संक्रमित र सामान्य विद्यार्थीलाई एकैकोठामा एउटै बेन्चमा राखेर परीक्षामा सहभागी गराएपछि विद्यार्थीहरू आक्रोशित बनेका थिए।

बिएएलएलबी चौथो वर्षको परीक्षामा सहभागिता जनाएका काठमाडौं स्कुल अफ् ल का विद्यार्थी विनोद खत्रीका अनुसार परीक्षामा कोरोनाविरुद्धको कुनै पनि मापदण्ड समेत नअपनाई संक्रमित र सामान्य अवस्थाका विद्यार्थीलाई भौतिक दुरी समेत कायम नगरी परीक्षा हलमा परीक्षा दिन लगाइएपछि विद्यार्थीहरूले विरोधस्वरूप तोडफोड गरेका थिए ।

पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत पुस २९ गतेदेखि परीक्षा सञ्चालन भइरहेको छ। फागुन २ गतेसम्म चल्ने परीक्षा भौतिक उपस्थितमै हुने तय गरिएको छ। ‘म आफैं पनि कोरोना लक्षण भएका विद्यार्थीसँगै बसेर परीक्षा दिए। मलाई मानसिक त्रास भएको छ,’ परीक्षार्थी विनोदले भने, ‘हाम्रा केही साथी संक्रमित भएर अस्पतालमा हुनुहुन्छ। यस्तो विद्यार्थीको परीक्षा के गर्ने विश्वविद्यालयले केही बोलेको छैन।

पूर्वाञ्चल विश्वविद्यालयका पदाधिकारीसँग कुरा गर्दा संक्रमितले ब्याकपेपर पो दिने कुरा गर्नुहुन्छ। परीक्षा हलमा कुनै स्वास्थ्य सुरक्षाको मापदण्डसमेत नअपनाएकाले हामीले वैकल्पिक विधिबाट परीक्षाको माग गरेका हौं या संक्रमित र सामान्यलाई छुटै राखेर परीक्षा गर्नु पर्ने हाम्रो माग हो।’

नेपाल विद्यार्थी संघले कोरोनाको जोखिम उच्च भएकोले विश्वविद्यालयका सबै परीक्षा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनााएर मात्र सञ्चालन गर्नुपर्ने माग गरेको छ। संघका महामन्त्री बलदेव तिमल्सिनाले प्रेस विज्ञप्ति जारी गर्दै परीक्षामा स्वास्थ्य सावधानी र वैकल्पिक उपाय अपनाएर मात्र परीक्षा सञ्चालन गर्नुपर्ने माग राखेका छन्।

‘परीक्षा भौतिक उपस्थितिमै भएको र स्वास्थ्य सुरक्षाको सामान्य मापदण्ड समेत केन्द्रहरूले अपनाएका छैनन्,’ महामन्त्री तिमल्सिनाले नागरिकसँग भने, ‘परीक्षामा संक्रमित र सामान्य विद्यार्थीलाई साथै राखेर परीक्षा सञ्चालन गर्दा विद्यार्थीको स्वास्थ्मा आउनसक्ने जोखिमलाई दृष्टिगत गर्दै स्वास्थ्यसम्बन्धित मापदण्डको पूर्ण पालना गराउन र परीक्षा सञ्चालनमा वैकल्पिक उपाय अपनाई परीक्षार्थीको स्वास्थ्यसम्बन्धी अधिकारमा संवेदनशील हुन सरकार, विश्वविद्यालय तथा सम्बन्ध सबै निकायालाई नेवि संघले सार्वजनिक रूपमै अपिल गरेको छ।’

अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले पनि कोरोनाको उच्च जोखिमको अवस्थामा विद्यार्थीको ज्यानै जोखिमका राखेर परीक्षा सञ्चालन नगर्न विश्वविद्यालयसँग माग गरेका छन्।

‘सेवा प्रदायक संस्था, प्राध्यापक तथा कर्मचारीहरूमा समेत संक्रमणमा परेका कारण सेवा कटौती भएको अवस्था छ भने अर्कोतर्फ विद्यार्थी आफै संक्रमित  बनिरहेका छन्,’ अध्यक्ष भण्डारीले भने, ‘विश्वविद्यालयले स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरूपमा पालना गर्न सके परीक्षा गरौं नत्र हालको अवस्थामा स्थगित गर्दा ठिक हुन्छ।’

प्रकाशित: ७ माघ २०७८ ०२:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App