२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
शिक्षा

प्रधानमन्त्रीले भने,‘उपकुलपति सिफारिसहरूको प्राप्ताङ्क सार्वजनिक गरेर सङ्कटमा पार्नुभयो'

फाइल तस्बिर

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि आइतबारै उपकुलपति छनौट तथा सिफारिस समितिले आइतबारै तीन जनाको नाम प्रधानमन्त्री एवं त्रिविका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गर्‍यो।

तर प्रधानमन्त्री दाहाल मंगलबार दिउँसोसम्म पनि सिफारिस परेका व्यक्तिहरूको नामावली राखेर बसिरहेका छन्। उनले नियुक्ति प्रक्रियामै रहेको र सामाजिक सञ्जालमा आएका कुरामा सत्यता नभएको बताइरहेका छन्। आखिर किन ? प्रधानमन्त्री दाहाल उपकुलपति नियुक्ति गर्न किन रोकिएका छन् ? 

समितिले स्पष्ट रूपमा अङ्कसहित तीन जनाको नाम सिफारिस गर्दा पनि प्रधानमन्त्रीलाई के कुराले उपकुलपतिको नियुक्तिमा सकस भइरहेको छ त ?

आइतबार समितिले नाम सिफारिस गर्‍यो। सोमबार प्रधानमन्त्री दाहालले आफ्नो कार्यालयमा उपकुलपतिको नियुक्ति गर्ने तीनै व्यक्तिबारे छलफल गर्न देवेन्द्र पौडेल, वर्षमान पुन, शिक्षामन्त्री अशोक राई तथा प्रधानमन्त्री दाहाल निकट प्राध्यापक नेताहरूबीच छलफल गरे।

‘प्रधानमन्त्रीले समिति संयोजक तथा सहकुलपति अशोक राईलाई तपाईँले नम्बर सार्वजनिक गरी सङ्कटमा पार्नु भयो। बरु नाम मात्र सिफारिस गरेको भए हुने,’ प्रधानमन्त्रीको भनाई उद्धत गर्दै छलफलमा सहभागी स्रोतले नागरिकन्यूजसँग भन्यो, ‘प्रधानमन्त्रीको रोजाइ दुई नम्बरका उम्मेदवार केशरजंग बराल रहेछन्। यसकारण प्रधानमन्त्रीले आफू सङ्कटमा परेको समेत भन्नु भयो।’

स्रोतले थप्यो ‘तर छलफलमा देवेन्द्र पौडेल र वर्षमान पुनले भने खुला प्रतिस्पर्धाबाट गएपछि नियम अनुसार जाऊँ भन्नुभयो। चित्रबहादुरलाईनै उपकुलपति नियुक्ति गर्न भन्नु भयो।’

समितिले सिफारिस गरेको आधारमा कार्यविधिले तय गरेको १ सय पूर्णाङ्कमध्ये चित्रबहादुर बुढाथोकीले ७८ नम्बर, केशरजंग बराल ७६ नम्बर र टंकनाथ धमलाले ७५ अङ्क प्राप्त गरेका छन्।

मंगलबार पनि माओवादी निकट प्राध्यापक सङ्गठनहरू प्रधानमन्त्रीसँग उपकुलपति बराललाई बनाउन भने दबाब दिएको स्रोतले बतायो। समितिले सबै कुरा स्पष्टसँग राखेर प्रधानमन्त्री दाहाललाई उपकुलपतिको नाम सिफारिस गरेपछि कुलपतिलाई केको समस्या ? भन्ने चौतर्फी प्रश्न उठिरहेको छ। अब विलम्ब नगरी कुलपतिले मेरिट लिस्टमा परेका पहिलोलाई नियुक्ति गर्नु पर्ने सामाजिक  सञ्जाल मार्फत आवाज उठिरहेको छ।

समितिले उपकुलपतिको नाम सिफारिस गरेसँगै कुलपतिलाई दल निकट प्राध्यापकहरूले न्यून अङ्क प्राप्त गरेको दल निकट व्यक्तिलाई उपकुलपति बनाउन दबाब दिएका छन्।

त्रिविकै प्राध्यापकहरू प्रधानमन्त्रीलाई कम अङ्क प्राप्त गरेकालाई उपकुलपति बनाइदिन दौडधुप गरिरहेको रहस्य खुलिसकेको छ। तर प्रधानमन्त्री दाहाल नियुक्ति प्रक्रियामै रहेको प्रतिक्रिया दिइरहेका छन्। 

समितिले अन्तरवार्ता छनौट भएका चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम आइतबार त्रिविका उपकुलपतिका लागि सिफारिस गरेको हो।

यसै सन्दर्भमा सोमबार त्रिविकै माओवादी निकट प्राध्यापकहरूको टोलिने प्रधानमन्त्री एवं कुलपतिलाई भेटेर माओवादी निकट मानिएका केशरजंग बराललाई उपकुलपति बनाउन दबाब दिएका छन्।

प्रधानमन्त्री दाहाललाई भेट्न त्रिविका प्राध्यापक एवं अनुगमन महाशाखाका निर्देशक विष्णु खनाल, प्राध्यापक बैकुन्ठ अर्याललगायतका गएका थिए। टोलिने प्रधानमन्त्रीलाई भेटेर दुई नम्बरमा नाम सिफारिस भएका केशरजंग बराललाई उपकुलपति बनाउन दबाब दिएको त्रिविका प्राध्यापकहरूले बताएका छन्। विष्णु खनाल बैकुन्ठ खनाल माओवादी निकट राष्ट्रिय प्राध्यापक सङ्गठनका हुन्।

तर माओवादीकै नेता देवेन्द्र पौडेल निकटले भने एक नम्बरमा मेरिटमा परेका चित्रबहादुर बुढाथोकीलाईनै बनाउन अडान लिएपछि माओवादी भित्र उपकुलपति नियुक्ति विषय पेचिलो बनेको छ।

छनौटमा एक नम्बरमा परेका चित्रबहादुर बुढाथोकी पनि कुलपतिले त्रिविबाट राजनीति मुक्त गर्न खुला प्रतिस्पर्धाबाटै उपकुलपति नियुक्ति गर्न सबै प्रक्रिया पुरा गरेपनि अन्तिममा भागबन्डामै राजनीति नियुक्ति गर्ने दाउपेच भइरहेकोमा चिन्ता व्यक्त गरे।

उनले खुला प्रतिस्पर्धाका सबै प्रक्रिया पुरा गरी आफूले ७८ अङ्क प्राप्त गरी मेरिट लिस्टमा  एक नम्बरमा छनौट र सिफारिस भएको भएपनि उपकुलपति भइहाल्नेमा विश्वस्त नरहेको स्पष्ट पारे। उनले उपकुलपति नियुक्तिका लागि भइरहेको राजनीतिक दाउपेच निकै जटिल बन्दै गएको समेत जिकिर गरे।

‘खासमा सरकारमा रहेको दलले भागबन्डामै पहिले शिव भूषाललाईनै उपकुलपति बनाउन खोजेका थिए। तर उनी प्रतिस्पर्धामा असफल भएपछि अब केशरजंगलाई त्रिविको उपकुलपति बनाइदिन कुलपतिलाई निरन्तर दबाब दिइएको जानकारी मैले पाएको छु,’ उत्कृष्ट अङ्क प्राप्त गरेका बुढाथोकीले नागरिकसँग भने, ‘माओवादी निकट केही त्रिविका प्राध्यापकहरूले भेटेरै मलाई भन्दा दोस्रो नम्बरलाई उपकुलपति बनाउन दबाब दिइरहेका रहेछन्।’

उनले थपे ‘म सबै तरिकाले सक्षम र योग्य भएकै कारण एक नम्बरमा सिफारिस भएको हुँ। तर दु:खको कुरा कमजोर अङ्कलाई उपकुलपति बनाउन कुलपति कहाँ दबाब गइरहेको छ। खै के हुन्छ थाह छैन।’

मेरिट लिस्टमा परी उपकुलपतिमा नाम सिफारिस भएका अर्का उम्मेदवार टंकनाथ धमलाले समितिले छनौट गरी नाम सिफारिस गरेका तिनै जना उम्मेदवार त्रिविको उपकुलपति बन्न योग्य रहेको र अब बल प्रधानमन्त्रीको हातमा रहेको प्रतिक्रिया दिए।

‘अब बल प्रधानमन्त्री ज्यूको कोडमा छ। उहाँले तीनमध्ये उपयुक्त लागेकोलाई उपकुलपति नियुक्ति गर्न सक्ने अधिकार हुन्छ,’ धमलाले नागरिकसँग भने ‘तर मुख्य कुरा उपकुलपति छनोटको कार्यविधि नै पर्याप्त थिएन। किनभने यो कार्यविधिले सबै पक्षलाई समेट्नै सकेको छैन। यस्तो अवस्थामा के भन्ने ?’

उनले थपे, ‘म उपकुलपति बन्न योग्य र सक्षम उम्मेदवार हुँ। म त्रिविको उपकुलपति भए त्रिवि जोगाउन स्वतन्त्र र योग्यताको आधारमा अन्य पदाधिकारी नियुक्ति गरी विश्वविद्यालयबाट राजनीति हटाइ छाड्ने छु।’

शिक्षा मन्त्री एवं सहकुलपति तथा उपकुलपति समिति संयोजक अशोक राईका निजी सहायक प्रकाश सापकोटाले समितिले आइतबारै मेरिट लिस्टका तीन उम्मेदवारको नाम त्रिविको उपकुलपतिका लागि प्रधानमन्त्री समक्ष बुझाइ सकेको जनाए ।

‘सोमबार प्रजातन्त्र दिवसमा सार्वजनिक बिदा भएकोले उपकुलपति नियुक्ति भएन,’ उनले भने ‘मंगलबार त्रिविले उपकुलपति पाउने तयारी छ।’

प्रधानमन्त्री निवास बालुवाटारमा मंंगलबार गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञासामा उनले भने, ’त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन।’

प्रकाशित: ८ फाल्गुन २०८० १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App