जिल्लाको तिलागुफा नगरपालिकालाई ‘अनिवार्य निःशुल्क तथा आधारभुत शिक्षा सुनिश्चित’ पालिका घोषणा गरिएको छ। सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा परियोजनाको सहकार्य तथा तिलागुफा नगरपालिकाको आयोजनामा निःशुल्क अनिवार्य तथा आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गरिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) को उप दफा (ज) अनुसार स्थानीय तहलाई माध्यामिक र आधारभूत शिक्षा सम्बन्धीका २३ वटा अधिकारहरू व्यवस्था गरेको छ। शिक्षा अधिकृत लिलाराज बमले जबसम्म विद्यालय,समुदाय, समाज, घर र परिवारमा बालबालिकाहरुमाथी हुने सबै प्रकारका हिंसाहरूको अन्त्य हुँदैन तबसम्म गुणस्तरीय बालविकासको परिकल्पना गर्न नसकिने बताए।
पालिकामा ४ वर्ष उमेर पुरा गरेका र १२ वर्ष उमेर समूहका सबै बालबालिकाहरूलाई विभिन्न माध्यामबाट शिक्षाको पहुँचमा ल्याइएको छ। यहाँका ३६ वटै विद्यालयहरूले आधारभूत शिक्षालाई पूर्णरुपमा निःशुल्क गरी कार्यान्वयन गर्दै आएको नगर प्रमुख शंकर प्रसाद उपाध्यायले बताए।
![](https://images.nagariknewscdn.com/third-party/1696489593_386881347_1017815559260544_1079464362206449811_n.jpg)
उनले भने ‘पालिकाका सबै बालविकास केन्द्रहरुमा ४ वर्ष पुरा गरेका र आधारभूत तहमा (कक्षा १ देखि ८ सम्म) ४ देखि १२ बर्ष सम्मका १०० प्रतिशत बालबालिका विद्यालयमा भर्ना भै निरन्तर शिक्षा आर्जन गरिरहेका छन्। तिलागुफा नगरपालिकामा अपांगता भएका बालवालिकाहरूलाई शिक्षको पहुँचमा ल्याउनका लागि रणनितिक योजना निर्माण, अनिवार्यं आधारभुत निःशुल्क शिक्षा घोषणा गर्नका लागि रणनितिक योजनाको निर्माण समेत गरेको छ।’
विद्यालय सुधार योजना, पालिका शिक्षा योजना तयार गरी गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विद्यालयको शैक्षिक र भौतिकक्षेत्रलाई क्रमश सुधार गर्दै सबै विद्यालयको विद्यार्थीको औषत सिकाइ उपलब्धी उच्च बनाइने प्रतिवद्धता समेत नगर प्रमुखले गरेका छन्।
![](https://images.nagariknewscdn.com/third-party/1696489633_384543131_654241789839188_6418564248346261284_n.jpg)
सेभ द चिल्ड्रेन, किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाको २०७६ देखि २०७९ सम्मको सर्वेक्षण अनुसार ६१ जना बालबालिकाहरू विद्यालय बाहिर रहेको परियोजनाको तथ्यांकमा छ। जस मध्ये ४ जना बहु अपाङ्गता भएका बालबालिकालाई पनि स्रोत विद्यालयमा पठाई भर्ना गरिएको शिक्षा परियोजना संयोजक सदानन्द तिमल्सेनाले बताएका छन्। उनिहरू मध्ये ३ जना अपाङ्गता भएका बालवालिकाहरूलाई घरमै शिक्षकको व्यवस्था गरी विद्यालयमा भर्ना गरिएको पनि तिमल्सेनाले बताएका छन्।
तिलागुफा नगरपालिकालाई निःशुल्क अनिवार्य तथा आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गर्नका लागि सेभ द चिल्ड्रेन किर्डाक नेपाल कालिकोटद्वारा सञ्चालित सहयात्रा (दोस्रो) परियोजनाले विभिन्न पहल कदमी चालेको थियो।
नगरपालिकाको शिक्षा शाखा र किर्डाक नेपालको सहकार्यमा विद्यालयभन्दा बाहिर रहेका बालवालिकाहरुको घरधुरी सर्वेक्षण तथा तथ्यांक संकलन गरिएको छ। वडा स्थित सरोकारवालहरूसँग बालबालिका भर्नाका लागि समिक्षा,आवश्यकताका आधारमा सहयोग तथा भर्ना अभियान कार्यक्रम प्रत्येक वर्ष सञ्चालन गदै आइरहेको नगरपालिकाले जनाएको छ।
![](https://images.nagariknewscdn.com/third-party/1696489675_386881246_302804482473207_4412135319330482688_n.jpg)
किर्डाक नेपाल कालिकोटका जिल्ला संयोजक तुलाराम पाण्डेले आर्थिक अवस्था कमजोर भई विद्यालयमा निरन्तरता नभएका बालबालिकाहरूका लागि आर्थिक सहयोग, आयआर्जन सहयोग गरी वालवालिकाहरुलाई विद्यालयमा निरन्तरता दिएको बताए। उनका अनुसार जिल्लाको शुभकालिका गाउँपालिकालाई पनी लगत्तै निःशुल्क अनिवार्य तथा आधारभुत शिक्षा सुनिश्चित पालिका घोषणा गर्ने बताएका छन्।
तिलागुफा नगरपालिका प्रमुख शंकर प्रसाद उपाध्यायको अध्यक्षता, खाँडाचक्र नगरपालिका प्रमख कमल बहादुर शाहीको प्रमुख आतिथ्यता, हिमा गाउँपालिका जुम्लाका अध्यक्ष लक्ष्मण बहादुर शाहीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो। कार्यक्रममा नगरपालिकाका ३६ वटा विद्यालयका विद्यार्थी, शिक्षक अविभावक लगाएतको सहभागिता रहेको थियो। प्रभावकारी कार्यान्वयनकालागि गर्न सम्पुर्ण अर्थितिहरूले अस्ताक्षर गरी प्रविद्धता समेत जनाएका छन्।
प्रकाशित: १८ आश्विन २०८० ०७:०८ बिहीबार